कुखुराको मासु पछिल्लो तीन वर्षयताकै सस्तो, कति छ मूल्य ? हेर्नुस

२५ असोज, काठमाडौं । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् ।

एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत बढेन,’ संघका प्रथम उपध्यक्ष श्रय ढकालले भने ।

यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको ढकालले बताए । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए ।

खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम् मासु व्यवसायी सक्षम घिमिरे बताउँछन् ।

चाडपर्वलाई लक्षित गरेर किसानले मासुको उत्पादन बढाएको तर बजारको खपत ५० प्रतिशतभन्दा बढीले घट्दा मासुको बिक्रीमा मन्दी आएको उनले बताए ।

‘मासु धेरै खपत हुने होटल, रेष्टुरेन्ट, पार्टी पयालेस, होटल जस्ता कोभिड-१९ले बन्द हुँदा मासुको खपत निरासाजनक भयो,’ घिमिरेले भने ।

लकडाउन अवधिमा मासुको व्यापार राम्रै भएपनि दोस्रो पटकको निषेधाज्ञाले व्यापार चौपट भएको उनको दाबी छ । मासु खपतका लागि सरकारी योजना नभएको र महामारीकै बेला आइपरेको संकटले व्यवसायी पनि अन्योलमा परेको घिमिरेले बताए ।

सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।

किन सस्तियो कुखुराको मासु ? हेर्नुस

उत्पादन धेरै र खपत कम हुन थालेपछि कुखुराको मासुको पुनः ओह्रालो लागेको छ। मूल्य प्रतिकेजी ३५ रुपैयाँले घटेको हो।

दसैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः घट्न थालेको हो। पोल्ट्री संघले बजारमा लागू हुनेगरी कुखुराको मासुमा किलोको ३५ रुपैयाँ कम गरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। बजार बिग्रिने अवस्थामा मूल्यमा सन्तुलन मिलाउने प्रयास संघले गर्ने गरेको छ।

हाल बजारमा जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ र मासु उपभोक्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ। मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापारीहरुले किलोको २ सय रुपैयाँमै मासु बेच्न थालेका छन्। गत साता जिउँदो कुखुरा प्रतिकेजी एक सय ६० रुपैयाँ र मासु प्रतिकेजी दुई सय ५५ रुपैयाँसम्म पुगेको थियो।

यतिबेला कुखुरापालक किसान र ब्यवसायीहरुले उत्पादन गरेका कुखुरा बजारमा आउन थालेपछि जिउँदो कुखुरा र मासुको मूल्य घट्न थालेको जानकारी दिए ।

‘खपत कम हुँदै गएको छ। होटलहरु राम्रोसँग खुल्न नसक्दा मासुको खपत बढ्न सकेको छैन। यस्तै भइरहे भाउ अझै घट्छ,’ अध्यक्ष बीसीले भने।

गत भदौमा कुखुरा उत्पादन बढी हुन थालेपछि मूल्य घटेर बजारमा प्रतिकेजी एक सय ९० रुपैयाँका दरले उपभोक्ताले किनेका थिए। त्यसपछि पुनः भाउ बढ्न थालेको थियो। मागभन्दा उत्पादन कम हुन थाल्दा दुई साताअघि बजारमा भाउ प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो।

साउन महिना कुखुरा उत्पादन कम हुँदा जिउँदो कुखुरा र मासुको मूल्य आकासिएको थियो। प्रतिकेजी २ सय ६० रुपैयाँ जिउँदो कुखुरा र प्रतिकेजी ३ सय ९० रुपैयाँ सम्म कुखुराको मासुको मूल्य पुगेको थियो।

खोरमा हालेका चल्ला बिक्रीका लागि तयार भएर बजारमा कुखुरा आउन ४५ देखि ४८ दिन लाग्छ। अवधि पुगेर तयार भइसकेका कुखुरा धेरै दिनसम्म खोरमै राख्न मिल्दैन। बजारमा मासुको खपत कम हुनेबितिकै मासुको मूल्य घट्ने गरेको छ। मूल्य घट्न थालेपछि लागत मूल्य पनि नउठ्ने भन्दै सस्तोमा बेच्न नचाहनेहरूले खोरमा चल्ला हाल्न घटाउँछन्। त्यसको असर कुखुरा तयार भएर आइपुग्नुपर्ने मितिमा पर्छ। केही समयमा बजारमा कुखुराको अभाव हुँदा मूल्य पुन: बढ्ने गर्छ ।

मूल्य बढ्न थालेपछि बजार भाउ राम्रो पाउने आशमा उत्पादन गर्ने किसान र व्यवसायीलाई फेरि पनि पुरानै समस्या दोहोरिन थालेको छ। कुखुराको मासुको मूल्य घट्दा उपभोक्ताले सस्तो मूल्यमा पाउने भएपनि यसको प्रत्यक्ष मार किसानलाई परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *