आज यी प्रदेशमा हुन्छ ‘धेरै भारी’ वर्षा, सतर्क रहन मौसमविद्को सुझाव

असोज ७, काठमाडौं । आज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाकाे सम्भावना छ।

साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’मा उल्लेख छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र छ र यो पश्चिम-उत्तरपश्चिम सर्दै छ। यसैकारण नेपालमा वर्षा हुने क्रम बढेकाे हाे।

असोज ११ सम्म तटीय क्षेत्रमा उच्च जोखिम

असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपुरमा उच्च जोखिम रहेको जनाइएको छ । त्यस आसपासका अन्य जिल्लासमेत जोखिममा रहेको छ ।

महाशाखाले कन्काइ बागमती, तिनाउ वाणगङ्गा, पश्चिम राप्ती बबईका सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ ।

यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान सुर्खेत र दैलेख जिल्ला पनि बाढी पहिरोको मध्यम जोखिममा रहेको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *