विजेशले दुवईको ‘रिटर्न’ टिकट च्यातेपछि….

सन्तोष न्यौपाने/नेपालखबर
काठमाडौं, असोज २७ अठोट र संघर्षको प्रतिफल आज उनले नेपाली ब्रान्ड स्थापित गरेका छन्– विशेष क्रिएसन। नेपालको फेसनको दुनियामा विशेष क्रिएसन परिचित हुँदै छ।
दुई वर्ष दुवई बसेर फर्किँदै गर्दा विजेश जोशीको हातमा रिटर्न टिकट थमाउँदै साहुले भनेका थिए, ‘रिटर्न टिकट पनि छ, फर्किनु है!’

विजेशजस्ता सस्तो कामदार खाडी मुलुकका ‘साहु’ले निकै मन पराउँछन्। त्यो कुरा उनलाई थाहा थियो। तै पनि उनले हाँसेर भनिदिए, ‘हुन्छ, म फर्किन्छु।’

विजेशलाई भने कतिखेर काठमाडौं पुगौँ भइरहेको थियो।

काठमाडौैं ओर्लिँदा आफ्नै सहरको चिसोले उनको अनुहारलाई शीतल बनायो। एयरपोर्टबाट बाहिर निस्केपछि खल्तीमा रहेका टिकट निकाले र चार टुक्रा हुने गरी च्यातिदिए।

दुई वर्षे विदेश बसाइबाट वाक्क भइसकेको कारण एयरपोर्टमै ‘रिटर्न’ टिकट च्यात्दै विजेशले प्रण गरे, ‘नेपालमै केही गर्छु।’

अठोटपछिको १५ वर्ष काठमाडौंमा उनले ठूलो संघर्ष गरे– आफ्नै ‘क्रिएटिभिटी’लाई स्थापित गराउन।

अठोट र संघर्षको प्रतिफल आज उनले नेपाली ब्रान्ड स्थापित गरेका छन्– विशेष क्रिएसन। नेपालको फेसनको दुनियामा विशेष क्रिएसन परिचित हुँदै छ।

काठमाडौं समयअनुसार बदलिँदै छ। फेसनदेखि खानपिन र व्यवसाय शैलीहरु आधुनिक हुँदै छन। त्यही आधुनिकतालाई विजेश नेपालीपनसँग जोड्दै छन्।

अर्थात् ‘फेसनेबल डिजाइन’मा नेपाली कुर्ता, सुरुवाल, सल बनाइरहेका छन् उनी। यिनी उत्पादनमा विशेष क्रिएसन एक नेपाली ब्रान्ड बनेको छ। महिलाहरुकोे रोजाइमा पर्न थालेको छ।

उत्पादनहरु थपिरहेका उनी केही समयमै महिलाकै लागि ब्यागहरुको उत्पादन तयारी गरिरहेका छन्।

यसको लागि रिसर्च गरिरहेको र मेसिनरी आवश्यक सामान जम्मा पार्दै छन्। दशैँअघि नै ब्यागको उत्पादन सुरु गर्ने लक्ष्य उनको छ।

नयाँ उत्पादनको रुपमा लेडिज ब्याग, झोला, ब्यागप्याक बनाउँदै छन्। आफ्नै कन्सेप्टमा नेपालीकरण गरेर फेसनेबल ब्याग बनाउँदै छन्। नेपाली खद्दर, नेपाली सुती कपडा प्रयोग गरिरहेका छन् उनी। त्यसको लागि केही नमूना तयार भइसकेको छ।

झोलाको मार्केट छ। अनलाइनबाट यस्तो सामान धेरै बिक्री हुन्छ। मध्यम र न्यून वर्गीयले पनि किन्नसक्ने गरी फेसनेबल ब्याग बनाउने सोचमा छन् विजेश।

‘नेपालीपनको फेसनेबल ब्याग बनाउन रिसर्च गरिरहेको छु’, नेपालखबरसँग कुरा गर्दै पाटनका ४१ वर्षीय विजेशले भने, ‘यो काम सुरु भएपछि धेरै महिलालाई काम दिन सक्छु होला।’

अहिले पनि उनले दुई दर्जन महिलाहरुलाई काम दिएका छन्। विशेष क्रिएसनका ब्रान्डका उत्पादन महिलाहरुकै हातबाट तयार गरिएका हुन्।

‘यी वस्तु उत्पादन गर्ने सबै काम महिलाहरुले नै गर्नुहुन्छ’, विजेशले भने, ‘हामी पुरुष तीन जना मात्र छौँ।’

कारखानामा पूर्णकालीन काम गर्ने महिलाहरु १० जना छन् भने घरमै बसेर काम गर्नेहरु ६ जना छन्। त्यस्तै, पार्टटाइमको रुपमा काम गर्ने ६ जना रहेको विजेशले बताए।

कपडाको डिजाइन, सिलाइ, फिनिसिङ, बुट्टा भर्ने, पोते भर्ने, लेबल टाँस्ने, डिजाइन गर्ने, पसलमा पु¥याउने, स्टक म्यानेजमेन्टसम्मको काम महिलाहरुले नै गर्छन्। सकेसम्म नेपाली कपडा प्रयोग गर्छन्। भारत, चीनको कपडा पनि प्रयोग गर्छन्।

यस ब्रान्डलाई महिला उद्यमीबाटै सञ्चालित भन्न रुचाउँछन् उनी। त्यही भएर त उनले यस विशेष क्रिएसनलाई आमाको नाममा दर्ता गरेका छन्।

‘आमाले सानैदेखि पसल गर्नुभयो। उहाँलाई पनि सम्मान हुन्छ’, विजेशले भने, ‘महिला उद्यमीको रुपमा पनि उहाँको नाममा राखेको हुँ।’

६६ वर्षे आमा निर्मला जोशीको हौसलालाई पछ्याउँदै व्यवसाय सुरु गरेर विजेश जोशीले भने, ‘जसले नेपाली ब्रान्डको नाम बनाउँदै छ।’

अहिले हरेक अनलाइन सपिङका वेबसाइट ‘विशेष क्रिएसन’ नामको ब्रान्डले विशेष स्थान पाउँछ।

सस्तोडिल, ग्यापु, दरबारमार्ट, दराजजस्ता अनलाइनबाट आफ्ना सामान बेचिरहेका छन्। केही अनलाइनले ‘विशेष फेसन’ भनेर नै उनका विशेष ब्रान्ड राखेका छन्।

‘पसलभन्दा अनलाइनबाट बिक्री धेरै छ’, विजेशले भने, ‘६५ प्रतिशत बिक्री अनलाइनबाट भइरहेको छ।’

दुवईको पाठ र आमाको हौसला

पाटनमा पुरानो शैलीको घर थियो। परिवार सदस्य भने धेरै। खर्च धेरै थियो।

बुबा विद्युत् प्राधिकरणको जागिर थिए। तै पनि ४ बच्चासहितको परिवार धानिन तलबले हम्मे हुन्थ्यो। दिदीभाइले चलाएको पुरानो बानेश्वरको फेन्सी पसल ठीकै चलेको थियो।

अलिकति आम्दानी थपियोस् भनेर बुबाले पहिलेदेखि बानेश्वरमा किराना पसल राखिदिनुभएको थियो। त्यो पसलमा आमा र दिदीहरु बस्थे। जुन पसलपछि फेन्सीमा परिवर्तन भयो।

विजेश नेपाल कमर्स क्याम्पस बीबीएस तेस्रो वर्षमा पढ्दै गर्दा साथीहरुले विदेश जाने कुरा गर्न थाले। ‘छोरा भएपछि एकपटक विदेश जानैपर्छ’, एक साथीले भनिरहन्थ्यो, ‘विदेश गएपछि केही वर्षमा धेरै कमाइन्छ।’

‘पसलको कमाइ थोरै थियो। विदेश गएपछि चाँडो होला भन्ने लाग्यो,’ विजेश भन्छन्, ‘दिदीले पसल हेर्ने भएपछि मैले पनि जाने निर्णय गरेँ।’

सन् २००२ मा उनी दुवई हानिए। उनलाई पछि थाहा भयो त्यसरी फकाउने साथी त एजेन्ट नै रहेछ। जसले आफ्ना भान्जालाई पठाउन लागेको बेलामा विजेशलाई पनि फकायो।

दुवई जाँदा ७० हजार खर्च भयो। क्लिनरको भिसा थियो तर सपिङ मलमा सेक्युरिटी काम गर्ने भन्ने मौखिक कुरा थियो। उनको हिन्दी र अंग्रेजी राम्रो भएकाले उनलाई ‘इन्फरमेसन डेक्स’मा राखियो।

प्रमोसन केही नहुने, पैसा कमाइ पनि नहुने। ८ घण्टा काम गर्दा ५ सय दिराम थियो। १२ घण्टा खटिँदा २० हजार कमाइ हुन्थ्यो।

गएको खर्च पनि नउठाउँदै दुई÷तीन महिनामा फर्किन पनि भएन। जसोतसो २ वर्ष बिताए।

विजेश फर्केपछि उनको दिदीको बिहे भयो। पसल एक्लै चलाउन थाले। बानेश्वरमा फेन्सी स्टोर थियो। होलसेल, मारबाडी र भारतको सीमाबाट सामान ल्याएर बेच्थे।

बानेश्वरमा जोशी कलेक्सन थियो भने यता पाटन घरमा सिलाइको काम हुन्थ्यो। टेलरिङमा सधैँ काम नहुने। मान्छेको नाप लिएर अर्डरको मात्र काम हुने त्यो पनि सिजनमा मात्र ।

उनलाई व्यवसायको शैली परिवर्तन गर्न मन लाग्यो। जुन वर्षैभर काम गरिरहन सकियोस्। ‘मैले आफैँ डिजाइन गरेर तयारी पोशाक बनाएर बेच्नथालेँ’, विजेश सम्झन्छिन्, ‘यसो गर्दा अर्डर पनि पर्खन नपर्ने।’

उनले पाटन ढोकामा रहेको एआर सिलाइ फेसन इन्स्टिच्युटमा ६ महिना डिजाइन तालिम लिए।

काम राम्रो हुँदै गएपछि भारतीय कालिगढ राखेर तयारी पोशाक उत्पादन गर्न थाले। उनका डिजाइन ग्राहकका रोजाइमा पर्न थाले।

नयाँ कामलाई अलि फरक र धेरैले चिन्ने बनाउने प्रयासमा लागे।

आफैँले कपडा सिलाएर बिक्री गर्ने भएपछि त्यो अलि विशेष नै हुनुपर्छ भन्ने उनलाई लागेको थियो। त्यसको लागि नयाँ ब्रान्ड बनाउनतिर लागे।

‘नाम पो के राख्ने?’ उनले सोच्दै थिए, ‘नयाँ काम विशेष हुनुपर्छ।’ अर्कोतिर उनको छोराको नाम विशेष थियो। नयाँ काम सुरु गर्दा विशेषको जन्म भर्खर भएको थियो।

त्यही भएर उनले आफ्नो ब्रान्डको नाम विशेष क्रिएसन राखे। २०७१ मा दर्ता गरे। यसबाट उत्पादित सामान बजारभन्दा सस्तो, राम्रो, नेपाली डिजाइन, र केही विशेष नै हुनुपर्छ भनेर ।

विशेष क्रिएसन ब्रान्ड यहाँसम्म आइपुग्न उनकी आमाको हौसलाको पनि ठूलो हात छ। हाल ६६ वर्ष पुग्नुभएको आमाको सम्मानको लागि पनि आमाको नाममा कम्पनी स्थापना गरे।

त्यही बेला मुलुकमा शक्तिशाली भूकम्प गयो। २०७२ को त्यही भूकम्पले उनको काममा परिवर्तन ल्यायो।

उनीसँग काम गर्ने भारतीय कालिगढहरु आफ्ना घरतिर लागे। ‘उनीहरुको कामबाट मलाई चित्त बुझेको पनि थिएन’, विजेश भन्छन्, ‘नबोलाएपछि फर्किएर पनि आएनन्।’

स्थानीय दिदी बहिनीलाई नै सिकाएर काम दिन पाए राम्रो हुन्थ्यो भन्ने लाग्यो। सुरुमा महिलाहरुलाई सिकाए। उनले स्थानीय महिलाहरुलाई राखेर ‘रेडिमेड’ कपडा उत्पादन गर्न थाले। एक/दुई जना थप्दै लगेर अहिले २२ जना महिलालाई जागिर दिएका छन्। दक्ष बनाएका छन्।

पाटन ढोकामा रहेको एआर सिलाइ फेसन इन्स्टिच्युटबाट सिलाइ सिकेर काम खोजिरहेकाहरुलाई जोशीले काम दिन थाले। विस्तारै व्यवसाय पनि बढ्दै गयो।

काम नजानेका महिलाहरुलाई पनि अवसर दिन्छन् विजेश। काम गर्ने इच्छा भए पुग्छ। ‘सीप नभएकाले पनि आइरन गर्न, बुट्टा भर्न, सेल्स, मार्केटिङ गर्न सक्छन्’, विजेश हाँस्दै भन्छन्, ‘काम गर्ने रुचि हुनुपर्यो।’

पाटनको आफ्नो घरमा विशेष क्रिएसनको स्टोर र अफिस छ। कारखाना पाटनकै सुन्धारामा छ।

महिलाका कुर्तासुरुवालमा फोकस गरेका उनले मागअनुसारको उत्पादन गर्ने बताए। कोरोनाले व्यवसाय ठप्प हुँदा मास्क उत्पादन गरेका केही दिन अघिसम्म फोहोरमैला संकलन गर्ने सफाइकर्मीको लागि ८ सय ड्रेस र झोला सिलाए।

एयरपोर्टबाट निस्किँदै गर्दा रिटर्न टिकट नच्यातेको भए आजसम्म विदेश जाने आउने हुन्थ्यो होला। ‘पैसा त केही कमाउँथे होला’, विजेश भन्छन्, ‘तर, आफ्नो कामको सन्तुष्टि भने यसैमा हुँदो रहेछ।’ -नेपालखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *