चार भोटले चिप्लिन सक्छ भालुवाङ, प्रदेशसभामा दाङको पल्ला भारी कि बुटवलको ?

१८ असोज, काठमाडौं । प्रदेश ५ को राजधानी बुटवल कि दाङ भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै फरक मत देखिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेको भोलिपल्ट शनिबार बसेको प्रदेश ५ नेकपा संसदीय दलको बैठकमा भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, विष्णु पन्थी, युवराज खनाललगायतका १४ जनाले नोट अफ डिसेन्ट लेखेका छन् ।

त्यसैगरी नेकपा, रुपन्देहीले प्रदेश राजधानी सार्ने प्रस्ताव संविधानको भावना विपरीत रहेको दाबी गरेको छ । रुपन्देही आसपासका स्थानीय तहका प्रमुखहरूले पनि बुटवल नै राजधानी हुनुपर्नेमा जोड दिएका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि दाङको पक्षमा रहेको बताइएको छ । तर संविधानतः प्रदेश राजधानी र नाम के राख्ने भन्ने तय गर्ने अधिकार प्रदेश सभालाई छ ।

प्रदेशसभाका दुई तिहाई सदस्यको मतले जे निर्णय गर्छ त्यही अन्तिम हुन्छ । ८७ सदस्यीय प्रदेशसभामा दुई तिहाईका लागि ५८ सांसद आवश्यक पर्ने देखिन्छ ।

प्रदेश ५ मा नेकपाको दुई तिहाई अर्थात ६१ सांसद छन् । नाम र राजधानी टुंगो लगाउन नेकपाका सांसदहरूकै मत पर्याप्त छ । तर, यो मत झिनो (४ भोट) छ ।

शनिबारको बैठकमा नोट अफ डिसेन्ट लेखेका १४ सांसदले प्रदेश सरकारको प्रस्तावको विपक्षमा मत दिएको अवस्थामा भने नेपाली कांग्रेसको समर्थन आवश्यक पर्दछ ।

कांग्रेसका १९ सांसद छन् । त्यसमध्ये बहुमत सांसद दाङको पक्षमा देखिन्छन् । पार्टीले ह्विप नलगाउँदा ७/८ सांसदले बुटवलको पक्षमा भोट दिने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

नवलपरासी स्थायी घर भएका कांग्रेस नेता देवेन्द्रराज कँडेल भने प्रदेश सभाका सांसदहरूलाई ह्विप लगाउन नहुनेमा जोड दिन्छन् । उनी भन्छन्, ‘प्रदेशका मानवीयहरूलाई स्वविवेकको अधिकार दिनुपर्छ ।’

प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । जसपाका चार सांसद दाङ र दुईजना बुटवलको पक्षमा देखिएका छन् ।

जसपा संसदीय दलका नेता सहषराम यादव भने आफ्नो पार्टीको मत विभाजन नहुने बताउँछन् । यादव भन्छन्, ‘छलफलमा विभिन्न विचार आउनु अस्वाभाविक होइन । तर, पार्टीबाट निर्णय गरेर मत हाल्छौं ।’

नेकपा प्रदेश ५ का एक नेता भने आफ्नो पार्टीका १४ सांसदले विपक्षमा मत दिए पनि दाङको पक्षमा सजिलै दुई तिहाई पुग्ने दाबी गर्छन् । ती नेता भन्छन्, ‘ह्विप नलगाउने हो भने नेकपाको ७/८ मत पुग्दैन ।’

तर, दाङ आसपासका कांग्रेस र जसपाका सांसदहरूको मत आउने निश्चित प्रायः भएको नेकपाका ती नेताको भनाइ छ । उनी ८० प्रतिशत भन्दा बढी सांसदहरू दाङको पक्षमा रहेको दाबी गर्छन् ।

यसैैवीच नेकपाका महासचिव विष्णु पौडेलले आइतबार बालुवाटारमा अध्यक्षद्वयलाई भेटेर दाङलाई राजधानी बनाउने निर्णय पुनर्विचार गर्न माग गरेका छन् । -अनलाइनखबरबाट साभार

बालुवाटारमा ‘दाङ’लाई लिएर चर्काचर्की: ओली-प्रचण्डका अगाडि पोखरेल र पौडेलका आ-आफ्ना अडान

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच आइतवार भएको भेटवार्तामा प्रदेश ५ को राजधानीको विषय प्रवेश गरेको छ ।

भेटवार्तामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित थिए ।

छलफलमा महासचिव पौडेलले राजधानी दाङमा सार्ने पार्टीको निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए । ‘प्रदेश ५ को राजधानी दाङ होइन बुटवल नै हुनुपर्छ भन्ने अडान महासचिव पौडेलले लिनुभएको थियो,’ छलफलमा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘तर मुख्यमन्त्री पोखरेलले भने दाङ नै उपयुक्त ठाउँ भएको भन्दै पछि नहट्ने बताउनु भयो ।’

प्रदेश ५ को स्थायी राजधानी दाङलाई बनाउनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले केही दिनअघि अध्यक्षद्वयलाई पत्र लेखेका थिए । पोखरेलको पत्र आएपछि ओली र प्रचण्डबीच दाङलाई नै राजधानी बनाउने विषयमा सहमति जुटेको थियो ।

राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी कार्यभार पूरा गर्ने विषयमा विगत २ सातायता अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निरन्तर छलफल हुने गरेको छ । आइतवारको छलफलमा भने दाङका विषयमा कुराकानी भएको थियो ।

प्रदेश राजधानी दाङ राख्ने निर्णय प्रदेशसभामा रहेको नेकपा संसदीय दलले गरेपछि आइतवार बिहानदेखि नै प्रदर्शन शुरू भएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा रहेका ३ सल्लाहकार, स्वकीय सचिव र प्रेस संयोजकलगायत ६ दर्जन सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि आइतवार बस्ने भनिएको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर प्रचण्ड भने ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । लोकान्तरबाट साभार

शेरबहादुर देउवालाई ओली र प्रचण्डको तारन्तार फोन !

प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ । कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं आएका छन् ।

मुख्यमन्त्री पोखरेलको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई टेलिफोन गरेर आन्दोलन रोकिदिन र सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसैगरी कार्यकारी अध्यक्ष प्रचण्डले पनि शेरबहादुर देउवालाई फोन गरेर दाङलाई नै स्थायी राजधानी बनाउने प्रस्तावमा कांग्रेसका तर्फबाट सहमति जनाइदिन आग्रह गरेका छन् ।

‘प्रदेशसभामा नेकपाको दुईतिहाई बहुमत छ । कांग्रेसले जति विरोध गरे पनि नेकपाकै भोटले दाङको पक्षमा प्रस्ताव पारित भइहाल्छ’ कार्यकारी अध्यक्ष प्रचण्डले देउवालाई फोनमा भने,‘त्यसैले कांग्रेसले आन्दोलन रोकोस् र दाङकै पक्षमा मतदान गरोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम र राजधानी राष्ट्रिय सहमतिका आधारमा तय गरिनु बाञ्छनीय हुने भन्दै कांग्रेस सभापति देउवालाई आन्दोलन रोकेर सहमति जनाइदिन आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

नेकपाका शीर्ष नेताहरुले देउवालाई तारन्तार फोन गरेर सहमतिमा आउन आग्रह गरे पनि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले भने राजधानीको नाम र स्थान तोक्ने बेलामा प्रदेश ५ को विपक्षी दलसँग कुनै परामर्श नगरी एकलौटी चल्न खोजेको प्रदेशका कांग्रेस नेताहरुको गुनासो छ ।

अर्कोतर्फ, काठमाडौंमा सहमति खोजिरहेको नेकपाको आफ्नै दलभित्र असहमतिका स्वरहरु सुनिन थालेका छन् । दाङको पक्षमा भोट हालिदिन देउवासँग आग्रह गरिरहँदा नेकपाकै भोट दाङको विपक्षमा पर्ने संकेत देखिन थालेको छ । -अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *