आशीर्वादमा पनि किन ‘ग्रेडिङ’ र दर्जा? हेर्नुस

प्रिती शर्मा/सेतोपाटी

शरद ऋतुको आगमनले ल्याउने तरंग, हावाको विशेष सुगन्ध, ढकमक्क फुलेका फूल, आकासमा निस्फिक्री बरालिएका चंगाहरू, सामाजिक संजालमा ट्रेन्डिङमा रहेका संगीत र प्रतिस्पर्धात्मक तवरमा घन्किने मालश्री धून।

परिस्थिति जस्तो बिषम किन नहोस्, छुटटै आभाष हुन्छ दसैं आएको। देश बनाउन परदेश गएकाहरूले सुटुक्क लगेको स्मृतिका पोकाहरू, चाहे सहर पसेका छोरा हुन् या बिहे गरी भौतिक दुरीमा रहेकी छोरी, चाडवाडका तरंगले घर याद आउँछ। आफू हुर्के-बढेको आँगन याद आँउछ।

विवाहको पहिलो वर्ष, नयाँपन अनि कौतुहलता मिश्रित अनुभव। हुन त ‘कोरोना जोडी’, ‘लकडाउन हनिमुन’ भनेर साथीभाइको व्यंगात्मक जोक सामान्य भइसक्यो आजभोलि। २०७५ साल चैत १० गते अगाडि विवाहित थुप्रै जोडीले पचाएको ‘युनिभर्सल’ मजाक हुनुपर्छ यो। अनि यही वर्ष बिहे भएका जोडीले मात्र भोगेका तिता मिठा अनुभव।

पहिलो दसैंमा पनि घर नगएमा अरूले के भन्लान् भन्ने दोमनसँगै लकडाउनको पावन्दी र सात-आठ महिना पछिको एकोहोरो दैनिकी फेर्ने धोकोका साथ स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गरेर मात्रै श्रीमानको घर र आफ्नो (माइत) जाने निधो गरियो।

यसै क्रममा घरको आँगन मात्र टेकेकी थिएँ, पल्लो घरको दिदी साख्खै पल्टिँदै बोलिन्, ‘नयाँ बुहारी बल्ल देख्न पाइयो। लकडाउनका बेला सबै सहरकाहरू घर आए तिमरुको बल्ल दर्शन पाइयो।’

घर छिर्न नपाउँदै एक हुल जिज्ञासा थियो उनको आँखामा। ‘अनि बेला यस्तो छ माइ तजाने कि नजाने?’ फेरि एउटा प्रश्न तेर्स्याइन्।

आफू जन्मे-हुर्केको घर, म जाऊँ-नजाऊँ, मेरो कुरा। फेरि समय जस्तो भए पनि ‘इज्जत धान्न’ घर आएकै छु भन्न मन त थियो। तर पनि प्रतिक्रिया बिहिन भएर मुसुक्क हाँसेँ।

प्रायः नचिनेको मान्छेलाई झट्ट प्रतिक्रिया दिन्नँ म। फेरि पहिलो पल्ट चाडवाड मनाउन नयाँ घर गएको छुट्टै उत्साह थियो। भन्न त मन थियो उनलाई ‘वर्क फ्रम होम’ अर्थात् घरैबाट काम हुने भएकाले पहिलेभन्दा बढी दोहोरो (घरको र अफिसको कामको) धपेडीमा छु भनेर। तर हाम्रो जस्तो समाजमा त्यसको कति औचित्य र अर्थ रहला भनेर मौन रहेँ।

आज सम्म दसैंको यस्तो महत्व लागेको थिएन। रमाइलो लाग्थ्यो तर सामान्य नै लाग्थ्यो। न्यास्रो कहिले लागेको थिएन। बिहे गरेको पहिलो वर्ष धेरै इच्छा, चाहना अनि उत्सुकता थियो। फेरि चाहँदाचाहँदै मनाउनुपर्ने थुप्रै रितिरिवाज मनाउन नपाएको परिस्थिति, काम र अनिश्चितताले निम्ताएको तनाव र दसैं बिदाका नोस्टाल्जियाले आफ्नै आँगन खोजिरह्यो। छोडी आएका यादहरूले पछ्याइरह्यो।

नयाँ सदस्य, नयाँ घर, नयाँ सम्बन्ध र दसैंको नयाँ उमंग। मर्यादाक्रम अनुसार मेरो पालो टीको थाप्ने।

‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वाधा नमोस्तुते।

‘दुर्गा भवानीले रक्षा गरून्, अर्को वर्ष तीन जनालाई टीको लाउन पाइयोस्’ घरका सबैले मुस्कुराउँदै दिएको त्यो आशिषले मलाई भने पोलिरह्यो मनमनै।

एउटा सगरमाथा नै भयो मेरा लागि।

बिहे गरेको पहिलो महिनादेखि ‘बच्चा बस्यो कि बसेन, मैले कुनै गर्भनिरोध साधन पो प्रयोग गरेँ कि? फेरि पहिलो पालो केही विधि अपनाए पछि बच्चा बस्न समस्या हुन्छ अनि हाम्रो हातखुटा बलियो छँदा सन्तान जन्माई हाल, सजिलो हुन्छ’ भन्ने दैनिक सुझावहरूले मलाई झर्को लाग्न थालिसकेको थियो।

आमा हुने अवसर पाउनु सबै महिलाले अनुभव गर्न चाहने अमूर्त अभिलाषा हो। तर त्यो भन्दैमा जिस्केर, अथवा हितैसी पल्टेर वाक्यैपिच्छे सन्तान कहिले जन्माउने अथवा आशीर्वादमा पनि सन्तान जन्माओ भन्नु कति जायज हो?

फेरि अफिसमा कामकाजी मेरी दिदीको व्यस्तता, बच्चा भएपछि सन्तुलन मिलाउन भएको सकस र पारिवारिक चिसोपन केही हदसम्म देखेकी मलाई अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भन्ने उखान झैं भएको थियो।

बाबाले कसैको अगाडि शिर नझुकाउनू भनेर दिएको आशिष सम्झिँदै चलन अनुसार मान्नुपर्ने सबैका गोडा ढोगेँ। बिहेभन्दा पहिले सधैं नवदुर्गाको रूप भनेर पुजिने र मेरै खुट्टा ढोगिने बानी परेकी मलाई एक्कासि मान्यजनका गोडा ढोग्न अनौठो लाग्नु स्वभाविक हो।

सोचेँ, नौरथामा पुजिने दुर्गाको रौद्ररुप के समाज र संस्कृतिलाई स्विकार्य छ? छ भने म मौन हुनुलाई संस्कार किन मानिन्छ? छैन भने दुर्गा भवानी जस्तै हुनु भन्ने आशिष किन दिइन्छ?

मातृसतालाई पूजा गर्ने हाम्रो संस्कार, जयन्ती, मंगला, काली, भद्रकाली शक्तिलाई पूजा गर्ने यो पर्व दसैंको आशिषमा भने झैं महिलाहरूलाई ती अवतार लिने छुट छ। एउटा महिला सहन नसकेर दुर्गा, भद्रकालीको रुप लिएर विरोध गर्ने हो भने समाजले कस्तो रुप लिन्छ होला?

बझाङकी सम्झना बहिनीको घटनालाई उल्टाएर हेर्ने हो भने मन्दिरमा बलात्कार हुँदै गर्दा वा बलात्कारपछि मन्दिरकै त्रिशुलले अभियुक्तको हत्या गरेको भए समाजले, कानुनले वा संस्कारले नवदुर्गाको रौद्ररुप भनेर स्विकार्थ्यो?

दसैं उम्काउने चटारो, परिवर्तित रितिरिवाजको ओझेल छल्दै मिलिक्क एकैछिन फेसबुक हेरेकी थिएँ। फेसबुकका भित्ताभरि साथीहरूले पढेका नयाँ किताबका सूची, टिकटक र कोरोना दसैंको ह्याङ छल्न खिचेका फोटा देखेर दंग परेँ म।

आफूलाई भने आमाबालाई टीको थाप्न घर आउँदैछु भनेर खबर गर्नधरी धौधौ थियो। हुन त पोहोरसम्म म पनि दसैं बिदामा रिफ्रेस हुन ट्रेकिङ जान भ्याउँथेँ।

नयाँ ज्वाइँसाहेबको सत्कार गर्न भनेर मेरो घरमा निकै तैयारी रहेछ भन्ने कुरा घरको सजावटले थाहा पाएँ। हामी नवविवाहित जोडी, दुवैको नयाँ उमंग र विशेष वर्ष। तर त्यो विशेष पलमा हामी दुई बीचको भोगाइ फरक। मानसम्मान फरक।

हुदाँहुदाँ अरु वर्ष सधैं खान मिल्ने देवीको प्रसाद यो वर्ष अरु गोत्रमा गएका कारण खान पाइनँ। कुरा प्रसादको मात्र हुँदो हो भने खास फरक पर्थेन। कुरा म जन्मे-हुर्केको घरमा मेरो स्थानको थियो जुन बिहे भएको केही महिनामै खस्किँदै थियो। ‘आइडेन्टिटी क्राइसिस’ भइरहेथ्यो ममा।

आशीर्वाद थाप्नै धाएर गएकाले टीका लाउन बसियो। आमाले आफूलाई नआउने मन्त्र पनि ज्वाइँकै लागि युट्युबबाट कण्ठ पार्नुभएको रहेछ। दियो, कलश, गणेश, थापेर देवी, भगवतीको प्रसाद लगाइदिँदै आमाले मन्त्र उच्चारण गर्नुभयो, ‘आयु द्रोण सुते श्रीयं दशरथे। शत्रु क्षयम् राघवे। ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने। सौर्य सान्तन्वे बलं हलधरे सत्यम् च कुन्ति सुते। विज्ञानं बिदुरे भवतु भवतं कृतिश्च नारायणे… मनले चिताएको सबै कुरा पुगोस्।’

हामीले बुझेनौं भनेर बाआमा दुवै मिली मन्त्र उल्था गर्नुभयो। द्रोणका छोरा अस्वस्थामा जस्तो अजम्बरी हुनु, दशरथको जस्तो मान होस्, शत्रु परस्त होस, ऐश्वर्य होस, कान्ति मिलोस् ,पवनको भन्दा तेज गति होस्, बिदुर जस्तै दुरदर्शी हुनु र नारायण जस्तो किर्ती फैलियास्।

म सोच्दै थिएँ, मनले सधैं राम्रै कुरा त चिताउँदैन नि। नराम्रो चिताएकै बेला मनले चिताएको कुरा पुगे भने? किन मनले चिताएका राम्रा कुरा मात्र पुगून् नभनिएको होला?

घरमा एक्कासि ‘ए ग्रेड’ को आशीर्वाद सुनेर म दंग परेँ। अरू वर्ष हामीले पाउने आशीर्वाद भनेको धेरै पढ्नू, ज्ञानी हुनू, मुखमुखै नलाग्नू, भनेको मान्नू हो।

मनमनै एक हिसाबले डाह लाग्यो। मलाई अथवा कुनै पनि छोरी मान्छेलाई किन मान-सम्मान मिश्रित आशीर्वादबाट ‘बाइपास’ गरिएको होला?

अब पालो मेरो अर्थात् नवविवाहित छोरीको। बाआमाले मेरो निधारमा प्रसाद टाँस्दै गर्दा सौभाग्यवती हुनू, घरपरिवारको मान राख्नू ,सबैले इज्जत गरून्, मर्यादामा बस्नू भन्नुभयो।

हिन्दी सिरियलमा सधैं स्वभाविक लाग्ने त्यो आशिष खै किन एक्कासि ऐंठन भयो। निमोठिन लाग्यो। सौभाग्यवती हुनू अर्थात सधैं सौभाग्यमै रहनू। सिन्दुरपोते लगाएरै मर्नु।

मन अल्मलियो घोरिएर फेरि सोचेँ। सौभाग्यवती हुनू अर्थात् श्रीमानभन्दा पहिले मर्नु। सधुवा नै मर्नु।

आफैंले जन्माएको सन्तान, आफ्नो मुटुको टुक्रालाई संस्कारको नाममा सौभाग्यवती हुनू अर्थात ज्वाइँ मर्नुभन्दा पहिला तँ मर भनेको कसरी आशिष हुन सक्छ? के मरिजा भन्नु आशिष हो?

विद्रोहका छाल नउठेका होइनन् मनमा तर माया लाग्यो आमाको र आमा जस्तै थुप्रै आमाहरूको जो जानेर पनि जान्न खोज्दैनन्। बुझेर पनि बुझ्न खोज्दैनन्। भोगेर पनि मौन छन्। बस सिन्दुर, पोते र चुराहरूमा सौभाग्य खोजिरहेछन् छोरीहरूको।

त्यही सौभाग्यको चक्रब्यूहमा छोरी मरोस् भन्ने आशिष दिँदैछन् जानी, नजानी। हुन त छोरी अन्माउने बेला आफैंले जन्माएको छोरी अरूलाई सुम्पिँदा ‘मारे पाप, पाले पुण्य’ भनिने हाम्रो संस्कारको अगाडि म र मजस्ता छोरीको दर्जा र आशीर्वादको स्तर सजिलै झल्काउँछ।

दसैं– असत्यमाथि सत्यको विजयोत्सव, अधर्ममाथि धर्मको जित, नारी शक्ति र मातृसत्ताप्रति कृतज्ञ हुने अवसर। तर पनि किन माता दुर्गाका विभिन्न अजंगका रुपहरूको मन्त्रोच्चारण गर्दै सारांशमा भने छोरी मान्छेलाई सहनशील हुनू, मर्यादामा रहनू भनिन्छ।

अन्याय सहदै नसहनू, अत्याचारको विरुद्ध आवाज उठाउनू माता कालीको जस्तै दृढ संकल्प र प्रबल आत्मविश्वास रहिरहोस् किन नभनिएको होला?

किन म र मजस्ता छोरीहरूलाई वर्ष दिनमा पाइने आशिष बिझाउँछ? भलो होस् भनेर शक्तिस्वरुप माता दुर्गा साक्षी राखी दिइएको आशीर्वादमा पनि किन ‘ग्रेडिङ’, दर्जा र भिन्नता? -सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *