व्यवसायीहरुले लामो दुरीका गाडी सञ्चालन गर्न थालेका छन् । उनीहरुले सरकारले गरेको निर्णयअनुसार असोज १ गतेदेखि लामो दुरीका गाडी चलाउन थालेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिहरुले छलफल गरेपछि व्यवसायीहरुले लामो दुरीका गाडी चलाउन थालेका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले सरकारले उचित मापदण्ड र बस सञ्चालनको कार्यविधि नबनाउँदा गाडी चलाउने विषयमा केही समय व्यवसायीहरु अलमलमा परे । तर मन्त्रालयले बस सञ्चालन कार्यविधि बनाउने जिम्मा यातायात व्यवस्था विभागलाई दिएलगत्तै विभागले कार्यविधि तयार पारेर व्यवसायीलाई दिएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बस सञ्चालन गर्ने कार्यविधिमा सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको बताउनुभयो ।
बस सञ्चालन कार्यविधिमा के छ ?
यातायात व्यवसायीले पालना गर्नुपर्ने कुरा
बसमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने
भौतिक दुरी कायम हुने गरी एक पङ्क्तिको एक सिटमा एक जनामात्र यात्रु राख्नुपर्ने
सिटबाहेक अन्यत्र यात्रु राख्न नपाइने
तोकिएको भाडादर भन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने
सवारी साधनको ढोकामा र भित्र अनिवार्य रुपमा स्यानिटाइजर राख्नुपर्ने
गाडीका कर्मचारीले पालना गर्नुपर्ने कुरा
चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाउनुपर्ने
चालक बस्ने सिट र आसपास सकेसम्म बेर्नुपर्ने
दैनिक रुपमा बस डिस्इन्फेक्ट गर्नुपर्ने
खाजा र खाना खाने ठाँउमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गनुपर्ने
गाडीमा बाहिरबाट हावा पास हुने गरी झ्याल ढोका खाेल्ने
यात्रुले ध्यान दिनुपर्ने कुरा
गाडी चढ्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने
गाडीमा चढ्न सामाजिक दुरी कायम गरेर लाईन बस्नुपर्ने
गाडीभित्र बेलाबेला हातमा स्यानिटाइजर लगाउनुपर्ने तर साबुन पानीले हात धुन मिल्ने ठाँउमा त्यसकै प्रयोग गर्ने
सकेसम्म अनलाइनमार्फत टिकट काट्नुपर्ने
बिरामी भए सकेसम्म यात्रा नगर्ने
माथि उल्लेखित कार्यविधि पालना भएकाे/नभएको अनुगमन गर्न यातायात व्यवस्था विभाग, यातायात कार्यालय, ट्राफिक प्रहरी, प्रहरी, पालिकालगायतको संयोजकत्वमा अनुगमन संयन्त्र बनेको छ ।
अनुगमनका क्रममा स्वास्थ्य सुरक्षा र सतर्कता अपनाएर सार्वजनिक यातायात सञ्चालन कार्यविधि र मापदण्ड पालना नभएमा कानुनअनुसारको कारबाही हुने र गाडी नै होल्ड गर्न पनि सकिने विभागले जनाएको छ ।