रमाउनलाई अर्को मान्छे चाहिने नै हो र ?

क्रान्तिशिखा धिताल
जीवनलाई आफ्नो साधनसँग तुलना गर्ने हो भने कहाँ, कसरी चलाउने भन्ने चालकमा भर पर्छ। तर उसले नै चलाउन पाएन भने चाहिँ कस्तो हुन्छ? आफ्नो गाडी अरूले चलाएर पाटपुर्जा बिगारेर ल्याङफ्याङ पारेको उसले टुलुटुलु हेर्नुपर्‍यो भने कस्तो लाग्छ?

तपाईंलाई बिदाको दिन कसैले बोलायो। तपाईंलाई निस्किन मन छैन। एकपल्ट सोच्नुहुन्छ, ‘के भन्ने? निक्कै बल गरेर बहाना बनाउनुहुन्छ र भन्नुहुन्छ, ‘सरी यार आज फुर्सद छैन।’

वा ‘सरी आन्टी आज आउन पाउँदिनँ।’ वा भन्न खोज्नुहुन्छ, ‘सरी, मलाई आज एक्लै बस्न मन छ। आफूसँगै समय बिताउन मन लागेको छ।’

तपाईंले यस्तो भनिहाल्नुभयो भने सुन्ने मान्छे चुप बस्दैन। बरू उल्टै प्रतिप्रश्न गर्छ, ‘किन हामीसँग आउन हुँदैन?’ र सायद तपाईंले नसुन्ने गरी भन्छ, ‘आजकाल ठूलो भएको छ!’

म पनि तपाईंजस्तै त्यसरी ठूली हुनु नपरोस् भनेर कसैले बोलाए भने मन नलागीनलागी पनि निस्किदिन्छु। कुनै दिन केही गरी ‘एक्लै बस्न मन छ, यो हप्ता आफ्नो लागि समय दिनु छ’ भनिहालेँ भने अजिबका प्रश्न तेर्स्याइन्छ।

‘बिरामी भयौ?’

‘कोठामा कोही आउँदैछ?’

‘डिप्रेसनमा जान लागिस् क्या हो?’

यसरी आफूतिर आएका प्रश्न दोहोर्‍याउँदै सोच्छु- आफ्नो लागि समय निकाल्छु भन्नलाई म किन अरूसँग डराइरहेको हुन्छु? आफूलाई समय दिन्छु भन्न पनि डराउनुपर्ने किन? मेरो लागि आफ्नो समय कति छ? कि छैन?

माथि भनिएजस्तै ‘केही’ हुँदा मात्रै एक्लै बसिन्छ र? एकान्त मन पर्नलाई बिछोड हुनै पर्ने हो र? रमाउनलाई अर्को मान्छे चाहिने नै हो र? एक्लै आफूसँगै रम्न खोज्नु गलत हो त?

मनोविज्ञानको विद्यार्थी भएकाले समाजमा एक्लोपन बढिरहेको बारेमा जानकार छु। तर त्यसो भन्दैमा सबैलाई एउटै घानमा हाल्नु पनि त भएन नि! अरूको व्यक्तिगत समयलाई बुझ्न नसक्नु चाहिँ कमजोरी होइन र? कतिलाई यही कुराले नै समस्या पो भइरहेको छ कि!

मेरा लागि एक्लै रम्नु भनेको कलासँगको साक्षात्कार हो। आफूसँग मात्र भएर सोच्दा आफू रचनात्मक भएको महसुस हुन्छ।

आफ्नो लागि समय भाग लगाउनु अरूलाई टाढा बनाउनु होइन भन्ने थाहा छ। तर पनि थाहै नपाई हाम्रो संरचनाले बनाएको प्रश्नमा अल्झिहाल्छु। प्रेम आफूलाई गर्न जाने मात्रै अरूलाई गर्ने हो। आफैं अनभिज्ञ हुँदा अरूलाई गरिने प्रेमले आफ्नो प्रेमको आधार कमजोर बने जस्तो लाग्छ।

आफ्नो लागि स्पष्ट समय माग्न नसक्दा (माग्नुपर्ने भएकै हो?) मैले अरूलाई पनि पूरै समय दिन नपाएजस्तो लाग्छ। भनिहाल्न चाहिँ सक्दिनँ।

तपाईंलाई पनि यस्तै हुन्छ?

एकलकाटे-असामाजिक भन्लान् भन्ने डरले आफूलाई मन लागेका कुरा भन्न पाउनु हुन्न?

एकपल्ट के भयो भन्नु न! म एउटा घटना सुनाउँछु।

एकदिन साथीले फोन गरेर घुम्न जाऊँ भनी। छुट्टीकै दिन थियो। त्यो दिनको काम पनि सकिसकेकी थिएँ मैले। हप्तामा ६ दिन काम गरेपछि बचेको एक दिन आफ्ना लागि हो जस्तो ठान्छु। जान्नँ भन्न बहाना पनि फ्याट्ट केही आएन। जबरजस्ती निस्किएँ।

निस्किनुअगाडि मन नलागे पनि निस्किएपछि भने रमाएँ। हामीले रमाइलो गर्‍यौं। ठाउँ शान्त रहेछ, बसेर मस्त खायौं। करिब चार घण्टापछि फर्कियौं।

तर फर्किँदै गर्दा आफ्ना लागि छुट्याएको दिन आफूलाई नदिएजस्तो लाग्यो। केही छुटेजस्तो, केही अपुगजस्तो भइरह्यो।

घर आइपुगेँ। रातो गेट खोलेर हतार-हतार कोठाभित्र पसेँ। ढाडलाई ढाेकामै अड्याएर लामो सास फेरेँ बल्ल आफ्ना लागि समय पाएजस्तो भयो। हलुंगो भयो मन। दिउँसो पो अरूसँग थिएँ। अहिले त मसँगै छु त जस्तो लाग्यो।

कोठामा अँध्यारोले छोपेको थियो। चिसो बढ्दै थियो। बत्ती बाल्न मन लागेन। अँध्यारोमै आफूलाई सुन्न थालेँ।

तपाईंले यसरी आफूलाई सुन्नुभएको छ? कि सुन्ने बेला आफ्नोभन्दा धेरै अरूको सुन्नुभएको छ?

अडेस लागिरहेकै बेला मोबाइलमा टुङटुङ घण्टी बज्न थालिहाल्यो। के-के नोटिफिकेसन बर्सिन थाले। वाइफाए अफ गर्न बिर्सिएछु। नाटक हेरिरहेका बेला कसैको फोन बजेर बिच्क्याएजस्तै भयो।

नोटिफिकेसन हैन, आफैंलाई सुन्ने निधो गरेँ। दाहिने हात लम्काएर राउटर अफ गरिदिएँ।

के तपाईंको पनि घर फर्किनासाथ यसरी नै मोबाइल बज्छ?

एउटा साथीले सुनाएको सम्झिएँ। उसलाई उसको ब्वाइफ्रेन्डले हरेक पलको हिसाब लिने गरी फोन गर्छ। कतै जानुभन्दा पहिला, फर्किएपछि, सबै पलको जानकारी लिन्छ। कतिपय कुरा उसलाई भन्न मन लाग्दैन रे। तर पनि मलाई यस्तो लाग्दैछ भनेर भन्न सक्दिनँ भन्छे।

माया गर्ने र बुझ्ने भनेको सम्बन्धमा पनि एक अर्कालाई ‘स्पेस’ नहुने हुन्छ? कि आफू जे हो एकअर्कालाई नभनी बनेका सम्बन्ध यस्ता हुन्छन्? आफू के हो, आफूलाई के/को मनपर्छ भनेर बुझ्नलाई ‘छुट्टै’ समय चाहिन्छ। यस्तो विशेष समयको हामी कुरा किन गर्न सक्दैनौं?

कतिपय सम्बन्धमा हामी खुसी नभए पनि अरूले के भन्लान् भन्ने सोचेर वा समयसँगै सुधार होला भन्ने आशा गरेरै सम्झौता गरिरहेका हुन्छौं। मेरो साथीले आफ्ना लागि समय छुट्याउन सक्नु/पाउनु पर्छ भन्ने कुरा उनीहरुको कुराकानी सुरू हुँदै स्पष्ट भनेकी भए उसको प्रेमीले त्यहीअनुसार कुरा बुझ्थ्यो होला। उसले भन्न सकिनँ। उसको प्रेमीले बुझ्न सकेन।

भन्न मन लागेका कुरा तपाईं कत्तिको भन्न पाउनुहुन्छ? तपाईंले भनेको कुरा नभनी बुझ्ने मान्छे कति छन्?

केही दिन पहिला ‘मोबाइल भनेको पर्सनल चिज हो’ भनेको एउटा सन्दर्भ सम्झिएँ। तर के यसले हामीलाई पर्सनल हुन दिएको छ?

निक्कैबेर आफूलाई सुनिसकेपछि कोठाको बत्ती बालेँ।

आफ्नै कोठालाई निक्कै बेर नियालेँ। खाटभरि रंगीबिरंगी लुगाका चाङ रहेछन्। भुइँको निलो गलैंचामा काला मेकअप ब्रस लडिरहेको रहेछ। टेबलमाथि रातो ल्याम्प उस्तै रहेछ। पछिल्लोपल्ट त्यसलाई मैले कहिले चलाएँ?

भित्तामा ब्याट्री सकिएको घडी थियो। मेरो घडीमा कहिलेबाट अरूको समय बज्न थाल्यो?

बाहिरको हावाले झ्यालको पर्दा हल्लिँदै गरेको एकटक हेरिरहेँ। भावनाको वेगजस्तो छ त्यस्तै थियो दृश्य। मलाई यिनैले पर्खी बसे जस्तो। भेट्न आतुर जस्तो। यिनैलाइ स्पर्श गर्न म छटपटिए जस्तो।

आफ्नै कोठामा भएका चिज आत्मीय लागे जो मेरो अनुमतिबिना कसैको पनि हुँदैनन्। कसैको पनि नहुनु र मेरो मात्रै हुनुमा केही फरक त छ। त्यही फरकभित्रै लुकेको छ अपनत्व, जसले हामीलाई हुर्काउँछ, बढाउँछ, सिकाउँछ, लडाउँछ, बुझाउँछ अनि ब्युँझाउँछ।

तिनले मलाई ब्युँझाए, झकझक्याए! मेरो जीउ बाहिर भरिएका अरूका लागि भएका ‘म’ हरूलाई टक्टक्याए। म यी भित्तासँग खुसी हुन्छु। म हाँस्दा यिनको चमक अर्कै हुन्छ। रुँदा मेरा भित्ता पनि दुखी हुन्छन्। म कहिलेकाहीँ यीसँग संवाद गर्छु।

त्यो दिन तिनले मसँग त्यसरी संवाद गरे।

तपाईंले आफ्ना सामानसँग यसरी संवाद गर्नुभएको छ? एकान्तमा आफूलाई सुनिरहेको बोली सुन्नुभएको छ? कसलाई के-के सुनाउनुभएको छ?

कहिलेकाहीँ साथीभाइ, आफन्त, अफिसको कामले वाक्क लाग्दा त कसैलाई सबै थोक सुनाऊँ जस्तो पनि हुन्छ। तर कसैले सुन्दैनन् कि जस्तो पनि लाग्छ। आफूलाई त सुन्न नसक्ने तपाईंलाई, अरूले सुन्न सक्लान् भन्ने कसरी लागोस्?

अझ यसो गर- त्यसो गर भनेर सल्लाह दिनेको कमी हुँदैन। कहिलेकाहीँ सहानुभूति-सुझाव नदिएरै सुन्ने कान चाहिरहेको हुन्छ। तर त्यो पनि पाइँदैन। हो यस्तै समयमा आफ्ना वरपरका भन्दा एकान्त प्यारो हुन्छ।

अभाव र असफलताले जीवनका अरू आयाम सम्बोधन गर्न नजान्दा अपेक्षा गरेजति परिणाम पाइरहेका हुँदैनौं कि? त्यो परिवेश निराशा र चुनौतीले भरिएजस्तो लाग्न थाल्छ कि?

जीवनलाई संघर्षकै परिभाषा दिन जरूरी छ र? हामी कतै जीवनलाई भिन्दाभिन्दै शृङ्खलाले जोड्दै योजनावद्ध चलाइरहेका त छैनौं? शृङ्खलाभित्र कति लोभ, इर्ष्या, क्रोध, मोहले उब्जाएको अस्वस्थ प्रतिस्पर्धा होला, ती सबैलाई आफूभित्र आउन दिइरहेका त छैनौं?

मैले आफूलाई किन एक्लै बस्न र सुन्न मनपर्छ भनेर कसैलाई भन्न सकेकी छैन? मेरी साथीले किन सकिरहेकी छैन? अरू कसकसले सकिरहेका छैनन्? भन्न सक्ने र नसक्नेको अनुपात कति भइसक्यो होला है?

घण्टौं कोही अर्कोसँग बोल्नु मात्रै पनि त प्रेम होइन। मन नभई-नभई कसैको साथमा हुनु वास्तवमा साथमा हुनु होइन। जुनसुकै सम्बन्ध हुन्, व्यक्तिगत या व्यावसायिक, आफू के हुँ भनेर बुझाउन नपाएरै धेरैलाई समस्या भइरहेको हुन्छ।

माया पाउने आशमा समस्यामूलक व्यक्तिगत सम्बन्ध तन्काइन्छ। अनि कहिलेकाहीँ काम पाउने/गुमाउने लोभले व्यावसायिक जीवनमा ‘कम्प्रोमाइज’ गरिन्छ। तर दुवैमा आफू हुन नपाए के मजा?

तपाईंले मन नलागीनलागी कति सम्बन्धहरू बचाउनुभएको छ? ती बाँचे त? तपाईंले कतिलाई आफ्नाबारे बुझाउन पाउनुभयो त?

अरूको मन दुख्ला भन्ने सोच्दासोच्दै आफू कति पटक दुख्नुभयो? कति औं पटक दुखेपछि म दुखिरहेछु भन्ने पत्तो पाउनुभयो? अरूको आँसु समेत बुझ्नेले अरूले आफूलाई चिन्नु र आफूले आफूलाई चिन्नु या बुझ्नुमा ठूलो पर्खाल छ भन्ने कहिले थाहा पाउनुभयो?

वास्तवमा त्यो पर्खाल अरूका लागि हुन्छ। तर हामी आफ्ना लागि पनि सोच्दा रहेछौं।

विडम्बना, हामी न त्यो पर्खालमा उभिन सक्छौं न त्यो पर्खाल भत्काउन।

आफूले आफैंलाई पनि काहीँ पर्खाल लगाउने हो र?

निःस्वार्थ आफूलाई प्रेम गर्दाको स्वतन्त्रताको मजा बेग्लै छ। कोही अरूलाई उज्यालो देखाउनु र आफूभित्रै उज्यालो खोज्नुमा नितान्त फरक छ। प्रेम पनि त प्रक्रिया न हो, बुझाउँदै गयो परिपक्व हुन्छ, सम्हाल्दै गयो मजबुत हुन्छ।

त्यसैले अचेल म भन्न थालेकी छु। यसै पनि सबै स्पष्ट भनेपछि म जस्तो छु, त्यस्तै मसँग हुन सक्ने त सँगै भइहाल्छन् नि।

तपाईं पनि भन्न थाल्नुहोस्। आफ्ना लागि समय छुट्याउन थाल्नुहोस्। आफूलाई मन परेका काम गर्न थाल्नुहोस्।

शिवपुरी जंगलमा गएर मस्त गालिबका गीत सुन्न खोज्छु म। कोही त होला जसलाई त्यसरी गालिब सुन्ने ‘म’ मनपर्छ।

तपाईं जस्तो हो त्यस्तै भएको मन पराउने मान्छे पक्कै होलान्!

तपाईंले आफ्ना लागि समय माग्दा अरूले के भन्लान् भनेर सोचिरहनुभएको होला। तर त्यसो गरेर तपाईंले अरूलाई पनि त उनीहरूको समय खोज्न दिइरहनुभएको छ नि। हैन?

सामान्यतया हामी अरूको विचारलाई वास्ता गर्छौं, अरूको मूल्यांकनले हामीलाई असर गर्छ। कुरा गम्भीर किन नहोस् नाइँ भन्न नसक्दा त्यसको परिणाम भारी पर्न जान्छ। यसले कतिपय कुरामा त हाम्रो जीवनशैली नै बदलिन्छ। भावनाको आफ्नै वेग छ तर यसलाई कहिले र कसरी लगाम लगाउने आफ्नो हातमा हुन्छ। यसको सन्तुलन र व्यवस्थापन कठिन पक्कै होला तर असम्भव छैन।

हामी लामो समयदेखि विशेष अवस्थाबाट पीडित हुन्छौं। यो भर्चुअल संसारमा सहजै कसैको विश्वास गर्न सक्दैनौं। कति सुनेका कुराले मात्रै पनि हामी मन दुखाएर बस्छौं। यस्तो दुखाइ सीमारहित हुन्छ। एक्लै बस्दा हामी आत्म वास्तविकता बुझ्छौं। यो बेला आफ्नो सासको फेराइ पनि महसुस हुन्छ।

सामाजिक-पारिवारिक भूमिका भएकातिर अनि मनसँग सम्बन्धित केही जटिलता अर्कोतिर हुन्छ। हामीलाई मार्गदर्शन दिने हाम्रो मानसिक क्षमता हो, जसको इलाज भनेकै हाम्रो सकारात्मक सोच र विचार हो। जुन आफैंले मनन गरेपछि मात्रै महत्त्व थाहा हुन्छ।

मनन गरी हेरौं न! आफ्ना लागि समय मागी हेरौं न!

सबै जनासँग आफ्नो पनि समय भएको समाज कस्तो हुन्छ होला है?

-सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *