एकै परिवारका चारदेखि ८० वर्षसम्मका १३ जनाले घरमै बसेर यसरी जिते कोरोना

यज्ञराज जोशी/नेपालखबर
काठमाडौं, कार्तिक १३, मोरङको लेटाङ नगरपालिकामा चारदेखि ८० वर्ष उमेर समूहका एकै परिवारका १३ जना कोभिड–१९ संक्रमणबाट निको भएका छन्। उनीहरुले होम आइसोलेसनमै बसेर कोरोनालाई परास्त गरेका हुन्।

पूर्वशिक्षक समेत रहेका हेरम्ब भट्टराईकी ८० वर्षीय आमा, बुबा तथा दुईजना चारवर्षका बालबालिकासहित १३ जना होम आइसोलेसन बसेरै सो रोगलाई पार लगाएका हुन्। उनीहरु २९ दिनसम्म आइसोलेसनमा बसेका थिए।

साउन १८ गते ८० वर्षे बुबा अनन्तराजको स्वास्थ्यमा समस्या आएपछि बुबालाई जेठाछोरा हेरम्ब (६० वर्ष) र कान्छा छोरा पिताम्बरले विराटनगरस्थित नोबेल अस्पताल लगेका थिए। शल्यक्रिया गर्नुपर्ने भएपछि छोराहरुले बुबालाई विराट मेडिकल कलेज पुर्‍याए।

हेरम्बलाई १० दिन अस्पतालको बसाईको क्रममा कोरोना सरेको आशंका छ। ‘गाउँघरतिर त सावधानी अपनाएकै थियौं। अस्पतालबाटै सर्‍यो भन्ने आशंका छ,’ हेरम्बले नेपालखबरसँग भने।

अस्पताल बसेर घर फर्किएको तेस्रो दिनमा हेरम्बलाई ज्वरो आउने, जिउ कटकटी खाने, हातखुट्टा दुख्ने हुन थाल्यो। संक्रमणको शङ्का लागेपछि उनी अलग्गै कोठामा बस्न थाले। अर्कोदिनदेखि त ज्वरो बढेर उठ्नै नसक्ने स्थितिमा पुगेको अनुभव उनी सुनाउँछन्।

भाइ र जेठी छोरीलाई पनि ज्वरो देखियो। त्यसपछि वडा कार्यालयसँगको समन्वयमा तीनै जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरियो। चार दिनपछि आएको रिपोर्टमा तीनै जनामा संक्रमण पुष्टि भयो।

होम आइसोलेसनको व्यवस्थापन

कन्ट्याक्ट ट्रेसिङका क्रममा भदौ १३ गते बाँकी घरपरिवारको पनि स्वाव संकलन गरियो। अर्कोदिन आएको परीक्षण नतिजामा हेरम्बकी श्रीमती, कान्छी छोरी र नातीबाहेक अन्य १० जना गरी परिवारका कुल १३ सदस्यलाई संक्रमण देखियो।

‘परिवारमै संक्रमण देखिएपछि सुरुमा नेगेटिभ देखिएका तीनजनालाई अलग्गै छुट्टायौं। माथिल्लो पट्टी हाम्रो अर्को घरमा उनीहरुलाई बस्ने व्यवस्था मिलायौं,’ हेरम्बले भने, ‘मेरो परिवारका संक्रमित आठ जना एक घरमा र भाइका परिवारका संक्रमित बाँकी नजिकै रहेको उनकै घरमा होम आइसोलेसनमा बस्न थाल्यौं।’

संक्रमित जति एक ठाउँमा बसेपछि एउटै भान्सामा जसले गएर खाना पकाउन पनि समस्या भएन। तर थाल, बटुकाहरु भने आआफ्नो प्रयोग गरिन्थ्यो। सबैले आफूले प्रयोग गरेका भाडाकुँडा आफै धुन्थे। आफैसँग राख्थे।

तर एउटा शौचालय भएकाले त्यसको प्रयोगमा भने समस्या हुने गरेको हेरम्ब बताउँछन। प्रत्येक व्यक्तिले प्रयोग गरिसकेपछि त्यसलाई फिनेलले सफा गर्ने र त्यसपछि मात्रै अर्काले प्रयोग गर्ने गरेको उनी बताउँछन।

परिवारका सदस्यले भुईं तथा सतहको सरसफाईमा डिटोल पानीको प्रयोग गर्थे।

हल्का व्यायाम गर्ने, केटाकेटीहरु उफ्रिने, नाँच्ने, रमाइलो गर्ने गरी कोरोना लागेको महशुस हुन नदिएको हेरम्ब बताउँछन। तर, पनि घर परिवार सबैलाई संक्रमण भएकाले हेरम्बको मनमा भने तनाव नहुने त कुरै भएन।

‘घरभरिका सबैलाई एकैचोटी संक्रमण देखिदा मनभित्र निकै डर लाग्या थियो। केही क्षति पुगिहाल्ने हो कि भन्ने अनेकौँ साेँचले सताउँन्थ्यो,’ हेरम्ब भन्छन्, ‘तर घरमा मुख्य व्यक्ति म नै थिएँ। मै कमजोर देखिए, अरुलाई असर पर्छ भनेर सबैलाई केही हुन्न भनि सम्झाईबुझाई गरेँ।’

बुबालाई पनि अस्पतालबाट घरमै

त्यहीबीच बुबाको प्रोस्टेटको अप्रेसन गरिएको ठाउँमा रगत जमेपछि पुनः अप्रेसन गर्नुपर्ने भयो। धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका चिकित्सकले पीपीई लगाएर नै बुबाको अप्रेसन गरे। त्यसपछि बुबालाई अस्पतालको आइसोलेसनमा राखियो।

तर भर्खरै अप्रेसन गरेका बुबाको अस्पतालको आइसोलेसनमा उचित हेरचाह हुन नसक्ने ठान्दै हेरम्बले परिवारसँगको सल्लाहमा घरमै फर्काउने निर्णय गरे। एकजना चिनेका एम्बुलेन्स चालकले बुबालाई घरै ल्याइदिए।

‘खानपिन, हेरचाह राम्रो पाएर होला। भर्खरै दोहोरो अप्रेसन गर्नुपरेको बुबालाई पनि कोरोनाको खासै असर देखिएन,’ हेरम्ब भन्छन, ‘जटिल अवस्था देखियो, सास फेर्न गाह्रो भयो भने अस्पताल जाऔं नत्र होम आइसोलेसनमै चाँडो निको हुन सहयोग पुग्ने सबैलाई सुझाव दिन्छु।’

होम आइसोलेसनमा बसेको २१औं दिन परिवारका सदस्यको दोस्रो परीक्षण गरियो। तर यसपटक पनि पुनः सबैलाई संक्रमण देखियो। तर २९औं दिनमा गरिएको तेस्रो टेस्टमा मात्रै सबैको नेगेटिभ नतिजा आएपछि हेरम्बले राहत महसुस गरेको बताउँछन।

खानपिनमै बढी ध्यान

होम आइसोलेसनमा रहँदा खानपिनमै विशेष ध्यान पुर्‍याएको हेरम्ब बताउँछन। आइसोलेसनमा रहँदा प्रशस्त झोलिलो कुरा खाएको, साग तरकारी फलफूल नियमित सेवन गरेको, तातो पानीको प्रयोग बढी गरेको उनी बताउँछन।

‘सुरुमा खाएको स्वाद केही पनि नआउने, गन्ध पनि थाहा नपाउने, खान मन पनि नलाग्ने हुन्छ। त्यसो हुँदा पनि खान छोड्नुहुन्न,’ उनी भन्छन्, ‘यो खाएरै जित्ने रोग हो। खान मन नलागे पनि पानी प्रशस्त मात्रामा पिउनुपर्छ। वाफ लिइरहनुपर्छ।’

संक्रमणमुक्त भएका हेरम्ब अहिले आफ्नो वडामा आर्थिक अवस्था कमजोर भएकाहरुलाई सक्दो सहयोग गर्न जुटेका छन। अन्य संक्रमितलाई पनि मिठो मसिनो खुवाउन सकिए चाँडै निको पार्न सकिने उनको विश्वास छ।

ख्याल ठट्टा नठानौँ

हेरम्बको परिवारमा उनीबाहेक अन्यलाई कोरोनाले खासै असर गरेन। चारवर्षका बालबालिका, १५ वर्षका भान्जा, ८० वर्षका बुबाआमालाई केही असर देखिएन। १२ वर्षकी नातिनीलाई हल्का ज्वरो आएको थियो।

जोखिम समूह भनिएका देखि घरपरिवारका सदस्यहरु सबै सर्लक्क निको भएको देखेका केही व्यक्तिहरु कोरोना केही हैन रहेछ पनि भन्ठान्छन। तर कोरोनालाई ख्याल ठट्टा नसम्झन हेरम्बको सुझाव छ।

उनी आफ्नो परिवारले पाएको जस्तो राम्रो हेरचाह, खानपिन नमिले यसले बिताउँने रहेछ भन्ने महसुस गरेको बताउँछन।

‘मैले लसुन नाकमा हालेर सुँघ्दा समेत गन्ध थाहा नपाउँनु भनेको कोरोनाले शरिरमा केही न केही बिगार गर्दो रहेछ भन्ने हो नी,’ उनी भन्छन्, ‘यसले एकदम कमजोर बनाउने मैले अनुभव गरेको छु। अहिलेपनि मेरो हातखुट्टा झमझम भए जस्तो, टाउको भारी भएजस्तो अनुभव भइरहन्छ।’

सकरात्मक व्यवहार आवश्यक

सो नगरपालिकामा सुरुमा परिवारलाई नै कोरोना सरेको हेरम्बकै परिवारमा हो। त्यसबेला कोरोनाको भयङ्कर डरपनि हुन्थ्यो। मानिसहरु उनको घरको बाटो नै हिड्न डराउने गरेको अनुभव उनीसँग छ।

‘हाम्रो परिवारमा संक्रमण देखिएपछि त नगर नै सिल गरियो। हाम्रो घरको बाटो हिड्नेहरु पनि अर्कातर्फ फर्केर हिड्थे। त्यसो गर्दा नराम्रो लाग्थ्यो,’ उनी भन्छन्, ‘दुई दिनपछि वडाअध्यक्ष घरमा आएर हालखबर सोधेपछि बल्ल अन्य आफन्त र छरछिमेकीहरु पनि आउन थाले।’

उनीहरुले तरकारी, दुध, फलफूल ल्याई सहयोग गरेको हेरम्ब बताउँछन। यसरी आफन्त, छरछिमेकको सहयोगले हालखबर सोधिदिदा पनि हिम्मत बढ्ने उनको अनुभव छ।

अहिले नगरपालिकामा उनी संक्रमितहरुको घर घर जान्छन् र आफ्नो अनुभव सुनाउँदै नआत्तिन सुझाव दिन्छन। -नेपालखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *