परिवारका कसैले नबुझेको त्यो ‘लास्ट सरी’ [नालीबेली]

राजेश घिमिरे/सेतोपाटी

चितवन, असोज २२, प्रसाईं परिवारको ‘ग्रुप च्याट’मा आइतबार अपराह्न एक्कासि ‘सरी’ लेखिएको सन्देश आयो। ४:१७ बजे उत्तम प्रसाईंले पठाएको त्यो सन्देशको अर्थ कान्छी बहिनी प्रमिलाले बुझिनन्। तत्काल ‘ग्रुप कल’ गरिन्। तर उठेन। ४:२२ मा उत्तमले पुनः लेखे ‘लास्ट सरी’।

प्रसाईंले किन सरी लेखे परिवारका अन्य सदस्यले मेसो पाएनन्। सोमबार बिहान चितवनबाट प्रहरीले गरेको फोनले भने उनीहरूलाई झस्कायो।

नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल नजिकै प्रहरीले बा७५प ५१२९ नम्बरको डिस्कभर मोटरसाइकल फेला पार्‍यो।

मोटरसाइकल रहेको स्थानबाट करिब २० मिटर तल भीरमा कालो रंगको चप्पल र २०७३ को असारमा म्याद सकिएको सूचना विभागको पत्रकार परिचय पत्र फेला पर्‍यो। सर्लाहीको युग व्यथा साप्ताहिकमा काम गर्दाको उत्तमकै परिचय पत्र थियो त्यो।

त्यही परिचय पत्रलाई आधार बनाएर प्रहरीले सर्लाहीको हरिवन नगरपालिका हुँदै परिवारसम्म खबर पुर्‍याएको थियो।

प्रसाईंका बहिनी ज्वाइँ कृष्ण खरेलका अनुसार परिवारका सदस्यहरूले प्रहरीको फोन आएपछि मात्र अघिल्लो दिन ग्रुप च्याटमा लेखिएको ‘सरी’ शब्दलाई गम्भीरतापूर्वक लिएका थिए। ‘दाइ घरमा निकै कम बोल्ने गर्नुहुन्थ्यो, ग्रुप च्याटमा पनि कमै कुरा गर्नुहुन्थ्यो, उहाँ बोलिहाले अन्यले रमाइलो जवाफ दिने चलन थियो,’ ज्वाइँ खरेलले भने, ‘आइतबारको उहाँको कुरालाई कसैले पनि गम्भीर रुपमा लिइएको थिएन।’

उत्तमले लास्ट सरी लेखेको १६ मिनेटपछि अर्की बहिनी शर्मिलाले ग्रुपमा ‘हेर्दै तनाव भएको छ दाइ’ लेखेकी छन्। तर, त्यो म्यासेज उत्तमले हेरेनन्। ‘शर्मिलाले दाइको म्यासेजलाई रमाइलो ठानेरै त्यो लेखिन्, यस्तो कुराको त शंकै थिएन,’ खरेल भन्छन्।

आइतबार अपराह्नबाट सम्पर्कविहीन भएका उत्तमको प्रहरीले खोजी गरिरहेको छ। धादिङको गजुरी गाउँपालिकाको सिसिटिभी क्यामराको फुटेजमा उत्तम मोटरसाइकलमा मुग्लिनतर्फ आइरहेको देखिएको छ भने प्रहरीले उत्तमको मोबाइलको पछिल्लो लोकेशन पनि मुग्लिन रहेको फेला पारेको छ। अनुसन्धानका क्रममा मंगलबार प्रहरीले त्रिशूलीको तीरमा मोटरसाइकलका कागज पत्र र बैंकको चेकबुक पनि फेला पार्‍यो।

नदीको किनारमा ती सामान फेला परेको आधारमा प्रहरीले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम केन्द्रको र्‍याफ्टिङ टोलीको सहयोगमा बिहीबार पनि दिनभर त्रिशूली नदीमा खोजी गरेको थियो। ‘सामान भेटिएको स्थानबाट गाईघाटसम्म खोजी गर्‍यौं तर केही भेटिएन,’ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य रानाले भने, ‘हामीले उनी नदीमा हामफाले कि फालेनन् भन्ने नै निर्क्यौल गर्न सकेका छैनौं।’

उत्तमका अफन्तलेसमेत ८ हजार रुपैयाँ भाडा बुझाएर दुई वटा डुंगामार्फत दिनभर खोजी गरेका थिए। तर, केही पत्ता लागेन।

त्यसो त उत्तमको परिवारलाई उनले आ’त्मह’त्या गरे भन्ने आशंका अझै पनि कति पनि लागेको छैन। ‘त्यस्तै ठाउँमा कागज पत्र भेटिएको भएर मनको शान्तिका लागि नदीमा पनि खोजियो,’ बहिनी शर्मिला भन्छिन्, ‘उहाँले आ’त्मह’त्या गर्नुभयो भन्ने त मलाई लागेकै छैन।’

ज्वाइँ कृष्णका अनुसार उत्तम पौडीमा पोख्त थिए। त्यसैले, परिवारका कसैलाई पनि उनलाई नदीले बगायो भन्ने लागेको छैन।
५० वर्षीय बाबु गोपाल बोल्न सक्ने अवस्थामा छैनन्। तैपनि उनलाई छोराले आ’त्मह’त्या गर्‍यो भन्ने लागेको छैन। ‘केही गल्ती गरेका कारण घुर्क्याएको होला, आउँछजस्तो लागेको छ,’ उनी भन्छन्।

आर्थिक संकटमा थिए उत्तम

२७ वर्षीय उत्तम आफन्तले चलाएको युग व्यथा साप्ताहिक पत्रिकामा काम गर्थे। तर, पछिल्ला केही वर्षदेखि भने उनी आफ्नै व्यवसायमा व्यस्त थिए।

कान्छी बहिनीसँग काठमाडौंको रातोपुलस्थित डेरामा बस्ने उत्तमले कपडाको व्यापार गर्थे। उनी नेपाली कटनका कपडा बनाएर बिक्री गर्दथे। पछिल्लो समय उनको ग्राहक चिनियाँ नागरिक थिए। ती चिनियाँले उनले तयार गरेका कपडाहरू विभिन्न देशमा बिक्री गर्ने गरेका थिए।

आइतबार त्यही सामानको विषयमा चिनियाँसँग भेट्ने सल्लाह थियो। ज्वाइँ कृष्णका अनुसार कामदारले उत्तमलाई यही विषय सम्झाउन फोन गर्दा उत्तमले मुग्लिन आइपुगेको बताएका थिए। प्रहरीले पछि उत्तमको मोबाइलबाट ती चिनियाँ नागरिकलाई फोन गरेको थियो। तर, चिनियाँले विश्वास गरेनन्। बरु उत्तमको विषयमा दूतावासमा उजुरी गर्ने बताए।

‘अहिले सोच्दा दाइले चिनियाँसँग सामानको पैसा पहिल्यै लिएर खर्च गर्नुभएछ र अहिले उसलाई दिनुपर्ने सामान दिन नसकेपछि यता आउनुभएछ कि जस्तो पनि लाग्छ,’ कृष्ण भन्छन्, ‘आर्थिक संकटमा परेर नराम्रो निर्णय लिनुभयो कि भन्ने आशंकासम्म गरेका छौं।’

उत्तमले केही दिनअघि ज्वाइँसँग पनि पाँच लाख रुपैयाँ लिएका थिए। ‘मैले आफैंले दुई लाख र अरुबाट तीन लाख रुपैयाँ उहाँको खाताम हाल्न लगाएको थिएँ,’ उनले भने, ‘तर, यस्तो कारण आ’त्म’ह’त्या नै गर्नुपर्छ भन्ने सोचमा त पुग्नु नपर्ने हो, उहाँ यति कमजोर मान्छे जस्तो लाग्थेन।’

कृष्णका अनुसार उत्तमको सर्लाहीमा तीन बिगाहा जमिन छ। काठमाडौंमा कपडाको व्यापार गर्न उनले करिब सात लाख रुपैयाँ लगानी गरेका थिए। त्यहाँबाट आएको आम्दानीले आफ्नो र बहिनीको खर्च पुगेको थियो।

आइपिएल क्रिकेटको बाजी लगाउँथे

अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा उत्तमले हाल चलिरहेको आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने गरेको जानकारी पनि प्रहरीले पाएको छ। काठमाडौंमा उनको कोठानजिकै बस्नेहरूले उनले बाजी लगाउने गरेकोबारे जानकारी गराएको कृष्ण बताउँछन्। यद्यपि, यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘म सँग पैसा मागेको पनि त्यसैका लागि रहेछ कि भन्ने अहिले लाग्दैछ,’ कृष्ण भन्छन्, ‘हामीलाई यसअघि यस्तो विषयमा केही पनि थाहा थिएन।’

लकडाउनपछि बहिनी प्रमिला बाबु, आमासँग सर्लाहीमै रहेका कारण उत्तमको पछिल्ला गतिविधिको विषयमा परिवार बेखबर रहेको बहिनी शर्मिला बताउँछिन्। -सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *