सामान्य रुघाखोकी लागेको हो कि कोरोना, कसरी छुट्याउने? यसो भन्छन् विज्ञ

अहिले मौसम परिवर्तनको समय हो। हरेक वर्ष यो बेला रुघाखोकी लाग्नेगरेकै थियो। तर यसपटक कोरोना संक्रमण फैलिएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ।

हुन पनि हाे, सामान्य रुघाखाेकी लागेकाे हाे कि काेराेना, कसरी छुट्याउने?

यस विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ यस्तो छ :

मौसमी रुघाखोकीका लक्षण
-नाकबाट पानी आउने

-नाक बन्द हुने
-हाच्छिउँ आउने

-शरीर दुख्ने
-हल्का ज्वरो आउने
-टाउको दुख्ने

-शरीर दुख्ने
-सामान्य उपचार तथा आरामले फाइदा गर्ने
-छोटो समयमा निको हुने

-अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने

कोरोना संक्रमणका लक्षण
-उच्च ज्वरो आउने

-सुक्खा खाेकी लाग्ने
-एकदम थकाइ लाग्ने
-सास फेर्न गाह्रो हुने

-स्वाद वा र गन्ध थाहा नहुने
-घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने

-खाना नरुच्ने
-निको हुन १० दिन लाग्न सक्ने
-अक्सिजन र आईसीयूको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर टेस्ट गर्ने, चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने।

यसरी गर्न सकिन्छ काठमाडौंमा विस्फोटक बन्दै गइरहेको कोरोना संक्रमण नियन्त्रण

डा. रवीन्द्र पाण्डे

नेपालमा भएको कोरोना संक्रमणले झण्डै डेढ अर्ब जनसंख्या भएको चीनलाई उछिनेको छ । यो प्राप्तिलाई सरकार तथा आमनागरिक काँधमा काँध मिलाएर हिँड्नुको प्रतिफल मान्नुपर्दछ ।

चीनमा जस्तै दैनिक दशौं लाखको परीक्षण गर्ने हो भने नेपालले धेरै देशलाई जितिसकेको प्रमाणित हुनेछ ।

गुणस्तरहीन किट ल्याएर, परीक्षणको दायरा साँघुरो बनाएर, सीमा नाका खुकुलो गरेर, जनस्वास्थ्यका मापदण्डमा कडाइ नगरेर, स्वास्थ्य मन्त्रालय भान्सामा र गृह मन्त्रालय बेडरुममा व्यस्त भएर, पार्टीहरू आन्तरिक किचलोमा व्यस्त भएर, संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायबीच समन्वय नभएर तथा सरकार र कर्मचारीतन्त्रका हरेक व्यक्ति विज्ञ भएको हुनाले कोरोना महामारी समुदायमा राम्रोसँग फैलिने अवसर प्राप्त भयो ।

एक्काइसौं शताब्दीमा पनि मास्क लगाउन नजानेर, दूरी नाप्न नसकेर, कोभिडको जोखिम बुझ पचाएर तथा मलाई कोभिड लाग्दैन भन्ने भ्रम पालेर हामी आमनागरिकले पनि यो महामारी यत्रतत्र सर्वत्र फैलाउन ठूलो योगदान गरेका छौं ।

यहाँ केही प्रतिनिधिमूलक घटना पेश गरेको छु, जसले काठमाडौं उपत्यकालाई कोरोनाको ‘इपिसेन्टर’ बनाउन मद्दत गरेका छन् ।

१. न्यूरोड, इन्द्रचोक, असन लगायतका भीडभाड हुने क्षेत्रमा पसलेहरू घाँटीमा मास्क लगाएर बसेका छन्, ग्राहकहरू नाकमुनि मास्क लगाएर मोलतोल गरेका छन् । हरेक ठाउँमा पसलेहरू सँगै बसेर चिया खाइरहेका छन्, एउटाले मोलेको सुर्ती ५ जनालाई वितरण गरेर ओंठमुनि च्यापिरहेका छन् । हजार वर्ष पुरानो पिनास निको हुने अँध्यारो र फोहोर शौचालय निर्धक्क प्रयोग गरिरहेका छन् ।

२. तरकारी बजारमा मेला लागेको छ । त्यो मेला हेर्दा यस्तो लाग्छ – निःशुल्क सुनचाँदी वितरण गर्ने कार्यक्रम भइरहेको छ । चिउडोमुनि मास्क लगाएका बिक्रेता, नाकमुनि वा घाँटीमा वा खल्तीमा मास्क लगाएका क्रेता बार्गेनिङ गर्दै तथा १–१ वटा गोलभेडा छाम्दै पूरापूर समय दिएर किनबेचमा व्यस्त छन् ।

३. भित्रि बस्ती, चोक, गल्ली, तरकारी बजार, मासु पसल आदि ठाउँका सचेत नागरिकहरू महिनौंदेखि सुरक्षाकर्मी देख्न नपाएकोमा नियास्रो मानिरहेका छन् ।

४. सार्वजनिक बसमा कोचाकोच छ, मास्कको जन्तर चिउडोमा अधिकांशले झुण्ड्याएका छन्, चर्को स्वरमा गफ चुटिरहेका छन् । ट्राफिक प्रहरीले ‘ल ल कमाउने बेला यही हो’ भन्दै ड्राइभरसँग मुस्कान सहितको सेवा प्रदान गरिरहेका छन् ।

५. टेकुमा पीसीआरको भिसा लिने लाइन अविरल छ । संक्रमितहरूले संक्रमण नभएका व्यक्तिलाई त्यहीँ लाइनबाट कोरोना भाइरस निःशुल्क दान गरिरहेका छन् ।

६. कोरोना संक्रमण बढाउनका लागि हाम्रा सरकारी तथा गैरसरकारी क्षेत्रले पनि हातेमालो गरेका छन् । प्रवेश परीक्षाको लागि, लोक सेवाको लागि, जागिरको लागि तथा अन्य कामको लागि पीसीआर रिपोर्ट चाहिने गलत बुझाइ हो । पीसीआर टेस्ट संक्रमण भएको ४–५ दिनपछि मात्र देखिन्छ । टेस्ट गरेको १ घण्टापछि पनि कोरोना भाइरस सर्न सक्छ । आमनागरिकलाई रातभर लाइनमा राखेर संक्रमण बढाउने यस्ता कर्मकाण्डी कुरा बन्द गर्नुपर्छ ।

७. काठमाडौं बाहिरबाट आएका व्यक्तिलाई पीसीआरको रिपोर्ट लिएर मात्र आउनु भन्ने घरबेटी तथा अन्य कार्यालयहरू पनि पीसीआर आतंक बढाउन जिम्मेवार छन् । टेस्ट गर्नेबित्तिकै रिपोर्ट आउँदैन । रिपोर्ट आउने बेलासम्म होटेलमा बस्दा, रेस्टुरेन्टमा खाँदा तथा बस प्रयोग गर्दा कोरोना सर्न र सार्न सक्छन् भन्ने तथ्य किन नबुझेको होला ? यसको साटो होम आइसोलेसनमा बस्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आवश्यक परे परीक्षण गराउन सकिन्छ ।

८. कोरोना संक्रमणको बिमा गराएका केही परिवार बिमाको पैसा लिनको लागि समेत कोरोना संक्रमण आमन्त्रण गर्ने गतिविधि यही राजधानीमा गरिरहेका छन् ।

९. ‘तपाईंको रिपोर्ट पोजेटिभ छ, घरभित्र बस्नुहोला, २ हप्तापछि बाहिर निस्किनुहोला, टेस्ट गर्नुपर्दैन, गाह्रो भए अस्पताल जानुहोला’ भनेर घरमै बसेको मान्छेलाई घरभित्र बस्ने सरकारी सल्लाह वितरण गरिएको छ । उक्त व्यक्तिको निगरानी गर्ने जिम्मेवारी सरकारी संयन्त्रले लिएको छैन । कन्ट्याक्ट ट्रेसिङ एकादेशको कथा भएको छ ।

आफन्त, छिमेकी, साथी, सहकर्मी आदिसँग हामीले मास्क नलगाइ कुरा गर्छौं, सँगै बसेर चिया, खाजा, खाना खान्छौं । हामीलाई भ्रम छ कि कोरोना सर्ने नचिनेका व्यक्तिबाट हो । त्यो ठूलो भ्रम हो । कोरोना संक्रमण आफन्तबाट सर्छ अनि आफन्तलाई नै सारिन्छ । तसर्थ आफन्तसँग पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी छ ।
१०. दर्शन दुर्लभ हुनुपर्ने संक्रमितमध्ये केही संक्रमितसँग मर्निङ वाकमा भेट हुन्छ, गफ गर्न पाइन्छ, चिया खान पाइन्छ । उहाँहरूसँग सार्वजनिक यातायातमा भेट हुन्छ, पसलमा भेट हुन्छ ।

११. आइसोलेसन केन्द्रभित्र बस्नुपर्ने संक्रमित दुकानदारले आफू संक्रमित भए पनि ग्राहकलाई सामान बेचेर सेवा दिइरहेका छन् । चिया, खाजा, पानी वितरण गरिरहेका छन् । यस्तो सेवा संसारमा दुर्लभ छ ।

१२. रामबहादुरको नाममा पीसीआर टेस्ट गरेका श्यामप्रसादले पोजेटिभ रिपोर्ट आए पनि साथीको रिपोर्ट हो भनेर खुलमखुला हिँडिरहेका छन् । कथंकदाचित बाटोघाटोमा वडाका पदाधिकारीसँग भेट भयो भने ‘मलाई केही भएकै छैन, त्यो गलत रिपोर्ट आएको हो …’ भनेर आँखा तरिरहेका छन् ।

१३. ज्वरो आएका, सुख्खा खोकी लागेका तथा स्वाद र बासनामा तलमाथि भएका भएका व्यक्ति परीक्षण गर्न मान्दैनन् । पोजेटिभ रिपोर्ट आयो भने घरमा छुट्टै बस्ने ठाउँ छैन, सरकारी आइसोलेसन केन्द्रमा बसिसक्नु छैन, छिमेकीले दुरदुर गर्छन् … भनेर रोग च्यापेर बसिरहेका छन् ।

१४. अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन, आईसीयू प्याक भएका छन्, भेन्टिलेटरको पालो कुर्दा ज्यान गएको छ, सिकिस्त बिरामीलाई १० वटा अस्पतालमा चहार्दा बाटोमै मृत्यु भएको छ ।

१५. अधिकांश सरकारी अस्पतालको सेवा र खाना निम्न कोटीको छ । केही निजी अस्पतालले १ दिन बसेको लाख–लाखको बिल थमाउने गरेका छन् । सरकारले अनुगमन र निगरानीलाई चिनेको भए सरकारी अस्पतालको सेवा सुदृढ हुन्थ्यो, निजी अस्पतालको सेवा शुल्कलाई आमनागरिकको पहुँचमा पुर्‍याउन सकिन्थ्यो ।

१६. कन्ट्याक्ट ट्रेसिङ र होल्डिङ नगर्दा सिकिस्त संक्रमितका स्वस्थ संक्रमित कुरुवाहरू चमेना गृह, रेस्टुरेन्ट, किराना पसल, ट्याक्सी, बस आदिको नियमित ग्राहक भइरहेका छन् । उनीहरूले आफ्नो सुविधा अनुसार मास्क टाउकोमा, हातमा, खल्तीमा, घाँटीमा तथा नाकमुनि झुण्ड्याएका छन् । यो सुविधा प्रदान गर्ने थोरै देशमा नेपाल अग्रस्थानमा छ ।

१७. अमेरिकामा त्यहाँका राष्ट्रपतिले जनस्वास्थ्यका मापदण्ड विपरीत केही ट्विट गरेमा ट्विटरले तत्काल हटाउँछ । हाम्रो देशमा कोरोना छैन भने पनि, मास्क लगाए मरिन्छ भने पनि, ह्याण्ड स्यानिटाइजरले क्यान्सर हुन्छ भने पनि, ज्यान जोखिममा राखेर उपचारमा खटेका डाक्टर र नर्सलाई अपराधी भने पनि, कोभिड़का बिरामीको किड्नी, आँखा, मुटु, फोक्सो, कलेजो झिकेर स्याउ, सुन्तला, बदाम बेचेझैं बेचिन्छ भने पनि सरकारलाई मतलब छैन, सरोकारवालालाई मतलब छैन । हाम्रो देशमा जस्तो हरेक विचारको सम्मान गर्ने मुलुक विश्वमा दुर्लभ छन् ।

१८. कोभिडको कारण दैनिक लगभग दोहोरो अंकमा संक्रमितको मृत्यु भएको छ, सयौं बिरामी आईसीयू र भेन्टिलेटरमा जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेका छन् । उनीहरूले कोभिडको पीडा लेख्न सकेका छैनन् । अर्कोतर्फ पीसीआर पोजेटिभ देखिएका तर समस्या नभएका ८०% व्यक्तिले कोभिड रुघाखोकीजस्तै रहेछ भनेर लेखिरहेका छन् । कोभिडले जोखिम वर्गलाई धेरै असर गर्छ भन्ने बुझाइ स्थापित नहुँदा जोखिम वर्गमा पनि कोभिडप्रति लापरबाही गर्ने प्रवृत्ति बढेको छ । उनीहरूलाई ठूलो अन्याय भएको छ । विज्ञहरूको समूह बनाएर सही सूचना आधिकारिक व्यक्तिबाट मात्र प्रचार प्रसार गर्ने झन्झट सरकारले गरेको छैन । जनतालाई यसै चलेको छ भने सरकारलाई पनि उसै चलेको छ ।

१९. माइतीघर मण्डलादेखि बालुवाटारसम्म, बुटवलदेखि टिचिङ अस्पतालसम्म यस्तो महामारीको समयमा त्यस्तो निर्णय गर्नु समयोचित हो कि हैन भनेर मूल्यांकन नगर्दा भइरहेका प्रदर्शनले संक्रमणलाई विस्तार गर्न ठूलो सहयोग गरेको छ ।

२०. आधिकारिक निकायका पदाधिकारी पनि गजबका छन् । भन्छन् – मास्क नलगाउने, दूरी कायम नगर्नेलाई हामीले कारबाही नगरे पनि कोभिडले कारवाही गर्छ । त्यसो भए ती कुर्सीमा कोरोना भाइरस राखे भइहाल्यो । यस्तो जिम्मेवार अभिव्यक्ति दिने आधिकारिक व्यक्तिलाई राज्यले पदक दिनुपर्छ ।

२१. संक्रमण बढे पनि होलसेलमा लकडाउन गर्नु हुँदैन । किनकि सरकारले लकडाउन गर्न जानेको छैन, जनताले लकडाउनलाई टेर्दैनन् । लकडाउन–१ मा जे गल्ती भयो, लकडाउन–२ मा पनि त्यही गल्ती भयो । सरकारले ठूला सडक, ठूला बजारलाई काठमाडौं भन्छ अनि त्यहाँ सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गर्छ ।

सरकारलाई मालुम छैन कि नागरिक भित्रि बस्तीमा बस्छन्, गल्लीभित्र बस्छन्, चोकमा जम्मा हुन्छन्, मार्निङ वाक गर्छन्, साँझ हावा खान निस्किन्छन्, तरकारी बजारमा जान्छन्, मास्क सही तरिकाले लगाउँदैनन्, चियापसल र भट्टीमा भीडभाड हुन्छ । टेलिभिजनले पनि खाली चौडा सडकमा क्यामेरा तेर्स्याएर जनता तर्साउँछन् । सरकारले काम नगर भनेपछि निम्न आय भएका व्यक्तिलाई यो खाऊ र घरभित्र बस भनेर राहतको व्यवस्था गर्नुपर्छ ।

एम्बुलेन्स दौडाएर बिरामीलाई ठाउँठाउँबाट अस्पताल पुर्‍याउनुपर्छ । लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो । सरकारी अधिकारीहरू बुहान गएर तालिम लिएर आएको भए बुहानमा जस्तै ७६ दिनमै कोरोना नियन्त्रण हुन्थ्यो ।

२२. आफन्त, छिमेकी, साथी, सहकर्मी आदिसँग हामीले मास्क नलगाइ कुरा गर्छौं, सँगै बसेर चिया, खाजा, खाना खान्छौं । हामीलाई भ्रम छ कि कोरोना सर्ने नचिनेका व्यक्तिबाट हो । त्यो ठूलो भ्रम हो । कोरोना संक्रमण आफन्तबाट सर्छ अनि आफन्तलाई नै सारिन्छ । तसर्थ आफन्तसँग पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी छ ।

२३. हामीले जे काम पनि अन्तिम घण्टामा गर्छौं । अहिले लामो दूरीका बस खाली–खाली छन् । जब दशैंको संघारमा हामीले टेक्छौं अनि हामी बसभित्र कोचिएर यात्रा गर्छौं । अहिले हामीलाई फूटपाथमा शपिङ गर्ने भूत सवार भएको छ । शपिङ गर्दा हामीले आफ्नो मास्क, दूरी सबै बिर्सिएका छौं । हामीले शपिङ गरेर फर्किंदा ब्यागमा कपडा मात्र होइन, शरीरमा कोरोना भाइरस समेत बोकेर फर्किरहेका छौं ।

२५ हजार सक्रिय केससम्म मात्र हामीले धान्न सक्छौं भनेर स्वास्थ्य मन्त्रालयले भनेको छ । लाखौंमा संक्रमण फैलियो भने हामीले एम्बुलेन्स पाउने छैनौं, अस्पतालमा बेड पाउने छैनौं तथा आफ्नै आँखाअघि मृत्युहरू देख्न अभिशप्त हुनेछौं । तसर्थ सरकार, आम नागरिक तथा सरोकारवाला निकाय एकजुट भएर महामारी नियन्त्रणमा लाग्नुको विकल्प छैन ।
२४. कोरोना संक्रमण घर–घरमा पुग्दा पनि स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण समुदायमा फैलिएको छैन भनेर अर्को झूट बोलिरहेको छ । यसले गर्दा आमनागरिकमा कोरोना फैलिएको छैन भन्ने भ्रम फैलिएको छ । ढुक्क बनौं ! काठमाडौ उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको छ । कसले कसलाई सार्‍यो भन्ने थाहा नहुनु र संक्रमण यत्रतत्र फैलिनु नै सामुदायिक संक्रमण हो ।

२५. भारत तथा चीनका राष्ट्र प्रमुख नेपाल भ्रमण गर्दा रातारात सडकमा कालोपत्रे गरिन्छ, रातारात बगैंचा बनाइन्छ, रातारात रुख उखेलेर गाड्न सकिन्छ भने अस्पताल भरिभराउ हुँदा त्यही गतिमा काम गर्ने हो भने अस्पतालमा बेड संख्या बढाउन सकिन्छ, आईसीयू विस्तार गर्न सकिन्छ, स्वास्थ्यकर्मीलाई आईसीयू अपरेट गर्ने बेसिक तालिम दिन सकिन्छ । त्यस्तै अस्थायी अस्पताल बनाउन सकिन्छ । सरकार, प्रदेश, महानगरपालिका, नगरपालिका आदिले छुट्टाछुट्टै अस्पताल बनाउन सक्छन् । अवकाशप्राप्त चिकित्सक तथा इन्टर्न विद्यार्थीलाई समेत काममा खटाउन सकिन्छ ।

२६. काठमाडौंमा सरकारी स्कूल बन्द छन् । त्यहाँ कार्यरत शिक्षकले नियमित रूपमा तलब बुझिरहेका छन् । उनीहरूलाई जनचेतनाको लागि हरेक वडाले खटाउने व्यवस्था मिलाउन सकिन्छ । पचासौं हजार गैरसरकारी संस्था छन्, हजारौं क्लब, टोल सुधार समिति, सामाजिक संस्था, जागरुक युवाहरू आदि छन् । उनीहरूलाई कन्ट्याक्ट ट्रेसिङ, मास्क तथा साबुन वितरण, जनचेतना, राहत वितरण तथा जनस्वास्थ्यका मापदण्ड पालना गराउन परिचालन गर्न सकिन्छ ।

२७. हाम्रा ठूला पार्टीहरूका प्रत्येक जिल्लाको वडा स्तरमा संगठन फैलिएको छ । सबै पार्टीले आफ्ना कार्यकर्तालाई चुनावमा जस्तै घरघरमा परिचालन गरेर जनचेतना र राहतमा प्रभावकारी ढंगले खटाउन सकिन्छ । जनताको दुःखमा साथ दिँदा राजनैतिक दलहरूलाई अर्को चुनावमा घरदैलो गर्न सजिलो हुनेछ ।

२८. स्वास्थ्य मन्त्रालयले भन्ने गरेको छ, हामीले गर्दा दक्षिण एसियामा नेपालको राम्रो स्थिति छ । अमेरिका/युरोपले थाम्न सकेनन् भने हामीले त आकाश थामेका छौं । नेपाल लगायतका एसिया तथा अफ्रिकाका देशहरूमा कोरोना संक्रमण निकै ढिलो गरी फैलिएको हामी सबैलाई थाहा छ । आजको अवस्था हेर्ने हो भने नेपाल कोरोना भाइरस संक्रमणको ४४ नम्बरमा छ भने दक्षिण एसियाका म्यान्मार, भुटान, श्रीलंका, माल्दिभ्स, थाईल्याण्ड, भियतनाम, कम्बोडिया लगायतका मुलुकले संक्रमण नियन्त्रणमा राखेका छन् । ती देशमा मृत्युदर एकदम कम छ । निको हुने दरमा पनि नेपाल पछाडि नै छ । अस्पतालको क्षमतामा त नेपालको अवस्था दयनीय नै छ । अन्य देशका उदाहरण दिँदा ती देशहरूले आफ्ना नागरिकको लागि के कति सुविधा र राहत दिए त्यो पनि बुझ्नु जरुरी हुन्छ ।

२९. स्वास्थ्य मन्त्रालयले दैनिक गरिरहेको अनुत्पादक कोरोना अपडेटमा जनतालाई निरन्तर आरोप लगाइरहेको छ कि ‘तिमीहरूले मास्क नलगाएर, दूरी कायम नगरेर तथा हात नधोएर कोरोनाको महामारी फैलिएको हो’ । राज्यलाई यो भन्ने अधिकार हुँदैन । जनतालाई मास्क तथा साबुन निःशुल्क दिने, निगरानी बढाएर लापरबाही गर्नेलाई जरिवाना गर्ने, भीड हुन नदिने लगायतको अनुशासन कायम गर्नु राज्यको दायित्व हो । यदि नागरिकले राज्यको अवज्ञा गर्छन् भने के बुझ्नुपर्छ भने कि जनताले राज्यको विश्वास गरेका छैनन् कि सरकारसँग जनताले डर मानेका छैनन् । विश्वास वा डर कायम भएका देशमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ ।

३०. नेपालका नेता त्यस्ता भाग्यमानी हुन् कि तिनका कार्यकर्ताले आईसीयू नपाएर अस्पतालको गल्लीमा सुताए पनि आफ्ना नेताको पक्षमा प्राण फुस्किने बेलासम्म समर्थन जनाइरहेका हुन्छन् । जसको कारण नेताहरू सुध्रिने सम्भावना हुँदैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने जनसमुदाय वा कार्यकर्ता नभएसम्म भ्रष्टाचार, अराजकता, कुशासन तथा गैरजिम्मेवारीपन कहिल्यै घट्दैन ।

३१. हामीले राज्यको आश गरौं तर भर नपरौं । आफ्नो ज्यान आफैं बचाउनको लागि हामी सुरक्षित ठाउँमा बसौं । घरभित्र नै बसौं । गाउँमा घर हुने गाउँ गएर बसौं । खतरायुक्त ठाउँबाट सुरक्षित ठाउँमा जानु हरेक प्राणीको नैसर्गिक स्वभाव हो । जहिले खोप आउँछ, महामारी नियन्त्रण हुन्छ, त्यसपछि मात्र थानकोट वा साँगाबाट भित्र पसौं ।

अहिले हामी अत्यन्तै विषम परिस्थितिमा छौं । यो अवस्थामा हरेक नागरिक जिम्मेवार भएर आफ्नो शरीरमा, आफ्नो घरमा तथा आफ्नो समाजमा संक्रमण नल्याउन हरेक पल सतर्क हुनु जरुरी छ । मास्क किन्न नसक्ने निम्न आय भएका व्यक्तिलाई हामी सबैले मास्क वितरण गर्न सक्छौं । सही तरिकाले मास्क लगाउन अनुरोध गर्न सक्छौं । चाडपर्वलाई घरायसी बनाउन सक्छौं । भीडभाड नगर्न र भीडभाडमा नजान सक्छौं ।

२५ हजार सक्रिय केससम्म मात्र हामीले धान्न सक्छौं भनेर स्वास्थ्य मन्त्रालयले भनेको छ । लाखौंमा संक्रमण फैलियो भने हामीले एम्बुलेन्स पाउने छैनौं, अस्पतालमा बेड पाउने छैनौं तथा आफ्नै आँखाअघि मृत्युहरू देख्न अभिशप्त हुनेछौं । तसर्थ सरकार, आम नागरिक तथा सरोकारवाला निकाय एकजुट भएर महामारी नियन्त्रणमा लाग्नुको विकल्प छैन । हामीले सोचेभन्दा तथा तथ्यांकमा आएभन्दा दशौं गुणा संक्रमण फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *