‘पाइलटले छल्न खोज्दा जता-जता हेलिकप्टर गयो त्यतै आएर ठोक्कियो चिल’ [भिडियो]

काठमाडौं, मंसिर १४
बागलुङ गलकोट हटियाबाट यात्रु बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको कैलाश एअरको हेलिकप्टरमा चरा ठोक्किएको छ।

आइतबार दिउँसो १:४० मा हेलिकप्टरमा चिल ठोक्किएपछि आकस्मिक अवतरण गरिएको थियो।

‘हामी करिब दुई हजार मिटर उचाइमा उडिरहेका थियौं। एक्कासी चिल देखा पर्‍यो,’ हेलिकप्टरमा रहेका यात्रु, गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले सेतोपाटीसँग भने, ‘पाइलटले चिल छल्न खोज्नुभएको थियो तर जता हेली लग्यो उतै चिल गयो र हेलिकप्टरको शिशामा ठोक्कियो।’हेलिकप्टरको अगाडि सिटमा पाइलटसँगै भण्डारी बसेका थिए।

‘म बसेको ठाउँमा चिल ठोक्कियो, पाइलटतिर साइडमा ठोक्किएको भए त आकस्मिक अवतरण गर्न पनि गाह्रो पर्ने रहेछ,’ उनले भने।

चिल ठोक्किएपछि हेलिकप्टरको अगाडिको भागको शिशा फुटेको छ। ‘चिल हेलिकप्टरभित्रै पसेर ढोकाबाट निस्किएको हो,’ उनले भने।

वडाध्यक्ष भण्डारीले हटियाबाट उडेदेखि नै भिडिओ खिच्दै आएका थिए। ‘मसँग चिल हेलिकप्टरमा ठक्कर खाएको फुटेज पनि छ,’ उनले भने।

चिल ठोक्किएको झन्डै २ मिनेटमा पाइलट दीपक पुनले हेलिकप्टर आकस्मिक अवतरण गरेको उनले बताए।

‘ठाउँ हेरेर तत्कालै पाइलटले आकस्मिक अवतरण गर्नुभयो। मेरो हात र घुँडामा हल्का चोट लागेको छ। अरूलाई केही पनि भएको छैन,’ भण्डारीले भने।

उक्त हेलिकप्टरमा भण्डारी, पाइलट पुन, अमृत खत्री, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए। उनीहरू साढे १२ बजे बागलुङ हटियाबाट काठमाडौंतर्फ उडेका थिए।

अर्को हेलिकप्टर नुवाकोट पुगेपछि उनीहरू केहीबेर अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका छन्। आफूहरूलाई हेलिकप्टर कम्पनीले राम्रो रेक्सपोन्स नगरेको उनको गुनासो छ।

‘सामान्य चोट लागेको छ, प्राथमिक उपचार त हामी आफैं गरौंला,’ उनले भने, ‘हेली कम्पनीले राम्रोसँग रेस्पोन्स गरेन। हाम्रो आइडी कार्ड खिचेर लगेको छ। कम्पनी यस्तो घटनामा जिम्मेवार बन्नु पर्ने हो।’ -सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *