कोरोनाका २५ हजार सक्रिय संक्रमितको ‘माइलस्टोन’: दशै‌ंको मुखमा सरकारको नयाँ रणनीति !

ईश्वर अर्याल/लोकान्तर

काठमाडाैंअसोज २२, यही असोज ७ गते नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन हुने बताएका थिए ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकको निष्कर्ष भन्दै डा. गौतमले लकडाउनको विषय उठाएपछि पुनः घरभित्रै थुनिनुपर्ने भन्दै जनता त्रस्त बने ।

त्यसदिन देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ थियो ।

१५ दिनको अन्तरालमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेर २५ हजार ७ पुग्यो । यो बुधवारको तथ्यांक हो । अहिले पनि धेरैको प्रश्न छ, के अब लकडाउन हुन्छ त ?

स्वास्थ्य मन्त्रालय स्रोतले लकडाउनकै स्वरूपमा नभएर फरक ढंगले एक्सन लिने गरी सरकार अघि बढिरहेको जनाएको छ ।

एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘संक्रमितको संख्या बढिरहेको छ, अस्पतालमा बेडको अभाव देखिएको छ । यत्तिकै बस्न त मिल्दैन । केही न केही गर्नै पर्छ ।’

उनले निश्चित ठाउँहरू ब्लक गर्ने गरी काम अघि बढिरहेको बताए ।

‘हामीले प्रस्ताव बनाएर सीसीएमसीमा लैजाने हो, त्यहाँबाट भएको निर्णय सरकारले कार्यान्वयन गर्छ । निश्चित ठाउँहरू ब्लक गर्ने विषयमा छलफल चलिरहेको छ ।’

कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले गत सालको चैत ११ गतेबाट देशव्यापी लक-डाउन घोषणा गरेको थियो । लक-डाउन साउन ७ गतेसम्म रह्यो । त्यसपछि पुनः लक-डाउन नगर्ने भनिएको थियो तर त्यसपछि काठमाडौं उपत्यका लगायत धेरै ठाउँहरूमा निषेधाज्ञा जारी गरियो ।

लगातारको बन्दले आम सर्वसाधारणहरू आजित भए । धेरैको रोजगारी गुम्यो । व्यवसायहरू टाट पल्टिने अवस्थामा पुगे । काठमाडौं उपत्यकामा भदौ २ गतेदेखि शुरू भएको निषेधाज्ञा ३ सातासम्म चल्यो तर कोरोना संक्रमणको दर तल ओर्लिएन ।

असोजदेखि लामो दूरीका यातायात, आन्तरिक उडानहरू सुचारू भए । होटेल रेस्टुरेन्टहरू खुले । जनजीवन सामान्यीकरणतर्फ लम्किरहेको छ । तर आम नागरिकमा पुनः लकडाउन या निषेधाज्ञा हुने डर कायमै छ ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधवार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा काठमाडौं उच्च जोखिममा रहेकाले सरकार लकडाउन या केही गर्ने मानसिकतामा रहेको संकेत दिएका थिए ।

‘संक्रमणको जोखिम उच्च रहेका हटस्पटहरू ब्लक गर्ने सरकारको तयारी छ,’ एक मन्त्रीले लोकान्तरलाई बताए । तर कहिलेबाट भन्ने प्रश्नको जवाफ भने सरकारसँग छैन ।

‘आजै, भोलि या केही दिनपछिबाट लागू हुने गरी सरकारले निर्णय गर्न सक्छ,’ ती मन्त्रीको जवाफ थियो ।

यतिबेला सक्रिय संक्रमितमध्ये लगभग ६० प्रतिशत होम आइसोलेसनमा रहेका छन् । बाँकीमध्ये पनि आधाजसो निजी अस्पतालमा उपचाररत छन् ।

सरकारले जम्मा ७ देखि ८ हजार संक्रमितको जिम्मेवारी लिएको छ ।

बुधवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानु नपर्ने सुझाव दिए । उनले बेहोश हुन लाग्दा या भइसकेपछि मात्र अस्पताल आउन भन्दै दिएको सुझावको यतिबेला सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

सरकार किन यति छिट्टै हात उठाउने परिस्थितिमा पुग्यो ? हामीले यो प्रश्न कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका प्रवक्ता महेन्द्र गुरागाईंलाई सोधेका थियौं ।

‘सबै संक्रमितप्रति सरकारको उत्तिकै जिम्मेवारी छ,’ उनले भने, ‘होम आइसोलेसनमा रहेकालाई पनि नियमित फलोअप गर्ने काम भइरहेको छ । निजी अस्पतालमा उपचार गराएको भएपनि औषधिहरू सरकारले नै उपलब्ध गराउने हो । समग्र तथ्यांकलाई फुटाएर हेर्नु हुँदैन ।’

उनले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन गर्ने/नगर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँगै सोध्नुपर्ने बताए ।

सरकारको तयारी कोरोना संक्रमण बढी देखिएका राजधानीका केही क्षेत्र ‘ब्लक’ गर्ने छ ।

‘कोरोना संक्रमणको दर उच्च भएकोमा सबैलाई चिन्ता छ, हामीलाई पनि चिन्ता छ । के गर्ने नगर्ने भन्ने हामी छलफलमै छौं । संक्रमणको हटस्पटहरूलाई ब्लक गरेर अघि बढ्ने कि भन्ने हाम्रो कुरा हो तर यो छलफलकै क्रममा रहेकाले अहिले केही भन्न मिलेन,’ उनले भने ।

उनले पूर्वाधार थप्नुभन्दा पनि भइरहेकै पूर्वाधारहरूको व्यवस्थापन गर्नतिर सरकार लागिरहेको बताए ।

‘संक्रमितलाई खर्च हुने भनेको खाना र लजिस्टिकमा मात्र हो,’ उनले भने, ‘होटेलहरूले त्यति पैसा दिए हामी राख्छौं भनिरहेका छन् । अहिलेको अवस्थामा पूर्वाधार आवश्यक होइन ।’

उनले सरकारले संक्रमित बढी भएका क्षेत्रहरूमा कन्ट्याक्ट ट्रेसिङ भइरहेको र केही दिनभित्र तथ्यांक विश्लेषण गरेर निर्णय गर्ने बताए ।

पुनः लकडाउन गर्दा जनताको नजरमा सरकारले लकडाउनबाहेक केही गर्न नसक्दो रहेछ भन्ने पर्ने र थप आलोचित हुनुपर्ने विषयमा सरकार सजग देखिन्छ ।

नेताहरूले लकडाउन कुनै हालतमा हुँदैन भनिरहेका छन् तर स्वास्थ्य मन्त्रालयका प्राविधिकहरूले लकडाउन नगरे परिस्थिति थाम्नै नसकिने स्थितिमा पुग्ने चेतावनी दिइरहेका छन् ।

‘नेताहरूले के बोल्नुहुन्छ त्यो अलग कुरा हो, तर संक्रमणको दर भयावह भए जसले जे बोलेपनि के हुन्छ र ?’ गुरागाईंले भने । -लोकान्तरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *