मन्‍त्री हेरफेरपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले के-के गर्यो निर्णय ?

असोज २९, काठमाडौं । मन्त्री परिषद् हेरफेरपछि बिहीबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सचिवको व्यापक सरुवा गरेको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यादवप्रसाद कोइरालालाई ल्याएको छ। सामान्यबाट सरुवा भएर स्वास्थ्य मन्त्रालयमा गएपछि विवादमा तानिएका सचिव कोइराला प्रधानमन्त्री कार्यालयमा तानिएको थियो।

सचिव कोइराला ओम्नीमार्फत स्वास्थ्य सामग्री खरिदमा मुछिएका छन्। स्वास्थ्यमा हुँदा पूर्वसचिव भीमप्रसाद उपाध्ययसँग सामाजिक सञ्जालमा उनको विवाद भएको थियो।

सचिव कोइरालासँगको विवाद र प्रधानमन्त्री प्रति कटाक्षका कारण पूर्वसचिव उपाध्ययलाई साइबर क्राइमको मुद्दा चलाएर जेलपनि हालिएको थियो। रुखो स्वभावका कारण नै उनी विवादमा आउने गरेका छन्।

त्यस्तै संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ।

सिंचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ।

मन्त्रिपरिषदका नयाँ सदस्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ थपिएका छन्। तीनै मन्त्रीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

शपथ लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक साँझ बस्ने जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *