अमेरिकाले ल्याउने भयो नयाँ कानून, नेपालीलाई पनि समस्या हुने

असोज १०, काठमाडौँ- अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिनेगरि कानुन ल्याउने प्रस्ताव तयार पारेको छ ।

अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधी घटाउन प्रस्ताव तयार पारेको हो ।

विभागले एफ, जे र आइ प्रकारको गैरआवासीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव अघि सारेको छ । अहिले विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ । तर विभागले तयार पारेको नयाँ कानुनी व्यवस्थाले ठगी कम गर्ने र राष्ट्रिय सुरक्षा मजबुद बनाउने दाबी गरिएको छ ।

विशेष गरी नयाँ कानुनमा आतंकवादीहरुको बर्चश्व रहेका राष्ट्रहरु इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने मुलुक, अप्रमाणित विद्यालय र इलेक्ट्रोनिक भेरिफिकेसन नभएका विद्यालयका विद्यार्थीलाई दुई वर्षभन्दा बढी वर्ष भिसा नदिन प्रस्ताव गरिएको छ ।

नेपालबाट अमेरिका पुगेका विद्यार्थीमध्ये १० प्रतिशत बढी भिसा सकिएर पनि अमेरिकामै बसेकाले यो नियम लागू भएमा नेपाल पनि दुई वर्षे भिसा पाउने सूचीमा पर्नेछ ।

इन्स्चिट्युड अफ इन्टरनेशनल एडुकेसनको ओपन डोर्सको रिपोर्टअनुसार सन् २०१८/२०१९ मा २४ हजार भियतनामी, १३ हजार नाइजेरियन, १३ हजार नेपाली र १२ हजार इरानी विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका छन् । पाठ्यक्रमअनुसार अवधि थप्न सकिने भएपनि चित्तबुझ्दो कारण प्रस्तुत गनुपर्ने हुन्छ ।

चिनियाँ एप विच्याट प्रतिबन्ध गर्ने अमेरिकी प्रयास रोके न्यायाधीशले

चिनियाँ एप विच्याट प्रतिबन्ध गर्ने अमेरिकी सरकारको प्रयासलाई अमेरिकाका एक न्यायाधीशले रोकिदिएका छन्।

अमेरिकी म्याजिस्ट्रेट न्यायाधीश लरेल बीलरले उक्त प्रतिबन्धले वाक स्वतन्त्रताको हनन् भएको बताउँदै विच्याट प्रतिबन्ध गर्न नदिएको बीबीसीले जनाएको छ।

सरकारको कार्यले संविधानको पहिलो संशोधनसँग सम्बन्धित वाक स्वतन्त्रताको विषयहरूबारे गम्भीर प्रश्न उत्पन्न गरेको उनको भनाइ छ।

अमेरिकाको वाणिज्य मन्त्रालयले आइतबारदेखि त्यहाँको एप स्टोरमा विच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

ट्रम्प प्रशासनले उक्त एपले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पारेको आरोप लगाएको छ। विच्याटले प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराउन उसको भनाइ छ।

तर चीन र विच्याट दुवैले उक्त दाबीको खण्डन गरेका छन्। प्रतिबन्ध गरिने सूचीमा चिनियाँ एप टिकटक पनि थियो।

तर टिकटकले अमेरिकी कम्पनी ओरेकलको मातहतमा रहेर सेवादिन सम्झौता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौतालाई अनुमोदन गरेपछि अब टिकटक अमेरिकामा प्रतिबन्ध हुनेछैन।

कतारबाट २९३ नेपाली स्वदेश फर्किए

कतारबाट दुई उडानमार्फत २९३ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ४५ औं र ४६ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ३ महिलासहित १४७ जना तथा नेपाल एयरलाइन्सकै अर्को उडानमार्फत १५ महिलासहित १४६ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसैगरी, नेपाल एयरलाइन्सले दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर २७, २९ र ३० तारिखका लागि उडान तय भएको दूतावासले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *