इरानमा कोरोनाबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको मृत्यु

असोज २५, काठमाडौँ । इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको बताए ।

आइतबार अधिकारीहरूले दिएको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या तीन हजार ८२२ रहेको र अहिलेसम्म कूल पाँच लाख ७५ जना सङ्क्रमित भएको उल्लेख छ । इरानमा अहिलेसम्म निको हुने व्यक्तिको सङ्ख्या ४ लाख ६ हजारभन्दा बढी रहेको र ४ हजार ४८२ जना सघन उपचार कक्षमा भर्ना भई चिकित्सकबाट उपचार सेवा लिइरहेको बताइएको छ ।

हाल इरानका ३१ प्रान्तमध्ये २६ प्रान्तमा कोभिड–१९ सङ्क्रमणले महामारीको रूप लिएको उल्लेख प्रवक्ता लारीले गरे । इरानमा पहिलो कोभिड–१९ विरामी गत फेब्रुअरी १९ मा पुष्टि भएको थियो । इरान र चीनबीच सङ्क्रमण नियन्त्रणका लागि आपसी सहयोग आदानप्रदान हुँदै आएको छ ।

अमेरिकामा कति पुगे कोरोना संक्रमित ? पछिपछि भारत

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ७९ लाख ६३ हजारको हाराहारीमा रहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा मृतकको संख्या २ लाख १९ हजार नाघ्दा निको हुनेको संख्या पनि ५० लाख ९३ हजार बढी रहेका छन् । हाल अमेरिकामा सक्रिय संक्रमित साढे २६ लाखको हाराहारीमा रहँदा १४ हजार बढी गम्भीर अवस्थामा रहेको बताइएको छ ।

संक्रमितको हिसावले अमेरिकाको पछिपछि भारत रहेको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ७३ हजार बढी रहेको छ भने मृतकको संख्या १ लाख ८ हजार नाघेको छ । अहिले पनि भारतमा ८ लाख ६७ हजार बढी सक्रिय संक्रमित रहेको बताइएको छ।

विश्वको तथ्यांक हेर्ने हो भने आइतबार रातिसम्म संक्रमितको संख्या ३ करोड ७६ लाख नाघिसकेको छ ।

विश्वभर कोरोना निको हुनेको संख्या २ करोड ८२ लाख नाघ्यो

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ७६ लाख ११ हजार नाघेको छ।

आइतबार रातिसम्म संक्रमित सो संख्यामा पुग्दा मृतकको संख्या १० लाख ७९ हजार नाघेको हो । यस्तै हालसम्म संक्रमितमध्ये २ करोड ८२ लाख निको भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

अहिले पनि विश्वभर ८३ लाख बढी सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ७८ हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *