पोखरामा ५३ वर्षअघि खसेको जहाजको त्यो टुक्रा, सुल्झेन अझै रहस्य

छ महिना अगाडि भर्खर लकडाउन सुरु भएको थियो । हरेक परिवारभित्र कोरोनाको त्रास सलबलाइरहेको थियो । पृथ्वीमा मानव सभ्यतामा नै कोरोनाले केही असर गर्ने आशंकासमेत केहीले बनाउन थालिसकेका थिए । आखिर यसको असर कस्तो हुनेछ भन्ने हरेक व्यक्तिको तर्क आ–आफ्नै किसिमको हुन थालेको थियो । यो रिपोर्ट सुनिल उलकले सुत्रन्युजका लागि तयार पारेका हुन् ।

यस्तैमा चैत (०७६) को १३ गते राति सवा ८ बजेतिर पोखराको आकाशमा उज्यालो वस्तु देखियो । पोखराको आकाशमा पूर्वबाट पश्चिमतर्फ उडेको देखिएको यो वस्तु बलिरहेको आगोको डल्लोजस्तो थियो । हेर्दा त्रासपूर्ण देखिन्थ्यो । तर के हो भन्ने थाहा पाउन सकिएन । केही समयमात्र देखिएको यो बलेको आगोको डल्लो केहीबेरमै हरायो । सौभाग्यवश यो बल्दै गरेको आगोको डल्लो मैले पनि देखेँ । झर्दाझर्दै खरानी भएको त्यो आगोको डल्लो केही साथीले भने अन्तमा पड्केको थियो पनि भनियो ।

तर मलाई लाग्दैन, यसको कुनै आवाज आएको थियो । किनकि हामीले नजिकै देखेको जस्तो लाग्ने यो वस्तु पृथ्वी देखि ३०-४० किलोमिटर माथि आकाशमा नै बिलाउने गर्दछ । यो तारा वा आकाशीय पिण्ड खसेको होला भन्ने अनुमान गरियो । यो दृश्य देख्नेहरुको लागि भने निकै अनौठो र अविश्वसनीय थियो ।

यस घटनाको ठीक ५२ वर्ष अगाडि उही समयमा २०२४ साल चैत १२ गते रातको सवा ८ बजे पोखराको उत्तरी भागको आकाशमा अनौठो उज्यालो वस्तु देखियो । त्यो वस्तु उत्तर पूर्वबाट उत्तर-पश्चिम भलाम डाँडा, काहुँडाडाको नजिकैबाट पश्चिमतर्फ उड्दै गरेको थियो । त्यति बेला बजार क्षेत्रबाट देख्ने केहीले समय समयमा देखिरहने पुच्छ्रेतारा होला भन्ने अनुमान गरे । रातको समय पनि निकै उज्यालो देखिएको हुँदा अनौठो भने सबैले माने । केही दिन यसको चर्चा पनि पोखरेलीमाझ चल्यो, तर पछि खासै चासो दिएन ।

तर, बाटुलेचौरमा भने त्यस रात अनौठो घटना घट्यो । त्यहाँ धेरै व्यक्तिले यो आकाशमा देखिएको अनौठो उज्यालोलाई नजिकबाट देखे । उड्दै आएको विमानजस्तो वस्तु देखे । अरु बेला तारा खसेझैँ बिलाएन । केहीले आकाशमा चट्याङ पड्किएको जस्तो आवाज सुने । साथै उज्यालो यानजस्तो वस्तु उत्तर-पश्चिमतर्फ लागेको पनि देखियो । उज्यालो आगो बलेको वस्तु तल खसेको पनि देखियो ।

यससम्बन्धी जानकारी तथा प्रत्यक्षदर्शीहरुसँग कुरा गर्ने तथा केही प्रमाणहरु भेटिन्छ कि भन्ने सोचमा मैले केही साथीहरुसँग सम्पर्क गरेँ । यस्तैमा मेरो पुरानो कलेजको समयको साथी रामबहादुर बानियाँलाई जिज्ञासा राख्दा साथीले चिरपरिचित प्रत्यक्षदर्शीहरुसँग भेट गराइदिन तयार हुनुभयो । साथीको सहयोग र साथले मलाई बाटुलेचौरको त्यस घटनाको अध्ययन गर्न धेरै नै सहज भयो । संयोगवश प्रत्यक्षदर्शी आदरणीय गुरुहरु मेरा बुबाको बिद्यार्थीहरु हुनुहुँदो रहेछ । जसले गर्दा मलाई कुराकानी गर्न अझै सहज भयो ।

सो घटनाका प्रत्यक्षदर्शी धेरैजना भए पनि सबैभन्दा नजिकैबाट देख्नु हुने कूलप्रसाद तिमिल्सिना हुनुहुन्थ्यो । उहाँ पुराना सरकारी कर्मचारी एवं स्वास्थ्यकर्मी पनि हुनुहुन्थ्यो । उहाँ २०२४ सालको चैत १२ गते राति ८ बजे ‘नाइट स्कुल’ पढेर घार्मीको साथी (हिमलाल) को साथ घर फर्कँदै हुनुहुन्थ्यो । २७ वर्षे उमेरका लक्का जवानलाई रातको त्यो अनौठो दृश्यले डर त लागेन । तर, अनौठो भने लागेको थियो ।

आकाश सफा थियो बादलको नामोनिशान थिएन । औंसी आउन केही दिन बाँकी भएको हुँदा रात केही अन्धकार नै थियो । हातमा टर्चको उज्यालोमा दुई साथी गफिँदै फर्कंदै थिए । बाटुलेचौर नजिकै बोके चौतारो पुगेपछि आकाशमा उज्यालो चम्किलो वस्तु देखे । सफा बादल नभएको रातमा पनि आकाश चम्किएझैँ गड्याङगुडुङ आवाज सुनियो । ठूलो बिस्फोटको आवाज आयो उज्यालो वस्तु उत्तर-पश्चिमतर्फ लागेको देखे । राति के भएको राम्ररी चाल नै पाएनन् ।

भोलिपल्ट बिहान गाउँमा हल्लाखल्ला भयो । छिमेकीहरुले आफ्नो गह्रा (खेत) मा केही खसेको खबर दिएपछि हेर्न जाँदा खाल्डोमा गाडिएको पातो देखे । ६ फिट जति गहिरो खाडल बनाएर गाडिएको १ इन्च जति बाक्लो पाता ६ फिट लम्बाइ र ४ फिट चौडाइको हल्का बीचको भाग फुलेको थियो । ठ्याक्कै चारपाते नभएर चारकुनो हल्का गोलो थियो । आफ्नै गह्रामा भेटिएपछि उहाँले त्यो बाक्लो कालो पाता दुई चार जना साथी बटुलेर बोकाएर भैँसीको गोठको अगाडि ओछ्याउन काम लाग्ने भन्दै ल्याउनुभयो । त्यही रात सोही ठाउँ नजिकै बस्नुहुने हरिलाल तिमिल्सिनाले पनि सो चम्किलो वस्तु देख्नुभएको थियो । उहाँले पनि अनौठो वस्तु खसेको ठाउँ देखाउन विद्यार्थीहरुलाई लिएर जानुभएको थियो ।

गोठको अगाडि ओछ्याउँदा माटो नलाग्ने, गोबर सोहोर्न सजिलो पनि भएको थियो । गाउँलेले के वस्तु थाहा नपाए पनि करिब एक महिनापछि पोखराका त्यति बेलाका अञ्चलाधीश नन्दबहादुर मल्लले थाहा पाएपछि एक दिन घरमा हेर्न आए र भने, ‘यो त कार्यालयमा बुझाउनुपर्छ ।’ त्यसलगत्तै गाडी ल्याएर अञ्चलाधीश कार्यालयमा लिएर गए । अञ्चलाधीश कार्यालय लगिएको सो पाता पछि कतै भेटिएन । कसैको भनाइमा यो केही दिन पछि बिन्द्यवासिनी स्कुल बाटुलेचौरमा नै फिर्ता ल्याइएको थियो । कसैलेचाहिँ अनुसन्धानको लागि अमेरिका लगिएको आशंका गरे ।

दुर्घटनाग्रस्त भएको अज्ञात बस्तु पोखरा विमानस्थलदेखि अन्दाजी ८ किलोमिटर उत्तर बाटुलेचौरको कालीखोला नजिकै २८°१५’४६” उत्तरी अक्षांस तथा ८३°५९’१०” पूर्वी देशान्तरमा खसेको थियो । २० हजार फिटभन्दा माथि दुर्घटना भएको यो अज्ञात यान खस्ने क्रममा १० किमीको वरपर यसका टुक्राहरु छरिएर खसेको थियो । त्यो रात आकाशबाट खसेको अज्ञात उडिरहेको वस्तुको अवशेष तल्लाकोट, अर्मलाकोट तथा टुहुरेपसलमा पनि भेटिएको थियो । त्यही रात बाटुलेचौर बगैचामा पनि ठूलो समीको रुखको हाँगा र पातहरु समेत डढ्ने गरी सानो ताउलोजस्तो वस्तु खसेको तथा खरानी पनि भेटिएको थियो ।

सो समय अमेरिकी पिसकोर भोलेन्टियर पिट डाउन बाटुलेचौरमा नै बस्दथे । बाटुलेचौरमा रहेको बिन्द्यवासिनी स्कुलमा पढाउने भएको हुँदा उनको बसार्इ बाटुलेचौरमा नै थियो । उनी बाटुलेचौरस्थित बस्नेतहरुको घरमा बस्थे । विदेशीलाई केही बढी जानकारी अवश्य हुनेछ भनेर उनलाई पनि सो वस्तु भेटिएको ठाउँमा देखाए । उनले ‘जहाजको टुक्रा खसेको हो’ भने । फोटो पनि थुप्रै खिचे । तर अन्य जानकारी खासै दिएनन् । जहाजको टुक्रा भनिए पनि सो समय जहाज कुनै जहाज दुर्घटना नभएको हुँदा कौतुहलता भने रहिरह्यो । तर कोही पनि त्यससम्बन्धी ज्ञाता नहुँदा बिस्तारै सो घटनालाई बिर्सन थाले ।

२०५७ चैत २० गते अमेरिकी गुप्तचर संस्था सिआइएले आफ्नो अति गोप्य भनिएको ९ लाखभन्दा बढी दस्तावेज सार्वजनिक गर्‍यो । ती सार्वजनिक गरेका गोप्य दस्तावेजहरुमध्ये एउटा गोप्य रिपोर्ट नेपालमा पनि अज्ञात उडिरहेको वस्तु (युएफओ) देखिएको उल्लेख गरिएको थियो । त्यसमध्ये २०३१ जेठ ३१ गते पठाइएको एक गोप्य रिपोर्टका अनुसार त्यतिबेला २०२४ फागुन ७ गतेदेखि चैत १२ गतेको बीचमा नेपाल, भुटान तथा भारतको लद्दाखमा ६ पटक अज्ञात उडिरहेको बस्तु (युएफओ) देखिएको उल्लेख थियो ।

विभिन्न ठाउँमा देखिएको अज्ञात उडिरहेको बस्तु (युएफओ) को आधारमा तीन वटा युएफओ रहेको अनुमान गरिएको थियो । अज्ञात उडिरहेको वस्तु (युएफओ) अन्तिमपटक कास्कीमा र लद्दाखमा देखिएको थियो । कास्कीमा देखिएको अज्ञात उडिरहेको वस्तु (युएफओ) दुर्घटना भएको थियो भने सो दुर्घटना भएको करिब डेढ घण्टापछि लद्दाखको चाङ्ला पासमा अर्को अज्ञात उडिरहेको बस्तु (युएफओ) देखिएको थियो ।

त्यही जानकारीका अनुसार पोखराको बाटुलेचौरमा देखिएको ३४ दिन अगाडि फागुन ७ गते गते राति ९ देखि ९.२५ को बीचमा ताप्लेजुङको घुन्सा इलाकामा पनि चम्किलो प्रकाशसहितको लामो अज्ञात वस्तु उडिरहेको देखिएको थियो । सिआइएको रिपोर्टका अनुसार, यी दुबै वस्तु अप्रत्यक्षरुपमा देखिने युएफओ थियो । नेपाली जनमानसको मनमा बेवास्ता भएको यो वस्तु वास्तवमा ‘युएफओ’ थियो भनेर सिआइएले रिपोर्ट गरेको छ भन्ने पनि आम पोखरेलीलाई थाहै भएन ।

तर त्यही समय केवल नेपालमा मात्र होइन, दक्षिण एसियामा भारतको लद्दाखदेखि लिएर भुटानसम्म आकाशमा अज्ञात उडिरहेको बस्तु (युएफओ) देखिएको थियो । पहिलो पटक ७ फागुन २०२४ को राति ९ बजेतिर सिक्किमको लाचुंग, लाचेन, थांगु, मुगुथांग तथा छोलामु इलाकामा देखिएको थियो । छोलामुमा भने निकै कम उचाइमा देखिएको हुँदा यहाँ भने निकै ठूलो हावा चलेको जस्तो आवाज सुनिएको थियो भन्ने स्थानीयले जानकारी दिएका थिए ।

यसैदिन अन्दाजी त्यही समय पूर्वी नेपालको ओलाङचुलगोला र घुन्सा इलाकामा पनि लामो उज्यालो तीब्र गतिमा उडिरहेको वस्तु (युएफओ) देखिएको थियो । हल्का रातो र हरियो उज्यालोले दिउसो जस्तै उज्यालो बनाएको थियो । त्यो अज्ञात वस्तु देखिएको केही समयमा नै आकाशमा बिजुली चम्केजस्तै आवाज पनि आएको थियो ।

यसैको दुई दिनपछि फागुन ९ गते रातको साढे ९ बजेतिर फेरि थिम्पुको आकाशमा निलो उज्यालो रङ छर्दै युएफओ देखिएको थियो । यसको उज्यालो यति चर्को थियो कि मानिसहरुले दिउँसोको उज्यालोसँग तुलना गरेका थिए ।

यसको १२ दिनपछि २१ फागुन२०२४ मा लद्दाखको चाङ्ला पास, फुक्चे तथा कोयुल इलाकामा दिउसो १ बजेतिर पनि अज्ञात उडिरहेको बस्तु (युएफओ) देखिएको थियो । पूर्वबाट पश्चिमतर्फ उड्दै गरेको रहस्यमय वस्तुले सेतो धुँवा फालेको देखिएको थियो । सेतो धुँवाको पछाडि भने रातो उज्यालो पनि देखिएको थियो । यसको साथै दुईपटक केही पड्किएको आवाज पनि सुनिएको थियो ।

चैत १२ गते पोखरामा अज्ञात वस्तु देखिएको रात ९ बजे र ५० मीनेट जाँदा यहाँ देखि अन्दाजी ७ सय किमी पश्चिम लद्दाखको चाङ्ला पासबाट डेमचोकतर्फ अज्ञात उडिरहेको वस्तु (युएफओ) देखिएको थियो । फुक्चे, कोयुलका मानिसहरुले पनि यो अज्ञात रकेटजस्तो वस्तु देखेका थिए । पहेँलो, सेतो उज्यालो फाल्दै उडेको यो वस्तुको लामो सेतो उज्यालो पुच्छर जस्तो देखिएको थियो । करिब २०-२५ हजार फिटको उचाइमा उडेको देखिएको हुँदा धेरैले नजिकैबाट यसको आभास पाएका थिए ।

यसरी भारत, नेपाल र भुटानमा देखिएको अज्ञात वस्तुको अध्ययन गरेका वैज्ञानिकहरुका अनुसार, यस क्षेत्रमा तीनवटा युएफओ देखिएको अनुमान गरिएको थियो । चम्किलो प्रकाश सहितको लामो युएफओ जुन नेपालको ओलाङचुङगोला तथा घुन्सामा र सिक्किममा देखिएको थियो । दोस्रो नीलो प्रकाश भएको युएफओ भुटानमा देखिएको थियो भने तेस्रो सेतो र रातो प्रकाश फेक्ने युएफओ काश्मिरको सीमाना र लद्दाख क्षेत्रमा देखिएको थियो ।

यस घटनाको करिब ४ महिनापछि ८ साउन २०२५ मा काठमाडौँस्थित अमेरिकी दूतावासको रक्षासम्बन्धी शाखाले अमेरिकी सरकारलाई जानकारी गरायो, ‘चैत १२ गतेको राति केही अनौठो अन्तरिक्षबाट आएको वस्तु दुर्घटनाग्रस्त भयो । दुर्घटना क्षेत्रबाट यानको चार टुक्रामध्ये तीन टुक्रा नेपाली सेनाको सहयोगले प्राप्त भयो । तर एउटा कोन आकारको टुक्रा भने प्राप्त गर्न सकिएन । साथै केही खरानी पनि प्राप्त भयो ।’

यसभन्दा अगाडि खम्पाहरुका लागि सहयोग गर्न गोप्यरुपमा बसेका सिआइएका व्यक्तिहरु पनि गोप्यरुपमा सो ठाउँमा पुगेर यसबारे अध्ययन गरिसकेका थिए । घटनाको केवल १७ दिन पछाडि सिआइएको राइट पेटर्सन एयरफोर्स बेस ओहियोलाई सम्पूर्ण जानकारी ‘अति गोप्य’ भन्दै पठाइसकेको थियो । यो जानकारीमा केवल एक टुक्रा ४ फिट चौडा र ६ फिट लामो बाक्लो धातुको पाताको बारेमा मात्र जानकारी पठाइएको थियो ।

यसको साथै अर्को एक गोप्य रिपोर्टका अनुसार, अमेरिकी दूतावासको सक्रियतामा नेपाली सेना तथा अमेरिकी दूतावासको रक्षा विभाग सो स्थानमा करिब एक महिना बसेर खोजबिन र अनुसन्धान गरेको भन्ने देखाउँछ । एक महिनाको खोजबिनका क्रममा दुर्घटनापछि छरिएको सामग्रीको बिश्लेषण संकलन गर्ने तथा तस्बिर खिच्ने कार्य गरिएको थियो भनिएको छ । यसको साथै केही सिआइए विज्ञहरु असार २ देखि १२ गतेसम्म घटनास्थल नजिकै बसेर अनुसन्धान थालेका थिए ।

अमेरिकी लेखक एवं युएफोलोजिष्ट डोनाल्ड एडवर्ड किहो पनि पोखरा एवं दक्षिण एसियाको उत्तरी हिमाली क्षेत्र नजिकै देखिएको युएफओको अध्ययन गरेका थिए ।

५२ वर्ष अगाडि लामाचौर बाटुलेचौर क्षेत्र आजको जस्तो सुगम थिएन । तैपनि यो अज्ञात वस्तुको दुर्घटनाले अमेरिकी र बेलायती बैज्ञानिकहरुको ध्यान खिच्न सफल भयो । गाउँलेहरुले खासै जानकारी पाएको भेटिएन । तर अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ ले अति नै गोप्यरुपमा अनुसन्धान थालिसकेको थियो ।

यो दुर्घटनामा भेटिएको वस्तु के हो भन्ने थाहा नहुँदा घटनाको एक महिना पछाडि ११ वैशाख २०२५ मा नेपाली सेनाले दुर्घटना क्षेत्रमा भेटिएको भन्दै दुई वटा अवशेष अमेरिकी विज्ञहरुलाई देखाएको थियो । अमेरिकी विज्ञहरुले विशेष चासो देखाएपछि जेठको ७ गते दुर्घटना भएको क्षेत्रको सम्पूर्ण जानकारी तथा तस्बिरहरु नेपाली सेनाले देखाएको थियो ।

जब यी सामग्री र तस्बिरहरु सिआइएको हात पर्‍यो, त्यसपछि यसको अनुसन्धान र बिश्लेषण गर्न अमेरिकी ‘मुन डस्ट प्रोजेक्ट’ अगाडि सर्‍यो । ‘मुन डस्ट प्रोजेक्ट’ को काम दुर्घटना भएर भेटिएको सामग्रीको विस्तृत अध्ययन गर्ने थियो । यसबीच नेपाली सेनाले भेटिएको एक अर्को टुक्रा पनि अमेरिकी दूतावासमार्फत् बुझायो । यो प्रोजेक्टले अनुसन्धान थालेपछि यी सामग्री मानवनिर्मित यानको नभएको भन्ने जानकारी अमेरिकी गुप्तचर संस्थालाई दियो । अब अनुसन्धानले गम्भीर मोड लिन थालेपछि केही अमेरिकी विज्ञ तथा सिआइएका अधिकारीहरु नेपाल आए । २ असार देखि १२ असारसम्म घटनास्थल नजिकै बसेर अनुसन्धान थाले । अनुसन्धानपछि काल्पनिक यानको स्केच बनाए ।

यता, बेलायती अनुसन्धान टोली पनि गोप्यरुपले सक्रिय रहेको पछि सिआइएले थाहा पायो । जब बेलायती अनुसन्धानको रिपोर्टअनुसार, भेटिएको टुक्रामध्ये एक टुक्रा सोभियत अन्तरिक्ष यान कसमस २०८ को पछाडिको भाग थियो । सोभियत संघले चार दिन अगाडि ८ चैत २०२४ मा सो अन्तरिक्ष यान काजाकिस्तानबाट प्रक्षेपण गरेको थियो । ‘यही यानको पछाडिको भाग नै बाटुलेचौरमा भेटिएको टुक्रामध्येको एक हो’ सो रिपोर्टमा भनिएको थियो ।

यसैबीच गतवर्ष २०७६ मा अमेरिकी गुप्तचर संस्था सिआइएको तर्फबाट दुई अमेरिकी पोखराको लेकसाइडमा करिब एक सप्ताह बसी बाटुलेचौरमा केही ब्यक्तिसँग गोप्य भेटघाट गरेको भन्ने जानकारी मैले पाएँ । ती दुई अमेरिकीले सो समयको कुनै वस्तु कसैगरी कुनै घरमा रहेको भए उनीहरुलाई उपलब्ध गराइदिएमा उचित रकम दिने लोभ दिएर फर्केका रहेछन् ।

साथै, यो दुर्घटनाको सम्बन्धमा अनुसन्धान गर्न नेपाली सेनाको पनि सहयोग अमेरिकी गुप्तचर संस्थाले पाएको भनिएपछि मैले मेरा मित्र नेपाली सेनाका पूर्व जर्नेल एवं सैनिक इतिहासका ज्ञाता प्रेमसिंह बस्न्यातलाई यस सम्बन्धी जानकारी हासिल गर्न खोज्दा उनले पनि सेनाभित्र आफूले यो कुरा सुनेको, तर विस्तृत जानकारी नभएको भन्ने जवाफ पाएँ । उहाँले यस सम्बन्धमा कुनै दस्तावेज भए खोजी गर्ने आश्वासन दिनुभएको छ ।

यहाँ यस घटनालाई अर्को पक्षबाट पनि हेर्नुपर्छ । तिब्बतबाट दलार्इ लामा भारत पलायन हुनुको पछाडि सिआइएको हात थियो । सिआइएले दलाई लामाको लागि ठूलो धनराशि खर्चेको थियो । त्यस घटनापछि नेपाल-चीन सीमामा भएका सशस्त्र खम्पाहरुको गतिविधिमा पनि सिआइए निकै सक्रिय थियो । खम्पाहरुलाई खाद्यान्न तथा हतियारको आपूर्ति सिआइएले नै गरेको थियो ।

जहाँको माटो अनुसन्धानको लागी ५२ वर्ष अगाडी सिआईएले लगेको थियो । तथा एक वर्ष अगाडी आएर पनि यहाँको माटो अनुसन्धानको लागी भन्दै फेरी लगिएको थियो ।

यस क्रममा नेपाल सरकारलाई कुनै जानकारी नै नदिर्इ नेपाली भूमिमा अमेरिकी गुप्तचर विमानहरुले उडान भर्थे । यसका लागि ‘एसटिओएल’ प्रविधिका केही पिलाटस पोर्टर विमानहरु पनि भाडामा ल्याइएका थिए । तसर्थ, यस दुर्घटना कतै अमेरिकी गुप्तचर विमानको दुर्घटना त होइन ? भन्ने आशंका गर्न पनि सकिन्छ । १० किमी क्षेत्रमा भेटिएका विमानका टुक्राहरु अमेरिकी गुप्तचर संस्था सिआइएको सक्रियतामा संकलन गर्नु र गोप्यरुपमा अमेरिका पठाउनुको रहस्य कतै दुर्घटना अमेरिकी गुप्तचर विमानकै त भएको थिएन ?

अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ले चीन सीमा नजिकै रहेको नेपाली भू-भागहरुमा कहिले खम्पाको सहयोगमा, कहिले यतीको खोजीमा र कहिले युएफओको खोजीको नाममा नेपाल भित्रिएर अन्य अनुसन्धान गरिरहेको त छैन ? भन्ने नेपाल सरकारले पनि बिशेष चासो राखेर अध्ययन गर्नुपर्छ । नेपालको आन्तरिक मामलामा मात्र होइन, नेपालको भूमि प्रयोग गरेर भारतीय र चिनिया सरकारविरुद्ध पनि सिआइए सक्रिय रहन सक्नेतर्फ पनि नकार्न सकिँदैन ।

अन्त्यमा, त्यो समय कुनै अज्ञात यानको दुर्घटना भएको तथ्य सावित भइसकेको छ । सिआइएका गोप्य दस्तावेजहरुबाहेक अरु कुराले त्यो कुरालाई प्रमाणित गर्ने थप आधारहरु भेटिदैनन् । ८० वर्ष नजिकै पुगेका एकाध प्रत्यक्षदर्शीबाहेक अरु व्यक्ति पनि अहिले छैनन् । नेपाली सेनाको पनि उपस्थिति रहेको तथा नेपाली सेनाले तस्बिरहरु लिएको भन्ने देखिए पनि नेपाली सेनासँग पनि त्यससम्बन्धी दस्तावेज सुरक्षित रहेको भन्ने लाग्दैन ।

तसर्थ, त्यो सो समय बाटुलेचौरको आकाशमा विमान दुर्घटना भएको तथ्यसत्य नै भए पनि यो विमान वास्तवमा बहुचर्चित ‘युएफओ’ नै थियो वा अमेरिकी गुप्तचर विमान थियो भन्ने यकिन गर्न कठिन छ । तर हामीसँग कुनै आधार र प्रमाण नहुँदा अमेरिकी गुप्तचर संस्थाको लिखित दस्तावेजको आधारमा अज्ञात उडिरहेको वस्तु ‘युएफओ’ भएको स्वीकार्नुपर्छ । -सुत्रन्युजबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *