एकदिने श्रीमान

रचना सुवेदी/सेतोपाटी

उतिबेलाको जमानामा छुई हुनुभन्दा अगाडि नै छोरीलाई अर्काको घर पठाउनै पर्छ भन्नी कुरा चलन जस्तै थियो। मेरी आमा भन्नुहुन्थ्यो उहाँको त ३ वर्षको उमेरमा नै विवाहको सट्टापट्टी भाको थियो रे, म त धन्न १५ पुगेकी थिएँ।

सबैले भन्थे मलाई कुनै कोठामा राखेसी बत्ती बाल्नै पर्दैन भनेर। मुखियाकी छोरी, त्यति राम्री अनि इज्जतिलो परिवार।

जो कोही बुहारी बनाउने होडबाजीमा लागेकै थिए। त्यो समय नै त्यस्तै थियो, छोरी मान्छे हेर्नमा बरू जस्तो सुकै किन नहोस् खानदान, नाम चलेका घर र जातभात त हेर्थे हेर्थे।

ममा चाहिँ मेरो रूप र मेरो गुणले पनि टक्क रोकिन बाध्य बनाएको थियो रे, ससुरा बाले सधैं यही भन्नुहुन्थ्यो। मेरो उमेर नि भएको थियो त्यसैले कुरा कुरामा बिहेका कुरासम्म पुगिहाल्यो।

मेरो हात माग्नलाई मेरो बालाई स्कुल पढाउने मास्टरको प्रस्ताव आएको थियो रे अनि यत्तिको केटालाई छोरी दिन हुन्छ भन्नी लागेर होला मेरो विवाहको तयारी अकस्मात गराइदिनु भयो।

म उहाँकै परिवारलाई नि निकै खास थिए रे, मेरो ससुरा बाले बिहेको छिनोफानो भएसी गाउँमा सबलाई भेला पारेर बिहेको निम्तो दिँदा हाम्री हुन लागेकी बुहारी यस्ती छिन भन्दै सुन्दरता र गुणको तारिफ गर्नुहुन्थ्यो रे।

उहाँका छोरा अनि मेरा हुने वाला श्रीमान भने काला, पातला अनि चस्मा लगाउने खासै राम्रा भने थिएनन् अनि उमेर पनि म भन्दा निक्कै धेरै १८ वर्षको दूरी थियो हाम्रो उमेरमा।

मलाई कसैले भनेर अनि थाहा दिएर थाहा भएको होइन, त्यो पनि मैले लुकेर हेरेकी थिए कस्ता रछन् केटा भनेर किनकी १५ वर्षको उमेरमा मलाई अलिअलि ज्ञान पक्कै थियो बिहेको बारेमा।

मैले मेरा हुनै लागेका श्रीमानको आनिबानी, चालचलन केही नि राम्रोसँग नहेरी बिहेको जगियासम्म पुगेको मलाई अझ याद छ। मुख हेर्नी बोलचाल हुन दिनी भन्नी नै थिएन, कोही परपुरूषसँग बोल्न हुँदैन नत्र त फलानोको छोरी चरित्रहीन छे भन्नी कुराको आरोप लगाउनलाई र चार गाउँ फिजाउनलाई सेकेन्ड भरको समय लाग्थेन अनि बाको इज्जत नाम खोलोमा जान्थ्यो र फर्केर कहिल्यै आउँथेन, कहाँ अहिले जस्तो थियो र धेरै फरक थियो जमाना।

त्यो समय नै त्यस्तै थियो बुवा बुवा मिलेर हुन्छ भनेसी लुला लङ्गडा, अपांग अनि ३ वटी श्रीमतीको पोइ भएनि सहर्ष स्वीकार्न पथ्र्यो, अपांग त परिस्थिति र भाग्यले हो नियतले नै अपांगसँग नि सजिलै जान पथ्र्यो।

मेरो बिहे पनि धुमधामसँग भएकै हो, हेर्नेको मुखमा मुखियाको छोरी भन्या मुखिया कै हुँ नि, मान्छे नि धपधप बलेकी अनि बिहे पनि धुमधाम, यो खसीको मासु त यही आएर खाइयो धेरै समयमा भनेर दुई चार जना खुसुरफुसुर गरेका थिए तर म बिचरीलाई त्यतिन्जेलसम्म थाहा नै थिएन, त्यो दिन मेरो जीवनको अन्तिम दिन थियो कि म अविवाहित रहनु र मेरो विवाह रहनु।

भोलिपल्ट मुख हेर्न आउने सबका मुखमा ओहो बुहारी त बत्ती नै रहेछिन् बाहेक केही सुनिनँ। यही कुराको घमण्ड छ पनि भन्थे तर मलाई कत्ति पनि थिएन, हुँदो हो त बाको अनुमति मै आँखा बन्द गरेर ती रूप रङ्गढङ्ग, उमेर केही पनि नमिल्नेसँग सजिलै बिहे गरेर त्यो घर जानेनै थिइनँ।

बिहेको पर्सिपल्ट नै बुढा पढ्न र पढाउन छ भनेर काठमाडौं छिरेका हुन् त्यसपछि मेरा बुढा हुन भनेर मैले कहिल्यै उहाँको अनुहार देख्न नै पाइनँ।

फोनको जमाना थिएन, चिठी पत्र एकदिन मात्र राम्ररी बोल्दा नि बोलिनँ, त्यो रात अनि श्रीमानसँगलाई केही पनि नदिएको उहाँलाई म के भनेर सम्बोधन गरेर चिठी लेखूँ ? सधैंजसो एक पटक ससुरा बालाई सोध्ने गर्थें तर पढ्न गाको आउला भन्नुभयो सायद भन्न पनि चाहनुभएन कि!

घुम्टोले मुख छोपेर चुला चौका मै १ वर्ष जसोतसो बिताएकी थिएँ। जब १६ वर्षकी भएँ उहाँ ट्याक्क आउनु भयो।

जेठ महिनाका टहटह घाम टल्किरहेको बेला, परबाट पोको बोकेर, टलक्क टल्कने सारीमा उहाँले साथमा अल्लि कान्छी केटी लिएर, सायद मभन्दा पनि कान्छी।

आज पनि कसम खाएर भन्न सक्छु, मलाई त्यतिबेला ऊ मेरो सौता हुन भन्नी त्यस्तो सोच आएको कत्ति पनि थिएन तर जब सासूआमासँग एकछिन उहाँले कुरा गर्नुभयो अनि नन्द र आमाले उसलाई दीयो, कलश, चामल ल्याएर स्वागत गरियो तब बुझें, ऊ त मेरो १ दिने श्रीमानको अर्की श्रीमती पो थिइन्।

मेरो ज्यान तातेर आयो अनि अन्धकारले छोप्यो, मेरो त्यो अनुहार लाग्छ औंसीको रातभन्दा कम भएको थिएन तर कसले वास्ता गर्नी ?

नन्द आमाजू भनेको सम्बन्ध नै त्यस्तै रहेछ एक दुई वटा कुर्था सुरूवाल मै मक्ख भैदिने अनि श्रीमानको प्यारी त ऊ थिदै थिई, सासू ससुरा त गौरव गर्थे २,३ वटा बिहे गर्ने त मर्द छोरो हुन्छन् भनेर।

म रूनु रोएको हो, ज्यान कापेर ज्वरो आएको थियो अनि घुक्क घुक्क गर्दै, जस्को लागि यो पूरा उमेर बाँकी छ ऊ अरू कसैको भैसक्यो भनेर म आफ्नो कपाल आफैं भुतल्दै थिए।

यदि गर्नै थियो भने, अन्त बिहे त, मलाई छुँदा पनि नछोइ अछुत जस्तो बनायौ किन?

एकदिन भित्र्याउनलाई मात्र श्रीमतीको नाम र सिन्दुर पोते किन दिइयो? धन्न माइती बलियो हुनाले म फर्केर आएँ आफ्नै माइत।

बसेको हो माइतमा महिना दिन जति तर त्यो जमानामा माइत बस्नु भनेको गाउँले समाजलाई कुरा काट्नलाई नयाँ मसला दिनुजस्तै थियो। त्योमाथि मुखियाको परिवारका कुरा चार गाउँ नपुगेको हुन्थेन त्यसैले बाको इज्जतको लागि पनि सकिनसकी म त्यही चियानमा फर्किएँ, जहाँ मेरो मात्र जिउँदो लासबाहेक केही भेट्दिनथें म।

त्यो मसानजस्तो घरमा जसोतसो सौता नै आएनी, शिर निहुँराएर गएँ, आफैं घुर्सिएर जानु परेसी के गर्नु ? तर मेरो सासूससुरा र सौताको त मैले केही गर्देकै थिइनँ, केही खाइदिएकी नै थिइन तर किन पुग्न नपाउँदै मलाई ठूला ठूला आँखाले तर्थे यसै घुर्थे, मलाई निकै डर लाग्थ्यो त्यो जाबो नाबालक नै त हो १६ वर्षको उमेर त।

त्यहाँ गएर खाना आफैंले बनाउन पथ्र्यो सधैं, एउटा कामदार भएकी थिएँ तर बाँड्ने बेलामा सासूआमा हुन्थिन् र आज पनि आँसु झर्छ मेरो, कुकुरलाई बरू माया गरेर खान दिइन्छ होला तर मलाई अँगेनाबाट भातको थाल हुर्याछएर म बसेको ठेउकोसम्म पुर्याउँथिन् सासूआमाले त्यो थालबाट आधा भात भुइँमा हुन्थ्यो अनि त्यो झोलमा नि झोल मात्र हुन्थ्यो कहिल्यै मैले पकाएको तरकारी म आफैंले खानै पाइनँ।

ससुरालाई झलझल बलेकी लाग्नी म, आज यो कुलङारले घर बिगारी मात्र भन्थे मलाई एकदम नमज्जा लाग्थ्यो।

एकदिन सिउँदोमा सिन्दुर हालिदिनाले मंगलसूत्र बाधिदिनाले मैले यो सब सहन परिरहेको थियो नत्र त आज म कहाँ कुन घरकी प्यारी भाउजू, प्यारी बुहारी र मन परेकी श्रीमती हुन्थे होला।

बिहेको ३ महिनामा सौता दुई जिउकी भइन् अनि त झन् मेरो त कुनै औचित्य नै रहेन। जो पनि मलाई हेपेरै कुरा गर्थे। घरमा मुखियाकी छोरी मीठो मसिनो खाने म, ध कस्तो हुन्छ, सेतो की कालो भनेर नि कहिल्यै देख्न पाइनँ मैले।

हिनताबोध भनूँ कि भाग्यको खेल जब जब म आफन्तलाई यसो भो भनेर सुनाउँथे, त्यहाँ छोडेर आइस् भने सम्पत्ति पाउन्नस नि फेरि जसोतसो बसिराख भने, खै के थियो कुन्नी दुनियाँलाई, मलाई सम्पत्ति र पैसाको लागि बसिराख भने तर कहिल्यै पनि मेरो शब्दभित्रका पीडा देखेनन्।

खैर आफ्नै ज्यान अर्पेको मान्छेबाट त धोका भयो अरूको के आस गर्नु र! एक दिन भर्याङमा तेल पोखिएको रहेछ खै जानी जानी हो कि के हो, म लडेर विस्तारामा सुत्नी अवस्थामा पनि नपुगेको होइन त्यस्तो बेलामा नि डाक्टर कहिल्यै देखिनँ मैले। ओखतीको मुख पनि देखिनँ।

अब माया त कहिल्यै देख्दै देखिनँ, घरकालाई फोन गरेर भन्नी त टाढाको कुरा हो परेवाका खुट्टामा चिठी लेखेर पठाउने जमानामा कहाँको फोन हुने! जिरिङ्ग हुन्छ जब म यी कहालीलाग्दा दिन सम्झन्छु।

अहिले पनि भक्कानो छोडेर रूने गर्छु, सम्झिन्छु म सास फेर्न नि अनुमति लिन परेका समयहरू। मास्टरजस्ता मान्छेलाई अलिकति लाज सरम भन्नी नि कहिल्यै लागेन, शिर ठाडो पारेरै हिँड्नुभयो। आखिर जति नै निर्दोष किन नहोस् नारी, दाग त नारीमाथि नै लाग्ने रहेछ।

सबका मुखमा दिनहुँ, किन माइत गएर नबस्या होला भने मात्र वाक्य हुन्थ्यो, अनि घरमा कलह मच्चाउन बसेकी मात्र भन्दिन्थे तर मैले अब अधिकार माग्नलाई अगाडि सर्ने निर्णय गरेकी थिएँ।

यदि जिन्दगी भर उस्को पोते र सिन्दुर लाएर बाँच्नु छ भने मैले पाउने अधिकार मलाई चाहिन्छ भनेर सब मान्छे जोडे धन्न मेरो माइती बलियो हुनाले र समाजका बुज्रुकलाई मेरो कुरा सही लाग्नाले पनि मैले त्यति बेला जितेरै छोडें। मलाई केही नदिएर यसै लखेट्ने प्रपन्च बुनिएको थियो अरे पछि यो कुरा पनि सुन्नमा आएको थियो।

आज माइतमा छु र अझै नि एक्लै छु, मलाई प्रेम, त्यो माया मोह, त्यो बिहेको रात केही अनुभव भएन र पनि अर्को बिहे गर्ने सोच कहिल्यै आएन।

आज ६० वर्षकी भए, मेरो जीवनमा त्यसपछि केही दु:ख भने आएनन्, खान लाउन सुखसँग सास फेरेर बाँच्न सकेकी छु तर उसका जीवनमा भने ठूलो आँधिहुरी लागेछ।

प्यारालाइसिसको बिरामी भएर बिस्ताराकी प्यारी हुन पुगिछन्, अनि उहाँकी बहिनीलाई नि उहाँजस्तै मर्द श्रीमान मिलेछ कि के हो कुन्नी माइतीमा बसेको वर्षौं भयो रे, उहाँको दिमागी हालत खै कता गएको अझै फर्किएको छैन रहेछ सुन्दा निकै दु:ख लाग्यो तर पाप यही जुनिमा कुर्लिन्छ भन्थे हो रहेछ भन्नी लाग्यो।

खै मनमा यो सब हुँदा खुसी हुने भन्नी चाहिँ कहिल्यै पनि भएन, आखिर एकदिन मेरो श्रीमानको घर थियो त्यो म भित्रिएको घर। मेरो जीवनमा त्यही लेखिएको थियो भोगें तर उसले त आफैंले लेखेको भाग्य थियो नि कति सहजै भोगेको छ।

कसरी व्यक्त गरूँ म जुन पीडा मैले सहेकी थिएँ यो समाज, आफन्तबाट त्यो कति पीडादयी थियो भनेर।

एउटा केटी मान्छेलाई हजार लाल्छाना लगाइन्छ यदि भाग्य र नियतिले उसलाई साथ दिएन भने।

कहिले माइतीको बोझ भने कहिले चरित्रहीन भने, बाँझो छे, एक्ली छे, अभागी, हुँदाहुँदा म निस्किँदा साइत पर्दैन भनेर भित्र छिरेर फेरि निस्कन्थे मान्छहरू। मलाई यो उमेरमा अझ नि पुरूष जातिसँग बोल्न नि डर लाग्छ किनकी मान्छेले मलाई सजिलै प्रश्न गर्दिहाल्छन्, मेरो चरित्रमा दाग लगाइदिहाल्छन् किनकी म एक्लो छु, बेसहारा छु।

तिमीलाई नि समाजमा मेरो पाप कुर्लेको भन्छन रे, त्यही भएर आज कहिलेकाहीँ आएर मेरो हालखबर बुझ्न खोज्छौ, अनि केही खानी गर भनेर पैसा छोड्ने गर्छौ। म ती पैसा मर्दा मात्र खर्च गर्देऊ है भनेर भदाका हातमा थमाएकी छु।

मनमा तिम्रो लागि दया पलाउँछ, अफसोच माया कहिल्यै पलाएन तर तिमीलाई म अझै पनि घृणा गर्न सक्दिनँ किनकी एकदिन नै सही आखिर मेरो श्रीमान त तिमी नै हौ नि।

आजसम्म मेरो नाममा तिम्रो थर जोडिएको छ, तिमी हजारको भएर के भो म त १५ वर्षको उमेरदेखि ४५ वर्ष भयो एक्लै तिम्रो नामको श्रीमती भएर बसेको।

जति जे सुकै होस्, तिम्रो मरणमा मेरो शरीरले सेतो रङ्ग पक्कै देख्ने छ, जति सुकै किन सवाल जवाफ किन नहोस् दुनियाँको, म फलानोको श्रीमती हुँ भनेर नै चिनिने गर्छु।

त्यसैले सजिलै म तिम्रो दु:खमा हाँस्नै सक्दिनँ, तिम्रो पीडामा रमाउन सक्दिनँ, आखिर मेरो यो पूरै जिन्दगीको एक पटक हुने विवाहको बन्धनमा, म कुनै नामसँगै बाधिएर श्रीमती भएको नै तिम्रो नाममा त हो।

जिन्दगीले जहाँ सुकै किन नडोहोर्याकओस्, मेरा हरेक बाटाहरू घुमेर त्यही दैलोमा पुग्ने गरेका छन्। त्यसैले नि म नकार्न सक्दिनँ, कि तिमी मेरो श्रीमान हौ भनेर।

आशा छ भगवानले मेरो मरण तिम्रो भन्दा पहिले दिऊन्, तिम्रो मरणमा दुई ज्यानले रातो पहिरन छोड्न नपरोस्, दुई सिउँदो खाली हुन नपरोस् र त्यो नाममा दुई ज्यान विधवा हुन नपरोस्।

सधैं जिन्दगीमा सफल अनि खुसी रहनू मेरो नामको मात्र एकदिने श्रीमान। -सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *