यसरी त ध्वस्त भयो नेपाली!

सृजना पोख्रेल/सेतोपाटी

एउटै सेन्टेन्समा कति धेरै इङ्ग्लिस वर्ड युज गर्ने भइएछ। कस्तो नर्मल वर्ड पनि बिगारिने छ्या!

अब त शुद्ध नेपाली बोल्छु। ग्रामर बिग्रिए पनि कम्तीमा वर्ड शुद्ध युज गर्छु। मनमनै पनि शुद्ध सोच्छु। अहिल्यैबाट स्टार्ट गर्नुपर्‍यो। जस्तै नर्मल इङ्ग्लिस वर्डलाई पनि नेपाली वर्डले रिप्लेस गर्छु। यो पाराले त भएन!

ह्यात्तेरीका! ‘रिप्लेस’ लाई नेपालीमा के भन्छन्?

हैन, स्कुल पढ्दासम्म त नेपालीको ‘डन’ थिएँ त म। अझै याद छ, चार क्लास पढ्दा नयाँ स्कुल गएको दिन। गएको भोलिपल्टै पुनमले, ‘तिम्रो नेपाली त कति राम्रो, सरकारी स्कुलबाट आको हो तिमी?’ भनेर सोधेको।

जाबो चारमै पढ्दा, ‘राम्रो नेपाली त सरकारी स्कुलमा मात्रै सिकिन्छ’ भनेर कसले पो सिकायो होला उसलाई!

हुन त ‘मे आइ गो टु पिस म्याम?’ को ठाउँमा ‘म्याम, पिसाब फेर्न जाम?’ भनेपछि, जरिबाना तिर्नुपर्छ भन्ने सुन्दै हुर्केको मान्छेलाई, त्यस्तो लाग्नु अब्भियस पनि होला। मतलब, सामान्य होला।

खैर, त्यो कुरा छाडौं। अँ, त्यसरी गज्जब नेपाली बोलेर सरकारी स्कुलेको ट्याग नै लागेको मान्छे, मेरो नेपाली कहिले चाहिँ यस्तो ध्वस्त हुन भ्याएछ! फेरि ‘ट्याग’। पगरी लगाएको भन्दा ठीक होला है?

त्यस्तै लगभग सात-आठ क्लासमा पढ्दादेखि हो क्यारे। बीचबीचमा अंग्रेजी घुसाएर बोल्दा स्ट्यान्डर्ड सुनिन्छ जस्तो लाग्न थाल्यो। साथीहरूसँग बाहिर कतै भेट्दा पूरै अंग्रेजी मात्रै बोलिहाल्न पनि भएन। हुन त भएन पनि के भन्नू, सकिएन। अहिलेसम्म त कन्फिडेन्स छैन।

आज पनि कतै नेपाली बोल्नै नमिल्ने कार्यक्रममा जानु छ भने, पहिले घाँटीले तीन पटक शुद्ध नेपाली थुक निल्छ। अनि बल्ल अंग्रेजी ओकल्छ। झन् सात-आठमै पढ्दा त खुरूरू अंग्रेजी कसरी आओस्!

तर बीचबीचमा ‘आई मीन’, ‘अफ् कोर्स,’ ‘ओ सिट!’ लाई ‘ओ सेट!’ भन्दै इङ्ग्लिस घुसाउन त सकिथ्यो। सजिलोको सजिलो, स्ट्यान्डर्डको स्ट्यान्डर्ड।

यही सजिलो र स्ट्यान्डर्डको चक्करले फनफनी घुमायो क्यार। अब त सजिलो र स्तरीय भन्नै बिर्सिएछु। स्तरीय खासै अप्ठ्यारो शब्द त हैन। कहिलेसम्म त भन्ने पनि गर्थेँ। लेख्थेँ पनि- ‘स्तरीय’।

अब त नेपाली लेख लेख्दा पनि स्तरीय नलेखेर स्ट्यान्डर्ड लेखिदिऊँ कि जस्तो हुन्छ। स्तरीय भनेको मेरो पुस्ताले बुझ्दैन कि जस्तो लाग्छ। साँच्चै बुझ्न छाडेको हो? आफ्नो दोष लुकाउन पुस्ताको कुरा गरियो कि क्या हो!

अँ, शुद्ध नेपाली थुक निल्ने घाँटी। यो घाँटी पनि अचम्मको छ। खरर अंग्रेजी बोल्नुपर्ने ठाउँमा गयो, नेपाली थुक नपाएर प्याक-प्याक हुन्छ। फेरि खरर नेपाली मात्रै बोल्नुपर्ने भयो, त्यहाँ पनि कन्फिडेन्सले आत्मविश्वासलाई एउटा पोकोमा राखेर कहाँ लुक्छ कहाँ। न शुद्ध अंग्रेजी बोल्ने सीप छ। न शुद्ध नेपाली बोल्ने स्किल।

दूध पाउडर मिसाएको डेरीको दूधजस्तो भइसक्यो अहिले त भाषा। न शुद्ध पाउडर छ। न शुद्ध दूध।

खासमा अलि उमेर पुग्न थालेपछि ‘भाषा मिडियम मात्रै हो’ भनेर पनि कुरो बिग्रेको के!

कसैले अंग्रेजीमा दोष देखाए, ‘मेरो मातृभाषा हैन’ भन्यो, उम्कियो। कसैले नेपालीमा दोष देखाए, ‘बोर्डिङ पढियो, नेपाली बिग्रियो’ भन्यो, पन्छियो।

अब त ‘भाषा माध्यम मात्रै हो, मेरो कुराको गुदीमा ध्यान देऊ न’ भन्न पनि कनिकुथी गर्नुपर्छ। ‘भाषा मिडियम मात्रै हो, कुराको कन्टेन्टमा ध्यान देऊ न,’ ल, कति सजिलो भयो।

फेरि बगेछु। चुरो कुरो चाहिँ नेपाली सिक्नुपर्‍यो अब। किताब पढ्छु एउटा नेपाली। नेपाली भोक्याब गतिलो बनाउनु पर्‍यो। फेरि ‘भोक्याब’। ‘भोक्याब’लाई नेपालीमा के भन्नु अब? खैर, किताब पढेर सिकिएला नि।

किताब पढ्न थालेँ। शंकर लामिछानेको किताब किनेँ- एब्स्ट्र्याक्ट चिन्तन: प्याज।

शीर्षकमै अंग्रेजी घुसेको देखेर एक मन त नकिनौं जस्तो पनि लागेको हो। तर फेरि आफूजस्तै अंग्रेजी घुसाउने मान्छेलाई पढेपछि साथीबाट सिकेको जस्तो हुन्छ कि भनेर ढाडस मिल्यो।

हेर, किताब किन्ने सोच्दासोच्दै ‘ढाडस’ सम्झिहालेँ। केही होला जस्तो छ केटीको! नभए योभन्दा पहिले कहिल्यै यो शब्द युज गरेको याद छैन। उफ! फेरि ‘युज’। एक कदम अगाडि बढ्यो, अंग्रेजीको लगामले चार कदम पछाडि तानिहाल्छ। अब उप्रान्त यो लेखमा ‘प्रयोग’ मात्रै प्रयोग गरिनेछ। फेरि ‘युज’ लेखेँ भने, यो लेख पढ्नै बन्द गरिदिनुहोस् है। नत्र अलिअलि डर बिना त सिकिएला जस्तो नै छैन।

अँ, म शंकर लामिछानेको कुरा गर्दै थिएँ। पढ्न सुरू गर्दागर्दै एकछिन त लामिछानेले मलाई, यो बीचबीचमा अंग्रेजी घुसाउने बानी गज्जबै हो कि जस्तो बनाइदिए।

भूमिकामै लेखिएको थियो- ‘एब्स्ट्र्याक्ट’ शब्दको उल्था अनेक किसिमबाट गर्न सकिन्छ। तर पनि मूल शब्दको जुन मात्रिक झंकार छ, त्यसको आत्माका लागि मैले शब्दको हत्या गरिनँ।

अब म बसेर एकछिन आफूलाई जस्टिफाई गर्न थालेँ। मैले पनि त्यसै गरेको होला। मैले पनि मूल शब्दको जुन मात्रिक झंकार छ, त्यसको आत्मा नमार्न अंग्रेजी जस्ताको त्यस्तै प्रयोग गरेको होला।

यसै सोचेर उम्किन खोज्दै थिएँ, किताब पढ्दै गएपछि यथार्थले च्याप्प पक्डिहाल्यो।

विनोध चौधरीले ‘धन-पैसा ठूलो कुरा हैन’ भन्नु र कुनै टाँट पल्टेको भूपु व्यापारीले त्यसो भन्नु फरक रहेछ। वर्षभरी मिहिनेत गरेर पढ्ने टपर विद्यार्थीले ‘मार्क्स डजन्ट म्याटर’ भन्नु र सोही कुरा कहिल्यै नपढेर फेल हुन आँटेको डुकुलन्ठकले भन्नु फरक रहेछ। टपर शंकरले दिएको तर्क पकड्दै आफ्नो कमजोरी छोपेर म झन्डै डुकुलन्ठक बनिनँ।

किताबमा प्रयोग भएका कति धेरै नेपाली शब्दको अर्थ त मैले शब्दकोष नै पल्टाएर खोज्नुपर्‍यो। आफैंदेखि लाज लागेर आयो। तर सँगसँगै नयाँ शब्द सिक्न एक्साइटेड पनि भएँ। लज्जा र मज्जाको उत्साहित बनाउने सम्मिश्रण। वाह!

खासमा यसो सोचेर ल्याउँदा, मैले/हामीले थाहै नपाई, सजिला-सजिला शब्द पनि सजिलै विस्थापित भइरहेका रहेछन्। गाउँठाउँ अप्ठ्यारो भयो, नेपाली बोल्ने मान्छे सहर टाप। नेपाली अलि अप्ठ्यारो भयो, पहिले बोलिरहने शब्द पनि अहिले सखाप।

‘फेसको ग्लो’ भन्दाभन्दै ‘अनुहारको कान्ति’ भन्नै बिर्सिएछ। कान्ति त बाल अस्पतालको नाम मात्रै हो जस्तो पो लाग्छ अब। सित्तिमित्ति कसैको ‘औरा’ ले प्रभाव नपार्ने मान्छे, ‘आभा’ शब्दको आभा देखेरै कायल भएँ एकछिन। जहिल्यै ‘#बिइङ अलाइभ’, ‘#लाइभ्ली’ भन्दै लेख्नेलाई ‘जीवनदायिनी’ शब्दले खुत्रुक्कै बनायो। जाबो ‘प्रयत्न’ जस्तो साधारण शब्द पनि अप्ठ्यारो लागेर, ‘एफर्ट’ नै लगाई-लगाई ‘प्रयत्न’ भन्ने बानी बसाल्नु पर्‍यो। कहिल्यै कसैलाई ‘इन्फेरिवरिटी कम्प्लेक्स’ हुनु हुँदैन भन्थेँ, यति चेत आइसक्दा आफैंलाई लघुताभाष हुन थाल्यो।

रियालिटी चेक भएछ थुप्रैबेर। अब यही ‘रियालिटी चेक’ लाई पनि नेपालीमा के भन्छन्, थाहा छैन। यो के भइरहेछ माइ लर्ड!

अंग्रेजी बिग्रेको त झट्टै याद हुन्छ त। लाज हुने कुरा हो जस्तो लाग्छ। अंग्रेजीमा आङको जुम्रा जत्रो स्पेलिङ मिस्टेक देख्ने म नेपाली आङमा बसेका भैंसी जत्रा हिज्जे, व्याकरण, शब्दकै त्रुटिहरू चाहिँ किन देख्दिनँ?

नेपाली बिग्रिए त के लाज भन्ने पो लाग्थ्यो कि! अझै पनि त्यही लागिरहेकै हो कि!

केही नजान्दैमा लाजै मान्नुपर्ने त होइन। अंग्रेजी भाषा, नेपाली भाषा, जुनसुकै भाषा। तर त्यति चाहिँ लाज लागोस् कि त्यो लाजले नजानेको, नपुगेको, बिगारेको केही कुरा स्वीकार्ने अनि सिक्ने जाँगर चलाओस्।

‘आयुष्मान भव’, ‘आयुष्मती भव!’ भनेका आशीर्वाद लागेछ भने बूढाबूढी भइएला कुनै दिन। त्यो बेला, ‘ढिकी-जाँतो त सजिला मिल-मसिनहरू आए अनि हराए’ भन्ने तर्क दिइएला। तर नातिनीले ‘मिलभन्दा सजिला अनि ढिकी-जाँताभन्दा सुन्दर नेपाली शब्द चाहिँ कसरी हराए’ भनेर सोधिन् भने? के पो भन्नु होला?

अझ नेपालीमा लेख लेख्ने मान्छे। लेख लेखिन्छ, धेरथोर पैसा कमाइन्छ। आफूलाई बाँच्न सघाएको भाषालाई यसरी सुस्त-सुस्त मारिरहेँ भने त ९० वर्ष नै पुग्दा पनि आयुष्मती भएको जस्तो लाग्दैन होला है?

जीविका चलाउन सहज बनाएको भाषालाई नै असहज भाषा भन्दै जीवन्त राख्न नसके त नुनको सोझो नगरेको पाप लाग्छ होला है?

कसैले मलाई यो पापबाट उतार्ने वैतरणीको ठेगाना भनिदिनू न। ठूलै गुण लाग्थ्यो। बरू हजुर पनि दोषी हुनुहुन्छ भने यसो बाटो खोज्नुस्। नदीसम्म पुर्‍याउने बाटो भेटेपछि सँगसँगै नेपाली सुधार्ने पदयात्रामा जाऊँला। म त्यतिन्जेल फेरि पहिलो आत्मबोध दोहोर्‍याउँछु-

यसरी त ध्वस्त भयो नेपाली! एउटै वाक्यमा कति धेरै अंग्रेजी शब्द प्रयोग गर्ने भइएछ। कस्तो सामान्य शब्द पनि बिगारिने छ्या! अब त शुद्ध नेपाली बोल्छु। व्याकरण बिग्रिए पनि कम्तीमा शब्द शुद्ध प्रयोग गर्छु। मनमनै पनि शुद्ध सोच्छु। अहिल्यैबाट सुरू गर्नुपर्‍यो। जस्तै सामान्य अंग्रेजी शब्दलाई पनि नेपाली शब्दले प्रतिस्थापन गर्छु। यो पाराले त भएन! -सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *