मुख्य समाचार

दुई देशको सम्बन्धको नयाँ खाका कोर्न यहाँ आएको छु: राष्ट्रपति सी

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल र चीनबीचको सम्बन्धमा कुनै पनि समस्या नरहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले होटल सोल्टीमा आयोजना गरेको विशेष रात्रीभोज समारोहलाई सम्बोधन गर्दै सीले भने, ‘नेपाल र चीनबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध छ। हामीबीच कुनै समस्या छैन, केबल मित्रता मात्रै छ।’
उनले नेपालको राजनीतिक स्थायित्वप्रति प्रशन्नता व्यक्त गर्दै भने, ‘यहाँको सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्त खुशी भएको छु।’ उनले नेपाल चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान आफू काठमाडौं आइपुगेको उल्लेख गर्दै भने, ‘म दुई देशको सम्बन्धको नयाँ खाका कोर्न यहाँ आइपुगेको छु। मलाई आशा छ आगामी दिन दुई देशबीच अझ घनिष्ट सम्बन्ध र बलियो सहकार्य हुनेछ।’
राष्ट्रपति सीले नेपालसँग चीनले पुस्तौंपुस्ताको मित्रता र सहकार्य चाहेको बताउँदै भने, ‘हिमाल वारपारको साझा भविष्यका लागि हामी मिलेर अघि बढ्नुछ। हामीले चीन नेपाल सीमापार रेलमार्गको सुरुवात गर्नेछौँ। अरनिको राजमार्गको स्तरोन्नती गर्नेछौँ। हिमाल वारपार कनेक्टिभीटी संजालको विकासलाई प्राथमिकतमामा राखेका छौं।’सीले नेपालको सन् २०२० भ्रमण वर्षलाई सफल बनाउन बढीभन्दा बढी चिनियाँ पर्यटक पठाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘दुई देशका सहरलाई भगेनी सम्बन्ध बनाउन लागि परेका छौँ।’
बुद्धको जन्मस्थल लुम्बनी क्षेत्रको विकासमा सघाउने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘चीनमा बुद्ध धर्म मान्ने मान्छको संख्या सबैभन्दा बढी छ। अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ। यसले पनि नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन मद्दत गर्नेछ।’ चिनियाँ राष्ट्रपति सीले आर्थिक भूमण्डलीकरणसँगै जलवायु परिवर्तन सम्बन्धमा नेपाली पक्षले राखेको सरोकारलाई सम्बोधन गर्न चीन सकारात्मक रहेको बताउँदै सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्नका लागि साझेदारी गर्न तयार रहेको बताए।
नेपाल र चीनबीच मित्रता मात्रै छ : राष्ट्रपति सी
आफ्नो सम्मानमा शनिबार होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ । तस्बिर : प्रदीपराज वन्त/रासस

Related Articles

Close