नेपालमै गरिन्छ १५ सय ५० मा पीसीआर परीक्षण, हेर्नुस

असोज १२, विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मुलुकमै सबैभन्दा सस्तोमा पीसीआर परीक्षण सुरु गरेको छ । कोरोना भाइरस शंकास्पदको स्वाब परीक्षण नोबेलले सोमबारबाट थालेको हो ।

प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर स्वाब परीक्षण गर्न थालिएको अस्पतालले जनाएको छ । विभिन्न प्रयोगशालामा स्वाबको चाप बढेर पीसीआर रिपोर्ट आउन ढिलाई भइरहेका बेला नोबेलले सस्तो मूल्यमा परीक्षण थालेको हो ।

अस्पतालका सञ्चालक डा. सुनिल शर्माले एक महिनाअघि नै तयारी अवस्थामा राखिएको प्रयोगशालाबाट सोमबारदेखि पीसीआर परीक्षण हुन थालेको जानकारी दिए । सरकारले ढिलो गरेर आइतबारमात्रै परीक्षणको अनुमति दिएपछि भोलिपल्टबाटै काम थालिएको उनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै मुलुकमै सस्तो मूल्यमा पीसीआर परीक्षण हुन थालेको जानकारी शर्माले दिए । उनका अनुसार दुईवटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिनबाट स्वाबको परीक्षण थालिएको छ । सुरक्षाका हिसाबले अस्पतालमा कोरोनाका लागि भिन्दै प्रयोगशाला बनाइएको उनको भनाइ छ । नोबेलको प्रयोगशालाबाट दैनिक दुई हजार स्वाबको परीक्षण हुने जानकारी शर्माले दिए ।

नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंह चारदेखि छ घण्टाभित्रै पीसीआर परीक्षणको रिपोर्ट सम्बन्धितलाई उपलब्ध गराइने बताए । उनका अनुसार प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर मुलुकमै सबैभन्दा सस्तोमा पीसीआर परीक्षण थालिएको छ ।

यसअघि सरकारले पाँच हजार पाँच सय रुपैयाँ शुल्क तोकेको थियो । शर्मानै अध्यक्ष रहेको काठमाडौं मेडिकल कलेजले अहिले प्रति व्यक्ति एक हजार नौ सय ९९ रुपैयाँ लिएर पीसीआर परीक्षण गरिरहेको नोबेलले जनाएको छ । सरकारले भदौ २८ गतेबाट निजी प्रयोगशालाले बढीमा दुई हजार रुपैयाँ लिएर परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो । -अन्नपूर्ण पोष्टबाट

यसरी हुन्छ मोबाइल भ्यानमार्फत घरबाटै स्वाब संकलन

विराटनगर महानगरपालिकाले घरघरमा पुगेर कोरोना भाइरसका शंकास्पद वृद्धवृद्धा र अशक्तको स्वाब संकलन गर्न थालेको छ । पहिलो पटक मोबाइल भ्यानमार्फत घरबाटै स्वाब संकलन गर्दै महानगरले पीसीआर परीक्षणका लागि लैजान थालेको हो ।

महानगरले मोबाइल भ्यानको प्रयोग गरेर आइतबार विराटनगरस्थित मानव सेवा आश्रममा पुगेर ७८ जना अशक्त र वृद्धवृद्धाको स्वाब संकलन गरेको छ । राटनगर–१० र ३ स्थित आश्रमबाट ५५ र २३ जनाको स्वाब संकलन गरिएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनका अनुसार वृद्धआश्रममा बस्दै आएका तीनजनामा छ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका र ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका सबैको स्वाब पीसीआर परीक्षणका लागि संकलन गरिएको हो । अशक्त र वृद्धवृद्धाको स्वाब आश्रममै पुगेर संकलन गरिएको यो नै पहिलो भएको कार्कीले बताए ।

आश्रमकी संयोजक गंगा थापाले वृद्धवृद्धाका लागि औषधि र खाद्यान्न खरिद, वृद्धवृद्धाको उद्धारका लागि बाहिर हिँडिरहनु पर्ने हुँदा वृद्धआश्रममा संक्रमण देखिएको हुन सक्ने बताइन् । आश्रममा रहेका सबैलाई नियमित रुपमा तातोपानी, बेसार पानी, विभिन्न रोगको औषधि समेत खुवाउने गरिएको थापाको भनाइ छ ।

आश्रममा वृद्धवृद्धालाई विभिन्न जन्मोत्सव कार्यक्रम, वार्षिकोत्सव, विवाह उत्सव लगायतका कार्यक्रममा खाना खुवाउने काम हँुदै आएको छ । विभिन्न संघसंस्थाले सहयोग जुटाउँदै कार्यक्रम आयोजना हुँदा पनि आश्रममा संक्रमण छिरेको हुन सक्ने आशंका छ । हाल आश्रमममा भोजपुर, मोरङ, सुनसरी, झापा लगायतका जिल्लाबाट उद्धार गरेर वृद्धवृद्धालाई राखिँदै आएको छ ।

मेयर भीम पराजुलीले स्वाब दिने ठाउँसम्म आउन नसक्ने अशक्त र वृद्धवृद्धालाई बसेकै ठाउँमा सेवा दिइएको बताए । उनले ‘कन्ट्याक्ट ट्रेसिङ’ परेकामध्ये स्वाब दिने ठाउँसम्म पुग्न नसक्नेको घरमै पुगेर संकलन गर्दै पीसीआर परीक्षणका लागि लैजान थालिएको जानकारी दिए ।

‘कन्ट्याक्ट ट्रेसिङ ‘मा परेका धेरैजना स्वाब दिने ठाउँसम्म पनि आउन नसकेको पाइयो,’ उनले भने, ‘अशक्त र वृद्धवृद्धाको स्वाब संकलन हुन थालेपछि उनीहरुको आत्माबल पनि बढेको छ र सबैले राहतको महसुस पनि गरेका छन् ।’

पराजुलीले सुरक्षाका सबै मापदण्ड अपनाएर भ्यानभित्रैबाट स्वाब संकलन हुने गरेको जानकारी दिए । मोबाइल भ्यानको प्रयोग गर्दै समुदायस्तरबाट अधिकतम परीक्षण गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

दीर्घरोगी, अशक्त र घरबाट बाहिर आउन नसक्ने र बाहिर आउँदासमेत जोखिम हुने उमेर समूहका व्यक्तिका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान प्रभावकारी हुने पराजुलीको भनाइ छ ।

चिकित्कसलाई समेत जोखिमरहित अवस्थामा काम गर्नका लागि निर्माण गरिएको यस किसिमको मोबाइल बुथको प्रयोग नेपालमै पहिलो भएको उनको दाबी छ । महानगरले विराटनगरको मुख्य बजारस्थित जैन भवनमा स्वाब संकलन बुथ सञ्चालन गर्दै आएको छ । बुथसम्म आउन नसक्ने अशक्तहरुका लागि भने मोबाइल भ्यानमार्फत घरघरमा पुगेर स्बाव संकलन कार्य सुरु गरिएको हो ।

महानगरसँग सम्झौता गरेर रोटरी क्लबले गाडीलाई वातानुकूलित र सुरक्षित बनाउँदै स्वाब संकलन गर्न मिल्ने गरी उपलब्ध गराएको हो । यसका लागि चार लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । -अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *