लुम्बिनी प्रदेशका प्रतिभाशाली यी दाजुभाइ: जसले घरमै बसीबसी बनाए स्वचालित स्यानिटाइजर मशिन

प्रकाश आचार्य/लोकान्तर
कात्तिक ७ बुटवल । बुटवलका जुम्ल्याहा दाजुभाइ लभ र कुश पन्थीले कोरोना संक्रमितलाई औषधि पुर्‍याउने रोर्बट नर्स बनाएको केही समयपछि बुटवलका अर्का दाजुभाइ कपिल र विशाल लम्सालले स्वचालित हाते स्यानिटाइजर मशिन बनाएका छन् ।

बुटवलका कालिका मानवज्ञान माविको १० कक्षामा अध्ययनरत दाजुभाइले विद्यालय बन्द भएको समय सदुपयोग गरेर स्वचालित स्यानिटाइजर मशिन बनाएका हुन् । स्यानिटाइजर मशिन दाजुभाइका लागि आम्दानीको स्रोत बनेको छ ।

दुवै दाजुभाइले यसअघि पनि रोबोट बनाएका थिए । गुल्मीको मालिका गाउँपालिका–६ अर्जै फुलबारी घर भई बुटवल बस्दै आएका लम्साल दाजुभाइले स्थानीय बजारमै पाइने कच्चा पदार्थ प्रयोग गरेर मशिन बनाइएका हु्न । १ महिनाको प्रयासमा लम्साल दाजुभाइले मशिन तयार गरेका हुन् ।

मशिनमा ६ इन्चको पीभीसी पाइप काटेर डिजाइन निकालिएको छ । पाइपमा मोटर जोडेर अल्ट्रासोनिक सेन्सरसहित आडिनो आईसी प्रोग्रामिङ गरेर मशिन तयार गरिएको कपिलले बताए । मशिनमा साढे २ लिटरदेखि ५ लिटरसम्म स्यानिटाइजरको झोल राख्न सकिने बनाइएको छ ।

मानिसको बढी भीडभाड हुने ठाउँहरू हस्पिटल, बैंक, सहकारी, शपिङ मल र घरमा समेत प्रयोग गर्न सकिने ३ हजारदेखि १० हजार रुपैयाँसम्म मूल्य राखेर मशिन बिक्री गर्दै आएका छन् ।

स्वचालित स्यानिटाइजर मशिन मालिका माध्यमिक विद्यालय सिमलटारी, अर्जै माध्यमिक विद्यालय अर्जै, फूलबारी प्राथमिक विद्यालय फूलबारी, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका–६, अर्जै स्वास्थ्य चौकीमा जडान गरिएको कपिल लम्सालले बताए । अल्ट्रा सोनिक सेन्सरसहित आडिनो आईसी प्रोग्रामिङ गरिएको मशिन अहिले पनि बिक्रीका लागि तयारी अवस्थामा राखिएको उनले बताए ।

स्यानिटाइजर छर्कनका लागि गेट समेत बनाएर प्रयोगमा ल्याइएको छ । अटोमेटिक स्यानिटाइजर मशिन भारतबाट नेपाल आउने गर्छ । तर यी लम्साल दाजुभाइले स्वदेशमै आफैं मशिन बनाएका छन् । स्वदेशमै बनाइएको मशिन स्यानिटाइजरबाहेक स्याम्पु, साबुन लगायतका तरल पदार्थ झार्नका लागि समेत उपयोगमा ल्याउन सकिने भएकाले पनि मशिनको प्रबद्र्धनका लागि सम्बन्धित निकायले चासो देखाउनुपर्ने लम्सालको माग छ । -लोकान्तरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *