के चीनमा बनेको कोरोना खोप कुन-कुन देशले पाउलान् ?

असोज १३, काठमाडौँ । कोरोनाको खोप बनाउने दौडमा यतिबेला विश्वभरका मुलुकमध्ये चीन अग्रपंक्तिमै छ। यसरी तयार हुने खोप व्यापक मात्रामा उपलब्ध हुनुपर्ने अवस्था छ। तर यसबारे अहिलेको तयारी, क्षमता र प्रभावकारीता जस्ता कुरामा प्रश्न उठ्न पनि सुरू भइसकेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरमा खोप बनाउन तीन सय प्रयास भइरहेका छन्। यीमध्ये नौ वटाले यतिन्जेल आफूलाई मानवीय परीक्षणको तेश्रो चरणमा पुर्‍याइसकेका छन्। यी नौमध्ये चार वटा भने चीनमै भइरहेका प्रयास हुन्।

‘सिनोभाक बायोटेक’ र सैनिक संलग्नताको निजी कम्पनी ‘कानसिनो बायोलोजिक्स’ ले एकएक वटा प्रयासमा हात हालेका छन्। राज्यकै स्वामित्वमा रहेको ‘चाइना नेशनल बायोटेक ग्रुप’ ले दुइटा फरक फरक प्रयास गरिरहेको छ।

त्यसो त अहिल्यै तोकेरै भन्न सकिने अवस्था आइसकेको छैन। तर, सबैथोक अनुकूल हुँदै गएछ भने सर्वसाधारणका निम्ति कोरोना खोपको पहिलो लट नोभेम्बर वा बढीमा डिसेम्बर महिनामै बाहिर आइसक्नेमा आफूहरू आशावादी रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनले अहिलेसम्म आपतकालीन प्रयोजनका लागि दुइटा ‘निष्क्रिय’ खोप (भाइरस मारेर वा निष्क्रिय पारेर तयार पारिने। पछि आम प्रचलनका लागि बाहिर ल्याइने चाहिँ सक्रिय भ्याक्सिन हुन्छन्) लाई मान्यता दिइसकेको छ। गत जुलाइमै बाहिर आएका यी दुईमध्ये एउटा राज्यको स्वामित्वकै कम्पनीबाट बनेको हो भने अर्को सिनोभाक कम्पनीले तयार पारिरहेको छ।

यी दुवै कम्पनीले तेश्रो चरणमा गरिरहेको ‘मास ट्रायल’ बाट के कस्तो नतिजा निस्किन्छ भन्ने कुराले नै आम बजारमा उनीहरूको पहुँच निर्धारण गर्नेछ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना खोप उत्पादनका मामिलामा मुलुककै क्षमता यो वर्षको अन्त्यसम्म करिब ६१ करोड डोज हुनेछ। त्यो मात्रा अर्को वर्ष भने एक अर्ब डोज पुग्नेछ। चीनको जनसंख्या करिब एक अर्ब ४० करोड अनुमान छ।

खोप उत्पादनमा संलग्नमाथि सम्बन्धित मुलुकको राजनीतिक दबाब जारी रहे पनि यसमा पारदर्शिताका लागि स्वास्थ्यसम्बन्धी विज्ञहरूले जोड दिइरहेका छन्। प्रतिफलमा चिनियाँ कम्पनीले खोप के-कस्तो प्रक्रिया र विधिबाट तयार पारिरहेका छन् भन्ने जानकारी थोरै मात्रामा बाहिर आउन सकेको छ।

चीनले गत जुलाइदेखि नै मजदुरको समूह, केही स्वास्थ्यकर्मी र सीमा-नाकामा खटिएका कर्मचारीलाई आन्तरिक रुपमा तयार पार्दै गरेको खोप परीक्षणका गर्न प्रयोग गर्दै आइरहेको छ। परीक्षण गरिएकामध्ये अहिलेसम्म एक जनालाई पनि कुनै पनि प्रकारको ज्वरो आउने वा गम्भीर स्वास्थ्य समस्या देखिएको छैन।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार प्रारम्भिक नतिजाले देखाएअनुरुप खोपले प्रभावकारी काम गरेको छ।

चीनमा राज्य स्वामित्वको निर्माण कम्पनी सिएनबिजीका उपाध्यक्ष झाङ युन्ताओका अनुसार यदि औषधि नियामक निकायले अनुमति दिएछ भने आफूहरूको उत्पादन बढीमा छ सय युआन (करिब १० हजार रुपैयाँ) मूल्यमा उपलब्ध हुन थाल्नेछ। यो मूल्य गत अगस्टमा एक हजार युआन (करिब १७ हजार रुपैयाँ) तोकिएको थियो।

यो खुद्रा दर हो वा थोक मूल्य हो भन्नेबारे झाङले स्पष्ट पारेनन्। तर, आम रूपमा खोप प्रयोग गर्न यो अझै पनि निकै महँगो हो।

अर्कोतिर अमेरिकी तथा बेलायती सरकारबाट व्यापक सहयोगका सा खोपको काम थालेका विश्वकै प्रख्यात औषधि उत्पादक अस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनले आफ्ना उपभोक्तालाई त्योभन्दा धेरै सस्तोमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ।

अहिलेसम्मको हिसाबले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका मिलेर उत्पादन गर्ने औषधि नै सबभन्दा सस्तो देखिने भएको छ। यसले करिब ४ अमेरिकी डलर (करिब चार सय सत्तरी रुपैयाँ) प्रति डोज पर्नेगरी अमेरिकी सरकारलाई बुझाउने छ।

अस्ट्राजेनेकासँग खोप किन्न अरू थुप्रै मुलुकले सम्झौता गरेका छन्। उदाहरण निम्ति बेलायत। बेलायतले दस करोड डोज खोप उसँग किन्दैछ जसको मूल्य अहिलेसम्म सार्वजनिक गरिएको छैन।

खोप उत्पादनको दौडमा लागेका मोडेर्ना, फाइजर र मर्क जस्ता कम्पनीले भने आफूले नाफा कमाउने हिसाबले नै उत्पादन गर्ने स्पष्ट पारिसकेका छन्।

आम मानिसका निम्ति अनुकूल हुनेगरी लागत र मूल्य समायोजन जस्ता कुरा विचार गर्दै दर कायम गर्नेतर्फ चीन सरकार उद्दत छ। चीनभित्रै पनि सहरी तथा ग्रामीण भेगका वासिन्दाबीचको आयमा ठूलो अन्तर छ।

चीनमा गत वर्ष सहरी क्षेत्रका वासिन्दाको औसत आय ४२ हजार युआन थियो भने ग्रामीणका १६ हजार युआन। खोप लगाइएका आफ्ना नागरिकलाई राज्यले सित्तैमा यो उपलब्ध गराउँछ वा थोरै रकम असुल्छ भन्ने पनि छिनोफानो भइसकेको छैन।

चीनको रोग नियन्त्रण तथा निरोध केन्द्र (सिडिसी) का निर्देशक गाओ फुका अनुसार सबै नागरिकलाई खोप लगाउनु जरुरी छैन। अहिलेसम्म सरकारले खोप लगाउने कुनै योजना बाहिर नल्याइसकेको पनि उनले बताए।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भने खोप सबभन्दा पहिले उच्च जोखिममा रहेको समूहबाट लगाउन सुरू गरिनेछ। सीमा-नाकामा बसेर काम गर्ने, स्वास्थ्यकर्मीका साथै बुढापाका, गर्भवती र केटाकेटी त्यस्ता प्राथमिकतामा पर्नेछन्।

कुन मुलुकले पाउला चिनियाँ खोप?

विश्व स्वास्थ्य संगठनले कोरोना खोप तयार भएपछि त्यसलाई न्यायोचित ढंगले प्राप्त गर्ने मुलुकका निम्ति एउटा कार्यक्रम (कोभ्याक्स) जारी गरेको थियो। त्यसमा अनुसूचित एक सय ५६ वटा मुलुकको सूची गत सोमबार जारी गरियो। यसमा अमेरिका र रूससँगै चीनलाई पनि समावेश गरिएको छैन।

चिनियाँ खोप निर्माताले परीक्षण गरिरहेका युनाइटेड अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, टर्की, बंगलादेश, ब्राजिल र इन्डोनेसियाजस्ता मुलुकले पहिलो चरणमै यो खोप पाउन सक्छन्।

यो खोपलाई एसियादेखि अफ्रिकासम्म छरिएर रहेका मुलुकसँगको सम्बन्ध सुधार गर्नेदेखि लिएर सुदृढ बनाउनेसम्म कामका लागि चीनले प्रयोग गर्न सक्नेछ।

चीनका राष्ट्रपति सी जिनपिङले मे महिनामा आयोजित विश्व स्वास्थ्य सम्मेलनबेला इन्टरनेटबाट मन्तव्य दिँदै आफ्नो मुलुकले प्रयास गरिरहेको खोप तयार भएपछि त्यसलाई विश्वको सामूहिक हितका हिसाबले प्रयोगमा ल्याइने बताएका थिए। आफूहरूले बनाएको र मान्यता प्राप्त त्यस्ता खोपबाट लाभान्वित हुनेमा अफ्रिकी मुलुक पहिलो चरणमा रहने चीनले भनिसकेको छ।

त्यसैगरी चीनले मेकोङ नदीसँग जोडिएका मुलुक कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड र भियतनामलाई समेत प्राथमिकतामा राखेको जनाउ दिइसकेको छ। त्यसैगरी फिलिपिन्सलाई पनि चाँडै नै खोप उपलब्ध गराउने भनेको छ। ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका मुलुकले खोप किन्न चीनबाट एक अर्ब अमेरिकी डलर ऋण सहयोग पाउने भएका छन्।

भ्याक्सिन कुटनीतिः

चीनले ‘भ्याक्सिन कुटनीति’ अन्तर्गत थुप्रै विकासशील राष्ट्रलाई ‘वाचाको पोको’ बाँड्न थालेको हुआङ यानझोङ बताउँछन्। उनी ‘न्यूयोर्क थिंक ट्यांक’ (न्यूयोर्क बौद्धिक केन्द्र)को अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने निकायअन्तर्गत विश्व स्वास्थ्य मामलाका वरिष्ठ अध्येता हुन्।

‘उसको खोप प्रभावकारी छ भनेर प्रमाणित भएपछि चीनले अमेरिकासँग मिलेर काम गर्ला कि नगर्ला भन्ने कुरो अझै स्पष्ट छैन,’ हुआङ भन्छन्, ‘यी दुईबीच समझदारीको अभावले गर्दा पनि विश्व स्वास्थ्यका क्षेत्रमा प्रभावकारी साझेदारी अघि बढ्न सकिरहेको छैन।’

सिनोभाकका प्रमुख कार्यकारी यिन वेइदोंग भने आफ्नो खोपले सफलतापूर्वक परीक्षणको तेश्रो चरण पार गरेको खण्डमा अमेरिकाको खाद्य तथा औषधि सम्बन्धी प्रशासनिक निकायलाई अमेरिकामा आफ्नो उत्पादन बिक्रीका निम्ति आवेदन गर्ने तयारीमा रहेको बताउँछन्।

‘हाम्रो लक्ष्य नै विश्वभर खोप उपलब्ध गराउने हो,’ एसोसिएट प्रेससँगको कुराकानीमा यिनले भनेका छन्, ‘त्यसमा अमेरिका, युरोपेली युनियनका राष्ट्रदेखि लिएर अरू पनि पर्छन्।’

चीन र अमेरिका मिलेर खोपको काम गर्लान्?

पश्चिमा राष्ट्रका तुलनामा चीन र रुसजस्ता मुलुकले खोप तयार पार्न अपनाएका प्रक्रिया अपारदर्शी भएकाले आफूहरूले ती मुलुकका उत्पादन प्रयोग गर्ने सम्भावनाना कमै रहेको अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ एवं यससम्बन्धी वरिष्ठ अधिकारी एन्थोनी फाउचीले जुलाइमै भनेका थिए।

‘जसले पनि आफूलाई ठूलो देखाउने नै हो,’ लण्डनस्थित एसओएएस विश्वविद्यालयका चीन केन्द्र हेर्ने निर्देशक स्टिभ सांग पनि भन्छन्, ‘यो भाइरससँग लड्न सबभन्दा प्रभावकारी उपाय भनेको कुनै पनि मुलुकले आफ्नो राजनीतिक एजेन्डा पन्छ्याएर यस मामलामा अगाडि आउनु हो।’

चीनमा फेरि आतंक मच्चिन नदिनुका साथै प्राप्त समर्थनको जगेर्ना गर्नुमै राष्ट्रपति सीको पनि प्राथमिकता रहने सांग बताउँछन्।

चीनले कुटनीतिक तवरबाट अवरोध झेल्दै आएको अष्ट्रेलिया, क्यानाडा र भारतजस्ता मुलुकलाई ‘यही हो मौका’ भन्दै अप्ठ्यारोमा पार्न सक्ने सम्भावना भने देखिन्छ। यस्तोमा आपसी विश्वासको कमीले चिनियाँ खोपमाथि रूची राख्दै गरेका अन्य पश्चिमा राष्ट्रले गर्ने भरोसामा प्रभाव पार्ने न्यूयोर्कस्थित वरिष्ठ अध्येता हुवांग बताउँछन्।

कतिपय सरकारले अन्य मुलुक अगावै आफूकहाँ खोप आइपुगोस् भन्ने कामना गरेर विभिन्न औषधि उत्पादक कम्पनीसँग धमाधम सम्झौता पनि गरिसकेका छन्।

त्यसैगरी सन् २०२१ को अन्त्य अघिनै गरिब राष्ट्रहरूलाई दुई अर्ब खोपको डोज उपलब्ध गराउने हिसाबले विश्व स्वास्थ्य संगठनको पहल कोभ्याक्सले पनि सम्भावना देखाउने काम गरिरहेकै छ।

गत साता मात्र अक्सफामले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वका १३ प्रतिशत मात्र जनसंख्या ओगटेका थोरै धनी राष्ट्रले नै अहिलेसम्म अनुमानित कूल खोप मौज्दातको ५१ प्रतिशत किनिसकेका छन्। बाँकी २.८ अर्ब डोजका निम्ति संघर्ष गरिरहेका मुलुकमा विश्वकै सर्वाधिक जनसंख्या ओगटेका चीन, ब्राजिल, भारत, इन्डोनेसिया र बंगलादेशजस्ता मुलुक पर्छन्।

‘कल्पना गर्नुस् त, अहिले यहाँ पृथ्वीमै उत्पन्न यो भाइरस नभई एलियन आइदिएका भए साझा शत्रुसँग जुझ्न भएभरका राष्ट्र काँधमा काँध मिलाएर तम्तयार हुने थिए,’ युनिभर्सिटी अफ पेन्सिलभानियामा उपचारसम्बन्धी मान्यता एवं स्वास्थ्य नीति पढाउने प्राध्यापक जोनाथन मोरेनो भन्छन्, ‘यसरी आफैं आफैंमा मारामार गर्ने काम पक्कै हुने थिएन।’

(साउथ चाइना मर्निङ पोस्टका लागि बेइजिङबाट जेन काइले लेखेको स्टोरीको भावानुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *