उबेलाका चार दसैं: अस्तित्वविहीन बने दुईवटा दसैं, किन हेर्नुस

९ कात्तिक, काठमाडौं । शारदीय नवरात्रलाई बडादसैं, विजयादशमी र काठमाडौं उपत्यकामा मोहनी भन्ने नामले चिन्ने गरिन्छ । धुमधामका साथ मनाउने शारदीय नवरात्रलाई बडा दसैं नै नाम किन राखियो होला ? यो दसैं ठूलो हो भने साना दसैंहरू कतिवटा होलान् ?

दसैंलाई चिनाउन काठमाडौंमा प्रयोग गरिने मोहनीको अर्थ प्रभाव पार्ने वा लठ्याउने काम हो । दसैंको नवरात्रमा विधिपूर्वक माटोको भाँडामा बत्ती बालेर कसैले पनि नदेख्ने गरी गोप्य तान्त्रिक विधिले पूजा गरेर त्यसको प्रसाद खाएपछि मान्छेलाई फलिफाप हुँदै जाने विश्वास गरिन्छ । त्यसैले पनि यसलाई मोहनी नाम राखिएको संस्कृतिविदहरु बताउँछन् । त्यही नौ दिनसम्म गोप्य राखेर गरिने पूजा नै मोहनी हो ।

चैत्र शुक्ल पक्षको १० दिन चैते दसैं भनेर मनाउने गरिन्छ । जुन शारदीय नवरात्रको तुलनामा अत्यन्त कम महत्वको पर्व हो । तर, यसरी नै कम महत्वपूर्ण हुँदाहुँदै अस्तित्वविहीन बनेका दुई वटा गुप्त नवरात्रका बारेमा भने धेरै बेखबर छन् । अहिलेसम्म पनि अत्यन्त नियममा रहने तान्त्रिकहरूले नियमित मनाउने गरे पनि सामान्य मान्छेमा यी दसैंहरु ‘एकादेशको कथा’ भइसकेका छन् ।

संस्कृतिविद् विनोदराज शर्माका अनुसार मध्यकालीन नेपालमा ४ किमिसको दसैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दसैंहरूमध्ये अहिले प्रचलनमा रहेको शारदीय र वसन्तीय नवरात्रबाहेक पनि आषाढ शुक्लमा मनाइने ग्रिष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र अहिले लोपोन्मुख अवस्थामा छ । तर यी सबै दसैंहरूको आ–आफ्नै विशेषताहरू छन् । जसमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् शर्मा बताउँछन् ।

अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेडाको प्रतीकको रूपमा चढाउने गरिन्छ

उनका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दसैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ ।

शर्मा भन्छन् ‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दसैं मनाउने गरेको प्रमाण दिन्छ ।’

पुष्पिका वाक्य भनेको कुनै पनि धार्मिक पुस्तकलाई हुबहु नक्कल गरिसकेपछि नक्कल गरेको मिति, नक्कल गर्ने व्यक्ति, गर्न लगाउने व्यक्ति, त्यतिबेलाको अवस्था र सामान्य सामाजिक घटनाक्रमको बारेमा लेख्ने चलन थियो । यसमा चारै किसिमको दसैंका बारेमा उल्लेख गरिएको शर्मा बताउँछन् ।

के–के हुन्छ चार दसैंमा फरक ?

मध्यकालमा मनाइने चारवटा दसैंका बीचमा ठूलो फरक नभए पनि त्यसको विधि र प्रक्रियामा भने केही भिन्नता देखिन्छ । अहिले जस्तो बाह्रमासे फलफूलको व्यवस्था त्यतिबेला थिएन । जसका कारण सिजन अनुसारको फलफूलको प्रयोग गर्ने, पूजा र बली चढाउने विधि आदिमा पनि चारै दसैंमा भिन्नता थियो ।

मध्यकालमा वर्णाश्रम व्यवस्थाको प्रचुर प्रयोग भएकोले दसैंलाई पनि भिन्नभिन्न वर्णअनुसार फरक–फरक विधिले मनाउने गरिएको थियो । शर्माका अनुसार असार महिनामा मनाइने नवरात्र विशेषगरी ब्राह्मणहरूको मौलिक विधि अनुसार मनाउने गरिन्थ्यो । यसको अर्थ ब्राह्मणले मात्र मनाउने दसैं नभएर बली दिने क्रममा ब्राह्मण विधिबाट दिने, पूजा शैली आदिलाई पनि ब्राह्मण विधिबाट मनाउने मनाउने गरिएको थियो ।

त्यस्तै, आश्विन शुक्ल पक्षमा मनाइने नवरात्र क्षत्रीय विधिबाट, शिशिरकालीन नवरात्र वैश्य विधिबाट र चैत्र शुक्लमा मनाइने नवरात्र शुद्र विधिबाट मनाउने गरिन्थ्यो । जस्तो– बली सबै नवरात्रमा दिने गरिन्थ्यो भने ब्राह्मण विधि अर्थात् असार महिनामा मनाइने नवरात्रको बलीमा तरबारको प्रयोग गरिँदैन’थ्यो । तर, शारदीय नवरात्रमा भने तरबारको प्रयोग अनिवार्य थियो ।

शर्माका अनुसार पूर्वराजा वीरेन्द्रका पालासम्म पनि गोरखामा शारदीय नवरात्रमा ब्राह्मण पुजारीलाई तरबारले बली दिन लगाइन्थ्यो । यसले शारदीय नवरात्रमा ब्राह्मणले पनि क्षत्रीय विधिबाट दसैं मनाउने गरेको पुष्टि हुने शर्मा बताउँछन् ।

सात्विक बली र तामसी बली

त्यतिबेलादेखि नै सात्विक बली र तामसी बली दिने चलन थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई चारै किसिमको दसैंमा बली दिने चलन रहेको बताउँछन् ।

‘अहिले पनि यो प्रचलन हराइसकेको छैन । तर, समयको हिसाबले शारदीय नवरात्र उपयुक्त समयमा भएकोले अरू दसैं विस्तारै छायाँमा पर्दै गयो’ उनी भन्छन् ।

बली पहिलेदेखि नै सात्विक र तामसी गरेर दुई किसिमको हुने गर्दथ्यो । सबै मान्छे मासु खाने नै हुँदैन थिए वा कतिपयले भाकल नै सात्विक बली दिने गर्दथे । अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेडाको प्रतीकको रूपमा चढाउने गरिन्छ ।

यी फलहरू पनि सधैंभरि नपाउने भएकाले फरक–फरक दसैंमा यसका विकल्पसमेत तोकिएको पाइन्छ ।

नवदूर्गाकै पूजा

चारवटै दसैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दसैंघरमा घटस्थापना गरेर जौ (कतै मकै र धान पनि थप गरेर) छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दसैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ ।

ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दसैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।
सुदर्शन अर्याल/अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *