दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि गाउँ ‘सिल’

कात्तिक ११, बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए ।

क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

ती युवक एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए । बजार आएर होम क्वारेन्टिन बसेर केही दिनअघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए ।

तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिइ आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित सिल गरिएको काठेखोला ३ धम्जाका वडा अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

स्वाब दिएपछि कुनै लक्षण नभएकाले उनी गाउँमा परिवारका साथ दसैं मनाउन र साथीसंगीसँग गाउँघरका खेलकुदलगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा ५ जना भन्दा बढी भेटघाट, भेला र आवत जावत गर्न नपाउने निर्णय गरेको छ ।

अध्यक्ष श्रीसका अनुसार, मंगलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे सम्म लागू हुनेगरी दूध, निर्माण सामग्री, खाद्यान्नको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात, मोटरसाइकल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

वडा कार्यालयले यस अवधिमा गाउँबासीलाई घरमै सुरक्षितरुपमा बस्न आग्रह गरेको छ । यस वडामा हाल सम्म भारत लगायतका ठाउँबाट आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेकपा नेता चौधरीको कोरोनाबाट मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको मङ्गलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए ।

ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएका चौधरीको स्वास्थ्य समस्या वढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । जहाँ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

बिहारी चौधरी र माहिल्यवती चौधरीको छोराका रुपमा २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका चौधरीका ५ छोरा र १ छोरी छन् । चौधरीले नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गरेका थिए । एसएलसीसम्म अध्ययन गरेका चौधरी प्रजातन्त्र स्थापनापछि एमालेको सप्तरीका नेता बनेका थिए ।

२०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य समेत भएका चौधरी एमालेको नेतृत्वदायी भूमिका रहेका थिए । २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरे । माओवादीमा उनी मिथिला राज्य समितिको सचिवालय सदस्य थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा एमालेको विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो भएका थिए । त्यसपछि माओवादी प्रवेश गरेका चौधरीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

आज कहाँ कति थपिए संक्रमित ? हेर्नुस

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २११ महिला र ३५९ पुरुष छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

देशभर ४० हजार ६८१ सक्रिय संक्रमित छन् । ३२ हजार ४६४ होम आइसोलेसनमा छन् भने २८१ जनाको आईसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २२५ जना, ललितपुरका २३ र भक्तपुरका ४ जना छन् ।

रुपन्देहीका ७९, नवलपुर र दाङका ५५/५५ जना, सुनसरीका २८, बाँकेका १४, धनुषा र काभ्रेका ११/११, नवलपरासीका ७, म्याग्दी र बाग्लुङका ५/५ जना, मोरङ र कपिलवस्तुका ४/४ जना, धादिङ र गुल्मीका ३/३ जना तथा रौतहट, रामेछाप, सिन्धुपाल्चोक, स्याङ्जा, अर्घाखाँची र बर्दियाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै उदयपुर, पाँचथर, भोजपुर, बारा, सिराहा, चितवन, दोलखा, नुवाकोट, गोरखा र प्युठानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *