पाटनका डाक्टरको प्रधानमन्त्रीलाई भाबुक पत्र

डा. आयास लुइँटेल

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार !

नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ।

समाचारहरूमा ‘पाटन अस्पतालमा धेरै कोरोना ग्रसित बिरामी मर्छन्’ भनेर आउँछ। समाचारले गलत बोलेको होइन। तर भित्री सत्य लुकाएको हो वा थाहा नपाएको हो?

हामीकहाँ अधिकांश बिरामी कोरोनाले ग्रस्त र सिकिस्त भएपछि अरूतिरबाट रिफर भएर आउँछन्। एक मिनेटमा १५ लिटरसम्म अक्सिजन दिनुपर्ने र दैनिक चार-पाँच जना भेन्टिलेटरमा राख्नुपर्ने कोरोना बिरामीहरूको अनवरत उपचार गर्दै आइरहेको अस्पताल हो, पाटन अस्पताल।

यो त कोभिड आइसियूको मात्रै कुरा भयो। आइसोलेसन वार्ड पनि कोरोना बिरामीले भरिएका छन्। हरेक दिन बिहान अस्पतालको गेटनजिकै आइपुग्दा लाग्छ- कुनै युद्धभूमिमा पाइला टेक्न जाँदैछु।

बिरामीको चाप बढी छ र सिकिस्त बिरामीको बाहुल्यता।

प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा अस्पतालमा हुने मृत्युलाई धेरै बेर धकेलेर राख्न हामीलाई हम्मेहम्मे परिरहेको छ। एक चिकित्सकको धर्मले बिरामी र मृत्युबीच खडा रहने काम हामीले गरी नै रहेका छौं, गरी नै रहने छौं।

कोभिड आइसियुमा ड्युटी गर्दा सबभन्दा गाह्रो काम के होला?- ड्युटी सकी घर आएर बिछ्यौनामा पल्टिँदा यो प्रश्न आफैंलाई सोध्ने गरेको छु।

सबभन्दा कठीन क्षण त्यो जस्तो लाग्छ, जब कुनै बिरामी बित्छ र उसका फाइल पल्टाएर घरमा बसेको उसको आफन्तको फोन नम्बर पत्ता लगाइन्छ। अनि फोन गरेर यताबाट भनिन्छ– ‘म पाटन अस्पतालको कोभिड आइसियुबाट ड्युटी डाक्टर बोल्दैछु। एउटा नराम्रो खबर छ।’

कहिलेकाहीँ सोच्छु- डाक्टर बनेर धेरै यान्त्रिक पो बन्न थालियो।

तर होइन! जब ड्युटी सकेर घर पुगिन्छ तब संवेदनाका बाढी आउन थाल्छन्। कहिले अस्पतालका कुरा सम्झेर काँपिन्छ त कहिले बितेका बिरामीका अनुहार सम्झेर भक्कानिन्छ।

अँ साँच्चै! बरू प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था कस्तो छ? मिर्गौला रोगका बिरामी हुनुहुन्छ। खानुपर्ने नियमित औषधि टाइम-टाइममा सेवन गरी नै रहनुभएको होला भन्ने आशा छु। प्रधानमन्त्रीज्यूको आत्मबल र ताकत हामी सबैले देखेका छौं। त्यो सदैव कायम रहोस्।

प्रधानमन्त्रीज्यू! घरमा पचासी वर्षीया कपाल सेतै फुलेकी थोती हजुरआमा र साठ्ठी कटेका आमाबुवा हुनुहुन्छ। श्रीमती छिन्। एउटै पेसाकी। हामी दुई हजुरआमा र आमाबुवाको आमुन्ने सामुन्ने नपरेको चार महिना कट्यो। छुट्टै बसिन्छ, छुट्टै खाइन्छ।

बुढी हजुरआमै हाम्रा बारेमा आमाबुवालाई सोध्नुहुन्छ रे। बुवाले बेलाबेलामा टाढै उभिएर हामीलाई सुनाउनु हुन्छ। त्यस्तो सुनेपछि मन थाम्न सकिन्न र ढोकैबाट भए पनि ‘आमा के छ? ठीक छ?’ भनेर सोधिन्छ।

हजुरआमाको पनि सहज उत्तर आउँछ– ‘ठीक छ।’

आत्मबल र ज्ञानगुनका कुरा गर्ने हो भने हाम्री थोती हजुरआमै पनि कम हुनुहुन्न।

‘भेट्रान’ नेताहरू जन्माएको नुवाकोटकी हुनुहुन्छ हाम्री हजुरआमै। उबेला घर लिपपोत गर्दा आफ्ना दाइहरूले सिलोटमा लेखेका अक्षर र पढेका आवाज टपक्कै टिपेर पढ्न सिक्नुभएकी हाम्री हजुरआमै उस्तै परे अहिले पनि पत्रिकाका बडा-बडा हेडलाइन पढ्न सक्नुहुन्छ। आँखा तगडा छन्, कान टाठा।

‘पढ्न पा’की भए, देश देख्न पा’की भए म प्रधानमन्त्री बन्थेँ,’ हजुरआमा लाइट नोटमा यस्ता लाइन बोलिरहनुहुन्छ।

प्रधानमन्त्रीज्यू, नुवाकोटको कुरा गर्दा भुइँचालो ताका त्यतातिर ‘हेल्थ क्याम्प’ लिएर गएको याद आयो। बाटो ध्वस्त थिए।

उतैका एक बासिन्दाले हिले बाटो देखाउँदै भनेका थिए- नेता त धेरै जन्मायो नुवाकोटको माटोले तर गामको यो हिलो बाटोमा कहिले आँखा परेन उहाँहरूको।

तिनले गरेको कुरा सम्झिँदा माटोलाई माया गर्ने नेतृत्वको खडेरी नै हो त, यो देशमा भनेर बारम्बार मेरो मनमा प्रश्न आइरहन्छ। प्रश्नको चित्तोबुझ्दो उत्तर पाउन सकेको छैन।

उमेर ३० कट्यो। जीवनको पहिलो हाफमा नपाएको यो प्रश्नको जवाफ, जीवनको दोस्रो हाफमा दिने गरी चित्रपटमा कोही नेता देखिनु हुनेछ कि? हाम्रो पुस्ता आशावादी छ!

प्रधानमन्त्रीज्यू, हाम्रै कोभिड आइसियूमा वीरगञ्जका एक युवा नेता भर्ना हुनुभएको थियो। कोरोनाले गर्दा धेरै दुःख पाउनु भयो उँहाले। लामो समयको अस्पताल बसाइपछि अहिले ठीक हुनुहुन्छ। हरेक पटक उहाँसँगको कुराकानीमा मैले एउटा अनौठो किसिमको ऊर्जा महसुस गर्थेँ। सायद नेपालले खोजिरहेको ‘टर्निङ प्वाइन्ट’ त्यस्तै ऊर्जावान युवा नेतृत्वबाट मात्र सम्भव छ।

फेरि पनि भन्छु- हाम्रो पुस्ता अझै पनि आशावादी छ।

प्रधानमन्त्रीज्यू, एकैछिनको विषयान्तर पछि अहिलेको टड्कारो समस्यातिर नै ध्यान आकर्षण गराउन चाहेँ। घरमा सबै वृद्ध उमेर समूहका मानिस हुनुहुन्छ। हामी फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई फ्याट्ट केही भइहाले घरमा बिल्लीबाठ हुने निश्चित छ। कल्पनासमेत पनि साह्रै डरलाग्दो देखिन्छ। अझ कतिका त चिचिला लालाबाला छन् घरमा। तिनको भविष्य के होला?

‘जवान मान्छेलाई केही हुँदैन’ भनौंला हामी तर आफ्नै कारणबाट अरू मानिस संक्रमित हुने भय यो युगका प्रत्येक स्वास्थ्यकर्मीका मनमा छ। सामाजिक दुरी त ठीकै हो, अब त साथीभाइ आफन्त पनि कसरी हुन्छ घरमा नआऊँ, कसरी हुन्छ नभेटौं भने जस्तो गर्नुहुन्छ हामीसँग। यसले बढाएको भावनात्मक दुरी सामाजिक दुरीभन्दा कहालीलाग्दो छ।

हामी फ्रन्टलाइनमा खटिने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई प्रोत्साहनको नाममा केही छैन। एक त घरका आमाबुवाको तनाव। अर्कातिर कुरीकुरी गरेर गिज्याइरहेको खल्ती। न फ्रन्टलाइनमा खटेपछि खाने र छुट्टै बस्ने बासको व्यवस्था।

यत्रो जोखिम मोलेर काम गर्‍यो, जोखिम भत्ता, प्रोत्साहन भत्ताको नामनिशान छैन। प्रोत्साहन त कहाँ हो कहाँ, हामीलाई त आजकल ‘किड्नी व्यापारी’ समेत भन्न थालिएको छ। कति स्वास्थ्यकर्मी फ्रन्टलाइनमै कुटिएका छन् र गाली बेइजतीका शिकार भएका छन्।

साह्रै दुःख लाग्छ यस्ता समाचार पढ्दा र सामाजिक सञ्जालमा सेयर गरिएका त्यस्ता समाचारमा डाक्टरलाई गाली गर्न तँछाडमँछाड गरिरहेका जनमानस देखेर।

प्रधानमन्त्रीज्यू, डाक्टरले पनि गल्ती गर्न सक्छ। पक्कै पनि त्यो गल्ती अरू गल्तीजस्तो सजिलै सपार्न मिल्ने नहुन सक्छ। यो देशमा डाक्टरले गरेको क्रियाकलापबारे छानबिन गर्ने निकाय छ। सजाय पाउनु पर्नेले सजाय पाउनु पर्छ, विगतमा पाएका पनि छन्।

तर अफसोच! आजकल निर्णय भीडले गर्न थालेको छ। एकैछिन अघि भगवान बनाइदिएको डाक्टरलाई, एकैछिनमा दैत्य बनाइदियो र सुरु गर्‍यो अस्पताल तोडफोड, गालीगलौच अनि हात हालाहालको ताण्डव।

हातमा ‘स्मार्ट’ फोन बोक्ने नेपालीको मन मगजमा भरिएको यो ‘इडियट’ पन कहिले जाने हो? थाहा छैन। यसरी हुलहुज्जत गर्नेहरुलाई बिना जमानत जेल चलान गर्ने कानुन ‘जेल विथआउट बेल’ ल्याउन अझै कति स्वास्थ्यकर्मी कुटिनुपर्ने हो प्रधानमन्त्रीज्यू?

सुरू सुरूमा त आफ्नै अस्पतालसँग पनि बेतोड रिस उठेको थियो। किन नदिएको होला जोखिम उठाएवापत प्रोत्साहन?

कुरा बुझ्दै गइयो, रिस सेलाउँदै गयो। कोरोना संक्रमित राखेकै कारणले कोरोना बाहेकका अरु बिरामीको संख्या पचहत्तर प्रतिशत घटेर आफ्नै अस्पतालको घिटी-घिटी अवस्था रहेछ। महिना दिनमा तलब खुवाउनै फलामका चिउरा चपाएजस्तो भइरहेको अस्पतालले कहाँबाट दिन सकोस् जोखिम भत्ता?

प्रधानमन्त्रीज्यू, यस्तो महामारीमा फ्रन्टलाइनमा खटिएर काम गरिरहेको अस्पताल र यसका मानव संशाधनलाई सम्मान र उच्च प्राथमिकतामा राख्नुपर्छ र सोही अनुरुपको सरकारी ‘सपोर्ट’ हुनुपर्छ जस्तो हजुरलाई लाग्दैन?

गत साता मात्रै हाम्रै अस्पतालमा तपाईंकै बहालवाला शिक्षामन्त्रीज्यू कोरोना संक्रमित भएर भर्ना हुनुभएको थियो। बिहान बेलुकी पिपिई लगाएर राउन्ड लिन जाँदा यी सबै बह-वेदना उहाँसँग पोखौं झैं लागेको थियो।

फेरि सोचेँ- विचरा बिरामी भएर भर्ना हुनुभएको छ। त्यो पनि कोरोना। उहाँको दिमागलाई के भार दिनु? लगाउनु नपरेको अक्सिजन लगाउनु पर्ला फेरि उहाँलाई हामी स्वास्थ्यकर्मीका उकुसमुकुस सुनेर!

त्यसैले केही भनिएन।

प्रधानमन्त्रीज्यू, धेरै लामो पो लेखिएछ। हजुर व्यस्त मान्छे। यति नै पनि पढ्न भ्याउनु हुन्छ कि हुन्न। वा भनौं यो पत्र तपाईंसम्म पुग्ला नपुग्ला, भन्न गाह्रो छ। तै पनि उकुसमुकुस भइसकेपछि नभनी बस्न सकेको छुइनँ।

एमबिबिएस पढ्दा र पछि काम गर्दाका थुप्रै डाक्टर साथीहरू छन्। कोही अमेरिका पुगे, कोही बेलायत, कोही अस्ट्रेलिया। म्यासेन्जरमा यदाकदा च्याट हुँदा जिस्काइरहन्छन्- नेपाल बस्न पुगेन भन्या? के छ त विचार? आउने होइन त यता?

प्रधानमन्त्रीज्यू, हामी स्वास्थ्यकर्मीको उकुसमुकुस सिर्फ पिपिई लुगाले गराएको उकुसमुकुस होइन। हाम्रा कैंयन उकुसमुकुस छन्। कृपया बुझिदिनुस्।

बुझेँ बुझेँ भनेर टाउको हल्लाउने पुराना शासक र तपाईंहरूमा केही त भिन्नता देखिनु पर्‍यो!

घुर्की लगाएको होइन प्रधानमन्त्रीज्यू, अनुरोध हो। यस्तै निराशाजनक परिस्थिति रहिरहने हो भने हामी धेरै स्वास्थ्यकर्मीको हरियो रङको पासपोर्टका पन्नाहरू विदेशी भिसाका रंगीचंगी छापले तीव्र गतिमा भरिँदै जाने छन्। हामीलाई देशको माया लाग्छ। परिवारसँग छुट्टिएर परदेशी भूमिमा विदेशीको उपचार गर्नुभन्दा स्वदेशै बसेर उपचार गर्न मन छ।

तर देशलाई मायालाग्दो बनाउन देश चलाउने सरकारको मुख्य भूमिका हुन्छ। देश तब मायालाग्दो बन्छ जब हरेक सरकारी कदम पेशाकर्मी र आम नागरिकप्रति लक्षित हुन्छ। अनि पो देशमै बसौं बसौं लाग्छ। अनि पो आफ्नै देशमा रमाऊँ रमाऊँ लाग्छ।

प्रधानमन्त्रीज्यू, तपाईं त हँसी मजाक र उखानटुक्का मन पराउने मान्छे। हाँसो स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो हो। प्रधानमन्त्रीका हैसियतले गरेका युग सुहाउँदो निर्णय र कामले ‘दुनियाँलाई हँसाउनु’ र बोलेका वाक्यले ‘दुनियाँ हँसाउनु’ बीच निक्कै गहिरो अन्तर छ। यो कुरा तपाईंलाई पक्कै पनि हेक्का छ।

यी हरफ लेखिरहँदा एप्पल कम्पनीका मालिक स्वर्गीय स्टिभ जब्सले भनेका वाक्य याद आइरहेछन्- हरेक दिन बिहान उठदा सोच्नु रे, आज मेरो जीवनको अन्तिम दिन हो।’

यो वाक्यका अगाडि सबै घमन्ड, रिसराग, इर्ष्या बिलीन हुन्छ। अनि मानिसले जे गर्नुपर्ने हो बुद्धि र विवेकको प्रयोग गरेर त्यो काम गर्छ।

तपाईं देशको सारथी हो। जस् पनि तपाईंकै, अपजस पनि तपाईंकै। सम्माननीय प्रधानमन्त्रीज्यू, यो उमेरमा तपाईं के चाहनुहुन्छ? जस् कि अपजस्?

(डा. आयास लुइँटेल पाटन अस्पतालका आवासीय चिकित्सक हुन्।)

ट्विटर @luintelaayas सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *