के काठमाडौंमा घर हुँदैमा घमण्ड गर्नैपर्छ त?

पवित्रा घिमिरे

कुनै समयमा मेरो एक जना मिल्ने साथीले आफू काठमाडौंबाहिर जन्मिएको, हुर्किएको र हाल काठमाडौंमा आएर बस्नु पर्दा धेरै समस्या झेल्नु परेको कुरा सुनाएकी थिइन्।

उनका समस्या आर्थिक समस्या मात्र नभएर मानसिक समस्या पनि थियो। किन यति ठूलो ग्याप छ त काठमाडौंमा घर हुने र काठमाडौंबाहिर घर हुने मान्छेहरूको बीचमा? आखिर यो ग्याप के कारणले गर्दा भएको हो त?

अधिकांश मानिसहरू आफ्नो परिचय दिने क्रममा आफू काठमाडौं बाहिरको भन्नै हिचकिचाउँछन्। भने पनि धेरै पहिलादेखि यतै बस्दै आएको भनेर आफ्नो परिचय दिन्छन्।

किन यस्तो खाडल उत्पन्न भएको छ त काठमाडौंमा घर हुनु र नहुनुमा? के काठमाडौंमा घर हुँदैमा धेरै घमण्डगर्नैपर्छ त? के सिकिरहेका छौं हामी? के सिकाइरहेका छौं त हाम्रा बालबच्चाहरूलाई?

धेरै ठाउँमा जब इन्टरभ्यू दिँदा, कसैसँग पहिलो पटक परिचय गर्दा मानिसहरूले सोध्ने पहिलो प्रश्न हुन्छ ‘तपाईं कहाँ बस्नु हुन्छ’? उत्तरमा म यो ठाउँमा बस्छु भन्दा घरै हो भनेर नाक खुम्च्याएर प्रतिप्रश्न गरेको धेरै पाएको छु।

यदि घरै यही हो भन्यो भने अनुहारको भाव नै अर्कै हुन्छ र होइन मेरो खास घर अर्कै ठाउँमा भन्दा छुट्टै नजरले हेरेको पाएको छु।

मलाई लाग्यो कि यो समस्या धेरैलाई छ। आखिर ठाउँ विशेषले मानिसको योग्यता, क्षमता र पहिचानमा कुनै भिन्नता ल्याउँछ त? के राजधानीबाहिर जन्मे, हुर्केको मान्छे क्षमताविहीन नै हुन्छन् त?

केही महिना अगाडि हामी धेरै साथीहरू एउटा कलेजको खुला चउरमा अवस्थित क्याफटेरियामा बसेर चिया खाँदै गफिरहेका थियौं।

गफ गर्ने क्रममा एक जना साथीले भनिन् “हेर न हाम्रो बाबा ममीले समयमै काठमाडौंमा घर बनाइदेको भए कस्तो टेन्सन नै हुँदैन थियो” कस्तो हेप्छन् यहाँ मान्छेहरूले गाउँबाट आको भनेर” उसको कुरा सकिएपछि अर्कीले भनिन् ‘अ त यार अस्ति एउटा केटासँग च्याटमा कुरा हुँदा कस्तो हेपेर बोल्यो नि। ‘तिमी कहाँ बस्छौ?’ भनेर सोधेको थियो मैले स्वयम्भू भनेको अनि उसले त घरै हो त? होइन होला तिमी रूममा बस्छौ, मान्छे हेर्दै थाहा हुन्छ’ भनेर भन्यो। कस्तो चित्त दुख्यो तर केही भनिनँ।

यसरी पालै- पालो सबैले आफ्नो आफ्नो अनुभव र भोगाइ शेयर गरे।

सबैको एउटै कुरा थियो काठमाडौंमा घर नभएर हेपिखानु परेको।

आखिर हामी कुन युगमा बाँचिरहेका छौं? जहाँ जहाँ मानिसलाई ठाउँको आधारमा मूल्याङ्कन गरिन्छ, हेपिन्छ, उडाइन्छ।

हरेक वर्ष दसैं आउँछ र मानिसहरूको बाहिरिने क्रम सुरू हुन्छ, दसैंमा धेरै मानिसहरू आफ्नो जन्मस्थान गएर आफ्नो परिवारसँग दसैं मनाउने गर्छन्। त्यही क्रममा मानिसहरू एक-आपसमा सोध्ने गर्छन् “तिमी कैले जाने घर?, कि नजाने, गाउँ क्या गाउँ”।

अनि हजुर नि भनेर सोधेको प्रश्नमा हाम्रो त यही हो यहीको रहिथाने जस्ता अहमताले भरिएका उत्तर दिने गर्छन्। सुन्दाखेरी धेरै मान्छेलाई सामान्य लागे पनि यस्ता खाले भनाइ र सोधाइमा पूरा अहमता र घमण्ड भरिएको देखिन्छ।

यदि कोही-कसैले ख्याल गर्ने हिसाबले र सामान्य तरिकाले सोधेको भए खासै फरक पर्दैन थियो होला। तर पूरै हेपाह प्रवृति देखिन्छ मानिसको व्यवहारमा।

म बसमा यात्रा गरिरहेको बेलामा कलेज पढ्ने धेरै केटाकेटीहरू एक-आपसमा दसैंको बारेमा गफ गरिरहेका थिए। धेरै जनाको गुनासो थियो यात्रा गर्दा समस्या भोग्नुपर्ने।

त्यही बीचमा एक जना केटीले भनिन्- कस्तो हुन्छ होला गाउँ , कस्तो हुन्छ होला ठूलो बस चढ्दाको अनुभव?

अर्को केटीले प्रतिप्रश्न गरिन् “तिमी बस चढको छैन र? अनि भनिन्-छ तर लामो यात्रा गरेको छैन किनकी म यहीँ जन्मिएको हो।
उनको यो भनाइ सुन्दा सामान्य लाग्छ तर यसलाई गहिरिएर बुझ्दा घमन्डको कुरा छ।

यसरी मानिसको मानसिकता विकास भएको छ कि काठमाडौंमा जन्मिनु, हुर्किनु भनेको गर्वको विषय हो, राजधानी बाहिर जन्मिनु भनेको कमजोर हुनु हो।

केही समय अगाडि, हाम्रो साथीहरू बीचको अन्तर्क्रियात्मक कार्यक्रममा छलफल गर्ने विषय थियो- राजधानी बाहिरबाट आएर गर्नुपर्ने संघर्ष।

सबैले आ-आफ्नो राय समस्याहरू राखे। लगभग सबैको भोगाइ एउटै थियो। त्यही क्रममा कुनै एक जना साथी बोलिन्। उनीमात्र काठमाडौंमा जन्मिएको रहिछन्।

अरू साथीहरूको भोगाइमाथि कमेन्ट गर्दै भनिन्- उनलाई काठमाडौं बाहिर/ भित्र भनेको कुरा मन परेन रे किनकी उनी यही जन्मिएको, हुर्किएको रे, गाउँ भनेको के हो थाहा छैन रे, यस्तै यस्तै कुरा गर्दै जाँदा एउटा लेबलको कोल्ड वार नै चर्कियो।
पछि बुझ्दा उनको पनि पुर्ख्यौली थलो भने काठमाडौंबाहिर रहेछ।

यो उनको समस्या चिन्तनको थियो। उनको मानसिकतामा पनि आफू काठमाडौंमा जन्मेर हुर्किनुमा धेरै गर्वको कुरा हो भनेर गाडिएको रहेछ।

भनेपछि हाम्रो चिन्तन कस्तो छ त?

मैले चिनेको एक जना दिदी सानो पसल चलाउनु हुन्थ्यो र कुनै समयमा हाम्रो भेट भएको थियो उहाँको पसलमा।

हाम्रो कुराकानी चल्ने क्रममा उहाँले आफ्नो सपनाको कुरा गर्नुभयो जसरी भएनी काठमाडौंमा एउटा टहरो ठड्याउने।

मैले प्रश्न गरे किन र दिदी, भाइ बैनी राम्रोसँग पढिराको छन्, हजुरहरू स्वस्थ हुनुहुन्छ अनि हजुरहरूको गाउँमा घर जग्गा टन्नै छ, के समस्या भयो र?

अनि उहाँले भन्नुभयो कि- होइन नानी ठूलो समस्या छ। कुनैपनि हालतमा काठमाडौंमा घर बनाएर छोडछु नत्र मेरा छोरीलाई गतिलो र खान्दानी केटाले बिहे गर्दैन।

यो त एउटा उदाहरण मात्र हो यस्ता अनगिन्ती उदाहरणहरू छन् जहाँ मानिसहरू राजधानी बाहिरबाट आएर मरुन्जेल दु:ख गरेर काठमाडौंमा घर बनाउँछन् र आफ्नो जन्मस्थानको पूर्खाले जोडेको जग्गा भने बाझो राख्छन्। आखिर किन भैइरहेको छ त यस्तो?

के सहरमा बस्ने बित्तिकै मानिस ठूलो र सभ्य हुने अनि गाउँमा बस्ने बित्तिकै असभ्य हुने हो त?

धेरै मानिसहरू आफ्नो वास्तविक परिचय लुकाउँछन् र पूरै हिचकिचावाट ढंगले आफ्नो जन्मस्थान खुलाउँछन्।

मैले कुनै एक जना अभिनेत्रीको इन्टरभ्यू हेरेको थिएँ। इन्टरभ्यू लिने मान्छेले उनलाई कहाँ जन्मिनु भयो, बाल्यकाल कता र कसरी बिताउनु भयो भन्ने प्रश्नमा आफू काठमाडौंमै जन्मे हुर्केको भनेर डराइ-डराइ बताइन्।

पछि बुझ्दा उनी तराईमा जन्मिएर, हुर्किएर काठमाडौं आएकी रहिछन्।

आखिर के खराबी हुन्थ्यो त आफू जन्मिएको ठाउँ खुलस्त भनिदिँदा? उनको के दोष हुन्छ त तराईमा जन्मिनुमा?

यो त एउटा उदाहरण मात्र हो।

यस्ता धेरै सेलिब्रेटी छन् नेपालमा जसले आफ्नो जन्मस्थान सकेसम्म्म लुकाएर आफ्नो परिचय दिन्छन्। कमै सेलिब्रेटीले मात्र आफ्नो जन्मस्थान खुलेर बताउँछन्। किन हामी यस्तो आडम्बरी सोच लिएर बाँचिरहेका छौं?

स्वभाविक कुरा हो राजधानी सहरमा सेवा सुविधा धेरै हुने गर्दछन्। त्यसैले मानिसको आकर्षण बढ्नु स्वभाविक कुरा हो। तर किन यति ठूलो भेदभाव पूर्ण सोच कहाँबाट उत्पन्न भयो त?

के मानिसहरूको मानसिकता नै दरिद्र छ? आखिर किन त यति ठूलो ग्याप? काठमाडौंमा घर भएको भन्दैमा खत्रा भनेर लिने र काठमाडौं बाहिर घर छ र हाल काठमाडौंमा बस्ने भन्दैमा तल्लो स्तरको मान्छे भनेर सिधै धारणा बनाइदिने!

तथ्यांक हेर्दा काठमाडौंमा अधिकांश मानिसहरू राजाधानी बाहिरबाट आएका छन्।

विभिन्न सिलसिलामा राजधानी बसोबास गर्ने गर्छन्। कोही आफ्नो उज्ज्वल भविष्य सुनिश्चित गर्न, कोही व्यापार व्यवसाय गर्न, रोजगारीको खोजीमा, उच्च शिक्षा अध्ययनको सिलसिलामा। तर यो दौडाहामा मानिसले धेरै पीडा भोग्ने गर्छन्। काठमाडौंमा डेरा लिएर बस्नु नै एक किसिमको लडाइँ नै हो।

धेरै हेपाइ, बसेको घरमा अनगिन्ती असुविधासँगै मानसिक तनाव। महिनाभरि दु:ख गरेर कमाएको पैसा घरबेटीलाई बुझाउँदा पनि मानिस सुखले श्वास फेर्न पाइरहेका हुन्नन्।

झुक्किएर आफ्नो घर भन्यो भने त्यहाँ ठूलै काण्ड नै हुन्छ। न त कुनै पोलिसी नै छ घरबेटीको लागि यति भाडा लिन मिल्ने न त अरू कुरा नै।

बस्नु पर्ने बाध्यता हुन्छ मानिस बस्छन् घरबेटी मनलागी भाडा असुल्छन् र अमानवीय व्यवहार गर्छन्। अनि घर भाडा दिएकाले आफ्नो आम्दानी भएको र घर चलेको कुरा भने चटक्कै बिर्सिन्छन्।

प्राय: मानिसको लक्ष्य हुन्छ कि जसरी भए पनि काठमाडौंको जुन कुनामा भए पनि घर ठड्याउने। धेरै मानिसले काठमाडौंमा घर बनाएपछि आफ्नो पुर्खौली ठाउँलाई हेपेर बोल्ने गरेको पाइन्छ।

मानिसमा सदाचारिता, इमानदारिता, कर्तव्यनिष्ठा, बौद्धिकताजस्ता गुणहरू हुन् या नहुन् तर काठमाडौंमा घर बनाको छ भने त्यही कुरालाई मान्यता दिइन्छ।

अहिलेको बालबच्चामा पनि काठमाडौंमा बस्नु राम्रो कुरा हो र गाउँ भनेको नराम्रो हो भन्ने मानसिकता पाइन्छ।

धेरै नानीहरू गाउँ भनेपछि नाक खुम्च्याउँछन् र कोही गाउँबाट आएको बच्चा छ भने भिन्न व्यवहार गर्दछन्। जुन राम्रो होइन। यो नानीहरूको मात्र समस्या भने होइन। यो त हाम्रो हुर्काइको समस्या हो।

केही वर्ष अगाडि कुनै स्कुलमा अध्यापन गर्ने शिक्षिकाको त्यही स्कुलमा आफ्नो बच्चा पढाउने अभिभाकसँग ठूलो झगडा परेछ।
झगडाको कारण रहेछ- तिमी डेरामा बस्छौ भनेर अभिभावकले शिक्षिकालाई भनिदिएछन र उनले आफ्नो काठमाडौंमा ठूलो घर भएको र नबुझेर हेपेर बोलेको भनेर धेरै चित्त दुखाएर प्रिन्सिपलसग कम्प्लेन गरिछन्।

अभिभावकलाई बोलाएर उनी त इलाइट वर्गको, काठमाडौंमा ठूलो घर भएको मान्छे हुन् भनेर सम्झाएछन्। र सबैले कस्तो हेपेको भनेर अभिभावकलाई नराम्रो मानेछन्।

कतिपय मानिसहरू काठमाडौं बहिरबाट आएकोलाई पाखे,केही नजानेको भनेर हेप्छन्। यो एक किसिमको अन्याय होइन र?

स्वभावैले फरक -फरक ठाउँमा बस्ने मानिसको लवाइ, खवाइ, बोलीचालीको भाषा र रहनसहनमा भिन्नता आउँछ। कुनै मानिस एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दा उसले धेरै कुरामा अड्जस्टमेन्टमा गर्दा समस्या आउँछ।

रिसर्च हेर्दा के बुझिन्छ भने माइग्रेटेड मान्छे नै धेरै प्रोग्रेसिभ देखिन्छ।

राज्यले पनि राजधानीलाई मात्र फोकस नगरेर देशको सबै क्षेत्रको चौतर्फी विकासमा जोड दिने हो भने काठमाडौं यस्तो अस्त-ब्यस्त हुने थिएन। धेरै मानिसको काठमाडौं बस्नु रहर नभएर बाध्यता छ।

यसरी माथिका उदाहरणबाट के प्रस्ट हुन्छ भने काठमाडौंमा घर हुने मान्छे र नहुने मान्छेमा ठूलो ग्याप देखिन्छ।

कुनै पनि मानिसको जन्मस्थानले कुनै फरक पार्दैन। मान्छेले आफूले छानेर जन्मिने भने पक्कै होइन।

कोही मानिस विकट ठाउँमा जन्मिनु र सुगम ठाउँमा जन्मिनुमा कुनै दोष र खराबी हुन्न। काठमाडौं बाहिर जन्मिँदैमा नराम्रो मान्छे हुने र काठमाडौंमा जन्मिँदैमा राम्रो मान्छे हुने कदापी होइन। यो सब हाम्रो दरिद्र सोचको उपज हो।

हुन त राजाधानी सहरमा बस्ने र जन्मिएको भनेपछि अर्कै दृष्टिकोणले हेर्ने परिपाटी नेपालमा मात्र नभएर विश्वका अन्य देशमा पनि देखिन्छ। यदाकदा यो एउटा ग्लोबल समस्या हो तर नेपालमा जस्तो ‘तल्लो स्तर’को व्यवहार भने देखिँदैन। जो जहाँ जन्मिएको भएनी असल व्यवहार गर्ने कि!

तसर्थ आफू जन्मिएको ठाउँलाई नलुकाइ खुलस्त भएर बताउने कि? ठूलो भन्दा नि एउटा असल मानिस भएर सुखी जीवन बिताउने कि?

(यो लेखको आशय सबै मानिसले यस्तै व्यवहार गर्न खोज्छन् भने भन्न खोजेको होइन। धेरै मानिसको साझा समस्या, र कहिलेकाहीँ आफूले भोगेको भोगाइलाई लेखनमा उतार्ने जमर्को गरिएको हो। यहाँ कति मानिसहरू धेरै असल पनि छन्। त्यसकारण कोही कसैलाई व्यक्तिगत लिन भने खोजेको छैन।) -सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *