मेरो पूरै परिवारलाई कोरोनाले गलाउँदा…

प्रमिला पाण्डे/सेतोपाटी
नेपालमा कोरोना सुरू भएदेखि नै सरकारदेखि आम नागरिकमा एक प्रकारको बेचैनी सुरू भएको थियो। के हो कोरोना, यसबाट जोखिन सरकारले लकडाउन गर्‍यो भन्दै हामी सबै महिनौं घर पनि बस्यौं। दैनिक आउने अद्यावधिक गणनामा देशमा संक्रमित संख्या बढेको देखेर डर पनि लाग्न थालेको थियो।

पेसाले म आर्किटेक्ट। लकडाउन सकिएपछि नियमित रुपमा कार्यालय जान थालेकी थिएँ। यसरी कार्यालय जान थालेपछि म घरमा छुट्टै बस्न थालेँ। बाहिर पनि आवश्यक सुरक्षा सतर्कता अपनाएर नै निस्कन्थेँ।

असामान्य समयमा यसरी नै जीवन सामान्य चल्दै थियो। मलाई एकदिन एक्कासि रुघा लाघेजस्तो भयो। मौसम परिवर्तन, चिसो र धूलोले चाँडै छुने मान्छे परेकाले सामान्य रुघाखोकी होला भन्ठानेर सुरूमा आफ्नो शरीरको लक्षण हेर्ने बाहेक अन्य कुनै कुरा खास वास्ता गरिनँ।

तर एकाएक गर्दै घरमा सबलाई यसरी नै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा पर्न थालिसकेको थियो। कसैलाई ज्वरो आउने, कसैलाई ज्यान गल्ने हुन थालेपछि एकदिन मेरो काकाले यो कोरोना नै हो भनेर आफ्नो परीक्षण टेकु ल्याबमा गराउनुभयो।

५ दिन सम्म पनि रिपोर्ट आएन। तनावले ग्रस्त हामीले काकालाई प्राइभेट ल्याबमा परीक्षण गराउन कर गर्‍यौं र सोही अनुरुप ह्याम्स अस्पतालमा परीक्षण गर्नुभयो।

जे नआउनुपर्ने त्यही आयो, काकाको कोरोना पोजेटिभ देखियो। पोजेटिभ सुनेर आत्तिएका हामी सबैले परीक्षण गर्‍यौं। मसहित मेरो परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भयो। ७५ वर्षीया हजुरआमामा समेत कोरोना भएपछि भने म आत्तिएँ। के गर्ने, के नगर्ने मेसो नै पाउन सकिएन। तर विस्तारै आफूलाई सम्हाल्दै परिवारमा सान्त्वना दिन थालेँ।

परिवारका सबै सदस्यमा संक्रमण देखिएकाले सुरक्षा मापदण्ड अपनाएर घरमै आइसोलेट गर्ने निर्णय गरियो। तर यो त्यति सहज थिएन। सामान्य लक्षण भएका हामीलाई कहिले सास फेर्न गाह्रो हुने, कमजोरी अनुभव हुने जस्तो भयो। म साह्रै चिन्तित हुन थाले। संसारमा सबभन्दा डरलाग्दो केही छ भने त्यो मनको बाघ भन्ने मैले बुझेँ।

वर्षमा कम्तीमा दुई पटक ट्रेकिङ जाने मान्छे म घरको दुई खुट्किला उक्लिँदा स्वाँस्वाँ हुन थालेको थियो। घरको छतमा पुगेर मजाले हावा खान्छु नि त भन्दा पनि सास आधामै अड्केको अनुभूति हुन्थ्यो।

एक वर्षे छोरासँग अलग्गै रहेर आइसोलेसनमा रहेकी मेरी दिदीको पीडा देखेर म आफ्नो आँसु थाम्न सक्थिनँ। यो अवस्थामा आफ्नो कलिलो सन्तानसँग अलग्गै रहेर बस्नुको पीडा उसलाई मात्र थाहा थियो। मेरो बुवा र आमा पनि छोरी सुती कि सुतिन भनेर मेरो ढोका बाहिरबाटै सुटुक्क हेर्न आउनुहुन्थ्यो।

बुवाको यो कुरा थाहा पाएर म नसुते पनि निदाएको झैं गर्थेँ। म पनि सुटुक्क बुवाको ढोकाबाट चियाउन जान्थेँ र बुवा पनि म जस्तै निदाएको झैं गर्नुहुन्थ्यो। तर हामी दुवै जनाको निद्रा हराएको थियो। घरमा अन्य सदस्यको अवस्था पनि यस्तै थियो। प्रायः कसैमा लहरे खोकी र कसैलाई ज्वरो। सबैलाई गलाइरहेको थियो।

डाक्टरको सल्लाहअनुसार ज्वरो आएमा सिटामोल खाने गरेका थियौं। खोकी बढेमा खोकीको औषधि। घरेलु उपचार, गुर्जो, बेसार पानी, वाफ लिने जस्ता काम पनि सँगै गरिरहेको थियौं। हजुरआमामा भने कुनै पनि समस्या नआएको भएर मनमा शान्ति छाएको थियो।

यो समयमा मानसिक तनाब भने बढी हुने रहेछ। सुरूसुरूमा जस्तो समाजले पूरै बहिष्कार नगरे पनि त्यसको अलिकति अवशेष बाँकी भएको महशुस गरेँ। अरुले यसलाई कोरोना लागेको छ भन्ने थाहा भए अर्कै व्यवहार गर्छन् होला भन्ने छुट्टै तनाव मनमा थियो।

त्यसैले कौसीमा जाँदा पनि यताउति नहेरी जान्थेँ। तर साथीसंगी र शुभचिन्तकको साथ भने सधैं रहिरह्यो। कोरोनाको डरले जति मानसिक तनाव दिएको थियो, त्यति नै जीवनको महत्व पनि बुझाइरहेको थियो। जीवन केवल दुई मुठ्ठी सासको आश मात्र रहेछ भन्ने पाठ कोरोनाले पढायो।

यसरी नै १४ दिन पूरा भयो। हामी सबैले पुनः परीक्षण गराउने भयौं र रिपोर्ट ढिला आउनेसहितको आकलन गरेका हामीले पुनः टेकु ल्याबमै परीक्षण गर्‍यौं। रिपोर्ट आउन ३ दिन लाग्यो जसमा मेरो परिवारमा ५ जनाको रिपोर्ट नेगेटिभ आयो। बाँकी ४ जनाको रिपोर्ट आइसकेको थिएन।

रिपोर्ट नआउनेमा म पनि थिएँ। भोलिपल्ट अर्थात् परीक्षण गरेको चौथो दिन, बाँकी चारमध्ये दुई जनाको रिपोर्ट आयो भने दुई जनाको बाँकी। पुनः म त्यो रिपोर्ट नआउने दुई जनामा परेँ। यसरी किस्ता किस्तामा आएको रिपोर्ट र आफ्नो नआउँदा भने अर्को मानसिक यातना थपिने रहेछ।

त्ययही दिन राती मसहित अर्को एक जनाको रिपोर्ट आयो। दुवैको कोभिड पोजेटिभ। यसले हामीलाई अर्को पीडा दियो। घरका अन्य सदस्यले हामीलाई सान्त्वना र हौसला प्रदान गरिरहनुभएको थियो। यसरी दुई दिन पछि मानसिक तनाव नबोक्ने र प्राइभेटमै परीक्षण गर्ने भनेर ह्याम्समा तेस्रो परिक्षण गर्‍यौं।

अर्को दिन मसहित सबैको रिपोर्ट नेगेटिभ आयो। रिपोर्ट नेगेटिभ आउँदाको खुसीको पल म यहाँ बताइरहन नसकुँला। तर त्यसले मलाई र मेरो परिवारमा नँया जीवन दिएको अनुभूति भएको थियो।

मैले जुन नजरबाट बुझ्थेँ, त्योभन्दा धेरै माथि र महत्वपूर्ण रहेछ जीवन। यो मलाई कोरोनाले बुझाएको छ। म आफू आइसोलेसनमा रहँदा सामाजिक सन्जालमा कोरोना संक्रमण छल हो, यो केही होइन जस्ता सामग्री आएको देख्थेँ। मनमनै आफूले आइसोलेसनमा कटाएका दिन, स्वास्थ्यमा भएका समस्या, परिवारमा भएको तनाव र आफ्नो मानसिक यातना सम्झेर मनमनै भन्थेँ, कोरोना भ्रम होइन !

यो आइसोलेसनको समयमा म र मेरो परिवारले भावनात्मक र नैतिक समर्थन नपाएको भए हामीलाई यो लडाइँ जित्न सहज हुने थिएन। कोरोना लाग्दैमा छिःछि दुरदुर गर्ने यो समाजले संक्रमितलाई चाहिने हौसला र माया के हो भन्ने कुरा अझै बुझेको चाहिँ छैन।

दैनिक कोरोना संक्रमण फैलिरहेको छ र यो कहिलेसम्म फैलिने हो कसैलाई थाहा छैन। तर आज म संक्रमित भए भोलि तपाईं हुन सक्नुहुन्छ। त्यसैले कोरोना संक्रमितलाई माया गरौं र यो लडाइँ लड्न हौसला प्रदान गरौं।

अँ साँच्ची, भन्नै भुलेछु, दसैंको बीचतिर आइपुग्दा, मेरो दसैं भने घरमा सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि सुरू भएको हो। सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *