नारायण खड्का/सेतोपाटी
दाङ, असोज २३, ६७ वर्षीय कृष्णप्रसाद शर्मा कुनै दिन बिहान ढिलो उठे भने गाउँले ढोकामा हान्न आइपुग्छन्।
उनको घर तुलसीपुर बजारदेखि ९ किलोमिटर पश्चिम दंगीशरण गाउँपालिका-५ को पोटली गाउँमा पर्छ। उठेर नित्यकर्म सकेपछि टिनले पाली हालेको सानो घरको चुलोमा उनले आगो बाल्छन्, कराही बसाल्छन्। त्यसपछि सुरू हुन्छ पेडा बनाउने काम।
बिहान पाँच बजे त उनको चुल्हो बलिसकेको हुन्छ। गाउँलेहरू आउन पनि सुरू गर्छन्। उनीहरूले आफ्ना गाईभैंसी दुहेपछि सिधै उनको कराहीमा खन्याउन ल्याइपुर्याउँछन्। दूध भकभकी उम्लिरहन्छ। उनी उम्लिएको दूधको रखवाली बसिरहन्छन् बिहानभरि।
‘एक छिन छोड्यो कि दूध उम्लेर आगोमा पोखिन्छ,’ शर्माले भने ‘दूध लगाउँदा निकै ध्यानपूर्वक कराहीको अगाडि बसिरहनु पर्छ । यसलाई चलाइरहनु पर्छ।’ जिन्दगीका आधाभन्दा बढी बिहान उनले यसरी नै सुरू गरे। दूध पाकेपछि पेडा बनाउने र बेच्ने गरेर उनका दिन अन्त्य भए।
उम्लिएको दूध घोट्दै लगेपछि क्रमश: सुक्दै (खिइँदै)जान्छ। तरलबाट दूधले ठोस आकार ग्रहण गर्न थाल्छ। त्यसलाई बोलिचालीको भाषामा कुराउनी भनिन्छ।
कुराउनीलाई उनले हातमा लिएर साना-साना गोलाकार डल्ला बनाउँछन्। यो उनको पेडा बनाउने तरिका हो। उनले हातैले बनाउने पेडाको आकार-प्रकार सबैको समान हुन्छ। थोरै पनि ठूलो सानो हुँदैन।
‘अलिकति बढी घटी हुनासाथ उहाँले थाहा पाइहाल्नु हुन्छ,’ उनका छोरा अर्जुनले भने ‘मेसिनले नापेर बनाएजस्तै हुन्छन्।’ पेडा बनाउन उनले त्यसमा चिनीबाहेक अरू केही पनि मिसाउँदैनन्।
‘२० लिटर दूधमा मैले बढीमा डेढ किलोसम्म चिनी मिसाउँछु,’ शर्माले भने ‘त्योबाहेक अरू कुनै पनि वस्तु मिसाउँदिनँ। मैले तयार पार्ने पेडा शुद्ध दूधबाट मात्रै निर्माण हुन्छ।’
आफूले शुद्ध दूधबाट मात्रै पेडा बनाउने हुँदा त्यसलाई एक डेढ महिना राखे पनि गुणस्तरमा कुनै फरक नपर्ने शर्माले दाबी गरे। उनले बनाउने पेडा सहर बजारमा किन्न पाइने मिठाइजस्तो हेर्दा उति आकर्षक भने देखिँदैन रे। सेतो खैरो रंगको हुन्छ।
‘मैले बनाएको पेडा हेर्दा पो आकर्षक देखिँदैन, तर, खाँदा स्वादिलो छ र स्वास्थ्यको लागि पनि फाइदाजनक छ,’ शर्माले भने ‘म पैसा कमाउनका लागि मानिसको स्वास्थ्यसँग खेलबाड गर्दिनँ। त्यसैले रंगको प्रयोग गरिनँ।’
शर्माका अनुसार उनको परिवारले यसरी पेडा बनाउने थालेको ७० वर्ष पुगिसकेको छ। उनीहरू सल्यानबाट २०२३ सालमा बसाइ सरेर दाङ झरे।
सल्यान छँदै उनका बुवा खोपीरामले पेडा बनाउने गर्थे। दाङ झरेर पनि त्यही काम गरे। दाङमा उनको कामले चर्चा कमायो। पेडा पनि बढी बिक्री हुन थाल्यो। पेडा बनाउन बुवालाई कृष्णप्रसादले पनि साथ दिन्थे। बुवाको शेषपछि पेडा बनाउने काम उनले छोड्न सकेनन्।
‘पोटलीमा यसरी आफैंले पेडा बनाउन थालेको ३१ वर्ष पुगिसकेको छ,’ उनले भने। पारिवारिक पेसा र अनुभवले गर्दामात्रै हैन, समाजले नै कृष्णप्रसादलाई ‘मिठाई बाजे’ को उपमा दिइसकेकाले पनि यो पेसामै उनी रत्तिए।
‘गाउँघरमा कतै घुम्न जाँदा बच्चाबच्ची ऊ मिठाई बाजे आउनुभयो भन्दै कराउँदै पछिपछि लाग्थे,’ शर्माले भने ‘समाजले दिएको परिचयलाई छोड्न मन लागेन।’
पेडा पसल पारिवारिक पेसा बनेर पुस्तान्तरण हुँदैछ किनभने कृष्णप्रसादका छोरा अर्जुनले हात बढाउन थालेका छन्। पहिलेभन्दा अहिले पेडा बनाउन गाह्रो हुने कृष्णप्रसादले बताए।
पहिले-पहिले गाउँघरबाट किसानले ल्याउने दूध शुद्ध र बाक्लो हुन्थ्यो। अचेल त्यस्तो दूध पाउन मुस्किल छ। डेरीमा दूध बेच्न सिकेपछि त किसानले थोरबहुत पानी मिसाइदिन्छन्।
दूध राम्रो भएन भने पेडा थोरै बन्छ। त्यो पकाउन र खियाउन धेरै समय र दाउरा लाग्छ। यद्यपी कृष्णप्रसादले शुद्ध दूधका लागि किसानलाई अरूले भन्दा बढी पैसा तिर्नुपर्छ।
‘मैले पेडा बनाउनकै लागि गाउँमै ७० रुपैयाँ लिटर दूध किन्छु,’ शर्माले भने ‘जबकी गाउँमा ६० रुपैयाँ लिटर दूध पाइन्छ।’
२० लिटर दूधबाट दैनिक कृष्णप्रसादले तीन हजारसम्मको पेडाका स–सना रोटी ‘टिकिया’ तयार हुने बताए। उनले प्रतिपिसको दश रुपैयाँका दरले बिक्री गर्छन्।
‘२० लिटर दूधको झन्डै तीन सय जति पेडाका रोटी बन्छन् र त्यो सबै बिक्री भए मलाई दैनिक हजारदेखि १५ सयसम्म फाइदा हुन्छ,’ शर्माले भने।
शर्माले बनाउने पेडा बिक्री गर्न कतै लैजानु पर्दैन। मानिसहरू खोज्दै घरमा आउँछन्। ‘गाउँमा त कम बिक्छ,’ शर्माले भने ‘सहर बजारतिरका मानिसहरू खोज्दै आएर किन्छन्। त्यसैले बढी सहर बजारतिरै जान्छ।’
दाङमात्रै हैन, आसपासका सल्यान, रोल्पा, रूकुम, प्यूठानसम्म पनि कोसेलीका रूपमा शर्माको मिठाई किनेर लैजाने गर्छन् रे ग्राहक।
ठूला सहरहरू नेपालगञ्ज, बुटवल, काठमाडौं, पोखरा जाने राजमार्गमै उनको घर पर्छ। त्यसैले आउनेजाने मानिसहरूले आफन्तलाई पाहुर (कोसेली) को रूपमा पेडा किनेर लैजाने गर्छन्।
पश्चिम दाङमा कुनै सभा समारोह भएको दिनमा शर्मालाई पेडा पुर्याउन मुस्किल पर्छ । ‘कार्यक्रममा आउँदा-जाँदा मानिसहरू सबै घरमै आएर मिठाई किनेर खान्छन्,’ शर्माले भने ‘त्यस्तो अवस्थामा म मिठाई पुर्याउनै सक्दिनँ।’
उनका ग्राहक नै उनको पसलका विज्ञापन हुन् रे। आफूले अहिलेसम्म कतै पनि कुनै प्रकारको प्रचारप्रसार गर्नु नपरेको उनले बताए। बुवाले सुरू गरेको पेडा बनाउने काम उनले बिस्तार गरे। उनका छोरा अर्जुनले पनि यही काम सम्हाल्दै छन्। उनले नयाँ आइडिया लगाएका छन्।
हालसालै अर्जुनले पसलछेउमा एउटा साइन बोर्ड लगाइदिए। त्यसमा ७० वर्षदेखि चल्दै आएको बाजेको मिठाई पसल लेखिएको छ। साइन बोर्ड हेरेर कृष्णप्रसाद दंग परेका छन्।
उनलाई लागेको छ, एकपटक आफूकहाँ पेडा चाखेकाले त फेरि फेरि खोज्दै पनि आइपुग्थे साइनबोर्ड देखेपछि नयाँ ग्राहक पनि आउलान्!
उनले यो पेशा आफ्नो ज्यानले साथ दिएसम्म चलाउने बताए। घरको सम्पूर्ण खर्च उनले यही पेडा बेचेरै चलाउने गरेका छन्। उनले पेडाका पारखीमात्र कमाएका छैनन् अनुयायी पनि कमाएका छन्।
कृष्णप्रसादको पेडा पसल जमेको देखेपछि दंगीशरणकै बागर भन्ने ठाउँमा रमेशकुमार डाँगीले पनि पेडा बनाएर बेच्न सुरू गरे। चिया पसल पहिलैदेखि थियो।
पोटलीका शर्माको पेडा पसलको चर्चा उनले पनि सानैदेखि सुन्दै आएका थिए। उनी आफैं गएर पनि त्यहाँ पेडा किनेर खान्थे।
आफ्नो चियाको पसल उति साह्रो चलेको थिएन। त्यही बेला पेडा पसल चलाउने विचार उलाई आएको थियो। ‘रोजगारी केही थिएन, जीवन चलाउन एउटा केही त गर्नु नै पर्थ्यो,’ रमेशकुमारले भने ‘पेडा बनाउँदा राम्रो आम्दानी हुन थाल्यो।’
उनले यसरी पेडा बनाउन थालेको पनि ३० वर्षजति पुगिसकेको छ। -सेतोपाटीबाट साभार