यूएईले गर्यो यस्तो निर्णय, कसलाई-कसलाई हुन्छ फाइदा ?

असोज १६, दोहा- यूएईमा मार्च १ पछिको भिसा अवधि सकिएकाको निःशुल्क नवीकरण हुने भएको छ ।

गत मार्च १ देखि जुलाई १२ सम्म भिसाको अवधि सकिएकाले अझै १० दिन अर्थात अक्टोबर १० सम्म बिना शुल्क भिसा र बसोबासको अनुमति नवीकरण गर्न सकिने गल्फ न्यूजले जनाएको छ ।

भिसा अवधि सकिएका आप्रवासी श्रमिकले दश दिनभित्र भिसा नवीकरण गरेमा ओभरस्टे बापतको जरिवाना तिर्न नपर्ने जनाइएको छ ।

यस्तै जुलाई १२ भन्दा पछि भिसाको अवधि सकिएकाले पनि अबको एक महिनाभित्र भिसा नवीकरण गर्न सक्नेछन् ।

दुबईस्थित आमर विभागका निर्देशक मेजर सलीम बिन अलीका अनुसार कोरोना महामारीका कारण नियमहरू परिवर्तन हुँदैछन् । कुनै पनि परीक्षणका लागि आमेर कल सेन्टरहरू सम्पर्क गर्न सकिने जनाएका छन् ।

नयाँ नियम र निर्णयहरू बारे आधिकारिक च्यानलहरूबाट मात्र सही जानकारी लिन पनि उनले अनुरोध गरेका छन् ।

युएई, जहाँ गरियो ठूलो संख्यामा कोरोना परीक्षण

संयुक्त अरव ईमिरेट्स (यूएई) मा हालसम्म ठूलो संख्यामा कोभिड-१९ (कोरोना भाइरस) को परीक्षण गरिएको छ ।

सो क्रममा युएईमा हालसम्ममा झण्डै ९८ लाख व्यक्तिमा कोभिड-१९ को परीक्षण भएको हो । त्यसमध्ये पछिल्लो २४ घण्टामा मात्रै १ लाख ७ हजारको परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा ११ सय ८१ जनामा कोभिड १९ पोजिटिभ भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यूएईमा कोभिड-१९ सुरु हुनु अगाडीको तथ्याँक अनुसार कूल जनसंख्या ९९ लाख रहेको छ जसमा पछिल्लो अवधिमा ८-१० लाख व्यक्ति युएईबाट बाहिरिएको अनुमान छ । यसरी युएईबाट फर्किनेहरुमा सबैभन्दा धेरै भारतीयहरु रहेका छन् । यसबीचमा झण्डै ३ लाखको हाराहारी भारतीयहरु स्वदेश फर्केका छन् ।

यूएईमा रहेको कूल जनसंख्या मध्ये १२ प्रतिशत अर्थात ११ लाख जति मात्र स्थानीय नागरिक हुन् । बाँकी मध्ये २६ लाख भारतीय, १२ लाख पाकिस्तानी, ७ लाख बंगलादेशी छन् भने आठौं स्थानमा नेपाली रहेका छन् जसको जनसंख्या ३ लाख हाराहारी रहेको तथ्याँक छ । सिसिएमसीको तथ्याँक अनुसार यसबीचमा २५ हजार नेपाली स्वदेश फर्केका छन् ।

युएईमा कार्यरत पत्रकार मेघराज सापकोटाका अनुसार युएईको जनजीवन पछिल्लो समयमा सामान्य जस्तै भइसकेको छ । कार्यालयहरु, ठुला मलहरु, समुन्द्री किनारा, रेस्टोरेन्ट होटल ब्यवसाय लगायत सबै खुला छन् भएका छन् तर स्कूल भनें अनलाईन मार्फत सञ्चालन भइरहेको छ ।

राजधानी अबुधावी जान आउन पिसिआर वा डिपिआई टेस्ट अनिवार्य गरिएको छ । सुरक्षाका नियमहरु लागु गरिएको छ । उदाहरणका रुपमा कारमा तीनजना मात्र यात्रा गर्न पाईने नियम लागु गरिएको छ । मास्क अनिवार्य छ । दुरी कायम गर्नु पर्छ । हालसम्म नियम उल्लंघन गरेको अभियोगमा २५ हज़ार व्यक्ति कारबाहीमा परिसकेका छन् ।

साउदीमा थप ५७ नेपालीले पाए बहिर्गमन भिसा

साउदी अरबमा विभिन्न कारणले अलपत्र परेका ५७ जना अवैधानिक नेपालीहरूले बहिर्गमन भिसा पाएका छन् । भिसाका लागि विभिन्न समयमा निवेदन दिएकामध्ये थप ५७ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रक्रिया या शुरू गरेको दूतावासले जनाएको छ ।

यो प्रक्रियाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ५८ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको छ । यसमध्ये १ हजार १ जना सम्मको सूची यसअघि नै दूतावासले प्रकाशन गरिसकेको छ ।

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष बहिर्गमन भिषाका लागि राहदानी तथा इकाइमा पेश गरेअनुरुप दूतावासको सिफारिसमा एक्जिट भिसा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयम् नै जम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *