मर्दको छोरा !

सृजना पोख्रेल

‘छोरा जन्मिए आकाश, छोरी भए तारा ल,’ गणेशले निर्मलाको कपासजस्तै पेट सुम्सुम्याउँदै भन्यो।

‘ह्या बुढा, अलि नयाँ नाम पो राख्नु त। बाआमाको नाम मिलाएर राखौं न बरू,’ निर्मलाले फकाउन खोजी।

‘गणेश र निर्मलालाई जोडेर के हुन्छ? कि गमला राख्छ्यौ त छोरीको नाम?,’ गणेश मरीमरी हाँस्न थाल्यो।

निर्मलाले अनुहार ठुस्स पारी। रिसले बुढाको कुममा धक्का दिँदै भनी, ‘लु लु नहाँस। तिमीले भन्या नाम चाहिँ किन ठीक हुन्छ भन न त।’

प्रवचन दिन लागेजसरी गणेश बोल्यो, ‘सुन मायालु, छोरा भए आकाशजस्तै दृढ हुन्छ। हट्टाकट्टा बलियो। छोरी भए ताराजस्तै उज्याली हुन्छे। नाच्छे। चम्किन्छे। छोरा भए आकाशजस्तै गम्भीर होस्, छोरी भए ताराजस्तै चञ्चल होस्। अर्थ हेरी पो नाम राख्छन् त लाटी।’

निर्मलाले पत्याई। जाबो नामकै लागि बुढाले यति विज्ञान घुसाएको देखेर उसलाई अचम्म नलागेको त होइन। तर गणेशको प्रस्ताव पास चाहिँ भयो- छोरा भए आकाश, छोरी भए तारा।

भगवानलाई गणेशको नाम-विज्ञान खुब मनपरेछ क्यार! निर्मलाको गर्भमा ताराले भरिएको आकाश आएर बस्यो। तेस्रो चेकअपमा जाँदा थाहा भयो, निर्मला दुई जिउकी होइन, तीन जिउकी भएकी रहिछे।

यति थाहा भएपछि पन्ध्र वटा पूर्णिमा त थाहै नपाई बितिहाले। त्यसपछि लगत्तैको पहिलो औंसीमा गणेश र निर्मलाको संसार झिलीमिली भयो। राती ११ बजेतिर पालैपालो पाँच मिनेट अन्तरमा निर्मलाको गर्भबाट आकाश र तारा धरतीमा उत्रिए।

आँखा झिमिक्क पार्दैमा हुर्किएजसरी, हेर्दाहेर्दै आकाश र तारा ५ वर्ष पुगे।

एकदिन सुत्नुअघि निर्मलाले गणेशलाई हाँस्दै सुनाई, ‘थाहा छ, तपाईंको छोराले अस्ति मेरो सलको सारी लगाएर ‘म कस्तो देखिएँ ममी’ भन्दै थियो। म त झन्डै लडिनँ हाँसेर। अझ हिजो त झन् ‘दाइले मेरो झुम्का चोर्‍यो’ भन्दै तारा रून आएकी मसँग। कति चकचके भएको छ त्यो केटो।’

निर्मलाले यो कुरा जोकजसरी सुनाएकी थिई। तर गणेश हाँसेन।

उसले सोचेको थियो- अब छोराले आफूसँग आर्मीकोजस्तो बुट किनिदिन भन्छ होला। बाउले सोचेजस्तै हट्टाकट्टा बलियो बन्न खोज्छ होला। तर त्यसको उल्टो छोराले छोरी मान्छेजस्तो सारी, झुम्का लगाएर रमाएको पचाउन सकेन।

गणेशलाई छोरो आकाशजस्तै दृढ, छोरी ताराजस्तै चञ्चल चाहिएको थियो। छोरी त ताराजस्तै नै थिई, चञ्चल।

‘कतै छोरा पनि ताराजस्तै त बन्न थालेन!’ उसलाई एकाएक डरले खान थाल्यो। अलिबेर केही नबोलेपछि गणेशले हिच्किचाउँदै निर्मलालाई डर बाँड्यो।

निर्मलाले अचम्म पर्दै भनी, ‘हरे! केटाकेटी छ, नक्कल मात्रै पारेको हो बुढा। मनको बाघले खान्छ यो मान्छेलाई। धेरै नसोच। मैले छोरा नै पाको हो ओइ।’

निर्मलाको कुराले गणेशको मनको बाघ ओडारभित्र पस्यो। तर त्यस दिनदेखि उसले छोराको खेलौनामा चाहिँ बढी ध्यान पुर्‍याउन थाल्यो। खेलौना पसलमा कार, बन्दुक देख्यो कि छोराका लागि बोकेर आइहाल्थ्यो।

‘छोरा मान्छेले झुम्का, सारी लाउन खोज्ने हैन नि! बाबाले लगाकोजस्तो टि-सर्ट, प्यान्ट लाउनुपर्छ है बाबु,’ गणेशले याद गरेरै सिकाउन थाल्यो। अलिकति डर देखाउन ‘अबदेखि बैनीको कपडा लगाको देखेँ भने, हात खुट्टा बाँधिदिन्छु’ भनेर गाली पनि गर्‍यो।

गणेशलाई लागेको थियो, यति गरेपछि छोराले पक्का कुरा बुझ्छ। आकाशले बुझेजस्तो पनि गर्‍यो। गणेशले निर्मलाबाट आकाशबारे फेरि त्यस्तो केही सुन्न परेन।

केही वर्षपछि एकदिन फेरि गणेशको मनको बाघ ओडार छाडेर बाहिर निस्कियो।

आकाश र तारा दस वर्ष पुगेकाले भव्य उत्सव थियो। केक काट्ने बेला गणेशले भन्यो, ‘मेरी छोरी कति राम्रो नाच्छे नि, नाचेर देखाऊ त सानी!’

तारा लजाई।

गणेशले ‘उठ न’ भनेर तान्दै थियो, ताराले हात झट्कारेर भनी, ‘मलाई आउँदैन के, बरू दाइलाई भन्नु नि। यो केटो कोठामा एक्लै-एक्लै कति नाच्छ।’

गणेशको हात ठ्याक्क अडियो। ऊ केही बोल्नुअघि नै तारा दुगुर्दै गएर दाइलाई उठाई।

बहिनीले करै गरेर उठाएपछि आकाशलाई के चाहिन्थ्यो। ऊ काटीकुटी केटीजस्तो हाउभाउमा कम्मर मर्काउँदै आफैं गाउँदै आफैं नाच्न थाल्यो-

मै राम्री हुन, के गरौं भन्देऊ!

आँखामा गाजल लाऊँ कि, ओठमा लाली लाऊँ …

सबैका अगाडि आफ्नो छोरो छोरी मान्छेजसरी घुम्दै नाचिरहेको देखेपछि गणेशको चाहिँ टाउको घुम्न थाल्यो। फेरि मनको बाघ तर्साउन आएर होला, उसलाई चक्कर लाग्लाजस्तो भयो।

गीतको बीचमै हड्बडाउँदै गणेशले भन्यो, ‘ल ल आकाश, भयो अब। सबैजना खाना खान जाऊँ न बरू।’

आकाश अँध्यारो देखियो। उसले यति धेरै मान्छेअगाडि पहिलोपल्ट नाच्न पाएको थियो। नाचेबापत मज्जाले ताली पनि पाइसकेको थिएन, बाले खान हतारो गरे। आकाशले यस्तो अनुहार बनायो मानौं, ऊ खुब भोकाएका बेला बाले उसको मुखसम्मै पुगेको खाना खोसिदिए।

उसलाई अझै नाच्न मन थियो। तर मन बाको अगाडि बोल्न सकेन। नबोलेको मनलाई बाले सुन्न सकेनन्।

पाहुना बसुन्जेल त सबै ठीक थियो। गणेश हाँसिरहेकै थियो। पाहुना जानेबित्तिकै एक्कासि ऊ रिसाएको बाघ भयो। आकाशले बा यति रिसाएको कहिल्यै देखेको थिएन। किन रिसाएको पनि थाहा पाएन। के हुँदैछ भनेर कुरा नबुझ्दै, एक्कासि कसैले उसलाई कान रनन बज्नेगरी एक झापड हान्यो। झ्याप्प आँखा तिरमिर तिरमिर भए। एकैछिनमा आकाशका तातेर राता भएका गालामा बरर आँसु खसे।

आकाशलाई सोध्न मन थियो, ‘नाच्दानाच्दै रोकिनु त मलाई पो परेको हो, रिस त मलाई उठ्नु पर्ने। उल्टै मैले किन झापड खानुपर्‍यो?’ तर ऊ केही बोल्नुअघि नै गणेशले अर्को झापड लगायो।

भन्यो, ‘तँ सालेलाई केटा भएपछि कस्तो हुने सिकाइनँ मैले? त्यस्तै नाच्छस्? हिजडा बन्ने होस्?’

निर्मलाले ‘के बोलेको छोरालाई त्यस्तो?’ भनेर तान्दै थिई, गणेशले उसलाई नै हुत्याइदियो।

एक्लै बर्बराउन थाल्यो, ‘मलाई त उहिल्यै हो चालामाला ठीक नलाको। काँ संस्कार बिग्रियो नि भगवान्! म त मर्द नै हुँ त। मेरो छोरो हैन कि क्या हो यो!’

फेरि चिच्याएर आकाशतिर हेर्दै भन्यो, ‘अबदेखि सबको अगाडि यस्तै गरिस् भने यो घरमा नबसे हुन्छ। बुझिस्?’

आकाशले सुँक्कसुँक्क गर्दै टाउको हल्लायो।

त्यो रात आकाशलाई बासँग धेरैथोक भन्नु थियो। तर त्यति सब भएपछि बाको अगाडि उसको फेरि कहिल्यै बोली फुटेन। आकाशको लागि वरपर बा हुनु भनेको उसको टिभी रिमोटको ‘म्युट बटन’ चालु हुनु जस्तै भयो। ‘भोल्युम’ तब मात्रै बढ्थ्यो, जब कहिलेकाहीँ बा गाउँ जान्थे।

निर्मला गणेशजति कडा त थिइन, तर उभित्र पनि गणेशकै डर थियो। उसलाई पनि छोरा कसरी खुसी हुन्छभन्दा बढी, छोरा कसरी छोराजस्तै हुन्छ भन्ने चिन्ताले खाइरहन्थ्यो। ऊ पूजा गरेर आकाशलाई टीका लाइदिँदा पनि ‘छोरा, मन नडुला, बुद्धि नबिगार है, घरको इज्जत सोचेस्’ भन्दै आशीर्वाद दिन्थी।

आकाशले विस्तारै कुरा बुझ्यो। त्यसैले निर्मलाका अगाडि आकाश बोल्न त सक्थ्यो, तर आफू हुन सक्थेन।

एक ठाउँ मात्रै थियो जहाँ आकाश आफूलाई मनलागे जसरी फराकिलो हुन पाउँथ्यो- तारा। ताराको अगाडि आकाशको टिभी ‘फूल भोल्युम’ चल्थ्यो। तारा पनि दाइ नाचेको देख्दा मज्जा मान्थी।

अझ ‘म पनि यस्तै नाच्न सके’ भन्ने सोचिरहन्थी।

तारालाई पनि अलिअलि अचम्म नलागेको त होइन। एकदिन दाइलाई सोधेकी पनि थिई, ‘तँ ढोका लगाएर बाआमाले नगर् भनेको काम किन गर्छस्?’

आकाशले भन्यो, ‘मलाई खुसी लाग्छ। तँ ममीको मोबाइलमा किन गेम खेल्छेस्? कविता किन लेख्छेस्? त्यस्तै हो।’

ताराले फेरि सोधी, ‘अनि केटा भएर केटाजस्तो मात्रै गर्नुपर्छ रे त। तँलाई केटी हुन मन लागेको?’

आकाशले भन्यो, ‘तेरो साथी स्मृतीले किन ब्वाइज कट कपाल काटेकी? उसलाई केटा हुन मन लागेको हो?’

तारालाई दाइको जवाफ रमाइलो लागिरहेको थियो।

फेरि सोधी, ‘अनि मेकअप गर्छन् त केटाले? मेरो कपडा चाहिँ किन लगाउँछस्?’

आकाशले झिँजो मानिसकेको थियो, तर पनि उत्तर दियो, ‘म घुम्न जाँदा, स्कुल जाँदा, घर बस्दा त बाले भनेजस्तै कपडा लाउँछु त। फिल्ममा हिरोइनहरू नाचेको देखेपछि, म पनि त यस्तो सक्छु नि जस्तो लाग्छ। अनि हिरोइनजस्तो नाचेपछि कपडा पनि हिरोइनजस्तै लाउनु परेन?’

‘ल सकियो तेरो कौन बनेगा करोडपति। धेर नसोध्,’ भन्दै आकाश उठ्न लागेको थियो।

तारा फेरि बोली, ‘अनि तँ कोठामा चुकुल लाएर नाचेको मैले बालाई भन्दिन्छु भनेर डराउन्नस्?’

आकाशले एकछिन सोचेर भन्यो, ‘डराउन्नँ। तैंले मलाई पिटाइ ख्वाउँदिनस्।’

आकाशले सम्झियो- दस वर्ष हुँदा उसले झापड खाएको रात तारा ऊभन्दा बढी रोएकी थिई रे। हुन त आमाले त्यो कुरा ‘अबदेखि त्यस्तो बैनी रूनुपर्ने काम नगर्नू’ भनेर सुनाउनुभएको थियो। तर आकाशले त्यति सुनेपछि तारामा भर भेट्यो।

दाइले आफूलाई पत्याएको देखेर तारा पनि मनमनै खुब खुसी भई। ताराले इमानदार भएर आकाशलाई बचाइरही। यता गणेश र निर्मलालाई समस्या टरेजस्तै लाग्न थाल्यो। गणेशहरूका अगाडि अब आकाश पूरा केटा थियो।

तर आकाशका बाआमाले थाहै पाएनन्, आकाश उनीहरूका अगाडि पूरा केटा त थियो, पूरा आफू भने थिएन।

आकाशलाई कहिलेकाहीँ कुनै राम्रो ‘डान्स स्टेप’ सिकेका दिन बाआमालाई देखाउन खुब मन लाग्थ्यो।

सोच्थ्यो पनि, ‘बाबाममी ताराले लेखेको कविता त कति मन गरेर सुन्नुहुन्छ। उसकोजस्तै मेरो पनि ट्यालेन्ट त हो!’

त्यसो सोच्दासोच्दै १० वर्षको जन्मदिनमा कान रन्किने गरी खाएको झापड फेरि आकाशको कानैमा बज्न आइहाल्थ्यो। त्यसैले १६ वर्ष पुग्दासम्म पनि आकाशले आफ्नो कला तारालाई बाहेक अन्त कहीँ देखाउन सकेन।

माथि तारा आकाशमा मात्रै चम्किन्थे। तल आकाश ताराअगाडि मात्रै चम्किरह्यो।

सधैं बन्द कोठामा मात्रै खुला सास लिँदा विस्तारै आकाश निसास्सिएजस्तो हुन थालेको थियो। आकाशलाई लाग्थ्यो, ‘सबजना आफ्नो प्रतिभा देखाएर वाहवाही पाउँछन् भने म चाहिँ किन लुकाएर बस्नुपर्ने!’

ऊ एक्लैएक्लै चिढिन थाल्यो। केही दिन त मनमनै चिढिएर बसेको थियो। सहनै नसकेपछि एकदिन तारालाई आफ्नो मन बिसाउँदै सोध्यो, ‘कसैले नदेखे त केही जानेको पनि के अर्थ भयो र है? मलाई अब कि सबैले देख्नेगरी नाच्न मन छ कि नाच्नै मन छैन।’

तारासँग बोल्नलाई केही थिएन। उसलाई दाइ नाचिरहोस् भन्ने लाग्थ्यो। थाहा पनि थियो, उसले दाइलाई साँच्चै खुसी देख्नु भनेको दाइ नाचेको देख्नु हो। तर बासँग दाइको नाचबारे कुरा गर्न ताराको पनि कहिल्यै हिम्मत जुटेन। त्यही एउटा कुरामा उसलाई बा ‘हिटलर’ जस्तै डरलाग्दा लाग्थ्यो। अनि बाले नमानी आकाश कुनै हालतमा नाच्न पाउनेवाला थिएन। ताराले घोसेमुन्टो लगाई।

केही उपाय नदेखेर फत्रक्क पर्दै यसै फोन चलाउँदै थिई, अचानक ताराका आँखा एउटा भिडिओमा गए।

‘हेर् न यो केटीको डान्स कति खत्रा!’ भन्दै स्मृतीले म्यासेजमा टिकटक पठाएकी रहेछ। भिडि‌ओमा एउटी केटी दौरा-सुरूवाल, नक्कली जुँगा लगाएर दुरुस्तै केटाजसरी नाच्दै थिई-

कालो टोपी भादगाउँले मेरो शिरैमा ढल्केको…

म हुँ नेपाली बाबु, मेड इन नेपाल…

तारा हेरेको हेर्‍यै भई। उसको अनुहारमा दुइटा साँच्चैका तारा आएर बसेजस्तो चमक आयो।

अब ताराले नयाँ जुक्ति फुराई। फटाफट मोबाइलमा टिकटक डाउनलोड गरी। बाआमा ठ्याक्क बजार गएको मौका थियो। दाइलाई नाच्न तयार हुन लगाई।

आकाशले मन नगरेको देखेपछि भनी, ‘तँलाई गाली गर्ने बाबा हैन? अब बाबाबाहेक सबले देख्छन् मेरो दाइको ट्यालेन्ट। खुरुक्क कपडा लगाएर आइज। बरू टाउकोमा मेरो दोपट्टाले मुरेटो बान् है!’

आकाशले कुरा नबुझे पनि बहिनीले भनेको मान्यो। दाइ चिटिक्क परेर आउनेबित्तिकै ताराले पनि एउटा भिडिओ बनाइहाली। उत्तिबेलै टिकटकमा सेयर गरी।

त्यो दिन बाआमा नफर्किँदासम्म आकाशले २० वटा गीतमा टिकटक बनाएर भ्यायो। तारालाई दाइ यति रमाएको कहिल्यै थाहा थिएन।

उसले सोची, ‘अब त दाइलाई धेरैले देख्छन्। त्यो जुँगा लाएर नाच्ने केटीजस्तै दाइको नाचको पनि तारिफ गर्छन्। सबले तारिफ गरेको कुरा मिलाएर भनेपछि बाबाले पनि मान्नुहुन्छ होला! दाइ नाचिरहन्छ, सधैं यस्तै खुसी हुन्छ।’

तारा सोचेरै मख्ख परी।

दुई हप्तासम्म दाइबहिनीले लुकेरै बनाएको टिकटकमा लुकेको खुसी भेटाए।

त्यसपछिको शुक्रबार भने अलि फरक थियो। गणेश अबेला भइसक्दा पनि अफिसबाट आएको थिएन। आकाश र तारा खाना खाएर आ-आफ्नो कोठामा गइसकेका थिए।

एक्कासि टिल्ल परेर आएको गणेशले आधा होसमा घरको गेट खोल्यो। कहिल्यै बिहा-बरोटमा पनि रक्सी नखाने बुढा, अचानक मात्तिएर आएको देखेपछि निर्मला आत्तिई।

निर्मलाले केही सोधोस्, त्यसअगाडि नै गणेशले सिधै गएर आकाशको ढोकामा लात्ती बजार्‍यो। आकाश खाटमा पल्टेकै थियो, गणेशले कम्मरबाट पेटी निकालेर जथाभावी हान्न थाल्यो।

‘हुर्केको छोरालाई किन पिटेको,’ निर्मला कराउँदै थिई। गणेशले गोजीबाट फोन निकालेर देखायो। त्यसपछि निर्मलाले बुढालाई रोक्न सकिन। टाउको समातेर थचक्क बसी।

गणेश र निर्मला आफैं टिकटक चलाउँथेनन्। त्यही थाहा पाएर तारा ढुक्क भएकी हो। तर गणेशको अफिसमा कसले आकाश नाचेको टिकटक देखेछ। उसलाई आकाश गणेशको छोरा हो भन्ने थाहा थिएन।

उसैले आएर गणेशलाई भिडिओ देखाउँदै भनेको रहेछ, ‘हैन, आजकालका केटा कस्ता हुन थाले है सर? केटा हो कि छक्का हो। बाआमाले पनि के सिकाउँछन् यस्तालाई। हुन त यस्ताको बाउ पनि के, छक्का नै त होला!’

यति सुनिसक्दा, निर्मलाले बत्ती बलेकै कोठा पनि अँध्यारो देख्न थाली।

गणेश बोलिरहेकै थियो, ‘अब मैले को-कोले के-के भनेको सुन्नपर्ने हो। यो कुलंघार बरू नजन्मिएकै भए हुने। कुन दिन छिमेकीले थाहा पाउँछन् अनि गाउँटोलमा पनि बसिसक्नु हुँदैन।’

निर्मला दलिन हेर्दै भन्न थाली, ‘अब त सुध्रियो भनेको बेला, फेरि किन यस्तो बेइज्जत गर्छस् छोरा? बरू मार्दे हामीलाई।’

आकाश घोप्टो परेर भुइँ मात्रै हेरिरह्यो।

त्यो रात कोही मज्जाले निदाउन सकेनन्। आकाशको तिघ्राभरी पेटीले सुम्ला उठेको रहेछ। चोट चाहिँ त्योभन्दा बढी अन्तै लागेको थियो।

भोलिपल्ट सबैजना अबेला उठे। शनिबारको दिन थियो। अरू शनिबारजस्तो तारा उठ्नेबित्तिकै दाइको कोठामा जान सकिन। उसलाई हिजो राती जे भयो, सब आफैंले गर्दा हो भन्ने पछुतोले खाइरहेको थियो।

आकाश खाना खान पनि नआएपछि भने तारा कोठामा गई। आकाश थिएन। ओछ्यानमा एउटा चिठी मात्रै थियो।

लेखेको थियो-

‘तारा, म थाकेँ। हिजो जे भयो, त्यो तैंले गर्दा भएको हैन। त्यसैले आफूलाई दोष नदिनू। यो हिजोको मात्रै कुरा पनि होइन तारा। तँलाई हामी दस वर्ष हुँदाको बर्थ-डे याद छ? मैले त्यही बेला बुझ्नुपर्थ्यो, म यहाँ ठीक छैन। आज बुझेँ। बुझेर कहाँ पुग्छु थाहा छैन। तर अब म यहाँ चाहिँ बस्नु हुन्न।

हुन त म तँलाई केही नभनी यसै हिँड्न नहुने हो। तँलाई भनेको भए तँ कि मलाई जानै दिन्नथिस् कि मसँगै हिँड्थिस्। तर बाआमालाई एउटा सन्तान त चाहिएला।

अब म मेरै बन्द कोठामा पनि मजस्तो हुन पाउँदिनँ थिएँ तारा। अनि तँलाई थाहा छ, म मजस्तो हुन पाइनँ भने मरेजस्तो हुन्छु। बाआमालाई छोरा मर्नुभन्दा हराउनु नै बेस लाग्छ होला। त्यसैले म हराएँ ल? आफैं हराएको मान्छे खोज्न नहिँड्नू।

राम्रा कविता लेख्नू। ज्ञानी छोरी हुनू। छोरीजस्तै हुनू ल।’

ताराको हातबाट चिठी खस्यो। हतारहतार टिपेर दौडिँदै आमालाई देखाउन गई। निर्मलाको सातो उड्यो। आमाछोरी आत्तिएर गणेशलाई फोन गरे। एकछिनमै ‘आकाश हरायो’ भनेर सबतिर हल्लाखल्ला हुन थाल्यो।

गणेश र निर्मलाले ‘घर आइज छोरा, तेरो कुरा बुझ्छौं, जे भन्यो त्यही मान्छौं’ भनेर रेडियो, टिभी सबतिर फुकाए। फेसबुकमा पनि थाहा दिए। गणेशले अस्ति उसको अगाडि आकाशलाई गिज्याएको अफिसकै मान्छेलाई पनि खबर गर्‍यो। धेरैलाई थाहा भए छोरा भेटिन्छ कि भन्ने आश थियो उसलाई।

अब ‘मान्छेले के भन्लान्’ भन्ने सबै डरलाई ‘छोरा कहाँ होला’ भन्ने डरले जितिसकेको थियो।

तर यसरी खोजेको तीन महिना भइसक्दा पनि आकाश भेटिएन। तारालाई त दाइ भेटिन्छ भन्ने आशै थिएन। उसलाई थाहा थियो, आकाश हराएको होइन, आफ्नो ठाउँ खोज्न गएको हो। त्यो ठाउँ जहाँ उसले आफ्नो खुसीको केही स्पष्टीकरण नदिई बाँच्न पाउँथ्यो। त्यो ठाउँ जहाँ उसले केटा, मर्द, मर्दको छोराभन्दा पहिले मान्छे मात्रै हुन पाउँथ्यो। ‘डान्सर’ मात्रै हुन पाउँथ्यो।

तारालाई त्यस्तो ठाउँ छ कि छैन भन्ने पनि थाहा थिएन। त्यसैले उसले अगाडि बढ्ने सोची। बाआमाको हालत देखेर उनीहरूलाई हँसाउन खोज्थी। ताराका लागि उनीहरू पनि खुसी भएजस्तो गर्थे।

आकाश हराएको चार महिनापछि ताराको जन्मदिन आइपुग्यो। जन्मदिन आकाशको पनि थियो, उनीहरूको सबभन्दा साझा कुरा।

तारालाई जन्मदिन मनाउन उति उत्साह थिएन। तर पनि घरमा खुसी हुने केही त हुन्छ भनेर उसैले आफ्ना साथीहरू बोलाई। गणेश र निर्मलाले पनि हुन्छ भने।

बेलुका केक काटिसकेपछि ताराकी मिल्ने साथी स्मृतीले भनी, ‘अब डान्स गरम् न एकछिन। आज अंकल-आन्टीलाई पनि नचाउने।’

ताराले ‘ठीक कुरा, बाबा उठ्नु न’ भन्दै हात समातेर गणेशलाई तान्न खोज्दै थिई, गणेशले एक्कासि हात झट्कार्‍यो। सबैजना अकमक्क परे। निर्मला भने अप्ठ्यारो मान्दै गीत बजाउन गई। ताराका साथीहरू नाच्न थाले। गणेश ‘एकछिनमा आउँछु’ भनेर कोठाबाट निस्कियो।

सबै गीतमा व्यस्त थिए। त्यहीबेला तारा कसैले थाहा नपाउनेगरी बाको पछिपछि गई।

गणेश उठेर आकाशको कोठामा पुग्यो। गोजीबाट फोन निकाल्यो। अनि युट्युब खोलेर सानो आवाजमा गीत बजायो-

मै राम्री हुन, के गरौं भन्देऊ! आँखामा गाजल लाऊँ कि, ओठमा लाली लाऊँ…

तारा छक्क पर्दै झ्यालबाट हेरिरहेकी थिई। गणेश विस्तारै उठेर नाच्न थाल्यो। थुप्रोबेर एक्लै नाचिरह्यो। दुरूस्तै, आकाशजस्तै। -सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *