हेटौँडा, फागुन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम बहादुर घलान (वाटर) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई जनमतको परिवर्तनको संकेत भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसपटकको निर्वाचनमा जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ देखिएको बताएका हुन्। उनले जनताले देखाएको परिवर्तनको चाहनालाई सबै राजनीतिक दलले सम्मान गर्नुपर्ने धारणा राखेका छन्।
घलानले पुराना राजनीतिक दलहरूको नेतृत्वमा देखिएको कमजोरीका कारण पनि जनताको मत परिवर्तन भएको उल्लेख गरेका छन्। उनले जनमतको लहरलाई सकारात्मक रूपमा ग्रहण गर्दै निर्वाचित हुने जनप्रतिनिधिहरूलाई आफ्नो कार्यकाल सफल बनाउन शुभकामना व्यक्त गरेका छन्।
साथै उनले जनमतलाई विवेकपूर्ण ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। कहिलेकाहीँ जनताले ल्याइदिएको ठूलो जनलहर ‘सुनामी’ जस्तै बन्न सक्ने र त्यसले देश र जनतालाई नै क्षति पुर्याउन सक्ने भन्दै उनले सबै पक्ष सचेत हुनुपर्ने बताएका छन्।
उनले जनमतको सम्मान गर्दै लोकतान्त्रिक मूल्य र जिम्मेवारीका साथ काम गर्न नयाँ जनप्रतिनिधिहरूलाई आग्रह पनि गरेका छन्।














