प्रदेश ५ मा युवा उद्यमीले बनाए आइसियू बेड, भारतबाट पनि धमाधम अर्डर, ६ महिनामै करोडको कारोबार

दाङ, असोज ६, बाँकेको कोहलपुर नगरपालिका-९ पिपिरीमा युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि स्थापना भएको ५ महिनामात्रै भयो।

लकडाउनकै बीचमा खोलिएको कम्पनीले पाँच महिनामा झन्डै १ करोड रुपैयाँ बराबरको कारोबार गरिसकेको छ।

वैशाख १२ गतेदेखि प्रालिले उत्पादन थालेको थियो। कारोबारमात्र होइन यो अवधिमा कम्पनीले आइएस‌ओ गुणस्तर चिन्ह पनि पाइसकेको छ।

आइएसओ चिन्ह पाएपछि कम्पनीका अध्यक्ष २८ वर्षीय सतिस केसी मख्ख छन्। यति छिट्टै यति ठूलो कारोबार गरेर अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता पाउने कम्पनीले खास के काम गर्छ?

अस्पतालका लागि चाहिने सामान्य बेड, आइसियू बेड, टेबुल, र्‍याकजस्ता फर्निचर, अंगुरबाट वाइन बनाउने, पानी प्रशोधनदेखि बोतलमा भरेर सिल गर्ने र दूध डेरीमा चाहिने प्रशोधन मेसिन कम्पनीले बनाउँदै आएको छ।

त्यस्तै जिम क्लबका लागि आवश्यक पर्ने बेञ्च प्रेस मेसिन र अरू सामग्री, रक्सी राख्ने ट्याङ्की, फोहोर व्यवस्थापनमा चाहिने उपकरण र कृषि सामग्रीसमेत कम्पनीले उत्पादन गर्छ।

उद्योगका सञ्चालक भने कतिपय मेसिनरी सामान नेपालमै पहिलो पटक आफूले उत्पादन गरिरहेको दाबी गर्छन्।

‘नेपालमा अस्पतालका लागि आइसियू बेड उत्पादन हाम्रो नै पहिलो हो,’ अध्यक्ष केसीले भने, ‘वाइन बनाउने मेसिन (वाइनरी डिस्लरी मेसिन), बोतलमा प्रशोधन गरिएको पानी भर्ने मेसिन (बोटलिङ प्लान्ट)उत्पादन पनि नेपालमा पहिलो हो।’

केसीको मनमा मेसिन उत्पादन गर्ने कम्पनी खोल्ने सोच वर्ष दिनअघि आएको हो। नेपालमै कुनै न कुनै उत्पादन कम्पनी खोल्ने सपनाको बिउ भने कलेज पढ्दै उनको मनमा परेको थियो।

बैङ्लोरको रेभा इन्टरनेसनल कलेजमा उनी कम्प्युटर साइन्स पढ्न गएका थिए। त्यहाँ पढ्ने उनका साथीहरूका परिवारले उद्योग सञ्चालन गर्थे। उनी त्यस्ता एक-दुई जना साथीको घरमा गएका थिए। परिवारले नै विभिन्न उत्पादन कम्पनी चलाउँछन् भन्ने थाहा पाएर उनी खुब प्रभावित भए।

खासमा त्योभन्दा पनि पहिलेदेखि उद्योगपतिका समाचारले उनको मन खिच्थ्यो।

‘जान्ने भएदेखि मलाई उद्योगपतिको समाचार पढ्न मन पर्थ्यो,’ उनले भने, ‘म्यागेजिन र टिभीमा मुकेश अम्बानीदेखि बिल गेट्सबारे आएका सामग्री पढ्न हेर्न खुब रमाइलो लाग्थ्यो। त्यो बेला मैले सोच्थें- म यो पढाइमा पनि लाग्दिनँ, कसैको जागिर पनि खान्नँ।’

पढाइ सकेपछि उनले जागिर भने खानुपर्‍यो। तीन वर्षअघि बैङ्गलोरबाट फर्किएर काठमाडौंको एउटा टिभीमा काम गर्न पुगे। त्यो बेला उनलाई कुनै व्यवसाय गर्नुपर्छ भन्ने कुराले घच्घच्याइरहन्थ्यो।

एकदिन कसैले उनलाई चाइनिजले एउटा इँटा कम्पनी बेच्न लागेको खबर सुनायो। उनका तीन नेत्र खुले। तर चाइनिजसँग कुरा मिलेन। त्यसपछि उनी रारा घुम्न गएका थिए।

वीरगञ्जका एक साथीले उनलाई सुनाए- मसँग प्लाष्टिकका सामान बनाउने मेसिन छ। काम गर्न नसकेर थन्काएको छु।

सतिसको उद्योगी दिमागले यस्ता अवसर चुम्बकले फलाम तानेझैं तान्थ्यो। त्यो कुरा पनि उनले यसै खेर जान दिएनन्। त्यही मेसिन लिएर प्लाष्टिकका सामान उत्पादन गर्ने सपनाले छिनभरमै उनलाई गाँजिसकेको थियो।

उनी जुम्लाबाट कोहलपुर आएको भोलिपल्ट बिहानै बुवालाई आफ्नो कुरा सुनाए। उनका बुवा र दाइ पनि व्यवसायी हुन्।

बुवाले भने-आफैं केही गर्ने हो भने गर।

बुवाले नै उनलाई एक किलोमिटर टाढाको जग्गामा लगेर गए। त्यही दिन कम्पनीको घर बनाउने जग पनि खने।

वीरगञ्जबाट मेसिन ल्याएर प्लाष्टिक उद्योग सुरू गरे। उनको उत्साह देखेर बुवाका एकजना साथीले उक्त कम्पनीमा शेयर हालेका छन्।

प्लाष्टिकको पानी ट्याङ्की, सडकमा चाहिने प्लास्टिकका पाइप, खानेपानीका पाइप उत्पादन गर्छ। यो उद्योग ५ करोड लागतमा स्थापना भएको थियो।

प्लास्टिक कम्पनीलाई उनले ठाउँ साँघुरो भएर अन्यन्त्रै सारिसकेका थिए। त्यो ठाउँमा उनले युनाइटेड एग्रो नाम दिएर अर्को कम्पनी खोल्ने सोच बनाएका थिए। दर्ता गर्न बाँकी थियो।

पोहोर साल एक दिन बैङ्गलोरमा भएका उनका साथीलाई फोन गरे। फोनमा लामो गफगाफ भयो। त्यो बेला उनका साथीका बुवासँग पनि उनको कुरा भयो। जो महाराष्ट्रको प्रियङ्का वाइनटेक प्रालिका सञ्चालक बालु सहनी हुन्।

उनले नेपालमा समेत वाइन बनाउने मेसिनहरू बनाउने/वाइन कम्पनी नै खोल्ने कुरा कस्तो हुन्छ भनेर सोधे। साथीका बुवाको कुराले उनी उत्साहित भए।

नभन्दै साथीका बुवा त कोहलपुरै आए। उनीसँग कुरा भइरहेको थियो। नेपालमा मेसिन उत्पादन एकदमै कम हुन्छ भन्ने कुरा उनले सुनाए।

‘त्यसो भए नेपालमा कस्ता-कस्ता मेसिन बनाउन सकिन्छ?’ बालुले भने, ‘त्यसको रिसर्च गरेर आऊ।’

अस्पतालमा चाहिने सामानदेखि खेतीकिसानी गर्दा चाहिने सामानसम्म बाहिरैबाट किनेर ल्याउनु पर्छ ती मेसिन नेपालमा बन्दैनन् भन्ने कुरा उनले बुझे।

एक वर्षअघि असोजमा उनी यही कुरा लिएर मुम्बई गए। मुम्बई जानुअघि उनले कम्पनी रजिष्ट्रार कार्यालयमा गएर युनाइटेड एग्रो कम्पनी दर्ता गराए।

भारतमा बालुले उनलाई धेरै थरी कम्पनीमा घुमाइदिए।

‘आइसियूका बेडदेखि वाइन बनाउने मेसिन उत्पादन गर्ने कम्पनीमा म घुमें,’ उनले भने, ‘मलाई पनि मेसिन उत्पादन गर्ने कम्पनी खोल्न आँट आयो।’

आफ्नै ७ कठ्ठा क्षेत्रफलको जग्गामा मेसिनहरू उत्पादन गर्ने कम्पनी खोले।

तीन महिनाको भारत बसाइपछि उनले बालुसँग एउटा सम्झौता गरे- उत्पादनलाई चाहिने मेसिन र दक्ष कर्मचारी भारतबाट नासिक प्रियङ्का वाइनटेकले पठाइदिने अरू सबै खर्च आफूहरूले बेहोर्ने।

सतिसले आफ्नी फुपुका छोरा सुरेश बुढाथोकीलाई पनि कम्पनीको पार्टनर बनाए।

‘हामी तीनजना पार्टनर छौं तर कसको कति शेयर हुने भन्ने हिसाब भइसकेको छैन,’ उनले भने, ‘कम्पनीमा लगानीचाहिँ हाम्रो धेरै हुन्छ।’

अहिलेसम्म ३ करोड लगानी पुगिसकेको उनले बताए।

‘अब थप दुई करोड जति लगानी गरेर उद्योग पाँच करोडसम्म पुर्‍याउने भन्ने हाम्रो सल्लाह भएको छ,’ अध्यक्ष केसीले भने।

मुम्बईबाट अस्पतालका बेड, डेरीका लागि चाहिने मेसिन, वाइन बनाउने र पानी प्रशोधन गर्ने मेसिनका लागि सामानहरू आए। कर्मचारी पनि आएर मेसिन जडान गरे।

काम सुरू गर्ने बेला लकडाउन भयो। झन्डै १ महिनासम्म त उनी जसोतसो बसे।

त्यो बेला पनि दिनदिनै उनी कुन अस्पतालमा बेड चाहिएको छ, कुन गाउँ वा नगरमा आइसोलेसन बेड खाँचो छ भन्ने कुरा बुझ्थे। बुझ्नेमात्र काम भयो। न कसैले अर्डर गर्थ्यो न उनले बेड बनाउनै पाउँथे। बेड बनाउने सामानसमेत भारतमै अड्केका थिए।

कुरा गर्दागर्दै नेपालगञ्जको ओलिया कम्पनीले आइसियू बेड अर्डर गर्‍यो। २०० बेडको अडर आएपछि सतिसलाई यसै बस्न मनले दिएन।

उनले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर आइसियू बेड बनाउने सामान ल्याउनका लागि भारत जाने अनुमति मागे। महामारीका बेला अस्पताल बेड अत्यावश्यक कुरा पनि हो। सिडिओले अनुमति दिए।

वैशाख १२ देखि सतिसको कम्पनीले आइसियू बेड उत्पादन थाल्यो।

त्यो बेला ५ जनामात्र आइसियू बनाउने कर्मचारी थिए। अहिले ३० पुगेका छन्।

पहिलो उत्पादनपछि उनीहरू रोकिनु परेन।

कोरोना लकडाउनका बेला सबैभन्दा बढी कारोबार नै आइसियू बेडको भएको सतिसले सुनाए।

केसीका अनुसार, उनीहरूले उत्पादन गरेका अस्पताललाई चाहिने फर्निसिङ सामग्रीहरूको माग भारतबाट समेत हुन थालेको छ। अहिले उनीहरूलाई भारतबाट १२ हजार अस्पताललाई चाहिने बेडको माग आएको छ।

‘हामीलाई भ्याइनभ्याई छ,’ केसीले भने ‘इन्डियाबाट १२ हजार अस्पताल बेडको अर्डर आएको छ। हामीले त्यो अझैं पठाउन सकेका छैनौं।’

‘सीमा क्षेत्रमै भएकाले पनि हाम्रा सामानका लागि भारतबाट माग आउँछ,’ उनले भने, ‘भारत वा चीनबाट सामान मगाउँथ्यौं आफूले ती देशमा मेसिनरी सामान निर्यात गर्ने अवसर पाउँदा खुसी लाग्दो रहेछ।’

कोरोना महामारीमा हुने मागको आँकलन उनीहरूलाई पहिलै थियो। त्यसैले धमाधम बेड निर्माण गर्न थाले।

कोरोना कहरको बीचमा क्वारेन्टिन र आइसोलेसनका लागि आवश्यक बेडहरू पनि निर्माण गरे। अहिलेसम्म आफ्ना सामान उनीहरूले सातै प्रदेशमा पुर्‍याएका छन्।

‘हामीले परिस्थिति हेरेर निर्णय गर्‍यौं,’ केसीले भने ‘हस्पिटल बेडहरू निर्माण गर्न थालेपछि हामीलाई अर्डर पुर्‍याउनै समस्या भयो।’

अहिले उनीहरूलाई कटारीको सगरमाथा अस्पतालले आफूलाई चाहिने पुरै बेड र अरू फर्निसिङका सामान माग गरेको छ। सेन्टर पोलिक्लिनिक नेपालगञ्जमा पनि माग भएका बेड पुर्‍याइदिनु छ।

उद्योगका अर्का सञ्चालक ३२ वर्षीय सुरेश बुढाथोकीले भिन्न अनुभव सुनाए।

उनका अनुसार भारत र नेपालकै पनि बाहिरी जिल्लाबाट सामान खोज्दै धमाधम मानिसहरू आउँछन् तर आफ्नै क्षेत्रमा भने अपेक्षा अनुसारको माग आएको छैन।

‘हामीलाई विश्वास नगरेर हो कि, नजिकबाट खरिद गर्दा कमिसन आउँदैन भनेर हो, नेपालगञ्जमा हाम्रो उत्पादन खासै गएन,’ बुढाथोकीले भने ‘सबैभन्दा धेरै कर्णाली प्रदेशमा हामीले उत्पादन गरेका हस्पिटल बेड बिक्री भए।’

अस्पताललाई चाहिने बेडको मूल्य फरक-फरक छ। सामान्य बेडलाई २०/२५ हजारमा बेच्ने गरेका छन्। सेन्सरसहितको आइसियू बेडलाई डेढदेखि अढाई लाखसम्म मूल्य पर्ने प्रालिका अध्यक्ष केसीले बताए। सेन्सर बेडले बिरामीलाई आवश्यकताअनुसार स्वचालित रूपमा सुताउने र उठाउने काम गर्ने हुँदा त्यो तुलनात्मक रूपमा महंगो पर्न जाने प्रबन्ध निर्देशक बुढाथोकीले जानकारी दिए।

उनले काठमाडौं, धनगढीसम्म पनि आफूहरूको उत्पादन राम्रो बिक्री भएको बताए।

यो बीचमै पनि दूध डेरीका लागि चाहिने मेसिन, वाइन बनाउने मेसिनको पनि कारोबार भयो।

अस्पतालका बेड बाहेक आफ्ना अन्य उत्पादनले पनि राम्रै बजार पाइरहेका छन्।

दाङ र टीकापुरका दुई रिसोर्टले वाइन बनाउने र रक्सी राख्ने सामानहरू बुक गरिसकेका छन्। दाङबाट ‘मिनरल वाटर प्लान्ट’ बुक भएको छ। अध्यक्ष केसीका अनुसार नेपालगञ्जका घर-घरमा पानी वितरणको लागि प्लान्ट निर्माण गर्नेबारे बाँकेका प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भइरहेको छ।

जिम क्लबमा चाहिने मेसिन र अरू सामग्री पनि आफूहरूकहाँ अन्तको भन्दा राम्रो भएको दाबी उनीहरूको छ।

‘हाम्रो फिनिसिङ एकदमै राम्रो छ र पेन्टिङको काम पनि पाउडर कुटिङबाट गरिन्छ,’ केसीले भने ‘ हामी दश वर्षसम्म ग्यारेन्टी दिन्छौं।’

भारत वा चीनवाट पाटपूर्जा ल्याएर जडान गर्ने गरेको अध्यक्ष केसीले बताए। नेपालमै मेसिनरी सामान उत्पादन भएकाले उपभोक्ताले सस्तोमा सामान किन्न पाएका छन्।

‘हामीसँग सामान किन्दा झन्डै २५ प्रतिशत सस्तो पर्छ,’ उनले भने ‘भन्सार तिर्नु नपर्ने भएपछि सामान त्यसै सस्तो हुन्छ।’

त्योबाहेक कुनै पनि समस्या आए आफूहरूले समयमै सर्भिस दिने र मर्मत गर्न सक्ने उनले बताए।

उनीहरूको उद्योगमा १० जना भारतीयसहित ३२ जना काम गर्छन्।

‘हामी पहिलो प्राथमिकता नेपालीलाई दिन्छौं,’ केसीले भने, ‘हाम्रो दक्ष जनशक्ति नभएको हुँदा काम सिकाउन भए पनि अहिले भारतबाट कर्मचारी ल्याउनु परिरहेको छ।’

उद्योगका प्रबन्ध निर्देशक बुढाथोकीले आफूहरूले उत्पादन गर्दै आएका उपकरणहरू विदेशी उत्पादनजस्तै गुणस्तरीय रहेको बताए।

‘हाम्रा उत्पादन कुनै पनि विदेशी उत्पादनभन्दा कमसल छैन,’ बुढाथोकीले भने ‘ एक पटक प्रयोग गरेर हेर्नुस् र अनि विश्वास गर्नुस्।’

उनले हरेक नेपाली उपभोक्ताले नेपाली उत्पादनलाई प्राथमिकता दिनु पर्ने आग्रह गरे।

अहिलेको कोरोना महामारीको अवस्थालाई मध्य नजर गरेर अस्पतालमा चाहिने फर्निचरलगायत अत्याधुनिक किसिमका बेड, ह्विल चेयर तथा अन्य उपकरणको निर्माण उनीहरूले गर्दै आएका छन्।

इलेक्ट्रिक मोटरसाइकल बनाउने योजना

उद्योगका अध्यक्ष केसीका अनुसार हाल उनीहरूले इलेक्ट्रिक मोटरसाइकल बनाउने प्रयास गरिरहेका छन्।

त्यसका लागि एउटा सेकेन्ड ह्याण्डको बाइक किनेर प्रयास भइरहेको उनले बताए।

‘पुरानो मोटरसाइकलको ह्याण्डल, सकर र ह्विलमात्रै प्रयोग गर्ने गरी काम भइरहेको छ,’ केसीले भने ‘ त्योबाहेक इलेक्ट्रिक बाइकलाई आवश्यक पर्ने सबै उपकरण हामी आफैं उत्पादन गर्ने छौं।’

इलेक्ट्रिक बाइकको बडी माउन्टेन बाइकको जस्तै बनाउने सल्लाह भइरहेको केसीले जानकारी दिए।

‘एक पटक चार्ज गरेपछि दुई सय किलोमिटरसम्म चल्न सक्ने मोटरसाइकल बनाउने हाम्रो सपना छ,’ केसीले भने, ‘त्यसो भयो भने इन्धनको खपत कम गर्न सकिन्छ र वातावरण प्रदुषण पनि न्युनिकरण गर्न सहज हुनेछ।’ -नारायण खड्का/सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *