यस्तो थियो सय वर्षअघिको नेपाल

सरदार भीमबहादुर पाँडे/काठमाडौं, कार्तिक १०

(१) नेपालमा हरेक दशकमा साना–ठूला केही न केही घतलाग्दा घटनाहरु घट्दै आएका छन्। तापनि १९७०–८० सालको बीच, खास गरेर १९७७ सालमा नेपालमा थुप्रै दूरगामी कूटनैतिक, राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनहरु भए। त्यतिञ्जेल ठोटरीको चालले चल्दैै आएको त्यस बेलाको राणा शासनमा केही आन्तरिक र केही बाह्य कारणवश १९७७ सालतिर भटाभट भएका नयाँ—नयाँ काम कुराहरु आजकलको परिप्रेक्ष्यमा हेर्ने हो भने मामुली देखिए तापनि त्यस बेला ती के–के न थिए।

१९७७ सालमा एकप्रकारले विश्वभरि नै ठूलो उथल–पुथल शुरु भयो। हाम्रो पडोसी भारतमा महात्मा गान्धीले भर्खर चम्पारनमा सूत्रपात गरेको ‘सत्याग्रह’ र ‘भद्र अवज्ञा आन्दोलन’ ले १९७७ सालताका देशभरि (अफगानिस्तानदेखि फ्रेञ्च–इण्डो–चाइनातक त्यस बेला ब्रिटिश राज्य लम्पसारिएको थियो) हलचल मच्चायो। भारतीय कारागारहरु हजारन सत्याग्राहीले भरिए। पञ्जाबको जालियाँबाला बाग काण्डमाथि थपियो खलिफात आन्दोलन। त्यतिञ्जेल भारतका हिन्दू–मुसलमानलाई लड्डु समान लडाएर झिल्ली झारी, मोज मार्न पल्केको अङ्ग्रेज सरकार १९७७ सालमा प्याकुस–प्याकुस पर्यो– हिन्दू र सुलमानमा, भिन्न कारणवश, अङ्ग्रेज विरुद्ध एक भएको त्यो मधुर मिलनको कारण। अघिअघि भारतीयहरुले स्वराज माग्नासाथ ब्रिटिश सरकारले ‘हिन्दू मुसलमान मिलेर आऊ अनि स्वराज दिने कुराको विचार गरौंला’ भन्ने गर्दथ्यो।

एक शब्दमा भन्ने हो भने १९७७ सालदेखि नेपालको दक्षिणमा गान्धी युग शुरु भयो भने हुन्छ– भारतप्रति विश्वको नै ध्यान आकर्षण गर्ने किसिमले। अहिंसाको भावनाले प्रेरित भारतीय राष्ट्रवादीले त्यस बखत विश्वको एक मात्र शिखर शक्ति कहलिएको साम्राज्यवादी ब्रिटेनलाई आच्छो–आच्छो पारे।

नेपालको उत्तरी छिमेकी चीनमा केहीवर्ष यता तारा समान उदाएका राष्ट्रपति डा सन यात सेनको चीनलाई एकीकरण गर्ने, उत्तर–दक्षिण चीनका सामन्ती वार लर्डलाई दमन गर्ने र चीनमा आन्तरिक स्थिरता ल्याउने अविरल प्रयास असफल साबित हुन थालेको १९७७ सालमा आजको नयाँ चीनको जन्मदाता साम्यवादी पार्टी उदायो। त्यतिको वर्षसम्म मस्त सुतेको चीन १९७७ सालमा उठ्यो भने हुन्छ।

Century masala 2
कुनै दिन भियना र मरक्कोदेखि पर्सियासम्म फैलिएको टर्कीका सुल्तानको साम्राज्य पहिलो महायुद्धपछि लुछाचुँडी मात्र भएन, अङ्ग्रेज र फ्रान्सले सुन्तानलाई पङ्गु बनाई, टर्कीलाई सखाप पार्न लागेको कारणवश १९७७ सालमा टर्कीमा कमाल पासा उदाए। टर्कीलाई आधुनिक राष्ट्र बनाउने अटाटर्कको लगातार सत्प्रयासले विश्वभर र खासगरी उपनिवेशी राष्ट्रका जनतामा भारी प्रभाव पा¥यो। विश्वभरका राष्ट्रवादीहरुका लागि अटाटर्क बने पथप्रदर्शक। उनको नाम जताततै खूब चल्यो। त्यस बखत दुई–तिहाइ विश्व साम्राज्यवादीको फन्दामा परेकोले टर्कीलाई त्यसबाट बचाउने अटाटर्क निर्धाहरुको लागि आशाका केन्द्रबिन्दु बन्नु स्वाभाविकै कुरा थियो। १९७७ सालपछि त धन्नै लेनिनकै जस्तो जताततै नाम चलेको थियो अटाटर्कको।

अफगानसँग धेरै कालतक लडाइँ गर्दागर्दा आजित खाएको ब्रिटिश सरकारले १९७७ सालमा उसको स्वतन्त्र अस्तित्व नाकका चालले स्वीकार गर्यो। अति अत्याधुनिक विचारधाराले प्रेरित अफगानिस्तानका राजा अमान्नुल्ला खाँले १९७७ सालदेखि टर्कीका कमालपासाको सिको सिकी, अफगानिस्तानलाई पनि एकाएक आधुनिकीकरण गर्न खोजे। तर प्रजा अशिक्षित र देश अविकसित भएकोले शाही विचारसँग उनीहरुको तालमेल नखाँदा अमान्नुल्ला खाँ नै हार खाएर पाखा लागे। भर्खर साम्यवादी भएको रुसको छिमेकी अफगानिस्तानमा साम्राज्यवादको अवतार समान त्यस बेलाको ब्रिटिश सरकारले प्रगतिशील विचार फैलन कहाँ दिन्थ्यो र?

त्यस बेला रुसलाई आजकलझैं विस्तारवादी, मानव अधिकार विरोधी र अनिष्ट राज्यको स्वरुप भनिंदैनथ्यो। बरु रुसमा साम्यवाद उदाइदिएकाले अब विश्वबाट साम्राज्यवाद घाम लागेपछि कुइरो हटेझैं हट्ने छाँटकाँट प्रष्ट देखेका उपनिवेशका बुद्धिजीवीहरुले साम्यवाद छिप्पिएपछि साम्राज्यवाद त के राष्ट्रवादै पनि बिलाएर जान्छ भन्ने त्यस ताकाको रुसी नारा पत्याएका थिए। १९७७ सालतिर विश्व दुई गुटमा विभाजित हुन थालेको थियो– साम्राज्यवाद र साम्यवाद।

१९७५ सालमा लेनिनले रुसमा ल्याएको साम्यवादको छायाँले १९७७ सालताका यूरोपै ढाक्लाढाक्लाजस्तो जगजगी भएको बेला इटालीमा बेनिटो मुसोलिनीले फासिष्ट पार्टी (तानाशाही दल) १९७७ सालमा गठन गरे– बढ्दो साम्यवादी खतराको मुकाविला गर्न। फासिजम जन्माउन र हुर्काउनमा साम्राज्यवादी राष्ट्रहरुको ठूलो हात थियो। उनीहरुकै कृपाले इटालीमा मुसोलिनी गजमगाए। मुसोलिनीकै पछिपछि ताँती लागेर आएका हुन् जर्मनीका हिटलर, स्पेनका जनरल फ्रेन्को र जापानका जनरल टोजोहरु। यी सबले शुरुशुरुमा साम्राज्यवादीहरुको ढाकछोप, लाडप्यार र पालन–पोषण पाए–साम्यवाद र साम्राज्यवाद औ पूँजीवादको बीच यी तानाशाहहरु अवश्य बलिया तरबार, ढाल र तगारा बन्लान् भन्ने आशाले।

पहिलो महायुद्धको विजेता ग्रेट ब्रिटेन त १९७७ सालतिर विश्वको एक मात्र शिखरशक्ति बनिसकेको थियो। यूरोपमा रुसलाई टाउको उठाउन नदिने र अमेरिकालाई एटलाण्टिक पारि नै मनरोडक्ट्रिनमा अलमल्याई आफू संसारभर निर्धक्क ढलीमली गर्ने र भाले बन्ने ब्रिटिश योजना पूर्णतया सफल भएकोले १९७७ सालतिर ब्रिटिश साम्राज्य विश्वभर फैलियो–त्यहाँ कहिल्यै पनि घाम नअस्ताउने गरी। फ्रेञ्चले इण्डो–चाइना, डचले सुमात्रा जामा र जापानले कोरिया र फर्मोसामाथि आधिपत्य झनझन् जमाउन थालेकाले १९७७ सालमा एशिया महाद्विपमा स्वतन्त्र गनिएका राष्ट्र थिए फगत छ वटा। तीमध्ये एक थियो हाम्रो नेपाल।

(२)
विश्वको यस्तो परिप्रेक्ष्यमा नेपालको परराष्ट्र नीति १९७७ सालतिर पूर्णतया भारते ब्रिटिश सरकारमुखी हुनु कुनै अस्वाभाविक र नौलो कुरो थिएन। त्यस ताका भारतका राष्ट्रवादी तङ्खवहरुले स्वराज माग्दा ब्रिटेनका मि. उथिन्ष्टन चर्चिलजस्त कट्टर दक्षिणपन्थी नेताले भारतीयहरुलाई ‘चन्द्रमा पाऊँ भनेर नरोऊ’ भन्ने रुखो, ठाडो र ओठे जवाफ दिन्थे।

भारतमा जतिजति स्वराजको माग गुञ्जिँदै र रुसमा साम्यवाद जम्दै गयो, उति अङ्ग्रेजहरुले आफ्ना छिमेकी राष्ट्र अफगानिस्तान, पर्सिया, सायम, चीन र नेपालप्रति नरम नीति र विशेष सम्बन्ध अपनाई हात लिन खोजे। आफ्नो आर्थिक र राजनीतिक अवस्था भनेजस्तो नहुँदा छिमेकीहरुसँग चोचोमोचो सबै यथार्थवादी राष्ट्रले मिलाउँदछन्। त्यसैले त्यस बेलाको भारत सरकारले पनि मिलायो– अरु साम्राज्यवादीभन्दा ब्रिटेन बढी व्यावहारिक यथार्थवादी र उदारवादीजस्तो हुँदा।

सन् १८१४ पछि एकप्रकारले विश्वको नै नेता बनी, कसैसँग खुसामत नगर्ने ब्रिटेनले १९७७ सालदेखि छिमेकीहरुसँग विशेष सम्बन्ध जोड्न थालेको थियो। यसको खास कारण थियो रुसमा साम्यवादको टिकावट। साम्यवाद जन्नासाथ निमठनामठ पार्न हद करकोशिश नभएको त हैन तर केही सीप लागेन।

पहिलो महायुद्धपछि साम्यवादी रुसको जगजगी एशियामा बढ्दै गएको, भारतमा स्वराज आन्दोलनले बिस्तारै जरा गाड्न थालेको र पहिलो महायुद्धमा नेपालले ब्रिटेनलाई बिर्सिनसक्नु गुन लगाएकोले १९७७ साल लाग्नेताका भारतको ब्रिटिश सरकारले सालिन्दा १० लाख कम्पनी रुपैयाँ अनुदान र एकमुष्ट भारु २१ लाख आर्थिक सहायता स्वरुप दिनुको साथै, १९७७ साल असोजमा भारतका जङ्गीलाठले श्री ३ महाराज चन्द्रशम्शेरलाई ‘हिज हाइनेस’ को नयाँ मान प्रदान गरे। त्यतिञ्जेल कास्की र लमजुङ्गका राजा, नेपालका श्री ३ महाराज र सुप्रिम कमाण्डर इन–चीफ कहलिएका चन्द्रशम्शेरलाई अङ्ग्रेजले ‘हिज हाइनेस’ को उपाधि प्रदान गर्दा उनको अहमको मात्रा बढ्नुको साथै उनले ‘सुनमा सुगन्ध’ थपिएजस्तै आनन्द अनुभव गरे।

वास्तवमा राणाजीहरुले स्वदेशीभन्दा विदेशी मान–मर्यादाको बढी खायस गर्दथे पनि– स्वदेशी मान–मर्यादा त लडेर आउने र विदेशी मान पाउनलाई करकोशिश गर्नुपर्ने हुँदा। विदेशी उपाधिहरु राणा प्रधानमन्त्रीहरूले पछिसम्म पनि आफ्ना प्रशस्तिमा उल्लेख गर्न छाडेका थिएनन्। त्यतिञ्जेल नेपालमा खालि ‘गोरखा दक्षिण बाहु’ र ‘नेपाल तारा’ दुई तक्मा मात्र रचिएका हुँदा तक्माका भोका शासकहरु स्वदेशी–विदेशी तक्मा पाएका जत्ति सबै भिर्दथे। राणाजीबाहेक अरुले उच्च खाले विदेशी तक्मा पाउन सम्भव पनि थिएन। पाइहाले भने पनि फोर्थ क्लास पाउँदथे।

तक्मा, हिज हाइनेसको मान र आर्थिक सहायता पाएको खुशियाली मनाउन १९७७ सालको कार्तिक (सन् १९२० नोभेम्बर २१) मा सिंहदरबारमा जक्खू ‘दरबार’ को आयोजना गरियो। त्यसमा हालै ब्रिटेनले श्री ३ चन्द्रलाई प्रदान गरेको ‘हिज हाइनेस’ को इज्जत र तक्माको साथै पहिला महायुद्धमा भाग लिने नेपालका जङ्गी निजामती कर्मचारीलाई काठमाडौंस्थित बडासाहेब (ब्रिटिश) रेसिडेण्टले तक्मा प्रदान गरे।

त्यो जक्खू आर्थिक सहायता, नेपालको लागि हिज हाइनेसको इज्जत र तक्माभन्दा धेरै गुना महत्वपूर्ण भए तापनि समारोहमा ग्राह्यता पायो– ‘हिज हाइनेस’ भन्ने इज्जत र तक्मा प्रदानले। वास्तवमा यो विशेष दरकार भएको थियो ‘हिज हाइनेस’ भन्ने मानको खातिर मान र तक्माको प्रदान समारोह मनाउन। त्यसपछि नेपालका राणा प्रधानमन्त्रीले ‘हिज हाइनेस्’ को दर्जालाई विशेष स्थान दिन थाले। सबै राणा प्रधानमन्त्रीहरु ‘हिज हाइनेस’ भनिन्थे।

त्यस बखत नेपालको कूटनीतिक सम्बन्ध जगाउने एक सजिलो साधन गनिएको थियो शिकार। त्यसैले भारतका ठूलाठूला अङ्ग्रेजहरु नेपालमा शिकार नखेलाई फर्काइँदैनथे। राणाकालमा नेपालको सफल परराष्ट्र नीति नै जसरी भए पनि भारतको अङ्ग्रेज सरकारलाई राजीखुशी राख्ने र हात लिने हुँदा उच्च स्तरीय अङ्ग्रेजको नेपाल–तराईको शिकारलाई अति भव्यतापूर्वक सम्पन्न गरिन्थ्यो। मेचीदेखि महाकालीसम्म फैलिएको एकनासको घना चारकोसेको जङ्गल त्यस बेला थियो भरिभराउ– जातजातका रुख र जङ्गली जनावरले। त्यसैले आजकलको पर्वतारोहणजस्तै विदेशीहरुलाई लोभ लाग्दो थियो चारकोसे झाडीको शिकार। त्यहाँ पाटे बाघ, गैंडा, हात्ती, गौरीगाई, बँदेल, गोही, जरायो, कृष्णसार, भालु, चितुवा, चित्तल, मृग, अजिङ्गर इत्यादि जनावर जत्ति भने पनि पाइन्थे। आजकलको हिमालजस्तै नामी थियो त्यस बखतको हाम्रो चारकोसे झाडी। कुनै बेला त्यो चारकोसे झाडी गनिएको थियो नेपालको मजबुत किल्ला र जङ्गली जनावरको खानी।

शिकारकै सिलसिलामा १९६८ सालमा भारतका बादशाह पञ्चम जर्जलाई नेपालको चितवनमा शिकार खेल्न निम्त्याइयो। १९६८ सालको चितवनको शाही शिकार र १९७७ सालको सिंहदरबारको ‘विशेष दरबार’ ले नेपाल ब्रिटेनलाई निकै निकटतम पारे। १९७८ सालमा ब्रिटेनका युवराज (प्रिन्स अफ वेल्स, पछि एड्वार्ड अष्टौँ र ड्युक अफ उण्डरसर) नेपालमा शिकार खेल्न निम्त्याइए– नेपाल–ब्रिटेन सम्बन्ध झन् गाढा पार्ने प्रक्रियामा नयाँ आयाम थप्न।

भर्खर नेपोलियनलाई हराएको ब्रिटिश सरकारसँग मुख्तियार भीमसेन थापाले सन् १९१४ मा गाँठी न गुठी सेखी गर्दा एक–तिहाई नेपाल गुमेको कटु सत्यसँग राम्रो परिचित प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरले पहिले महायुद्ध विजयी अङ्ग्रेज सरकारसँग १९७७ सालतिर अति राम्रो सम्बन्ध जोडी आफ्नो र नेपालको दुनो सोझ्याउन खोज्नु कुनै अनुचित र अस्वाभाविक कुरा थिएन। त्यसैले १८७३ सालदेखि नेपाल–भारतबीच जम्दै आएको त्यो विशेष सम्बन्ध श्री ३ चन्द्रशम्शेरको पालामा चरमचोटिमा पुगेको हो। राणा सरकारले यसलाई ठूलो उपलब्धि सम्झेको थियो।

१९७७ सालतिर नेपालको उत्तरको छिमेकी चीन नाजुक पल्टेको बेला दक्षिणको बलवान् पडोसीसँग विशेष सम्बन्ध जोड्नुसिवाय नेपाललाई अर्को विकल्प पो के थियो र? बलवान् छिमेकीसँग सुमधुर विशेष सम्बन्ध कायम गर्नु औसरवाद हैन, यथार्थता हो। त्यस नीतिबाट राष्ट्रिय स्वार्थको साथै आफ्नो पारिवारिक स्वार्थ पनि पूरै साँधिने हुँदा राणा सरकारले त्यसको अक्षरशः पालना गरेको थियो। एक सय चार वर्षसम्म नेपालमा जहानियाँ शासन टिक्नाको खास कारण पनि यही विशेष सम्बन्धपूर्ण परराष्ट्र नीतिको अक्षरशः पालन हो भन्ने कुरा निर्विवाद छ। त्यसबखत राणाजीहरुले राष्ट्रिय स्वार्थसँग पारिवारिक स्वार्थ गाँसेका थिए। भारतमा अङ्ग्रेजको राज र नेपालमा राणा व्यवस्था जीवित रहँदासम्म त्यो विशेष सम्बन्ध खुस्केन। १९७७ सालतिर त त्यो झन् बेस्कन मिस्क्यो।

(३)
नेपालको परराष्ट्र सम्बन्धमा त्यसरी गहन सफलता हासिल गरेका श्री ३ चन्द्रशम्शेरको ध्याउन्न १९७७ को आखिरतिर नेपालमा राजनीतिक सुधार ल्याउने दिशातिर गयो। ‘शैयाँ भए कोतवाला अब डर काहे को’ भन्ने धारणाले प्रेरित श्री ३ चन्द्रले अब नेपालमा ठूला–साना सबलाई अँठ्याउन र निमठनामठ पार्न थाले। अरुको त के कुरा आफ्नो सगोत्री दाजुभाइको पनि तेजोबध गर्ने हेतुले १९७७ सालमा राणाजीको नयाँ रोल व्यवस्था बसाले। त्यो रोल बाँधिदा लामो धर्मपत्रमा सबै रोलवालालाई सही गराइयो।

सबैजसो राणाजीका दरबारमा त्यस बखत घुमथाङ, लिस्ती, हेलम्बु र काठमाडौँका राम्राराम्रा ठिटीहरुलाई मासिक रुपियाँ तलब दिएर सुसारे राखिने चलन हुँदा, धेरैजसो राणाजीका एकाध रानी, केही भित्रिनी र प्रशस्त नानीहरु हुन्थे। त्यसबखत परिवार नियोजनको खाँचो र साधन दुवै नहुँदा राणाजीहरुको भित्रिनीहरुबाट सालसालै अनेक जायजन्म हुने नै भए। त्यसैले गर्दा राणा परिवार सालसालै झ्याङ्गिदै मात्र गएन्, ल्याइतापट्ठिका ठिमाहा राणाजीहरुले व्याहितापट्टि झर्रालाई ढाक्लान्–ढाक्लान्जस्तो जगजगी भयो। यसरी मौलिन थालेका यी ल्याइतापट्टिका राणाजीको रोललाई बेलैमा नछिमले समयान्तरमा ती झन् फैलिई झर्रा राणाजीहरुको प्रधानमन्त्री हुने रोल टुङ्गिएला र बिथोलिएला भन्ने आशङ्काले श्री ३ चन्द्रले १९७७ सालमा राणा परिवारलाई तीन समूहमा विभाजन गरे।

त्यो विभाजन नेपालको इतिहासमा ए, बी, सी को नामले प्रख्यात छ। धीरशम्शेर कुँवर राणाका सत्र भाइ छोरा थिए। रोलवाला राणाजीका विवाहिता स्वास्नीपट्टिका सन्तान जति ‘ए’ मा, अरु झर्रा राणाजीका सन्तान ‘बी’ मा र ल्यातेपट्टिका सबै राणाजीका सन्तान परे ‘सी’ क्लासमा। श्री ३ वीरशम्शेरको पालामा बाँधिएको रोल यथावत् रह्यो– त्यसमा अविवाहितापट्टिका सत्र भाइ राणाजीहरुलाई पनि विवाहितापट्टिका जस्तै गरी रोलमा चढाएको भए तापनि समयान्तरमा सरदार रणजित कुँवरका सन्तानले आफ्नो कुँवर थर छाडी राणा लेख्न थाले।

राणाजीको यसरी रोल बाँधिएको यो पहिलो पटक त थिएन। १९२४ र १९४२ मा पनि राणाजीको रोलमा थोर–बहुत परिवर्तन भएथ्यो। उहिले ठिमाहा पनि रोलमा चढेथे। १९७७ मा अकाट्य मानिएको त्यो राणाजीको रोलले १९४२ सालको रोललाई कायमै गरे तापनि अब उप्रान्त अविवाहिता सत्र भाइका सन्तान र अरु ‘बी’ क्लासका राणाजीहरुको नेपालमा प्रधानमन्त्री भई मोज गर्ने आशा सदाको लागि टुङ्गिएको मात्र हैन, सत्र भाइ राणाजीको बीच पनि ठूलो मनोमालिन्य शुरु भयो।

छोटकारीमा भन्ने हो भने राणाजीको त्यो १९७७ सालको ए, बी र सी क्लास विभाजन बन्यो यदुवंशको मुसल समान। नयाँ रोलमा चित्त नबुझ्ने सत्र भाइ राणाजीहरु भित्रभित्रै मुरमुरिन थाले, बाहिर जतिसुकै दबिएका जस्ता देखिए तापनि। राणाजी–राणाजी बीच यसरी जमेको गुटबन्दी १९८६, १९९० र २००७ सालमा नराम्रोसँग फुट्यो। श्री भीमशम्शेरले प्रधानमन्त्री भएकै दिन श्री ३ चन्द्रले बाँधेको त्यो रोल नियमको उल्लङ्घन गरे।

दोष थियो राणा व्यवस्थामा, राणा परिवारमा हैन। व्यवस्था यथावत् राखेर, रोलमा मात्र यताउता थपघट गर्दैमा राणाजीहरुमा पारिवारिक झमेला पछिसम्म सुल्झेन। फुटेको हाँडी जेजस्तो गरे पनि जोडिन्न भनेझैँ, चित्त फाटेका कति सहोदर दाजुभाइहरु बाहिर मिलेजस्ता देखिए पनि भित्रभित्र तिनीहरुमा भारी बेमेल हुन्छ। त्यसमाथि पनि रोलमा आधारित राणा व्यवस्थामा अर्थात् दाजु मरेपछि मात्र भाइको दुनो सोझिने नियम हुँदा दाजुभाइमा वैमनस्य हुने नै भयो।

आफ्ना जल्दाबल्दा भाइभतिजालाई त त्यसरी अवाक् पार्ने श्री ३ चन्द्रशम्शेरले चुने रैतीलाई के बाँकी राख्दथे। १९७७ सालमा नासु कृष्णलाल अधिकारी ‘मकैको खेती’ भन्ने पुस्तक लेखेबापत नौ वर्ष जेल परे। बिचराको प्राणपखेरु जेलमै गयो। सो पुस्तकको पाण्डुलिपि पढ्ने गुरुज्यू दुर्गानाथ अधिकारी, आँशुकवि शम्भुप्रसादसहित अरु सात जनाको जागीर गयो। त्यस्तो पुस्तक लेखिन लागेको छ भन्ने थाहा पाएर पनि बेलैमा प्रधानमन्त्रीलाई सूचना नदिएबापत छापाखानाका हाकिम श्री उपेन्द्रबहादुर बस्नेत पनि खोसिए। नक्साल भगवती बहालमा छापिएको ‘मकैको खेती’ का दुई प्रतिबाहेक अरु पुस्तक प्रेसमै जलाइए– ‘न रहे बाँस न बजे बाँसुरी’ गर्नलाई।

‘मकैको खेती’ को मजबुन थियो ‘बेलाइती कुकुर मजासँग दूधभात खाने, त्यसलाई न्यानो डसनामा सुताउनु पर्ने, साबुनले नुहाई दिनुपर्ने, तर भोटे कुकुर, जसले बाघ, भालु, स्याल, बाँदर सबलाई धपाइदिन्छ, मकै खान दिँदैन, त्यसकारण चन्द्रोदयको बेलामा नेपालमा बेलाइती कुकुर नरहोस्, भोटे कुकुर चाहिन्छ, भोटे कुकुरलाई साग, सिस्नो, ढिँडो दिए हुन्छ’ भन्ने। यो थियो त्यस बेलाको नेपाली राष्ट्रवादको सानो झलक।

यस्तो मामुली लेखिएको ‘मकैको खेती’ को अर्थको अनर्थ लगाई त्यो काण्ड त्यसरी चर्कनाको ठोस कारण थियो नासु कृष्णलाल अधिकारीले भित्रीसञ्चो बनारसमा बस्ने श्री कृष्णप्रसाद कोइरालासँग सम्पर्क राखेका छन् भनी प्रधानमन्त्रीको जुनाफमा परेको गोप्य रिपोर्ट र गुरुज्यू दुर्गानाथ अधिकारी र माहिला गुरुज्यू हेमराज पाण्डेबीचको भारी बेमेल। यी दुई गुरुज्यूहरु थिए दरबारिया औ पूर्विया र कुमाई ब्राह्मण।

नेपालमा दरबारियाको बीच पेचापेच हुनु त स्वाभाविक र परम्परागत कुरा थियो। वास्तवमा अर्काको कुरा लगाएर आफू स्वाँगिला हुनु नै त्यस बखत दरबारियाहरुको मूल ताक र महामन्त्र हुन्थ्यो। त्यस्ता दरबारियाहरुले अर्काको कुरा पाएनन् भने आफन्तकै कुरा पनि मालिकलाई लगाउँथे– आफू स्वाँगिलो हुन, आफ्नो दुनो सोझ्याउन र प्रतिद्वन्द्वीलाई पछार्न। उच–नीच, साना–ठूला, केही न केही कुराले रोजिन्दा मालिकको कान भर्नु दरबारियाहरुको खास काम र कर्तव्य ठहरिन्थ्यो। राणा प्रधानमन्त्रीका दरबारमा प्रशस्त यस्ता दरबारिया हुन्थे। यिनैको पेचापेचमा परे बिचरा ‘मकैको खेती’ लेख्ने नासु कृष्णलाल, १९७७ सालमा।

१९७७ सालतिर भारतमा बेतोडले चलेको सत्याग्रह आन्दोलनको खबर अन्तर–कुन्तरबाट कताकति नेपालभित्र पनि पस्दथ्यो। काशीमा डेराडण्डा गरी बसेका सु. देवीप्रसाद सापकोटा, ख. कृष्णप्रसाद कोइराला, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र देहरादूनका ठाकुरचन्दन सिंहहरुले राणा सरकारको विरोधमा लेखे, बोलेका र कलकत्तामा अध्ययन गरिरहेका नेपाली छात्र तुलसीमान सिंह र उनको साथीहरुले एनिबेसिन्टलाई भेटी थियोसोफिक्ल मत लिएका र विद्यार्थी सङ्गठन गरेका कुरा १९७७ सालतिर काशी र कलकत्ता जानेहरूले बोकेर नेपाल ल्याउँदथे। तर तिनीहरु कसैको केही प्रभाव नेपालभित्र परेको थिएन।

न त थियो कसैको हिम्मत, त्यस्ता नयाँनयाँ राजनैतिक विचार नेपालभित्र व्यक्त गर्ने–प्रचार गर्ने त कुरै पर जाओस्। नेपालमा आर्यसमाज मत प्रचार गर्नेहरुलाई खोइरो खनिएकोले यहाँ टिकिनसक्नु भई श्री तुलसी मेहर १९७७ सालमा सावरमतीस्थित महात्मा गान्धीको आश्रममा पुगी उनको चेला बने (सर्वप्रथम श्री ३ वीरशम्शेरको पालामा श्री माधवराज जोशी–शहीद शुक्रराजका पिता) ले नेपालमा प्रचार गरेका थिए आर्य–समाज मत। उनैका एक चेला थिए तुलसी मेहर।

(४)
राजनीतिबाट जनताको ध्यान अन्यत्र खिच्ने अनेक उपाय छन्– देशमा धार्मिक भावनाको प्रचार, नयाँनयाँ खेलकुद, रसरङ्गको थालनी, साना–तिना सामाजिक र आर्थिक सुधार, आफू लत्रेर विदेशीसँग बाँधिने साँठोगाँठो र देश विकास गर्ने निहुँले चलाएका खोक्रा–थोत्रा देखालु प्रचार। आफ्नो आसन सुरक्षित ठानेका श्री ३ चन्द्रशम्शेरको ध्यान अरु सुधारभन्दा प्रायः चाँडो, थोरै खर्च र सजिलै सम्पन्न हुन सक्ने सामाजिक सुधारपट्टि १९७७ सालमा गयो– बलियो शासकलाई अवाञ्छनीय सामाजिक कुरीतिहरु हटाउन उस्तो गाह्रो नपर्ने हुँदा।

त्यसैले श्री ३ चन्द्रले १९७७ साल अषाढ २५ गते नेपालमा अति प्राचीन सतीप्रथाको उन्मूलन गरे। परम्परा, धर्म र सती सावित्रीजस्ता नारीको आदर्शले प्रेरित नेपाली महिलाहरु आफ्ना खसमको शवको साथै पोलिने पुरानो चलनअनुरुप केही नेपालका महिषी–रजाराजेश्वरीहरु र श्री ३ जङ्गबहादुरका रानीहरु पनि सती गएथे।

अघिअघिजस्तो धार्मिक भावनाले सती जाने चलन पछिपछि घट्न गए तापनि लोकापवादबाट बँच्न र परम्परा थाम्न नेपालमा एकाध नारीहरु पछिपछिसम्म पनि फाटफुट सती जाँदै थिए। तर कालान्तरमा निःसन्तान विधवाहरुको अंश र धन सम्पत्ति हत्याउने दाउले केही निरङ्कुश हकवालाहरुले उनीहरुलाई आफ्नो खसम मरेपछि बलजफत बाँधछाँद गरी शवको साथै सती पठाउने निर्घिनी चलन नेपालमा चल्न थालेकाले त्यो सती प्रथाको उन्मूलनको १९७७ सालमा देशभरि स्वागत भयो।

सती प्रथाको उन्मूलन लगत्तै श्री ३ चन्द्रशम्शेरले आँटे नेपालमा त्यस बेला खूब प्रचलित अर्को अमानुषिक सामाजिक कुरीति– करियामोचन गर्न। नेपालमा कति दास–दासी, तिनका छोरा–छोरी र मालिक छन् भन्ने कुराको यकिन गर्नलाई १९७७ सालमा नेपालमा अधिराज्यव्यापी जनगणना भएको थियो। तर त्यसमा दासदासीहरुको छुट्टै लगत बनेको थिएन। देशमा कुनै नयाँ ठूलो काम गर्नुअघि निकै सोच–विचार गर्ने श्री ३ चन्द्रशम्शेरको तरिका थियो। वास्तवमा जनमत बुझ्नलाई उनले १९७७ सालमा त्यो देश–व्यापी करियाको लगत लिएका थिए।

१९७७ सालमा घटेका अरु साना–ठूला सामाजिक घटनामध्ये एक थियो १३ वर्षका श्री ३ त्रिभुवनलाई युवराजाधिकार महेन्द्रको पैदा। अघिअघि नेपालका राजाहरुका कम्तीमा पनि दुई–तीन विवाहित रानी हुन्थे उमेर पुगेपछि। गर्दागर्दा पछि श्री ५ युवराजधिराजको कलिलै उमेरमा एकैचोटि दुइवटी रानीसँग विवाह गर्ने चलन बस्यो। त्यसमाथि पनि राणाकालमा श्री ५ युवराजधिराजहरुलाई त बाल्यकालमै विवाह गराएर आमोद–प्रमोदमा चुर्लुम्म डुबाइदिने चलन चल्यो। यही क्रमअनुरुप १२ वर्षको उमेरमा भारतका दुई राजकुमारीसँग एकैचोटि विवाह भएका श्री ५ त्रिभुवनलाई १३ वर्षको उमेरमा जेठी बडामहारानी कान्ति राज्येश्वरीबाट १९७७ सालमा युवराजाधिराज श्री ५ महेन्द्र पैदा भइबक्सियो।

(५)
यस्ता सीमित सामाजिक सुधारको साथसाथै १९७७ सालदेखि श्री ३ चन्द्रले थाले, नेपालको राजस्व बढाउने ध्येयले केही आर्थिक सुधारहरु गर्न। नेपाल तराईका नाका–नाकामा सीमावर्ती स्थानलाई गुल्जार गर्ने र बढी विदेशी सामान पैठारी गरी भन्सारबाट राजस्व बढाउने हेतुले श्री ३ चन्द्रशम्शेरले १९७७ सालतिर ठाउँठाउँमा धेरै ठेक्का–बजार अड्डाहरु थपी, बढी भारतीयलाई बन्दव्यापार गर्न तराईभित्र पस्न दिए। यस नयाँ कदमले प्रशस्त रङ्गीचङ्गी भारतीय मालसामान मात्र अटाई–नअटाई नेपालभित्र पसेनन्, भारतीय व्यापारीहरु पनि बजार गुल्जार गर्ने बहानाले नेपालभित्र घुसे र नेपालको अर्थतन्त्रमा यसबाट भारी अवाञ्छनीय असर पर्यो–खास गरेर नेपाल तराईको व्यापार विदेशीको हात पर्नाले।

नेपालको एकलौटी व्यापारको स्वाद पाएका भारतीयहरु त्यसपछि जुकाझैं नेपालमा टाँसिएर बसेकाबस्यै गरे। १९७७ सालदेखि ठेक्का–भन्सार प्रथा खूब चलेकोेले नेपालको पैठारीको साथै भन्सार अड्डाको सङ्ख्या बढ्यो। यो लोभलाग्दो पैठारी भन्सारको आयले खायो नेपालको चिरकालदेखि चल्दै आएको आर्थिक आत्मनिर्भरता। पैठारी बढेको कारणले नै ठेकेदारहरुले बढी अड्ढमा बजारको ठेक्का कबुल गर्न थाले। अनि त आयात व्यापार झन् बढ्यो। आयात व्यापार बढाई भन्सारको राजस्व कुम्ल्याउने धीत र टक बसेपछि त्यो सितिमिति जाँदैन।

त्यो ठेक्का–बजार अड्डाको गठन, भारतीय आप्रवासीहरुको नेपाल तराईभित्र अनियन्त्रित प्रवेश र विदेशी सामानको पैठारीले नेपालको घरेलु उद्योगलाई त तवाह नै पार्यो। अति सस्तो र राम्रो विदेशी सामानको प्रतिस्पर्धामा नेपाली घरेलु सामान टिक्न नसक्ने अवस्थामा १९७७ सालतिर पुगे।

वास्तवमा नेपालको आर्थिक अधोगति शुरु भएको १९७७ सालदेखि भने हुन्छ। श्री ३ वीरशम्शेरको पालादेखि केही विलासी सामान समुद्रपारबाट माथिल्ला तहमा पैठारी हुन थालेका थिए भने श्री ३ चन्द्रका पालामा नेपालभित्र अटाई–नअटाई पसेका ती असङ्ख्य विदेशी उपभोग्य सामानले नेपाली घरेलु उद्योगको जगलाई नै खलबल्याए– भन्सारबाट राजस्व जति बढे पनि। बढ्दो त्यो राजस्व विकासको भरपर्दो साधन र स्रोत।

आपत् र विपत् एक्लै आउन्नन् भन्ने उक्ति चरितार्थ गर्नलाई १९७७ सालातिर नेपालमा अर्को आर्थिक फाटो नेपाललाई आइलाग्यो। १९७१–१९७५ सालतक यूरोपको महायुद्धमा लड्न गएका गोर्खाली पल्टनका २ लाख जति फौजी जवान लडाइँ सकिएपछि १९७७ तिर डफ्फाका डफ्फा घर बिदामा नेपाल फर्कंदा उनीहरुले आफ्नो साथमा विशाल धनराशि (अन्दाजी रु १३०० लाख) मात्र ल्याएनन्, विदेशी बानी–व्यहोरा, लवाइ–खवाइ, चाल–चलन पनि बोकेर आए– हाम्रो ग्रामीण जीवनमा अति आवञ्छनीय असर पार्ने गरी।

यसरी यतिका नेपालीहरु समुद्रपार गएको त्यो पहिलोबाजि थियो। कुखुराको पोथीले ओथरा बस्दा आफ्नो फूललाई ढपक्क ढाकेझैं, नेपाल अधिराज्यलाई छोपी विदेशीसँग कुनै सम्पर्क हुन नदिने राणा सरकारले त्यतिका नेपालीलाई त्यो महायुद्धमा सरिक हुन पठाउँदा ठूलै आँट गरेको र जोखिम उठाएकोजस्तो देखिन्थ्यो।

एकैचोटि विदेशबाट ओइरिएको त्यो ठूलो धनले नेपालभित्र उत्पादन बढाउनुको सट्टा विदेशी सस्ता र राम्रा खालका सामानको पो खपत अनगिन्ती बढाएकोले स्वदेशिएको नेपालीको त्यो आर्जन जुन बाटो आएथ्यो, त्यही बाटो विदेशियो–तत्कालीन सरकारको आर्थिक दुरदर्शितामा कीरा पर्नाले। स्वदेशिएको ठूलो विदेशी धन देशभित्र उत्पादन बढाउने काममा लगाइएन भने, आयात व्यापार बढेपछि सितिमिति घट्दैन भन्ने ख्याल राख्नपर्दथ्यो राणा सरकारले, सो रहेन।

१९७७ सालअघि नेपालको आयतभन्दा निर्यात धेरै बढी थियो। धेरैजसो नेपालीको दैनिक जीवनलाई आवश्यक खाद्यान्न, लत्ता–कपडा र अरु सरसामान नेपाल अधिराज्यभित्रै तयार हुन्थे। घरेलु उद्योग त्यतिञ्जेल मरिनसकेका, औकात नाघेर खाने–लगाउने चलन नेपालीहरुमा चलिनसकेकाले र अन्न, काठ, जरीबुटीहरु नेपालबाट प्रशस्त निकासी हुने हुँदा नेपाल सम्पन्न थियो। बढ्दो पैठारीले गर्दा १९७७ सालदेखि बिस्तारै गरीब हुन थालेको नेपाल समयान्तरमा झन्झन् गरीब पल्टँदै गयो– झनझन् बढी नेपालीहरुलाई गरीबीको रेखामुनि धकेल्दै र झनझन् आयात व्यापार बढाउँदै।

१९७७ सालदेखि नेपालका दक्षिण र उत्तरका छिमेकमा नयाँ विचारधाराको उदय, यूरोपमा फासिजमको जन्म, भारतको ब्रिटिश सरकारबाट आफ्नो छिमेकी राष्ट्र अफगानिस्तान र नेपालप्रति नरम परराष्ट्र नीतिको शुरुवात, परापूर्वकालदेखि चल्दै आएका केही सामाजिक कुरीतिको उन्मूलनको थालनी, चौहत्तर वर्षदेखि चल्दै आएको राणा परिवार तीन वर्गमा विभाजन, देशभित्र नयाँनयाँ विचारको प्रकाशनमा जबरजस्त नियन्त्रण, राजस्व बढाउने र बजार गुल्जार गर्ने उद्देश्यले विदेशी व्यापारीको नेपाल तराईभित्र बढी प्रवेश, पैठारी व्यापारको विस्तार र भन्सारबाट राजस्वको ठूलो वृद्धि, घरेलु उद्योग, सीप र इलमको पतन र अनियन्त्रित पैठारीले नेपाल परोमुखी हुन सुरुवात, विदेशबाट एकाएक आएको ठूलो धनराशिको नेपालभित्र सदुपयोग हुन नसकेको र भारतको अङ्ग्रेज सरकारसँग नेपालको विशेष सम्बन्ध झन् बढेको कारण नेपालको राणा सरकार बढी निरङ्कुश पल्टी उसका राजा–प्रजा दुवै थरीउपर दबाब झनझन् बढ्न शुरु भएकोले त्यस साललाई पानीसरो भनिएको हो।

त्यस सालभित्र जति धेरै धार्मिक, सामाजिक, वैदेशिक, आर्थिक र राजनैतिक परिवर्तन अघि कहिले पनि नेपालमा भएनन्। यसो हेर्दा १९७७ सालका यी परिवर्तनहरु आजको परिप्रेक्ष्यमा मामुली देखिए तापनि, त्यस बेलाको नेपालको राष्ट्रिय जनजीवनमा यसले निकै गहिरो प्रत्यक्ष र परोक्ष छाप पारेको थियो।

(आजभन्दा ठिक सय वर्षअघि वि.सं. १९७७ सालतिर नेपाल कस्तो थियो? नेपाल र यस क्षेत्रको भूराजनीति र समाज व्यवस्था कस्तो थियो। अहिलेको पुस्ताको यी जिज्ञासामा सहयोगी हुने यो सामग्री हामीले सरदार भीमबहादुर पाँडेको संस्मरणात्मक पुस्तक ‘त्यस बखतको नेपाल– राणाकालिन आखिरी तीन दशक’ बाट लिएका हौं।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *