यी जिल्लामा छ बाढी-पहिरोको उच्च जोकिम [नामसहित]

असोज ७, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी-पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विभिन्न प्रविधिको माध्यामबाट सूचना पठाएर तथा फोनमार्फत नै सम्बन्धित सुरक्षा अधिकारी, स्थानीय प्रशासन र जनप्रतिनिधिलाई उच्च सावधानी अपनाउन र सर्बसाधारणलाई सूचित गराउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उनका अनुसार अबको केही दिन मुलुकभर नै बर्षा हुने छ । केही स्थानमा भारी वर्षासमेत हुने र धेरै स्थानका नदी तथा खोलामा सतह बढ्ने छ । त्यसैले यो अबस्थामा बाढी पहिरोको घटना हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको हो । जल तथा मौसम विज्ञान विभाग र बाढी पुर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण आज कन्काइ, बाग्मती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती, बबईका केही साना सहायक नदीमा आकस्मिक बहाव आउने देखिएको छ ।

प्राप्त विवरण अनुसार इलाम झापा, मोरङ्, सुनसरी, धनकुटा, भोजपुर, गोरखा, लम्जुङ्, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ्, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम प्यूठान, दाङ जिल्ला उच्च जोखिम रहेको जनाइएको छ ।

सोही क्षेत्रमा उच्च सावधानी अपनाउन र अन्य क्षेत्रमा समेत सावधानी अपनाउन भनिएको प्राधिकरणले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार अहिले मुलुकका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । यो क्रम राति समेत जारी रहने जनाइएको छ ।

मङ्गलबारदेखि नै देशका सबै नदीमा बहाव बढ्दो रहेको र असोज ७–१० गते देशै भरका नदीमा बहाव उच्च हुने अनुमान गरिएको छ ।

विद्युत प्राधिकरणको जीप बाढीले बगायो, चालकको मृत्यु, कार्यालय प्रमुखसहित २ जना बेपत्ता

कपिलबस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

वर्षाका कारण कोइली खोलामा आएको बाढीले बुधबार दिउँसो जीप बगाउँदा एकजनाको मृत्यु भएको भएको र दुईजना बेपत्ता भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौड्यालले रातोपाटीलाई जानकारी दिए ।

मृत्यु हुनेमा जिप चालक ३५ वर्षीय माधवप्रसाद पाण्डे रहेका छन् भने वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र अर्का स्थानीय केशव भाटक्षेत्री रहेका छन् ।

वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार बा. १ च. १०८९ पजेरो जीप बगाएको प्रमूख जिल्ला अधिकारी पौडेलले बताए ।

पानीको बहाव धेरै भएकोले गाडी बगाएको र दुर्घटना हुनुभन्दा पहिले नै अन्य ३ जनाले भने हाम फालेर ज्यान बचाएका छन् । चालक पाण्डेको शव भेटिएको छ भने वेपत्ताहरुको खोजविनका लागि थप सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी पौड्यालले आज रातभर बेपताहरुको खोजी गर्ने बताए । विद्युतका कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाच्न सफल भएका थिए ।

काठमाडौंमा खोलाले बगाउँदा १ जना बेपत्ता

काठमाडौंमा धोबीखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । कालोपुल क्षेत्रबाट दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

साँझ साढे ५ बजेतिर खबर आएपछि नेपाल प्रहरीको विपद व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उृनको खोजी गरिरहेको छ ।

कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने कार्कीलाई फेला पार्न नसकिएको गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *