जमिन भासिएर तीन सय घर जोखिममा

असोज १३, सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्वर ११ र १२ मा जमिन भासिएर पहिरो जाँदा सिंगो क्षेत्रनै जोखिममा परेको छ। घर भत्कदा त्यस क्षेत्रका ३१ घर परिवार खुल्ला आकाश मुनी बस्न बाध्य छन्।

शनिबार वडा नम्वर १२ को कोठिया मैदान र वडा नम्वर ११ को ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद व्यवस्थापन समितिले झण्डै ३ सय घर पहिरोको जोखिममा रहेको निर्णय गरेको छ।

सोमबार सन्धिखर्कमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले जमिन भासिएर पहिरो जाँदा भएको एकिन क्षतीको विवरण संकलन गर्न र आवश्यक्ताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ।

घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ।

उक्त स्थानमा जमिन धुजाधुजा भएर फाटेको छ। शितगंगा नगरपालिकाको वडा नम्वर १२ कोठिया मैदान क्षेत्र र वडा नम्वर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिँदा त्यस क्षेत्रकै ३ सय घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले बताए। वडा नम्वर १२ को कोठिया मैदानमा २६ घर पुर्ण रुपमा भत्किएका छन्।

४६ घर पहिरोको उच्च जोखिममा र झण्डै १ सय घर जोखिममा रहेका छन्। वडा नम्वर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिदा ५ घर पुर्ण रुपमा भत्किएका छन्।

११ घर परिहोको उच्च जोखिममा रहेको र झण्डै २ सय घरको सिंगो क्षेत्रनै पहिरोको जोखिममा रहेको शितगंगा नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष कपिल आलेले बताए।

गत शुक्रबार दिउसो कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा एक्कासी चारै तिर बाट जमिन भासिएर पहिरो गयो। गाँउ देखिमाथी गएको पहिरोले केही घर बगायो तर अधिकांश घर भने पहिरो नआए पनि ढलेर नष्ट बने। १० मिटरको दुरीमा रहेका २ घर अहिले करिव ४० मिटरको दुरीमा पुगेको शितगंगा नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष बाबुराम गैरेले भने।

उनले भने पानी बग्ने खोल्साहरु अग्लो अवस्थामा छन् भने अधिकांश बिजुलीका पोलहरु भुइँमै लडेका छन बिजुलीका तारहरु चुँडिएका छन्। सम्म रहेका खेतहरु अहिले भिरालो बनेका छन् झट्ट हेर्दा भूकम्पले तहसनहस पारे जस्तो देखिन्छ। त्यस क्षेत्रका सबै गाउँलेनै त्रसित छन्। प्रलय आए सरी सिंगो गाउँको जमिन भासिएर पहिरो गएको छ।

घर मात्र हैर त्यहा रहेका गोठहरु समेत सबै भत्किएका छन्। पहिरोले मानवीय क्षती नगरे पनि घरहरु बगाएको छ। घरमा पालेका भैंसी, गाइृ, गोरु, बाख्राहरु यत्रतत्र बानेका थिए।

घरमा बचेका भएका सामान स्थानीयबासिन्दा, प्रहरी, नेपाली सेनाले निकालेको छ। घरनै पुरेकाहरुको सबै घरमा भएका लत्ता कपडा अन्नपात, गरगहना सबै पुरिएको छ।

जमिन भासिँदै छ भन्ने जानकारी पाएपछि धेरैले घरमा भएका महत्वपुर्ण कागजातहरु जोगाएका छन्। गाउँले भने गाइभैंसी कहाँ बाध्ने र आफुहरु कहाँ/कसरी बस्ने भन्नेमा चिन्तित रहेको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए।

उनले तत्कालको लागि पहिरोले घरहरु पुरका सबै परिवारलाई तत्कालको स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको बताए।

पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन्। सबै गाउँको जमिन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नु पर्ने जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निश्कर्ष निकालेको छ।

पुर्ण रुपमा क्षती भएका सबै घरधुरीलाई रेडक्रस अर्घाखाँचीले टेन्टसहितका एकसेट राहात समाग्री प्रदान गरेको नेपाल रेडक्रसा सोसाइटीका जिल्ला अध्यक्ष कुशल भुसालले बताए। प्रेमनारायण आचार्य/अन्नपुर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *