नबुझी गुर्जो खाँदाको पीडा

सिन्धु गौतम पोखरेल

कोरोना संक्रमित देशहरु मध्येमा भारत अहिले विश्वको दोश्रो नम्बरमा परेको छ। भारतमा कोरोना संक्रमण देखिएको सुरुआती दिनदेखि नै राजधानी दिल्ली कोरोनाबाट अति नै प्रभावित बन्यो।

कोरोनाको कहर सय, हजार, लाख अनि यति लाख पार भन्दै संचार माध्यमले बताईरहँदा नेपालमा परिवार, आफन्तजन, शुभचिन्तकहरुले चिन्ता जाहेर गर्दा भारतको नयाँ दिल्लीमा बसोबास गर्दै आएको मेरो परिवारमा हरेक दिन मानसिक त्रास नभएको होइन। तर ‘कोरोना आफै आउँदैन, लिन घरबाहिर नजाऔँ’ भन्ने करिब ५-६ महिना अघि सेतोपाटीमा पढेको यो नारालाई हामीले आफ्नो व्यवहारमा पनि लागू गर्दा मनमा केही शान्ति भएको थियो।

बच्चाहरुको अनलाइन कक्षा अनि अफिसको काम घरबाटै हुने भएकोले अत्यावश्यक काम बाहेक कहिले बाहिर निस्किएनौँ हामी। सकेसम्म आफूले अपनाउने साबधानी पनि अपनाएकै थियौँ। तर पनि खोइ कहाँनिर चुक्यौँ हामी पत्तै पाएनौँ। आजभन्दा करिब २८ दिन पहिले दिउँसोदेखि मलाई अलिकति असहज महशुस भयो।

सुरुमा हल्का शरीर तात्यो अनि विस्तारै दुख्न पनि थाल्यो। दिल्लीको गर्मीमा पनि जाडो भएर शरीर काप्न थाल्यो। मौसम परिवर्तनको समय भएकोले धेरैलाई भाइरल ज्वरो भएको खबर सुनिन्थ्यो, आफूलाई पनि त्यस्तै होला जस्तो लाग्यो। ज्वरो कम गर्न सिटामोल अनि घरेलु उपचार ज्वानो, बेसार तुलसीको पात आदि पकाएर पानी खान सुरु गरेँ अनि मौसमी रुघाखोकी नै भएपनि घरमा अरुलाई नसरोस् भनेर आफू अलग कोठामा बस्न थालेँ।

विस्तारै मलाई रुघाखोकी अनि बेलाबेलामा हाछ्यू आउने, छाती फुल्ने जस्ता थप समस्या देखा पर्न थाले। पूरा शरीर विशेषगरी जोर्नीमा दुखाई बढ्न लागेपछि कता-कता कोरोना त होइन भनेर डर लाग्न थाल्यो। अनि कोरोनाको उपचारमा खटिनु भएका एकजना डाक्टरलाई फोन गरेँ।

कोरोना र भाइरल ज्वरोका लक्षण मिल्दाजुल्दा हुने र कोरोनाका पनि केही लक्षण व्यक्तिपिच्छे फरक-फरक देखिने भनिएता पनि खानामा स्वाद र गन्ध पटक्कै थाहा नहुनु कोरोनाको साझा लक्षण मानिएकोले स्वाद र गन्ध थाहा पाएसम्म कोरोना भयो की भनेर शंका नगर्न तर आफू अरुदेखी टाढा रहन सल्लाह पाएँ र त्यसै गरेँ।

यसरी ३ दिन बित्यो, चौथो दिनमा मेरी छोरीलाई पनि मलाई जस्तै लक्षण देखापर्यो अनि हामी आमाछोरीसँगै बस्न थाल्यौँ। श्वास भित्रभित्रै अड्किएको जस्तो भएर श्वास फेर्न निकै गाह्रो हुन्थ्यो र छटपटी निकै बढ्न थाल्थ्यो। तैपनि खानामा स्वाद र गन्ध थाहा पाएसम्म कोरोनाको शंका मान्नु नपर्ने डाक्टरको सल्लाहले गर्दा भाइरल ज्वरो नै भएको अनुमान थियो।

त्यसैले घरमै आराम गर्दै घरेलु उपचार गरेर बस्यौँ तर हामीलाई झन्-झन् गाह्रो हुँदै गयो। छिनछिनमै रिंगटा लाग्ने, शरीर दुखेर चलमल समेत गर्न निकै गाह्रो भयो। हामी बिरामी परेको हप्तादिनमा त श्रीमान र छोरालाई पनि यसरी नै समात्यो अनि सबैको लक्षण उस्तै देखियो। त्यसपछि भने कतै कोरोना त होइन भन्ने शंका लाग्यो र परीक्षण गर्यौं।

ncell in
हामी त परिवारै कोरोना संक्रमित भैसकेका पो रहेछौँ। एकछिन त निकै डर लाग्यो। के होला, कसो गर्ने आदि इत्यादी कुरा मनमा खेल्न थाले। कोरोना संक्रमण भएको थाहा नहुँदासम्म शारीरिक कठिनाइमात्र थियो तर संक्रमित भन्ने थाहा पाएपछि मानसिक तनाव थपियो। हामीलाई कोरोना भएको खबर फोनबाट जानकारी दिएको केहीबेरमा दिल्ली नगर निगमले खटाएका स्वास्थ्यकर्मी घरमै आइपुगे।

मानसिक तनाव नहोस् भनेर निकैबेर सान्त्वना दिए। होम आइसोलेसनमा बस्न असुविधा भए उनीहरुले बाहिर व्यवस्था गरिदिने कुराको पनि जिकिर गरे। हामीले होम आइसुलेसनमा बस्ने बताएपछि अक्सिमिटर दिए जुन दिल्ली सरकारले कोरोना संक्रमितलाई सित्तैमा उपलब्ध गराउने रहेछ। उनीहरुले बेलाबेलामा अक्सिजनको मात्रा नाप्न सुझाए।

कोभिड–१९ ले सबैभन्दा बढी संक्रमण श्वासनली र फोक्सोमा गर्दो रहेछ। जसले गर्दा ती तन्तुहरुका कोसिकाहरुलाई मारिदिने काम गर्दोरहेछ। फलस्वरूप फोक्सोले अक्सिजन कम लिने र रगतमा समेत अक्सिजनको मात्रा कम भइ संक्रमितको मृत्यु हुने रहेछ। पल्स तथा अक्सिमीटरको सहायताबाट औँलाको माध्यमद्वारा रगतमा रहेको अक्सिजन र नाडीको धड्कन थाहा पाउन सकिन्छ र ९५ प्रतिशतभन्दा कम अक्सिजन भएमा तुरुन्त डाक्टरलाई खबर गर्नुपर्छ भन्ने कुरा सम्झाउँदै अस्पताल र डाक्टरको फोन नम्बर पनि दिए।

शरीरमा भिटामिन ‘सी ’ र ‘डी’ को कमी हुन नदिन भिटामिनयुक्त खानेकुरा खाने अनि प्रत्येक दिन दिनमा दुइचोटि बाफ लिने गर्दा धेरै फाइदा हुने कुराको सल्लाह दिएर गए। परिवारमा सबैजना संक्रमित भन्ने थाहा पाएपछि हामी एउटै कोठामा बस्यौँ। घरमा सबैजना बिरामी परेपछि आफ्नो बिरामी त्यसै हराउँदो रहेछ। मलाई त्यस्तै भयो।

प्रत्येक २-२ घन्टामा सबैको ज्वरो, अक्सिजन नाप्ने, कस्तो खाना खाने सबै कसरी यो संक्रमणबाट मुक्त हुने, यसमै ध्यान जान थाल्यो। धेरैभन्दा धेरै झोलपदार्थ खाने, तातो पानी प्रशस्त मात्रामा पिउने भन्ने कुरा पहिलेदेखि सुन्दै आएका थियौँ। हामीले पनि त्यसै गर्यौं।

कोरोनाको बिरामीले गुर्जोको प्रयोग गर्दा फाइदा हुने कुरा कोरोना महामारी सुरु भएदेखि सुन्दै आएका थियौँ। भारतमा यसलाई गिलोए भन्दा रहेछन्। यसको क्याप्सुल पनि पाइदो रहेछ। हामीले पहिले क्याप्सुल अनि यसको लहरा दुवैको सेवन गर्यौं फरक फरक समयमा, तर हामीलाई भने यसले नराम्रो असर गर्यो। यसले ब्लडप्रेसर निकै कम गर्दो रहेछ।

कमजोरी बढेको बेलामा प्रेसर कम हुँदा निकै असहज भयो हामीलाई। गुर्जो औषधीय गुण भएको बनस्पति भएपनि यसको प्रयोग गर्दा हामीले विचार पुर्याएर मात्र गर्नुपर्दो रहेछ। आयुर्वेदिक डाक्टरको सल्लाह बिना बजारमा सुनेकै भरमा प्रयोग गर्दा कसैको लागि यो हानिकारक पनि हुँदो रहेछ भन्ने कुराको अनुभव भयो हामीलाई। कोरोनालाई जित्न परिवार, आफन्त, समाज साथीभाइ, स्वास्थ्यकर्मी सबैको साथ र सहयोग चाहिदो रहेछ।

हामीले सबैको साथ र सहयोग पायौँ। तिमीहरुको साथमा हामी छौँ है भन्दै हरेक क्षण सहयोगको लागि तयार हुने शुभचिन्तक, साथीहरु अनि हरेक दिन कम्तिमा दिनको २ पल्ट फोन गरेर स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक सर-सल्लाह दिने दिल्ली नगर निगमका स्वास्थ्यकर्मी, नेपालबाट आएर दिल्लीको एम्स अस्पतालमा (एमडी) गरीराख्नु भएका डा. सागर लगायत सबैको ठूलो योगदान रह्यो।

दिल्लीको सरकारी स्वास्थ्य सेवा निकै प्रभावकारी रहेछ। यो सेवा भारतीय नागरिकले मात्र नभएर यहाँ बसोबास गर्ने हरेक नेपाली नागरिकले सजिलै प्राप्त गर्न सक्ने रहेछन्। भारतको आधारकार्ड, प्यानकार्ड जस्ता कुनै सरकारी कागजातबिना पनि निशुल्क उपचार हुने रहेछ। संक्रमण भएपछि संक्रमणमुक्त भए/नभएको पत्ता लगाउन बेलाबेलामा आफ्नो पायक पर्ने स्वास्थ्यचौकीमा बिरामीलाई बोलाएर परीक्षण गर्दा रहेछन्।

संक्रमणमुक्त नभएसम्म कोही कतै बाहिर गएर अरुलाई नसारुन् भनेर बेलाबेलामा निगरानी पनि राख्दा रहेछन्। करिब दुई करोड जनसंख्या भएको दिल्लीमा कोरोना संक्रमणको संख्यामा पनि दैनिक ३/४ हजारको हाराहारीमा आउँदा समेत प्रत्येक बिरामीसम्म पुग्नसक्ने गरी गरिएको कोरोना व्यवस्थापनमा यहाँको सरकारको भूमिका साह्रै प्रभावकारी लाग्यो।

कोरोना सामान्य रुघाखोकी जस्तै हो डराउनु पर्दैन। मैले त थाहै नपाइ कोरोना जितेँ, कोरोनाको बारेमा यस्तै यस्तै कुराहरु सामाजिक संजालमा धेरै पढेका/सुनेका थियौँ तर हाम्रो अनुभव भने निकै फरक रह्यो। बेलाबेलामा शरीरमा अक्सिजनको मात्रा निकै कम भएर श्वास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने, शरीरका जोर्नीहरू दुखेर सामान्य हलचल गर्नसमेत गाह्रो हुने जस्ता लक्षणले निकै गाह्रो भयो हामीलाई।

परिवारमा सबैभन्दा पहिले बिरामी हामी आमाछोरी परेका तर संक्रमण मुक्त हुन भने छोराछोरी र मलाई तीन हप्ता लाग्यो भने श्रीमानलाई दश दिन। तर तुलनात्मक रुपमा सबैभन्दा बढी असर श्रीमानलाई गर्यो भने कम असर १२ वर्षीय छोरालाई। हामी स-परिवार कोरोना संक्रमणबाट मुक्त भएको पनि अब एक हप्ता पुग्न लाग्यो।

कोरोनालाई त हामीले जितियो अब, तर पनि हामी असरबाट मुक्त हुन सकेका छैनौँ। टाउको दुख्ने, रिंगटा लाग्ने, जोर्नीहरू दुख्ने निकै थकान महशुस हुने जस्ता असरहरु अझै बाँकी छन्। त्यसैले हामी पुरानो अवस्थामा फर्किने कहिले होला जस्तो लाग्न थालेको छ।

अहिले हाम्रो देशमा प्राय सबैतिर र विशेषगरी काठमाडौँमा कोरोना संक्रमण निकै बढ्न थालेका समाचार आइरहेका छन्। अब त दशैं पनि सुरु भैसक्यो। लगत्तै तिहार छठ जस्ता अन्य ठूला चाड पनि नजिकिदै छन्। यस्तो बेलामा बजारमा अन्य समयभन्दा भिडभाड त पक्कै हुन्छ होला। चाडबाड मनाउन गाउँघर जाने र सहर फर्किनेको संख्या पनि उत्तिकै होला।

कोरोना संक्रमणबाट बच्न आफूले मात्र सावधानी अपनाएर पनि नहुँदो रहेछ। वास्तवमा स्वास्थ्य सुरक्षाका सबै नियम पालना गर्दागर्दै पनि सङ्क्रमित भयौँ हामी। त्यसैले हामी सबैले आ-आफ्नो ठाउँबाट इमान्दारीता पूर्वक स्वास्थ्य सुरक्षाका सबै नियम पालना गरौँ। हामी हतास हुनुपर्दैन तर यसलाई हल्का रुपमा पनि नलिऔँ। -सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *