जब १८ महिना घाम लागेन

सुदीप श्रेष्ठ/सेतोपाटी
काठमाडौं, असोज ४, दुनियाँले साथ छाडे पनि मान्छेलाई उसको छायाले कहिल्यै साथ छाड्दैन रे! सोच्नुस् त, के होला जब आफ्नो छायाले आफ्नै साथ छाड्यो भने!

त्यो पनि एक वा दुई घन्टालाई होइन, एक वा दुई महिना पनि होइन। पूरै अठार महिना! यो कल्पना होइन, यथार्थ हो।

यस्तै भएको थियो आजभन्दा झन्डै पन्ध्र सय वर्षअघि, सन् ५३६ मा, जब पूरै अठार महिना मान्छेले न घाम देखे, न घामको प्रकाशमा आफू सँगसँगै हिँड्ने छाया!

मान्छेलाई दुःखजति आफ्नो ठूलो लाग्छ, सुखजति अर्काको। अहिले हामी कोरोना महामारीको युगमा छौं। संसारका तीन करोड मान्छे कोरोना भाइरसबाट संक्रमित छन्, साढे नौ लाखभन्दा बढीले ज्यान गुमाइसके।

नेपालमै ६२ हजार संक्रमित र मृत्यु संख्या ४ सय नाघिसक्यो। लगभग आधा वर्ष बित्न आँट्यो, हामीले निर्धक्क हिँड्न नपाएको, निर्धक्क मान्छेहरूसँग बोल्न नपाएको र निर्धक्क एकअर्कालाई छुन नपाएको।

यस्तो घडीमा हामीलाई लाग्छ वा लागिरहेकै छ, हामी अहिलेसम्मकै खराब वर्षमा बाँचिरहेका छौं।

तर, हामीसँग ‘टाइम मसिन’ हुँदो हो र हामी त्यसैमा सवार भएर दुई हजार वर्षअघिको यात्रामा निस्कन सक्थ्यौं भने थाहा हुन्थ्यो, मान्छेहरूले योभन्दा ठूल्ठूला महामारी र विपतहरू झेलेका छन्। इतिहासमा त्यस्ता थुप्रै घटना भएका छन्, जसले मानव सभ्यताको नीब हल्लाइदियो।

त्यसो भए दुई हजार वर्षमा मान्छेले झेलेको सबभन्दा ठूलो विपत के होला?

त्यस्तो कुन साल होला, जहाँ हामी टाइम मसिनमा चढेर फेरि फर्कन चाहँदैनौं?

धेरैले भन्लान्– म सन् १३४९ मा फर्कन चाहन्नँ, जब प्लेग महामारीले युरोपका ६० प्रतिशतभन्दा बढीको ज्यान लियो। जसलाई इतिहासमा ‘ब्ल्याक डेथ’ भनेर सम्झना गरिन्छ।

कतिले यो पनि भन्लान्– म सन् १९१८ मा फर्कन चाहन्नँ, जब चीनबाट सुरू भएर अमेरिकासम्म फैलिएको फ्लूको महामारीले ५ करोडदेखि १० करोडको ज्यान लियो।

हार्वर्ड विश्वविद्यालयका इतिहासकार तथा पुरातत्त्वविद् माइकल म्याककोर्मिकको जवाफ फरक छ– उनी सन् ५३६ मा फर्कन चाहँदैनन्।

त्यस्तो के भएको थियो त्यो साल, जसलाई यी अमेरिकी अध्येताले लाखौं–करोडौंको ज्यान लिने प्लेग र फ्लूभन्दा भयंकर ठाने?

स्विस हिमताल, जहाँ जमेका बरफको अनुसन्धानले सन् ५३६ को गुत्थी सुल्झाएको थियो। तस्बिर स्रोत: साइन्स-म्याग
म्याककोर्मिक र उनको टिमले सन् २०१८ नोभेम्बर दोस्रो साता पुरातत्त्वसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘एन्टिक्विटी’ मा प्रकाशन गरेको शोधपत्रमा यसको जवाफ छ। उनले भनेका छन्, ‘युरोपका लागि त्यो अत्यन्तै खराब युगको सुरूआत थियो, जुन युगमा बाँच्ने इच्छा सायदै कसैले राख्ला।’

त्यो वर्ष युरोप, मध्य–पूर्व र मध्य–एसियालाई एउटा ‘रहस्यमयी’ कुहिरोले ढाकेको थियो। त्यसले घामको प्रकाशलाई यस्तरी आफ्नो लपेटमा लियो, जसले दिन र रात छुट्टयाउनै मुश्किल पर्थ्यो।

चौबीस घन्टामा मुश्किलले चार–पाँच घन्टा उज्यालो हुन्थ्यो। त्यो उज्यालो पनि घामको प्रकाशजस्तो चहकिलो र रापिलो थिएन।

यस्तो लाग्थ्यो, मानौं सूर्य उदाएकै छैन। मानौं, संसार हरपल चन्द्रमाको मन्द प्रकाशमा बाँचिरहेको छ। मानौं, हरेक दिन आकाश पानी पोखिएलाजस्तो धूम्म रहन्छ।

यो अवस्था लगभग १८ महिना चलेको म्याककोर्मिकले आफ्नो शोधमा लेखेका छन्।

उनका अनुसार त्यो समय गर्मी यामको तापक्रम नै १.५ देखि २.५ डिग्री सेल्सियससम्म झरेको थियो। यसलाई दुई हजार तीन सय वर्षकै सबभन्दा चिसो दशक भनिएको छ।

पृथ्वीलाई प्राण दिने सूर्य नै यसरी प्राणविहीन भएपछि उसकै तेजले बाँचेका प्राणी र वनस्पतिको के हाल भयो होला?

म्याककोर्मिकको अनुसन्धानले भन्छ– त्यो समय गर्मीमै हिमपात भएको थियो। अत्यधिक चिसोले अधिकांश युरोप, मध्य–पूर्व र मध्य–एसियाका केही मुलुकमा बालीनाली नष्ट भएका थिए। भोकमरीले यो भेग आक्रान्त थियो।

‘सूर्य पनि धमिलो भएर नीलो देखिएको हुनुपर्छ,’ म्याककोर्मिकलाई उद्धृत गर्दै विज्ञान पत्रिका ‘साइन्स–म्याग’ ले २०१८ नोभेम्बर १५ को रिपोर्टमा लेखेको छ, ‘मौसमहरू सबै मिसमास भए। गर्मी कहिले आयो, बर्खा कहिले लाग्यो र कहिलेबाट हिउँद सुरू भयो मान्छेहरूले पत्तै पाएनन्।’

अब भन्नुस् त, टाइम मसिनमा चढेर अतीतको उडान भर्दा के तपाईं यस्तो सालमा फर्कन चाहनुहुन्छ, जहाँ वर्षदिनभन्दा बढी घामै देख्न पाइने छैन?

हुन त म्याककोर्मिक र उनको टिमले यो आफैंमा नयाँ कुरा पत्ता लगाएका थिएनन्। यस किसिमको वर्णन रोमन इतिहासमा पहिले नै दर्ज थियो।

छैठौं शताब्दीका इतिहासकार प्रोकोपियस, जसलाई प्राचीन पश्चिमी संसारका शीर्ष इतिहासकार मानिन्छ, उनले आफ्नो ग्रन्थमा यस्तै खालको वर्णन गरेका थिए।

‘यो पूरै वर्ष सूर्यको प्रकाश एकदमै मन्द छ, चन्द्रमाको जस्तै,’ उनले लेखेका छन्, ‘यस्तो लाग्छ, वर्षदिनदेखि सूर्यमा ग्रहण लागेको छ। यो पूरै कालखण्ड एकदमै भयावह रह्यो। मान्छेले युद्ध, महामारी र यस्ता थुप्रै घटना भोग्नुपर्‍यो, जसले कुनै पनि बेला मृत्युको मुखसम्म पुर्‍याउन सक्छ।’

आइरिस इतिहासका घटनावलीमा पनि छैठौं शताब्दीको मध्यलाई भोकमरी युगका रूपमा चित्रण गरिएको छ। त्यो समय कृषि उत्पादन नभएर खान नपाएको उनीहरूले लेखेका छन्।

त्यही समयतिरका चिनियाँ घटनावलीमा चिसो बढेर गर्मीमा पनि हिमपात भएको उल्लेख छ।

‘यस्ता ऐतिहासिक विवरणलाई सन् १९९० दशकसम्म हामीले खासै गम्भीर रूपमा लिएका थिएनौं,’ म्याककोर्मिकले भनेका छन्, ‘त्यसलाई हामीले विभिन्न कालखण्डमा आइरहने चिसो युगका रूपमा मात्र बुझ्यौं।’

त्यो चिसो युग कतिसम्म चिसो थियो र त्यसको कारण के थियो भन्ने रहस्य १९९० दशकका वैज्ञानिक शोधहरूबाट खुल्यो।

पहिलो संकेत आयरलाइन्डमा भएको एक अनुसन्धानले गर्‍यो।

अनुसन्धाताहरूले त्यहाँका रूखभित्र यस्ता चिह्न फेला पारे, जसले सन् ५४० दशकतिर कुनै ठूलो घटना भएको संकेत गर्थ्यो।

तपाईंले रूख ढालेर त्यसलाई चिरा–चिरा पारेको देख्नुभएको छ? छ भने रूखको मोटो ज्यानभित्र गोलो–गोलो चक्रहरू बनेको पनि देख्नुभएकै होला। ती चक्र यस्तरी बनेका हुन्छन्, मानौं सादा कागजमा बच्चाले गोलाकार आकृति कोरेका हुन्।

रूखका ती चक्र भनेका हाम्रो हातका रेखाजस्तै हुन्। जसरी हातको रेखा हेरेर ज्योतिषले हाम्रो भूत र भविष्य बताइदिन्छन्, त्यसरी नै वनस्पतिविद्ले रूखका रेखा हेरेर त्यसको आयु मात्र होइन, वृद्धिविकासको नालीबेली पनि भन्दिन सक्छन्।

आयरलाइन्डको अनुसन्धानबाट वैज्ञानिकहरूले एउटा अनौठो चिज पत्ता लगाए।

त्यहाँका रूखमा केही गोलाकार रेखाहरू यस्तरी बनेका थिए, जसले लामो कालखण्ड त्यसको विकास प्रक्रिया रोकिएको भान हुन्थ्यो।

भन्नुको मतलब, रूखमा नियमित रूपले हुनुपर्ने वृद्धिको लक्षण एउटा निश्चित समयमा आएर रोकिएको थियो। त्यो ५४० दशक आसपास हुनुपर्ने वैज्ञानिकहरूले अनुमान गरे।

यसबाट उनीहरू के निष्कर्षमा पुगे भने, त्यो समय वायुमण्डलमा पक्कै कुनै ठूलो घटना भएको हुनुपर्छ, जसले वनस्पतिसमेत प्राकृतिक रूपमा फल्न-फुल्न सकेनन्।

यो खोजले आगोको झिल्काजस्तो काम गर्‍यो। वैज्ञानिकहरू यसलाई खोतलेर थप नयाँ कुरा पत्ता लगाउन खुरन्धार लागे।

त्यही क्रममा सन् २०१५ मा स्विट्जरल्यान्डको बर्न विश्वविद्यालयका प्राध्यापक माइकल सिगल र उनको टिमको शोधपत्र सार्वजनिक भयो।

उनीहरूले ग्रिनल्यान्ड र एन्टार्टिकामा जमेको बरफका रेसा–रेसा केलाए। बरफमा सल्फेटका अवशेष थिए, जसका आधारमा उनीहरूले निष्कर्ष निकाले– सन् ५३५ को अन्त्य वा ५३६ को सुरूआतमा एउटा ठूलो ज्वालामुखी विष्फोट भएको हुनुपर्छ, जसबाट निस्केको धुवाँले पृथ्वीको वायुमण्डल ढाक्यो। उनले त्यो ज्वालामुखी उत्तर अमेरिकामा आएको अनुमान गरेका थिए।

‘ज्वालामुखीको धुवाँमा मिसिएको सल्फर, बिस्मुथ र अन्य पदार्थले वायुमण्डलमा पर्दाको काम गर्‍यो,’ सिगलको रिपोर्ट उद्धृत गर्दै साइन्स–म्यागले लेखेको छ, ‘त्यो यस्तो पर्दा थियो, जसलाई सूर्यको किरणले धरी छेड्न सकेन। सूर्यको प्रकाश पर्दामा ठोक्किएर अन्तरिक्षतिरै फर्कियो। यसले उत्तरी गोलार्द्धको ठूलो क्षेत्र लामो समय चिस्सिन पुग्यो।’

पछिल्लो दुई हजार पाँच सय वर्षमा जब–जब पृथ्वी असामान्य रूपले चिस्सियो, त्यसका पछाडि ज्वालामुखी विष्फोट एउटा मुख्य कारण हुन सक्ने प्राध्यापक सिगलको भनाइ छ।

यो रिपोर्टलगत्तै म्याककोर्मिक र उनको टिमले स्वीस हिमतालमा जमेका बरफका रेसा केलाएर त्यस्तै अनुसन्धान गरे।

सन् ५३६ को सुरूआतमै आइसल्यान्डमा भएको ज्वालामुखी विष्फोटनले पृथ्वीको उत्तरी गोलार्द्धको वायुमण्डल पूरै ढाकेको उनीहरूको निष्कर्ष थियो। यति ठूलो जलवायु परिवर्तन ‘एकदमै अचानक र द्रुत गतिमा भएको’ म्याककोर्मिकको भनाइ छ।

क्यालिफोर्निया लुथरन विश्वविद्यालयका भूगर्भ वैज्ञानिक रोबर्ट डल र उनको टिमले ‘क्याटर्नरी साइन्स रिभ्यू’ मा प्रकाशन गरेको रिपोर्टमा पनि ५३६ को ज्वालामुखी विष्फोटनबारे उल्लेख छ।

सन् २०१९ मा प्रकाशित उक्त रिपोर्टमा त्यस वर्षको ज्वालामुखी विष्फोटनलाई ‘रेकर्डेड इतिहासकै सबभन्दा ठूलो’ भनिएको छ।

तर, त्यो बेला यही एउटा ज्वालामुखीले मात्र यो जगतलाई पिरोलेको थिएन।

प्राध्यापक रोबर्ट र उनको टिमको शोधपत्रअनुसार, सन् ५३६ को प्रभाव कम हुँदा–नहुँदै ५३९ वा ५४० मा फेरि अर्को ज्वालामुखी पड्क्यो।

मध्य–अमेरिकाको सानो राष्ट्र एल साल्भाडोरको उक्त ज्वालामुखीले दसौं हजार मान्छेको ज्यान लिनुका साथै अमेरिका र युरोपको तापक्रम फेरि १.४ देखि २.७ डिग्री सेल्सियसमा झर्‍यो।

प्राध्यापक रोबर्ट र उनको टिमले ग्रिनल्यान्ड र एन्टार्टिकामा जमेको बरफका आधारमा यो निष्कर्ष निकालेका हुन्। उनीहरूले त्यहाँ पाइएको सल्फेट लगायत तत्वलाई सन् ५३६ र ५३९ वा ५४० को ज्वालामुखी अवशेष भनेका छन्।

यसरी एकपछि अर्को ज्वालामुखी र त्यसले ल्याउने कुहिरोको बादलले त्यो पूरै दशक आधाजसो पृथ्वी चिसोले ठिहिरियो।

यसबीच ५४१ मा अर्को ठूलो संकट झेल्नुपर्‍यो। त्यो वर्ष प्लेग महामारीले पूर्वी रोमन साम्राज्यका एकतिहाइदेखि आधा जनसंख्याको ज्यान लियो। त्यति बेला रोमन सम्राट जस्टिनियन प्रथमको शासन थियो। त्यही भएर यसलाई ‘प्लेग अफ जस्टिनियन’ पनि भनिन्छ।

यी सबैको प्रभाव युरोपमा सन् ६६० र मध्य–एसियामा ६८० सम्म रहेको अनुसन्धाताहरू बताउँछन्।

म्याककोर्मिकका अनुसार, रोमन साम्राज्य ढल्नुको एउटा मुख्य कारण त्यही जलवायु परिवर्तनको असर थियो।

‘लामो समय घाम नलागेर खेतीपाती नष्ट भएपछि युरोप भोकमरीले आक्रान्त भयो। मान्छे खान नपाएर मर्न थाले। त्यही बेला प्लेग फैलिएर आधा जनसंख्या सखाप भएपछि रोमन साम्राज्य कमजोर भयो,’ उनले भनेका छन्, ‘रोमन साम्राज्य पतन हुनुको एउटा मुख्य कारण यही हो।’

रोमन साम्राज्यको पतन झल्काउने चित्र।
अब प्रश्न उठ्छ– यसरी एउटा शक्तिशाली साम्राज्य पतनको कारण बनेको सन् ५३६ को घटनाबाट के नेपाल अछुतो थियो?

नेपालको इतिहासमा त्यो लिच्छविकालको उत्कर्ष समय थियो, इतिहासकार दिनेशराज पन्त भन्छन्, ‘त्यो समयका दुई सयभन्दा बढी शिलालेख प्राप्त भएका छन्। ती शिलालेखमा कतै पनि यस किसिमको घटना उल्लेख पाइँदैन।’

उनका अनुसार, त्यति बेला धेरैजसो शिलालेख राजा–महाराजाको प्रशस्तिमा लेखिनुले यस्तो घटना उल्लेख नभएको हुनसक्छ। वा, यो पनि हुनसक्छ– त्यो घटनाले हाम्रो क्षेत्रलाई छुँदै छोएन। चीनसम्म प्रभाव देखिएको घटनाले नेपाललाई असर पारेको हुन्थ्यो भने हाम्रो इतिहासमा कतै न कतै त्यसबारे अवश्य उल्लेख हुन्थ्यो।

सम्पदाविद् तथा लिच्छविकालीन इतिहासमा गहिरो अध्ययन गरेका सुदर्शनराज तिवारीको पनि यस्तै राय छ। अहिलेसम्म फेला परेका लिच्छविकालीन शिलालेखमा कहीँ पनि यस किसिमको मौसमी परिवर्तन र त्यसबाट उत्पन्न भोकमरीको घटना उल्लेख नभएको उनी बताउँछन्।

लिच्छविकालीन शिलालेखहरू अध्ययन गर्दा त्यति बेला वसन्तदेवको २६ वर्षे शासनकाल भर्खरै समाप्त भएको बुझिन्छ। यो समय मनोदेव (मनुदेव) वा वामनदेवको शासन हुनुपर्छ।

राजा वसन्त देवले काठमाडौंका विभिन्न ठाउँमा राखेका शासकीय विधानसम्बन्धी नौवटा अभिलेख फेला परेका छन्। ती अभिलेख हेर्दा सन् ५३६ सम्म काठमाडौंको दक्षिणी भेगमा ज्यामितीय ढाँचाको वर्गाकार सहर ‘दक्षिण कोलिग्राम’ बसिसकेको थियो। टेकुबाट माथि उक्लेपछि लगन, जैसिदेवल हुँदै काष्ठमण्डपसम्मको क्षेत्र तत्कालीन दक्षिण कोलिग्राम हो।

उक्त घटनाको दुई वर्षपछि सन् ५३८ को एउटा लिच्छविकालीन अभिलेख फेला परेको छ। साँखु, दुगाहिटी टोलको यो अभिलेख राजा वामनदेव पालाको हो। यसमा विष्णुको मूर्ति ‘वामनस्वामी’ को पूजाआजाका लागि जग्गाको गुठी राखिएको वर्णन मात्र छ।

ज्वालामुखी प्रभाव नेपालको वायुमण्डलसम्म आइपुगेको र त्यसले हाम्रो खेतीपाती र जीवनयापन प्रभावित भएको कुनै संकेत यसमा पाइँदैन। अझ पूजाआजाका लागि जग्गाको गुठी बन्दोबस्त गरिनुले त खेतीपाती राम्रै भइरहेको अनुमान गर्न सकिन्छ।

यति मात्र होइन, सातौं शताब्दीमा अंशुवर्माले काष्ठमण्डप पुनर्निर्माण गरी जगैदेखि नयाँ स्वरूप दिएका थिए। त्यही बेला उनले हाँडीगाउँमा कैलाशकूट दरबार बनाए। दक्षिण कोलिग्राममा ‘दक्षिण राजकूल’ भन्ने दरबारको प्रसंग पनि इतिहासमा छ।

कैलाशकूट दरबार कति भव्य थियो भन्ने चिनियाँ राजदूत ह्वाङ हुयेनको वृत्तान्तबाट थाहा हुन्छ। सातौं शताब्दीमा नेपाल आएका चिनियाँ राजदूतको वर्णनअनुसार यो दरबारको बीचमा साततले तामाको छाना भएको बुर्जा थियो। यसका दलिन, डडाली, कठबार, खम्बा लगायत संरचनाहरू सुन्दर किम्मती पत्थरले बनेका थिए। बुर्जाका चार सुरमा तामाका नल थिए। नलका तलतिर सुनौला मकर (गोही) बनाइएको थियो, जसको मुखबाट कलकल पानी बग्थ्यो। बुर्जामाथि हालिएको पानी नलबाट तल झर्थ्यो। त्यो पानी छहराजस्तो भई सुनौला मकरको मुखबाट झरझर बगिरहन्थ्यो। दरबारमा तीनवटा चोक थिए, जहाँ दस हजार मान्छे अटाउँथे।

यस्तो भव्य दरबारले समृद्धिको झलक दिन्छ। लामो समय भोकमरीग्रस्त राज्यले यस्तो दरबार बनाउनु अकल्पनीय कुरा हो। नेपालले भोकमरी जितेर आधा शताब्दीमै चामत्कारिक समृद्धि हासिल गरेको थियो भन्नलाई हामीसँग कुनै आधार छैन।

भन्नुको मतलब, जुन ज्वालामुखीको धूवाँले युरोपबाट मध्यपूर्व हुँदै चीनलाई समेत लपेटमा लियो, त्यसले हिमालय शृंखला नाघेर नेपालमा प्रवेश गरेन। हामीले १८ महिनासम्म घामै नदेखिने दुर्गति भोग्नुपरेन।

त्यसो भए के अब ‘टाइम मसिन’ चढेर सन् ५३६ को यात्रामा जाने त?

नेपालकै लिच्छविकालमा फर्कन पाए त डरलाग्दो केही रहेनछ! तर, कदाचित् टाइम मसिन गडबड भएर हामीलाई त्यही बेलाको युरोप वा चीनमा झारिदियो भने के गर्ने!

मसिन न हो, उड्दा–उड्दै बिग्रन के बेर!

सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *