चीनले ल्यायो विकासको नयाँ योजना, हङकङ र ताइवानबारे यस्तो निर्णय

चेतनाथ आचार्य/नेपालखबर

बेइजिङ, कार्तिक १४ गत सोमबार सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको १९ औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक बिहीबार अपरान्ह सम्पन्न भएको छ।

विश्व शक्ति अमेरिका र छिमेकी भारसँग तनाव बढिरहेका बेला आयोजना गरिएको बैठकले १४ औँ पञ्च वर्षीय योजना अन्तर्गत राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकास तथा सन् २०३५ सम्मको दीर्घकालीन विकासका केही लक्ष्यहरु निर्धारण गरेको छ। शुक्रबार बिहान बेइजिङमा पत्रकार सम्मेलन चिनियाँ सामाजिक तथा आर्थिक विकासमा कोशेढुङ्गाका रुपमा रहेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ।

पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार पाँचौ पूर्ण बैठकको मुख्य एजेण्डा नै १४ औँ पञ्चवर्षीय योजनाको लक्ष्य निर्धारण गर्नु रहेको थियो। चीनमा आगामी वर्ष सन् २०२१ देखि २०२५ सम्मका लागि १४ औँ पञ्चवर्षीय योजना लागू हुँदैछ। यही अवधिमा चीनले मध्यमस्तरको समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

अहिलेसम्म चीन विकासन्मोख मुलुक मानिन्छ। आगामी पाँच वर्षमै चीन विकासोन्मुख मुलुकबाट स्तरवृद्धि भई विकसित मुलुकमा पदार्पण गर्नेछ भने सन् २०३५ सम्ममा विश्वका विकासित देशको हाराहारीमा पुग्ने लक्ष्य निर्धाण गरिएको छ। चालु वर्ष समुल रुपमा गरिबी निवारण गर्ने चीनले आगामी पाँच वर्षको अवधिमा सामाजिक तथा आर्थिक विकासमा सम्पूर्ण शक्ति खर्च गर्नेछ। बैठकले १३ औँ पञ्चवर्षीय योजनाका उपलब्धिको समीक्षा गर्दै निर्धारित लक्ष्य प्राप्त भएको पनि औँल्याएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी संचालन पद्दतिमा ‘प्लेनरी सेसन’ अर्थात पूर्ण बैठकलाई महाधिवेवशनपछिको सबैभन्दा शक्तिशाली अंग मानिन्छ। पूर्ण बैठकमा पार्टीको केन्द्रीय समितिका सदस्यहरु, वैकल्पिक सदस्यहरु, विभिन्न विभागका पदाधिकारीहरु सहभागी हुने गर्दछन्।

यो बैठकले नेतृत्व परिवर्तन बाहेक सीपीसीको विधान संशोधन र चीनको संविधान संशोधनको काम समेत गर्न सक्छ। प्लेनरी सेसनले संशोधन गरेको विधानलाई सीपीसीको महाधिवेशनले अनुमोदन गराएपछि औपचारिक रुपमा लागु गराउने प्रचलन छ।

सन् २०१७ को अक्टोबरमा सम्पन्न १८ औँ सीपीसीको ७ औँ पूर्ण बैठकले सीपीसीको विधान संशोधन गरेको थियो जसलाई त्यसपछि लगत्तै सम्पन्न १९ औँ महाधिवेशनले अनुमोदन गर्‍यो। त्यसैगरी सन् २०१८ को जनवरीमा सम्पन्न १९ औँ सीपीसीको दोस्रो पूर्ण बैठकले चीनको संविधान संशोधन गरेपछि सोही वर्षको मार्चमा सम्पन्न चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनले अनुमोदन गरेर लागु गरेको छ। उल्लिखित दुवै संशोधन कार्यले सी चिनफिङलाई चीनमा माओपछिको सर्वसक्तिसम्पन्न नेताका रुपमा स्थापित गराएको छ।

बिहीबार सम्पन्न १९ औँ सीपीसीको पाँचौँ पूर्ण बैठकमा १९८ जना केन्द्रीय सदस्य र १६६ जना बैकल्पिक सदस्यहरु सहभागी थिए। यसका अतिरिक्त केन्द्रीय अनुशासन आयोगका स्थायी सदस्यहरु, सम्बन्धित क्षेत्रका वरिष्ठ व्यक्तिहरु, विषय विज्ञहरु तथा वैज्ञानिक अनुसन्धानकर्तासँगै चिनियाँ राष्ट्रिय जनकंग्रेसका केही बरिष्ठ व्यक्तिहरु पनि पूर्ण बैठकमा आमन्त्रित थिए।

बैठकले चीनको सुधार र खुलापनमा प्राप्त उपलब्धि र चुनौतिको पनि समीक्षा गरेको छ। यस क्षेत्रमा अहिलेसम्म चीनले ठूलो उपलब्धि प्राप्त गरेको भन्दै अझै गहन ढङ्गले अगाडि बढ्ने योजनालाई बैठकले पारित गरेको छ। चीनले अहिलेसम्म सुधारालाई गहन बनाएको र सूक्ष्म अर्थतन्त्रलाई चीनको आन्तरिक माग अनुसार आपूर्ति गर्नका लागि रणनीतिक आधार तय गरेको बैठकले उल्लेख गरेको छ। चीनको आर्थिक वृद्धि आशा गरेभन्दा राम्रो भएको र जनताको जीवनमा महत्वपूर्ण प्रगति हुँदै सामाजिक स्थिरतालाई कायम गरिएको पनि बैठकले औँल्याएको छ।

१३ औँ पञ्चवर्षीय योजनाले चीनलाई स्थिर आर्थिक वृद्धि गराउन र अझ राम्रो आर्थिक संचरना निर्माण गर्न सफल भएको भन्दै सन् २०२० मा चीनको कूल गार्हस्त उत्पादन एक हजार खर्ब चिनियाँ युआन नाघेर नयाँ इतिहास सिर्जना हुने किटान गरेको छ। बिगत पाँच वर्षमा चीनले साढे ५ करोडभन्दा बढी गरिब नागरिकलाई गरिबीबाट मुक्त गरेको छ। यही अवधिमा चीनले विश्वकै सबैभन्दा ठूलो सामाजिक सुरक्षा प्रणाली पनि खडा गरेको छ जसमा एक अर्ब ३० करोडभन्दा बढी चिनियाँहरु चिकित्सा बिमामा आवद्ध भएका छन् भने लगभग एक अर्ब चिनियाँले जीवन बिमा गराएका छन्।

१३ औँ पञ्चवर्षीय योजनाको अवधिमा ६ करोड चिनियाँले सहरी क्षेत्रमा नयाँ रोजगारी प्राप्त गरेका छन्। चालु वर्षको सुरुदेखि चीनमा देखिएको कोरोनाका विरुद्धमा सम्पूर्ण चिनियाँले एक भएर युद्ध गरेको र चीनले नागरिकको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै आर्थिक तथा सामाजिक विकास गरेको निर्णय बैठकले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

विश्वले एक शताब्दीमा नभोगेका मुख्य परिवर्तनहरु चीनका सामु देखा परेको भन्दै चीनको वृहत पुनर्जागरणमा रणनीतिक योजना बनाएर लागू गर्ने जिम्मा चिनियाँ कम्युनिष्ट पार्टीका सामु नयाँ चुनौति र अवसरका रुपमा देखा परेको पनि बैठकले निर्णय गरेको छ।

विकासका सिद्धान्तमा आएको परिवर्तनले चिनियाँ समाजमा देखिएको विरोधाभासपूर्ण नयाँ चरित्र र आवश्यकतालाई मिहिन ढङ्गले बुझ्न आवश्यक रहेको पनि बैठकले औँल्याएको छ। यद्यपि चीन सामाजवादको प्रारम्भिक चरणमै रहेको भन्दै जटिल अन्तर्राष्ट्रिय परिस्थितिले निम्तिले द्वन्द्व र चुनौतिका लागि गम्भीर ध्यानाकर्षण हुनुपर्ने पनि बैठकले निचोड निकालेको छ।

बैठकले सन् २०३५ सम्ममा चीनको आधुनिक सामाजवादी यात्राका लागि केही लक्ष्य निर्धारण गरेको छ।

काम र जीवनका लागि समाजको समग्र विकासमा सामाजिक न्याय,सभ्यता,समानता,अत्याधुनिक वातावरणमैत्री विकास हुनुपर्ने कुरामा जोड दिइएको छ। बैठकले चीनको खुलापन, कूल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको वृद्धि,शान्तिपूर्ण चीनको अभियान र सर्वोपरी मान विकासलाई यस बैठकले उच्च महत्व दिएको छ।

१४ औँ पञ्चवर्षीय योजनाका केही लक्ष्य भेट्न सीपीसीको सम्पूर्ण नेतृत्वलाई परिचालित गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् सीपीसीले गरेका निर्णयको १० महत्वपूर्ण बुँदाः

१. आधुनिक औद्योगिक प्रणाली निर्माण गर्दै आर्थिक संरचनालाई अध्यावधिक गर्ने। यसले निरन्तर रुपमा यथार्थ अर्थतन्त्रलाई सहयोग गर्ने उत्पादकत्व क्षमतालाई सुधार गर्ने र औद्योगिक व्यवस्थालाई आधुनिकीकरण गर्दै आपूर्ति शृङ्खलालाई उच्चगुणस्तर र प्रतिस्पर्धी बनाउने।

२. चीनको आन्तरिक बजारलाई सशक्त बनाउँदै नयाँ विकास प्यार्टन स्थापना गर्ने। आन्तरिक वितरणलाई स्थिर बनाउँदै अन्तर्राष्ट्रिय वितरण र उपभोगलाई विस्तार गर्ने।

३. सुधारलाई गहन बनाउँदै उच्चस्तरीय समाजवादी बजार अर्थतन्त्रलाई अझै विकास गर्ने।
४. ग्रामीण क्षेत्रको विकास र कृषि विकासलाई उच्च प्राथमिकता दिँदै सशक्त बनाउने।

५. अध्याधुनिक नयाँ सहरीकरणको विकास गर्ने।
६. सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्दै सांस्कृतिक ुसफ्टपावरुसुधार गर्ने।
७. वातावरण मैत्री विकास गर्ने। वातावरण सुधार तथा गुणस्तरीय एवं दीर्घकालीन इकोसिस्टमका लागि हरित र कम कार्बनको विकास गर्ने।

८. उच्चस्तरीय खुलापनसँगै साझा हित र साझा जितका सहकार्य अगाडि बढाउने।
९. विशेष गरी वृद्ध अवस्थामा पुगेका नागरिकको जीवन सुधार गर्नका लागि नीतिहरुलाई सक्रियताका साथ लागू गर्ने।
१०. राष्ट्रिय सुरक्षा क्षमतालाई बढाउने। परम्परागत तथा गैरपरम्परागत सुरक्षाका चुनौतिबाट नागरिकलाई जोगाउँदै सद्भावपूर्ण स्थिर समाज कायम गर्ने।

११. हङकङ तथा मकाउको दीर्घकाली समृद्धि र स्थिरता कायम राख्ने र ताइवानको शान्तिपूर्ण पुनर्एकीकरणको प्रवर्द्धन गर्ने।
१२. १४ औँ पञ्चवर्षीय योजनाभित्रै स्थिर बाह्य वातावरण बनाएर अन्तर्राष्ट्रिय सम्बन्धलाई मानव भाग्य समुदायका साझा भविष्यमा समाहित गराउने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *