बाबालाई खुलापत्र

प्रिती शर्मा/सेतोपाटी

धेरै माया अनि सम्झना।

विश्व नै कोरोना महामारीले आक्रान्त हुँदा प्रकिृति र परिस्थिति माथि मानव जगतको औकात नगन्य रहेछ भनी भोग्दैछु। यो असान्दर्भिक पल र यसले निम्त्याएको कठिनाई र तनाब जगजाहेर छ।

त्यति मात्र होइन, यी दिनहरूमा बलात्कार, हिंसा, हत्या र आत्महत्याका डर लाग्दा तथ्यांकले आङै सिरिंग बनाउँछ अचेल। विभिन्न माध्यमहरूका सूचना हेर्ने हो भने लकडाउन सुरू हुनुअघि भन्दा लकडाउन अवधिमा झन्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको देखिएको छ।

चैतदेखि साउनसम्म लकडाउनताका सात सय १७ बलात्कार र झन्डै दुई सय बलात्कार प्रयासका घटना भएका छन्।

सजिलो गरी भन्नुपर्दा दैनिक औसत सात जना बलात्कृत भइरहेको अवस्था छ। लकडाउन तथा ठाउँठाउँका निषेधाज्ञाले महिलामाथि भइरहेका विभिन्न बावास्तविक हिंसाका घटना अझै बाहिर आउन नसकेको कुरा थाहै छ।

यो तथ्यांकले मलाई घोरिन बाध्य बनायो। सात सय १७ बलात्कार र झन्डै दुई सय बलात्कार प्रयासका घटना अर्थात, लगभग नौ सय पीडित र नौ सयभन्दा बढी पीडक, कति भयंकर!

अझ भनौं, यी त बाहिर आएका प्रतिनिधि घटना मात्र हुन्। बाहिर नआएका वा आए पनि बझाङमा जस्तो मिलापत्र गरी छोडिएका कति राजेन्द्रहरूले अझै कति सम्झना, निर्मलालाई हवस र कुण्ठाको शिकार बनाई मृत्युसम्म पुर्‍याए होलान्।

कोरोना महामारीले उदांग पारेको महिलामाथि भइरहेको हिंसा र छाया महामारीलाई राज्यले गर्ने ‘प्रोत्साहन’ को नमूना त बेलाबेलामा सामाजिक सञ्जालमा आइरहने ‘विज्ञ’ हरूको टिप्पणी र तुक्का नै काफी छ।

बलात्कार जस्तो घृणित र अमानवीय कुरालाई पनि सामान्यीकरण गरेको देखिन्छ। यस्तो घटना कसैको घरमा पनि नहोस्। कोही पीडित नहोस् कोही पीडक नहोस्।

यस्तै कुराको विश्लेषण गर्दै हजुरलाई पत्र लेख्ने निष्कर्षमा पुगेकी हुँ बाबा।

अँ, साँची हजुर क्वारेन्टिनमा बसेको पनि पाँच दिन भइसकेछ है? सुरूमा हजुरको खबर सुनेर आत्तिएँ, नरमाइलो लाग्यो। सोचेँ, बाबा कसैलाई नछोइ, छुट्टै थाल भाँडामा खाई अलग्गै कसरी बस्नु हुँदो होला भनेर।

गाह्रो हुन्छ नि है बाबा, घरभरि आफन्त भएर पनि अलग्गै बस्न, सबैले छिछि, दुरदुर गर्दा आत्मबल नै कमजोर हुन्छ नि है?

बाबा, १३ वर्षको उमेरमा पहिलोपल्ट हजुरको काख छोडेर गुफाजस्तो अँध्यारो कोठामा महिनावारी बार्दा मलाई दौडेर हजुरको काखमा आउँ जस्तो लागेको थियो। के गल्ती गरेछु र सधैं देवी भनेर पुजिने हजुरको छोरी एक झट्का मै अछुत भएँ भनेर सधैं पोलिरहन्थ्यो।

पहिलो पल्ट महिनावारी हुँदाका पीडाभन्दा धेरै पीडा त्यो अछुतोपनले दिलाउँथ्यो। घामपानी, घरपरिवार केही भन्न नपाई अँध्यारोमा बस्दा जिन्दगी नै अँध्यारो भयो भनेर आत्मबल कमजोर भइरह्यो।

सुदूरमा त छाउ छ रे भनेको पनि तपाईंबाट सुनेकी १३ वर्षीया ममा सधैं घरभित्रको छाउ अनि छाउभित्रको घाउ हजुरले किन नबुझको? आफ्नै घरभित्रको छाउ किन नभत्काएको भनेर अन्तर्द्वन्द्व चलिरहन्थ्यो।

फेरि हजुरलाई छोरीले मलाई मात्र दोषी देखी भने जस्तो लाग्छ होला। अरूको भन्दा तपाईंको कुरा सबैले सुन्थे, अकाट्य हुन्थ्यो। त्यसैले तपाईंबाट ठूलो आश थियो। पितृसत्ता र त्यसको जालोले हामी सबैजना कुनै गल्तीबिना कसरी संस्कारका नाममा जेलिएका छौं भन्ने आजभोलि बुझ्दैछु बाबा।

आफैंलाई नियालेर आफैंसँग जम्काभेट हुँदा धेरै प्रश्न र जिज्ञासा अनुत्तरित छन्। छोरा र छोरी दुवै बराबरी भनेर मलाई र भाइलाई बराबरीको माया बाँड्दै जाँदा मैले मेरो शारीरिक र भावनात्मक परिवर्तन हुँदा थोरै भए पनि तपाईंको र आमाको साथ नपाएको होइन।

म ‘अछुतै’ भए पनि आमा त हुनुहुन्थ्यो मसँग। छाती बढ्दै जाँदा ठाडो भएर नहिँड्, छाती ढाकेर हिँड्, धेरै उत्ताउली नबन्, अब ठूली भइस्, बाबा र भाइसँग नचल भनेर बारम्बार झक्झकाइ रहन उहाँ सधैं साथ हुनुहुन्थ्यो।

तर जहाँसम्म मलाई याद छ, आमा वा तपाईंले भाइलाई उसको शारीरिक र उमेर अनुसारको परिवर्तनको बारेमा केही सिकाएको वा त्योसम्बन्धी केही उच्चारण गर्नुभएन बाबा।

मलाईजस्तै भाइलाई पनि त उसलाई के भइरहेको छ भन्ने जान्नु जरुरी थियो। अहिले थाहा पाउँछु, मैले पाएको जानकारी पनि पूर्ण थिएन। तर आफूले जानेजतिको कुरा सिकाउन आमा हुनुहुन्थ्यो अनि अप्ठ्यारो पर्दाको साथ थियो।

मेरोजस्तै भाइको पनि त शारीरिक परिवर्तन भयो। उसका पनि त भावनात्मक आवश्यकताहरू थिए। तर उसको उमेर अनुसारको आवश्यकतामा न तपाईं साथ हुनुभयो, न आमा।

तपाईं त सरक्कै यस विषयमा केही बोल्नु हुँदैन, बोले संस्कार बिग्रन्छ भनी सबै जिम्मेवारी आमाको थाप्लोमा हालेर मौन रहनुभयो बाबा।

आफैंले जन्माएको छोरासँग साथी भएर बोल्दा छोरो बिग्रन्छ, छाडा हुन्छ भनेर वाक्यैपिच्छे उसलाई मर्द हुनुको ‘प्रोटोकल’ सिकाउँदै गर्दा तपाईंले उभित्रको मानवतालाई कतै मार्दै त हुनुहुन्न? एकपल्ट सोच्नु त बाबा।

तपाईं र समाजले लादेको पुरुष हुनुको संकीर्ण मापदण्डले उसले रुन बिर्सेको छ। जुन चन्चलता र हाँसोको खित्काले घर घन्किन्थ्यो, तपाईंले व्याख्या गरेको मापदण्डले ऊ गम्भीर हुन थालेको छ। केवल तपाईंको डरले ऊ रंगहरूमा भेदभाव गर्न थालेको छ।

फलस्वरुप मैले भाइलाई आफ्नै घरको कुनामा, आफन्तको भिडमा पनि लाचार र अन्जान र कठोर बन्दै गरेको देखेकी छु। उसको कौतुहलता मेटाउन, भावना साट्न, ऊसँग न आमा हुनुहुन्छ, न तपाईं।

हुन त तपाईंलाई भाइको यो बदलिँदो व्यवहारमा पुरुषार्थ झल्किन्छ होला। गर्वले छाती फुल्छ होला। तर मलाई डर छ- पुरुषार्थको नाममा उसको चन्चलता नमरोस्। ऊ जीवित मूर्ति नहोस् र नरहोस् उसमा कुनै कुण्ठा।

एकपल्ट आफ्नो किशोरावस्था नियाल्नुस् न बाबा। एकपल्ट पिताको स्थानबाट झरेर एक किशोरको अवस्था स्मरण गर्नुस्।

पक्कै भाइले भोगेभन्दा बढी पीडा भोग्नुभयो तपाईंले। शारीरिक परिवर्तनसँगै पहिलो पल्ट स्खलन हुँदा पक्कै झस्किनुभयो होला। डराउनुभयो होला। पक्कै पनि ‘के भयो, कसलाई भनौं’ भन्ने अन्यौलमा एक विश्वासिलो साथ चाहिएको थियो होला।

भाइ अहिले त्यही अवस्थामा छ। एक विश्वासिलो साथको जरुरत छ उसलाई पनि। अनुशासनको नाममा तपाईं र भाइको सामाजिक मात्र नभई भावनात्मक दुरी कायम हुन लागिसकेको छ। मलाई यो दुरीसँग डर छ बाबा।

यो असामान्य समय, अनिश्चितता र किशोरावस्थाको कौतुहलता मेटाउन ऊ प्रविधिसँग नजिक छ। तपाईंले र हामी कसैले सिकाउन नसकेको पाठ उसले जसरी पनि सिक्छ। तर मलाई डर छ यो भर्चुअल पाठ हामीबीच सदाको लागि ‘सोसल डिस्ट्यान्सिङ’ नबनोस्। बस् उसले सिकेको पाठले उसलाई अपराधी नबनाओस्।

केटी साथीले प्रेम प्रस्ताव नस्वीकार्दा एसिड प्रहार गर्नेदेखि ९ महिनाकी बच्ची र ७० वर्षीया हजुरआमालाई बलात्कार गर्ने लगायत दैनिक औसत सात जना बलात्कृत भइरहेको अवस्था र मानसिकतालाई तपाईंले कसरी बुझ्नुहुन्छ, थाहा भएन बाबा।

तर मलाई चाहिँ यो बालापनदेखि थुप्रिएको कुण्ठा र किशोरावस्थामा गलत तरिकाले पाएको सूचना र संकीर्ण सोचको नतिजा हो जस्तो लाग्छ।

हामीले कतै छोराहरूलाई यस्ता घटना बढाउन प्रोत्साहन गरिरहेका त छैनौं?

‘हरे, कस्ता संस्कार दिएका तिनका बाउआमाले’ भनेर अरूको कोख धुत्कारेर पानीमाथिको ओभानो हुनु भन्दा वा ‘जे हुनु भैगयो, अब मिलापत्र गरौं’ भनेर खुट्टामा केही पैसा राखेर ढोग्न लाउनुभन्दा वा ‘मरो यस्तो सन्तान हुनुभन्दा नभएकै बेस्’ भन्ने परिस्थिति आउनुभन्दा पहिल्यै संस्कारको नाममा आफूले गर्ने व्यवहार एकपल्ट नियाल्न अनुरोध गर्छु बाबा।

संसारका कुनै पनि बाबाआमाले आफ्ना सन्तानलाई एसिड प्रहारकर्ता, लागुपदार्थ प्रयोगकर्ता, बलात्कारी र हत्यारा योजनावद्ध ढंगले बनाएका हुँदैनन्।

त्यसैले अन्त्यमा, तपाईं लगायत संसारका सबै बाबाहरूलाई भन्न चाहन्छु- अभिभावकत्व कहिल्यै पूर्ण हुँदैन। जति प्रयास गरे पनि कहीँ न कहीँ, कतै न कतै, केही न केही छुटेकै हुन्छ। आखिर अभिभावकत्व विश्वविद्यालयमा पाउने प्रमाणपत्र वा उपाधि पनि त होइन।

छोराछोरीको गुणस्तरीय शिक्षा, भौतिक र प्राविधिक आवश्यक्ता पूरा गरेर स्मार्ट अभिभावक बन्ने होडबाजीमा कतै छोराछोरीको भावनात्मक, संवेगात्मक आवश्यकता छुटेका त छैनन्, एकपल्ट पुनः नियाल्नुस्।

शरीरलाई त मन-मस्तिष्कले डोर्‍याउने हो। मस्तिष्क नै संकीर्ण भयो भने, मन र आत्मबल नै कमजोर भयो भने, शरीर कसरी स्वस्थ र स्फूर्त हुन्छ? सम्बन्ध कसरी सुमधुर हुन्छ? संस्कार कसरी पवित्र हुन्छ? समाज कसरी सुदृढ हुन्छ? एक पल्ट सोच्नुस् त बाबा…

भन्नुपर्ने त अझै छ, बाँकी कुरा भेटमा…

हजुरकी छोरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *