गण्डक बाँध फुट्ने खतरा

असोज ८, परासी : गण्डक ब्यारेजमा पानीको सतह खतरामाथि पुगेको छ। जसका कारण बाँध फुट्ने खतरा बढेको छ। गण्डक ब्यारेजमा बिहीबार ४ लाख ४ हजार क्यूसेक पानी पुगेको छ।

४ लाख बढी पुगेपछि उच्च खतरा मानिने भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले बताए। ब्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ।

ब्यारेज निर्माणका क्रममा यसको क्षमता ७ लाख क्यूसेक थियो। जीर्ण हुँदै गएपछि अहिले मुस्किलले ४ लाख क्यूसेक भन्दा बढी पानी थेग्न नसक्ने उनले जानकारी दिए।

अहिले ४ लाख ४ हजार क्यूसेक बढी पानी आएको र यो क्षमता भन्दा बढी भएकाले बाँध फुट्ने खतरा बढेको थापाले बताए। खतरा बढेसँगै पश्चिम नवलपरासीका करिब ४० गाउँ डुबानको जोखिममा परेका छन्।

पानीको बहाव खतराभन्दा माथि पुगेपछि सम्भावित क्षतिलाई जोगाउन जोखिम क्षेत्रमा पूर्वतयारीका साथ सुरक्षाकर्मीलाई तयारी अवस्थामा खटाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

अझै कति दिन हुन्छ भारी वर्षा ? हेर्नुस

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

“शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ। आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले भनिन्। उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसका साथै प्रदेश नं. १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं. १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ७३ मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ८४.५, धनगढीमा १०.९, दिपायलमा ४.२ सिमरामा १०८.० र धनकुटामा १९.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै आज सबैभन्दा धेरै विराटनगरमा १२५.० मिलिमिटर वर्षा भएको छ।

लगातारको वर्षाले नदीमा बहाव बढ्दै : बाढी र पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै क्षेत्र प्रभावित भएका छन्। बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ।

ठाउँठाउँमा आएको बाढी र पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ। अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए।

प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन्। पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ। यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृत्यु भएको छ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका–१४ मा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको केन्द्रका प्रमुख वस्तीले जानकारी दिए । यस्तै बाग्लुङमा पनि एक जनाको ज्यान गएको छ।

लगातारको वर्षाका कारण नदीनालामा बहावसमेत बढ्न थालेको छ। अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहावको खतरा आसपासका क्षेत्रमा हुनेछ। यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको छ।

तिनाउको बाढीले बगायो घर, आधा दर्जन उच्च जोखिममा

भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल–१७ रानीगञ्जमा एउटा घर बगाएको छ । रानीगञ्ज मनकामना टोलमा रहेको सुन्दर गन्धर्वको टिनले छाएको चारकोठे घर बगाएको हो ।

घर बगाए पनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । घर बगाउनु पुर्व डोजर लगाएर घरका झ्याल, ढोका र टिन निकालेर सुरक्षित गरी विस्थापित परिवारलाई स्थानीय सरकारी विद्यालयमा अस्थायी व्यवस्थापन गरिएको वडा अध्यक्ष सन्तबहादुर रानाले बताए ।

बाढीले मगरघाट पुल भन्दा दक्षिण पश्चिमतर्फ नदी तटीय क्षेत्र कटान गर्दा उक्त स्थानका आधा दर्जन घरहरु जोखिममा परेका छन् । ‘वर्षा नरोकिए मनकामना टोलका ५–६ वटा घर पनि बग्ने उच्च जोखिममा छन्’ वडाध्यक्ष रानाले भने ।

तिनाउमा बाढीको सतह खतरा भन्दा माथि रहेकाले दिउँसोसम्म सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

पानी नरोकिएपछि दाउन्ने सडक ठप्प

पानी नरोकिएसम्म बुटवल–नारायणगढ सडक अन्तरगतको दाउन्ने खण्डखण्ड सञ्चालनमा कठिनाई हुने प्रहरीले जनाएको छ।

दाउन्ने क्षेत्रका ५ बढी स्थानमा झरेको पहिरोले बिहीबारदेखि सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरेपनि पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

पानी नरोकिए सडक सञ्चालन हुन नसक्ने उनले जानकारी दिए। सडकअवरुद्ध भएपछि बिहानैदेखि सयौं सवारीसाधन अलपत्र परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *