मौसममा सुधार कहिलेबाट आउछ, के भन्छन मौसमविद ?

८ असोज, काठमाडौं । देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ ।

मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘आज र भोलि देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही स्थानमा अति भारी वर्षाको सम्भावना पनि छ ।’

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।

काठमाडौंमा ६०.५ मिलमिटर वर्षा रेकर्ड भएको मौसमविद मानन्धरले जानकारी दिइन् । अन्य स्थानको अध्यावधिक विवरण भने आउन बाँकी रहेको मौसमविद मानन्धरले बताइन् ।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेको छ । त्यसैले नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा लम्बियो मनसुन

नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय छ ।

‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,’ जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

आजसम्मको विश्लेषण अनुसार, हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिम तर्फ सर्ने क्रममा २५ सेप्टेम्बरसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ ।

यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

तिनाउ र नारायणीको बाढीले खतराको तह नाघ्यो

नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पारेको छ ।

तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ । आज बिहान साढे ७ बजेसम्मको रेकर्डअनुसार तिनाउको जलसतह ५.७१ मिटर पुगेको छ । यद्यपि यो सतह घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदीको बाढीले पनि सतर्कताको तह पार गरेको छ । डण्डा, गैंडाकोट, डेढगाउँ र कल्याणपुर क्षेत्रमा भारी वर्षा भएको छ । त्यसैले चितवन, नवलपरासी लगायतका तटीय क्षेत्रमा पनि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

देशभर नै निरन्तर वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ । यसअघि नै बाढी सूचना केन्द्रले बाढी आउने पूर्वानुमान गर्दै ११ गतेसम्म तटीय क्षेत्रमा नजान आग्रह गरेको थियो ।

पाल्पामा पहिरो, पाँच जना बेपत्ता

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । म घटनास्थलमा पुग्दै छु ।’

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।

स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।

तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

यसैगरी पाल्पाको रम्भा गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो । तर राति ९ बजेपछि फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो ।

केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *