मलेशियाबाट नेपाली आमाछोराको उद्धार, नेपाल पठाइयो

सपना बस्याल/देशप्रदेश

असोज २३, मलेशिया । मलेशियाको सुवाङ्गको, ग्लेनमरीमा सार्वजनिक पार्कमा सात महिना देखि अलपत्र बस्दै आएका नेपाली आमा छोरा नेपाल फर्केका छन् । उनीहरु शुक्रवार हिमालयन एयरलाइन्सको उडानबाट नेपाल फर्केका हुन् ।

मलेशियाका स्थानीयहरु, नेपाली समुदाय, ओखलढुङ्गा एकता सेवा समाज र दुतावासको २ महिनाको अथक प्रयास पछि सविना र उनका छोराको सकुशल उद्धार भएको उद्धारकार्यको संयोजन गरिरहेकी शुभद्रा कुमारी लिम्बुले जानकारी दिएकी छन् ।

ओखलढुंगा निवासी ४० वर्षिय सविना र उनका ५ वर्षिय छोराको उद्धार कार्य अति नै चुनौतीपूर्ण भएको लिम्बुको भनाई छ । उद्धार गरी नेपाल पठाउने कार्यमा सविनाले गरेको ईन्कारका कारण समस्या भएकोमा लामो समयसम्मको परामर्शपछि उनी नेपाल फर्किन मानेको लिम्वूले बताइन् ।

सविनाको परिचय खुलेपछि उद्धारका लागि आवश्यक कागजपत्र जुटाउन पनि धेरैले दौडधुप गर्नु परेको थियो । यसैगरी सविनाको उपचार र बस्ने प्रवन्ध मिलाउन पनि धेरै चुनौतिपूर्ण भएको उनको भनाई छ ।

मनकारी केही मलेशियन नागरिकले सेवा र सहयोगको लागि हात बढाएपछि सविनाको उद्धार सफल भएको हो । मलेशियन नागरिकहरुले सविना र उनको छोरासंग मित्रता गरी हेरचाह मात्र नभई आर्थिक सहयोग पनि जुटाएका थिए ।

लिम्बुका अनुसार एक महिना अगाडि सविना बसेको छाप्रोबाट दुतावास र मलेशियन नागरिकको सहयोगमा निकालेर उनलाई मलेशियाको क्वालालुम्पुरस्थित हस्पीटल क्वालालुम्पुरमा उपचार गराईएको थियो । उपचार पश्चात सविनालाई बस्ने व्यवस्था मिलाउन ठुलो संकट भएको थियो । त्यस बखत स्थानीयहरुको पहलमा सेलेडगोर राज्यको क्लाड भन्ने स्थानमा एल्सडाई संस्थाले आफ्नो सेल्टरमा उनीहरुलाई राखि सहयोग गरेको थियो ।

नेपाली आमा छोराको अध्यागमन विभागमा लाग्ने खर्च ओखलढुङ्गा एकता सेवा समाजले जुटाएको थियो भने अन्य खर्च स्थानीय मलेशियनहरु र मनकारी नेपालीहरुले दिएका थिए ।

नेपालमा रहेका आफन्तहरुले सविनाको आमाछोरालाई हेरचारको जिम्मा लिन असमर्थ भएको कारण सविना हाल नेपाली प्रवासी एकता सञ्जाल नामको वैदेशिक रोजगारमा जाने, फर्कने र उनीहरुको परिवारहरुको हितमा काम गर्ने संस्थाको ट्रान्जिट होममा सुरक्षित रहको जनाइएको छ ।

सविनालाई थप उपचार र पुनस्थापनामा सक्दो सहयोग गर्ने प्रतिवद्धता नेपाली प्रवासी एकता सञ्जालका अध्यक्ष जनकराज शर्माले दिएका छन् ।

साउदीले दियो गैर कानूनी रुपमा बसेका १ हजार ९४ नेपालीलाई एक्जिट भिषा

साउदी अरेवियाको सरकारले गैरकानुनी रुपमा बसेका १ हजार ९४ जना नेपालीलाई एक्जिट भिषा (बहिर्गमन भिषा) दिएको छ । साउदी स्थित नेपाली दूतावासका अनुसार दूतावासको अनुरोधमा साउदी अरेवियाले हालको एक्जिट भिषा दिने प्रकृया सुरु भएपछि हालसम्म १ हजार ९४ जनालाई एक्जिट भिषा दिएको हो ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिष दिएको हो । अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुको स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिषाका लागि साउदी सरकारलाई गरेको अनुरोध अनुसार नै साउदी सरकारले बहिर्गमन भिषा दिएको दूतावासले जनाएको छ ।

यस्तो भिषाका लागि दूतावासमा झुट्टो विवरण दिएर बहिर्गमन भिषाका लागि निवेदन दिएमा र दूतावासको सिफारिस अनुसार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ । बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ । दूतावासले यसअगाडी नै १ हजार ५८ जनाको सूचि प्रकाशित गरिसकेको भन्दै थप ३६ जनाको एक्जिट भिषा प्राप्त भएको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *