देउखुरी राजधानी हुने टुंगो भएपछि दंगाली दंग (भिडिओ हेर्नुस)

असोज १६, दाङ, प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको देउखुरी बनाउने निर्णय गरेसँगै दाङका स्थानीयहरू खुसी भएका छन्।

उनीहरूले भौगोलिक हिसाबले पनि प्रदेशको राजधानी दाङ नै उपयुक्त रहेको भन्दै प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन्।

शुक्रबार प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए। लुम्बिनी प्रदेशको नाम रहने प्रस्ताव छ।

दाङको देउखुरी राजधानी बनाउने निर्णय भएसँगै के भन्छन् दंगाली? हेर्नुस् दाङबाट नारायण खड्काले तयार पारेको यो भिडिओ

प्रदेश राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक

प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुइ र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्पिरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले जानकारी दिएका छन् ।

सो क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ ।

यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानीको चर्चा भएपछि सो क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार हुँदा धेरै खरिदकर्ताहरु डुबेका थिए ।

प्रदेश ५ को राजधानी दाङ राख्ने शंकर पोखरेलको प्रस्तावमा ओली-प्रचण्डको समर्थन

प्रदेश- ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले समर्थन गरेपछि प्रदेश राजधानी दाङ हुने निर्णय भएको छ ।

नेकपा प्रदेश ५ का इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी दाङ बनाउन अनुमति माग्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका थिए ।

जवाफमा दुई अध्यक्षले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सभाको अधिकार भनेका थिए भने मुख्यमन्त्री पोखरेलको प्रस्तावमा सहमति समेत जनाएका थिए ।

दुई अध्यक्षकै जवाफका आधारमा पोखेरलले निर्णय लिएको स्रोतको दाबी छ । प्रदेश ५ को राजधानीको विषयमा महासचिव विष्णु पौडेल र मुख्यमन्त्री पोखरेलका बीचमा विवाद थियो ।

बुटवलका पौडेलले बुटवललाई नै राजधानी राख्न चाहेका थिए भने दाङका पोखरेलले आफ्नै गृहजिल्ला लैजान चाहेका थिए ।

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको कांग्रेसद्वारा बुटवलमा विरोध प्रर्दशन

प्रदेश नम्बर ५को नाम र राजधाजी फेर्ने निर्णय संगै बुटवलमा कांग्रेसले आन्दोलन गरेका छन् ।

प्रदेश नम्बर ५को नाम लुम्बिनी र राजधानी दाङमा सार्ने निर्णयको विरोधमा बुटवलमा कांग्रेसले प्रदर्शन गरेका हुन् ।

स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सरकारले शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको हो ।

कांग्रेसको भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले एक विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदन तताउने उनले बताएका छन् ।

हेर्नुस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *