कि जागिर छोड्, कि मलाई !

कमला अधिकारी/सेतोपाटी
‘कि मलाई छोड् कि जागिर छोड्। तेरो मनपरीले चल्दै अब। मलाई तेरो सबै व्यवहार थाहा छ,’ श्रीमानको यो अमिलो वचन रियाको मनमा एसिड बनेर भतभती पोलिरहेको थियो। त्यो तीखो वचन प्रहारको जवाफमा खर्चने शब्द ऊसँग थिएन।

बोलेर झगडा गर्नुभन्दा आत्मीयताको व्यवहारले जितेर व्यक्तिलाई छिटो सकारात्मक गराउन सकिन्छ भन्ने कुरा उसलाई थाहा थियो।

मध्यमवर्गीय परिवारमा जन्मेकी रिया २०६० सालको एसएलसीमा आफ्नो विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने एक मात्र विद्यार्थी थिई। पढाइमा निकै अब्बल तर घरको आर्थिक स्थिति र उसको क्षमताबीचको तुलोको तालमेल तलमाथि हुँदा विज्ञानमा प्लस-टु सकेर नर्सिङ पढ्ने सपना डोरीले बाँधेर अँध्यारोमा थन्क्याउनु पर्‍यो।

त्यसैले घर नजिकैको कलेजमा शिक्षा विषय लिएर प्लस-टु गरी। ब्याचलर पढ्न सहर जानुपर्ने भयो। पैसाको अभाव थियो नै। सहरमा कहाँ-कसको घरमा बस्ने, चिन्ताको विषय बन्न थाल्यो।

गाउँकै एकजना दिदी सहरको बोर्डिङ पढाउँथिन्। रिया उनलाई भेट्न पुगी। केही नयाँ बाटो पहिल्याउन सक्छु कि भनेर दिदीसँग लामो कुराकानी गरी। रियाले सहर जाने र उनकै नजिक बस्ने योजना बनाई। गाउँमा जन्मे-हुर्किएकी रियालाई सहरको बसाइ, कलेज कस्तो हुने हो भनी खुल्दुली भइरहन्थ्यो।

बिहान पाँच बजे भालेको डाँकोसँगै रियाकी आमाको आँखा उघ्रियो। ढोका खोलेर रातो माटोले दैलो लिपिन्। दुइटा तामाको गाग्रीमा पानी, पानीमाथि रातो पातली फूल। हातमा दही र अक्षता लिएर छोरी बिदाइ गर्ने तयारी हुन थाल्यो।

रियाले घरबाट बाहिर निस्कन निकै बेर लगाई। मिठो निद्रामा मस्त भाइको अनुहार हेर्दै तप्प आँसुका ढिका भुइँमा खसाई। मुटुमा ऐंठन भएजस्तो भयो उसलाई। तर आफूलाई सम्हाली।

‘मेरो जिन्दगीको लक्ष्य पूरा गर्न म कमजोर बन्नु हुँदैन। आँसुमै चिप्लिरह्यो भने मान्छे कहिल्यै उकालो लाग्न सक्दैन,’ यस्तै सोचेर कोठाको कुनामा राखेको रातो झोला बोकेर बाहिर निस्की।

ncell in
निधारमा टीका लगाइँदिदै आमाले भनिन्, ‘ल नानी ! भाइ सानो छ, हामी डाडाँमाथिका घाम भइसकेम्। घरको जेठोबाठो तैं होस्। धेरै आश त लाम्दैन तै पनि पढेर सबैको पियारो बन्नू। आजभोलि त रेडियाँ नि कस्ता–कस्ता सम्चार आम्छन्। बलात्कार, एसिड छ्यापे अरे, के क्या हुन् के क्या हुन् सुन्न पर्नि नि ! सहराँ मुन्छे अलि निर्दयी हुन्छन् भन्छन्। आफ्नो ख्याल राख्नू, यी सप्पै कालबाट आफूलाई बचाउनू।’

यति भन्दै निधार खुम्च्याई ओठ टोकेर आँखाका डिलबाट खस्नै लागेका आँसु लुकाउन कोठाभित्र सुटुक्क पसिन् आमा।

गाउँकी जुना दिदी ‘ल जाऊँ गाडी आइसक्यो’ भन्दै आइन्। गाडी चढ्ने बेला रियाका बुवाले आफ्नो आसकोटबाट पानी कागजभित्र बेरेर राखेको पैसा झिकेर हातमा थमाउँदै भने ‘ल छोरी ! राम्रोसँग पढेस्। दुःख अप्ठेरो पर्दा जुना दिदीलाई पनि भन्नू।’

बाउछोरी छुट्टिन्छन्। रियाका बुवा देखुञ्जेलसम्म आँखा झिमिक्क नगरी गाडीलाई हेरिरहन्छन्।

सहर पुगेको दुई-चार दिनपछि जुनु दिदीको स्कुलमा शिक्षकको विज्ञापन खुलेको रहेछ। रियाले दरखास्त दिई। लिखित र अन्तर्वार्ता दुवैमा सफल पनि भई। अब त उसलाई दुई-चार हजारका लागि बुढा बाबुआमालाई सताउन नपर्ने भयो।

रियाले बिहान कलेज, दिउँसो स्कुल र चार बजेपछि दुई समूहलाई ट्युसन पनि पढाउन थाली। आफ्नो खर्च पुर्‍याएर दुई-चार हजार घरमै पनि पठाउँथी। आमाबुवा रियाजस्ती छोरी पाएकामा आफूलाई भाग्यमानी ठान्थे।

एकदिन आँगनमा चोया काढिरहेका रियाका बुवालाई भेट्न पारि गाउँका पाते दाइ आए।

‘चोया केका लागि काढ्दै हुनुहुन्छ दाइ?’

‘ए पाते बाबु। ल यता बस्नु न। डोको बुनूँ की भनेर!’

‘खै रियालाई देख्दिन त। कता गइन्। मीठो चिया खान मुन लाग्यो क्या तिनको हातले बनाको।’

‘रिया त कलेज पढ्न सहरतिर गाकी, जागिर पनि छ। फुर्सदै छैन त्यसलाई।’

‘ए राम्रो भो। रियालाई दिने कुरो छैन?’

‘बढेकी छोरी, राम्रो कुलघरानको असल केटो पाए दिऊँ भन्ने सोचेको छु।’

‘ए लु, त्यसो भए मेरो भाञ्जालाई कुरा पक्का गर्नुपर्‍यो। कोरिया गएर भर्खरै आएका छन्। कमाइ राम्रो छ। सहरतिरै घडेरी लिएका छन्। अर्को छुट्टि आएपछि घर पनि बन्ने। एकपटक छोरीलाई सोधेर निधो गर्नुपर्‍यो।’

यति भनेर पाते दाइ भुत्ते हसिँया अर्चाप्न आरनतिर लाग्छन्। मंसिरको बेला धान काट्ने, सुकाउने र ठटाउने खुब चटारो थियो।

रियालाई आमाले बिहेको कुरा सुनाउँछिन्। केटो रियाभन्दा तीन ब्याच अगाडिको थियो। पढाइमा सिपालु, टुहुरो। आर्थिक अभावले गर्दा पढाइ छोडेर विदेसिनु परेको थियो। त्यसैले रियाले उसँगको सम्बन्ध नकार्न सकिन। रियाको भावनालाई उसले र उसको भावनालाई रियाले बुझ्न सक्थे। सामान्य तरिकाले उनीहरूको बिहे भयो।

रियाका पति सुधिरका बुवाआमा पहिरोले पुरिएर बितेका थिए। लालनपालन उनका दाइभाउजूले गरेका थिए। दाइभाउजूका प्यारो थियो सुधिर। उसलाई नखुवाई कहिल्यै भाउजूले अघाएको महसुस गरिनन्। गाउँमा जेठाजु-जेठानीले दुइटा लैना भैंसी पालेका थिए। मिहेनती, श्रमको सम्मान गर्ने र कमाउनुभन्दा जमाउने कामलाई ठूलो ठान्ने परिवार थियो।

रिया पनि जेठाजु-जेठानीको उत्तिकै श्रद्धा र सम्मान गर्थी। एक महिना बसाइपछि सुधिर फेरि कोरियातिर गयो।

‘बोर्डिङको जागिर छोडिदेऊ। म तिमीलाई चाहिने पैसा पुर्‍याउँछु। घरमै बसेर लोकसेवा आयोग, शिक्षक सेवा आयोग जेको तयारी गर्न मन छ गर’ सुधिरले रियालाई भन्छ।

ऊ मान्दिन। रिया बोर्डिङको जागिर गर्दै शिक्षक सेवाको तयारीतर्फ जुटी।

वर्षहरू बित्दै गए। रिया छुट्टिको बेला घर नआई तयारी कक्षाहरू लिन थाली। उसको व्यवहारले जेठानीको मनमा भ्रम पैदा गरिदियो। जेठानी आफ्ना फुटेका हात र कुर्कच्चा हेरेर घरिघरि आफ्नै भाग्यलाई धिक्कार्थिन्।

कलिलो उमेरमै काँधमा आइपरेको जिम्मेवारीले खुम्चिएका निधारका रेखाहरू, जसले उसलाई उमेरभन्दा निकै बुढी देखाइदिन्थ्यो। सुधिरले हरेक दिन घर फोन गर्थ्यो। दाइभाउजू राम्रैसँग बोल्थे। केही समयपछाडि भने भाउजूको बोलीमा निराशा लुकेजस्तो भान भयो सुधिरलाई।

एकदिन फोनमा भन्छ, ‘दाइ भाउजूलाई फोन दिनु न।’

‘बाबु सञ्चै हुनुन्छ?’

‘हजुर भाउजू। आजभोलि खासै कुरा हुँदैन। कतै मबाट गल्ती भयो कि?’

यति के सोधेको थियो सुधिरले भाउजू चर्किन थालिन्।

‘कति मैले मात्र दुःख गर्नु। आफ्नी श्रीमतीलाई पनि गाउँ ल्याएर राख्नु नि। पहिले त बिदामा घर आउँथी। आजभोलि त्यो पनि बन्द भो। फोन पनि आउँदैन। खै म त गतिलो पारा देख्दिनँ। घरबार बिग्रेला फेरि, बेलैमा सोच्नुस् है बाबु। उमेर पुगेकी अराले बराले छ।’

सुधिरले भाउजूको मनसाय बुझेको थियो। उसको लालनपालन, छोराछोरी जन्माउँदा हुर्काउँदाको सकस। त्यसमाथि दाजुको जागिर थिएन। अब यसो देउरानी आउली, काममा सघाउली भन्ने आशा त कता हो कता, बेखबर भएर सहरमा बसिदिँदा उनलाई सही नसक्नुभएको थियो।

‘माझघरे साइँलो बुवाको कान्छी बुहारी पनि सहर बसेकी थिई। खै पार्लर खोलेर बसेकी रे! छोरै छोडेर पोइला गइछ। सहराँ बस्या मान्छेको के भर हुन्छ र! अहिले त फेसबुकले मान्छेलाई कतिसम्म बिगारेको छ। हजुरले नि थाहा पाउनु भा होला केरे। मैले भनिराख्न पर्दैन,’ अब भने भाउजू देवरको कान भर्न थालिन्।

भाउजूको शंका जायजै होला,अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिनु स्वाभाविक हो।

सुधिरले पनि माझघरे साइँलाकी बुहारीको खबर पाएको थियो। सुधिरले सोच्दासोच्दै चिन्ता पनि मान्न थालेको थियो। यत्तिकैमा फोनमा घन्टी बज्छ, रियाको फोन।

उसले विस्तारै फोन उठाएर कानमा राख्छ।

‘हेल्लो सुधिर, मेरो नाम निस्कियो नि,’ निकै उत्साहित हुँदै रियाले सुनाई।

ऊ पनि चङ्गाजस्तै हलुङ्गो मन भएको अनुभूति गर्छ। घरमा दाइभाउजूलाई पनि फोन गरेर सुनाउँछ। लामो कुराकानी हुन्छ।

असार २ गते, जिल्ला शिक्षा कार्यालयमा नियुक्ति पत्र लिनुपर्ने। रिया घरबाट अलि छिटो निस्किई। नियुक्ति पत्र खोलेर हेर्दा पोस्टिङ कालिकोट जिल्लामा भएको पाई।

‘जे भए पनि सरकारी जागिर हो, छोड्नु हुँदैन। जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिन्छु’ भन्ने अठोटका साथ जागिरमा हाजिर भई। जेठानीलाई निकै रिस उठेको थियो।

देवरलाई नानाथरी कुरा सुनाउन थालिन्। सुधिर पनि अलिअलि भाउजूकै कुरा सुन्न थाल्छ। रियाको सरकारी जागिरको नियुक्तिले उसको सपना पूरा गरेको थियो। सुधिर घर आउँदा रियालाई काठमाडौं बोलाउँछ। त्यो बेला रिया स्कुलको कामले जान पाइन।

यो घटनाले गर्दा सुधिर रियाप्रति अझै शंकालु बन्छ। घर पुगेर भाउजूको अनेक ताडना सुन्यो। रिया पनि ऊ आएको एक हप्तामा निकै खुसी हुँदै घर आई। तर घर उसले सोचेभन्दा फरक भएको थियो।

रिया कोठामा पसेको धेरै बेरपछि मात्र सुधिर उसको कोठामा जान्छ। रिया मीठो मुस्कानले सुधिरको स्वागत गर्न खोज्छे। लामो समयपछि पतिको साथ पाएकी थिई। अनेकौ इच्छाहरू थिए मनमा।

तर सुधिर अचानक गर्जिन्छ र भन्छ, ‘घर आउन मन लागेछ छ त धन्न ! पढेलेखेकी मान्छे, अब त मेरो साथ तिमीलाई नसुहाउला। यसैले त दाइभाउजू र मलाई दुश्मन ठानेकी छौ। म विदेश गएको यतिका समयसम्म घरमा एक कौडीको सहयोग छैन।’

बिदा सकियो। जागिरमा फर्किनुपर्ने कुरा रियाले सुधिरलाई सुनाउँछे। सुधिरले इन्कार गर्छ।

‘पर्दैन जागिर खान। तँलाई पुग्ने सम्पत्ति जोडिदिन्छु। अब तेरो विचार, मलाई रोज्ने वा तेरो जागिरलाई,’ रियाले पृथ्वी नैं उल्टो भएको महसुस गरी।

उसलाई थाहा थियो, जब सम्बन्धमा सम्मान, विश्वास र भरोसा ओरालो लाग्न थाल्छ तब सम्बन्धको गाँठो खुकुलो बन्दै जान्छ। थोरै धक्काले पनि टुटिदिन्छ मजबुत कसी पनि। राम्रो भए स्वीकार्ने, नराम्रो भए मिल्काउने हो भने जतिसुकै बाचा र बन्धनले बाँधिएको सम्बन्ध पनि टुक्रिन रत्तिभर बेर लाग्दैन। एकअर्कालाई विश्वास गरेर अन्जानमा भएका कमीकमजोरीलाई स्वीकार्दै, सुधार्दै जिन्दगीको रथ कुदाउने जोडी जीवनको अन्त्यसम्म एकअर्काको सुख दुःख साट्ने माध्यम बन्न सक्छन्। नभए सम्बन्ध धमीराले देवल बनाउँदा उड्ने अस्तित्व विहीन धुलोसरी उडेर हावामै अदृष्य भइदिन्छ।

रियालाई पतिको माया थियो। जागिर उसको स्वाभिमान थियो। ऊ कुनै पनि गुमाउन चाहन्थिन। तै पनि उसले सम्बन्धको सार बुझ्दै श्रीमानको हात समाउँदै भन्छे, ‘यदि तपाईं मैले जागिर छोड्दा खुसी हुनुहुन्छ भने म राजी छु। म अब तपाईंसँगै घरमा बसेर उकाली ओराली गर्छु।’

सुधिर खुसी देखिन्छ। रिया स्कुल जान छाडी घरमै बसी। उसको पेटमा सुधिरको सन्तान हुर्किँदै गयो। त्यसैले घरपरिवारसँग काममा हातेमालो गर्न सकिन। यहि निहुँमा जेठानीलाई फेरि जलन हुन्छ।

‘सँगै बस्न सक्दिनँ। म त अब छुट्टिएर बस्छु,’ भाउजूले भन्छिन्।

सुधिर दाइभाउजूसँग छुट्टिएर बस्छ। कोरियाको कमाइ, श्रीमती, भर्खरै जन्मेको शिशु, आफूले खाँदा, लाउँदा, औषधि-उपचार गर्दा सकिन थाल्छ। बच्चासितकी श्रीमती काममा कसरी लदाउनू? आफैं मरिमेटी काम गर्न थाल्छ।

कोरिया छँदा रियाले आफ्नो लागि खर्च पुर्‍याएकी थिई र उसलाई जमाउन सहज भएको थियो। कहिलेकाँही त उसलाई लाग्थ्यो, आफ्नी श्रीमतीमाथि शंका गरी ठूलो अपराध गरेछु।

‘यदि साँच्चै चरित्रहीन हुँदी हो त त्यस्तो संघर्षपछि पाएको जागिर कसरी सजिलै छोड्थी र ! मलाई माया नगर्दी हो त यति सीमित कमाइमा आफ्ना रहर मारेर किन मुस्कुराउँथी?’ उसलाई यही चिन्ताले सताउन थाल्छ।

छोरो जन्मेको छैटौं महिना, पास्नीको दिन थियो। रियाले छोरालाई सुनको बाला लगाइदिन मन लागेको कुरा सुनाउँछे। तर सुधिरको गोजी रित्तिएको थियो। बाला किन्ने पैसा नभएको सुनाउँछ।

रियाले दराज खोलेर चेक दिँदै भन्छे, ‘के सोच्नु भा नि ! यी यो चेक लिनु ! तपाईंले मलाई विदेश रहँदा पकेट खर्च पठाउनुभएको पैसा जम्मा गरेर राखेकी थिएँ। दुई लाख रहेछ। जानु लिएर आउनु।’

सुधिर रियाको हात समाई माफी माग्छ।

‘मलाई माफ गर। तिमीजस्ती देवीमाथि मैले अनेक लाञ्छना लगाएँ। त्यस्तो जागिर छुटाएँ। बरु तिमीले मलाई छाडेर जागिर बचाउनुपर्थ्यो।’

रिया मुसुक्क हाँस्दै भन्छे, ‘मैले न त तपाईंलाई छोड्न सक्छु न जागिर। तपाईंले काठमाडौं लिन बोलाउँदा म आउन सकिनँ किनकी म बेतलबी बिदा स्वीकृत गर्न त्यो बिकट गाउँमा निकै धाएकी थिएँ। बिदा स्वीकृत हुन झण्डै एक हप्ता लाग्यो। दुई वर्षको बेतलबी बिदा लिएको छु। तपाईं सँगै बस्न, सन्तान होलान्, हुर्काउन भनेर। मैले जे सोचेर आएँ त्यो पूरा भएको छ।’

रियाले फेरि सोधी, ‘अब तपाईं भन्नु म कहाँनेर गलत भएँ। जागिर छोडौं कि नछोडौं?’

(लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छिन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *