हिजो राति एउटै घरमा सुतेका आमा र दाजुभाइलाई अब कहिल्यै देख्न पाउने छैनन् मनीषाले

पोखरा, असोज ८, पहिरोमा ९ जना परिवार गुमाएकी मनिषा परियार पोखरामा उपचार गर्दै। तस्बीर–युवराज श्रेष्ठ/सेतोपाटीपहिरोमा ९ जना परिवार गुमाएकी मनिषा परियार पोखरामा उपचार गर्दै। तस्बीर–युवराज श्रेष्ठ/सेतोपाटी

एकाबिहानै माथिबाट झरेको पहिरोले १७ बर्षीया मनीषा परियार मात्र जोगिइन्। उनी भर्खर उठेकी थिइन्, पानी भर्न जाने तरखरमा ढोकामा निस्केकी थिइन्। अचानक ठूलो आवाज आयो, लगत्तै पहिरो।

बिहान करिब ६ बजेतिर स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा स्थानीय माया नेपालीको घर पहिरोले पुरियो, मनीषा बाहेक परिवारका सबै सदस्य पुरिए।

ढोकामा निस्केकी मनीषालाई पनि पहिरोसँगै आएको ढुङ्गाले थिच्याे। उनको दाहिने खुट्टाको पिँडौलामा ठूलो चोट लागेको छ, भलै खुट्टा भाँचिएको भने छैन। शरीरका केही भाग धसारिएका छन्। घर छाउने टिनले शरीरमा हाने पनि उनमा त्यसको चोट भने देखिएको छैन।

मनीषा अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत् छिन्। वालिङ स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरेर गण्डकी अस्पतालमा ल्याइएपछि उनको घाउ चिकित्सकको टोलीले सफा गरिदिएको छ। आवश्यक उपचार गरेर अहिले वार्डमा सारिदिएका छन्।

बिहान उनीसँगै उठेका थिए, उनकी आमा ४८ वर्षीया माया परियार र पाहुना आएकी सानीआमा २७ वर्षीया उमाकला नेपाली।

घरमा मनीषाकी आमा माया परियार, ठूलीआमा सानी परियार, सानीआमा उमाकला, जेठा दाजु दीपक, साइँलो दाजु कुलदीप, भाइहरू विक्रम र विवश थिए। पहिरोले घरमा भएका ९ जनाको एउटै चिहान बनाइदियो।

उद्धारमा खटिएका नेपाल, सशस्त्र प्रहरी र स्थानीयको टोलीले ढुङ्गाले थिचेको अवस्थामा मनीषाको जीवित उद्धार गरे। मनीषाकी भाउजु बिनिता परियार ५ महिने छोरा कवीरलाई लिएर मलमास बार्न भनेर मामाघर गएकी थिइन्। बिनिता कुलदीपकी श्रीमती हुन्।

‘घरमा भएकाहरूलाई के के भएको छ मलाई केही पनि थाहा छैन,’ अस्पतालको बेडबाट मनिषाले भनिन्, ‘ठूलीआमा कहाँ हुनुहुन्छ होला।’

मनिषाकी आमा माया र ठूलीआमा सानी दिदीबहिनी हुन्। ठूलीआमा सानीबाट बच्चा नजन्मिएपछि उनका बुबाले आफ्नै साली मायासँग दोस्रो विवाह गरेका थिए। उनका बुवा पनि कान्छा भाइ पेटमै हुँदा झण्डै ९ वर्षअघि बितेका थिए।

आमाले सिलाईको काम गर्ने भएकाले बच्चालाई हेर्न भ्याउँथिनन्। ठूलीआमा सानीले मनीषालाई सानैदेखि हुर्काएकी थिइन्। पहिरोमा परेर परिवारको सबै सदस्यको मृत्यु भएको अहिलेसम्म मनीषालाई जानकारी गराइएको छैन।

‘सबैजना पहिरोमा परे भनेर कसरी भन्नु?’ मनीषालाई अस्पताल ल्याएकी दिदी नाता पर्ने कमला परियारले सेतोपाटीसँग भनिन्,‘उनको मनमा केही न केही लागेको होला नि, जतिबेला रोइराख्छिन्।’

घरवरिपरि पहिरो जानेक्रम यसअघि नै सुरू भएको थियो। घरमाथि खनिएको मोटरबाटोले झनै पहिरो बढाएको थियो। यसपालिको वर्षातमा धेरैजसो उनीहरू घरमाथि रहेको सिरानघरमा बस्थे। सिरानघरमा एउटा मात्र घर छ। पहिरोबाट जोगिन भन्दै यसअघि धेरै दिन उनीहरू त्यही घरमा रात बिताएका थिए।

केहीदिन यता निरन्तर बर्षा भइरहेको छ। बर्षा नरोकिएपछि मनीषाले बुधबार साँझ नै सिरानघर गएर बस्न परिवारलाई भनेकी थिइन्।

‘मैले बेलुका नै पहिरो आउँछ, सिरानघर जाउँ भनेकी थिएँ,’ मनीषाले भनिन्, ‘दाइले पानी आउन्न, नजाउँ भनेर भन्नुभयाे।’

नभन्दै भोलिपल्ट अर्थात बिहीबार बिहानै पहिरो आयो, मनीषाको घरसहित परिवारै मेटाइदियो।

आफूले भनेको मानेको भए अहिले यो हालत नहुने मनीषा बताउँछिन्। घर र परिवार मात्र होइन, घरमा भएका सम्पूर्ण सम्पत्ति र सामग्री पनि पहिरोले लगिदिएको छ।

मनीषाको उपचारमा आएकी कमलाले वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले दिएको १० हजार रूपैयाँ बोकेर आएकी छिन्। त्यही पैसाले उनको उपचार हुँदैछ।

मेयर खाँणले अस्पतालमा सम्पर्क गरेर मनीषाको उपचार नरोक्न र सम्पूर्ण खर्च नगरपालिकाको नाममा बिल बनाउन भनेका छन्। ‘उनको उपचारको सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्छ’, खाँणले भने ।

एसइई सकेर बसेकी मनीषाले गाउँकै स्कुलमा व्यवस्थापन विषयमा प्लस टु पढ्ने भनेर घरमा सल्लाह गरेकी थिइन्।

स्कुल खुलेपछि पढ्न जाने योजनामा थिइन्। अब भने उनको न घर रह्यो, न त परिवार नै। उनका दुई दिदी बहिनीले विवाह गरिसकेका छन् भने माइला दाजु भोजराज भारतको मुम्बईमा छन्।

‘दाइ दशैंमा आउँछु भन्नुहुन्थ्यो,’ मनीषाले भनिन्, ‘घर नै पहिरोले लग्यो कहाँ बस्ने हो।’

मनीषाले भने अब अभिभावक र परिवारका सदस्यहरूको शव पनि देख्न पाउने छैनन्। पहिरोमा मृत्यु भएका ९ जनाकै बिहीबार दिउँसो पोष्टमार्टम गरेर सामूहिक अन्त्येष्टी गरिएको छ। परिवारका बारेमा बेखबर उपचाररत् मनीषालाई यो खबर कसरी भन्ने कमलाले पनि सोच्न सकेकी छैनन्।

भिरालो ठाउँ, घरमाथि मोटरबाटो। मोटरबाटो बनाएदेखि नै उक्त गाउँमा पहिरोको जोखिम बढेको थियो। स्थानीयबासीले यसअघि पटक पटक सम्बन्धित निकायलाई बर्खामा आउने भल पानी तर्काउन र पहिरोको जोखिम रहेको ठाउँमा तारजाली लगाउन माग गरेका थिए।

स्याङ्जा नै गृहजिल्ला रहेकी सहकारी मन्त्री पदमा अर्याल, वालिङ नगरपालिका र सडक विभागलाई पटकपटक जोखिमबारे स्थानीयले जानकारी गराएको कमलाले बताइन्।

‘तर कसैले सुनेनन्,’ उनले भनिन्, ‘अहिले आएर यत्रो क्षति भयो।’

सडक विभागले ५ वर्षअघि वालिङबाट पर्वत जोड्न उक्त सडक निर्माण गरेको थियो। सोही सडक अन्तर्गत डुँडखोला गाउँबाट तमादी गाउँ हुँदै हुवास गएर जोडिने सडक माथिबाट झरेको पहिराेले मनीषाको घर पुरिएको हो।

मेयर खाँणले सडक विभागलाई गाउँ भएको ठाउँमा पर्खाल लगाउन पटकपटक भनेपनि वेवास्ता गरेको बताउँछन्। ‘सडकका अरू ठाउँमा वाल लगाएका छन्, गाउँ भएकै ठाउँमा लगाएनन्,’ उनले भने, ‘त्यसैको नतिजा आज पहिरोले क्षति गरायो ।’

सडक विभागले बजेट राखेको योजना भएका कारण नगरपालिकाले ‘डुप्लिकेसन’ नहोस् भनेर उक्त सडकलाई बजेट नराखेको उनले बताए। तीनै तहका सरकारबीच समन्वय र सहकार्य नहुँदा मनीषाले परिवार गुमाउनुपरेको छ।

‘संघीय सरकार र प्रदेशले कहाँ कहाँ पैसा हाल्छन् हामीलाई थाहा हुँदैन,’ मेयर खाँणले भने, ‘कि जनताले भनेर थाहा पाउछौँ, कि ठेकदार आएपछि थाहा हुन्छ।’

मनीषाको घर तल दुईवटा घर छन्। ती घरमा पहिरोले सामान्य क्षति पुगेको खाँणले बताए। दुवै घरपरिवारलाई नजिकको स्कुलमा लगेर राखिएको छ। उक्त गाउँमा अझै पहिरो जाने सम्भावना छ।

‘डाँडा नै चिराचिरा परेको छ, पहिरो अझै जाने देखिन्छ,’ मेयर खाँणले भने। युवराज श्रेष्ठ/सेतोपाटीबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *