मुख्य समाचार

पूर्वराजाकाे चेतावनी –'परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्छन्'

काठमाडाैँ – पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् । पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख
गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अफ्ठ्यारोमा पर्ने बताएका हुन् । मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताए । ‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहको भनाइ थियो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्न सक्छ ।’
पूर्व राजा शाहले त्यस अवसरमा आज भाइटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना व्यक्त गरे । पूर्वराजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उनले भने झैं ‘अरुको सुःखका लागि आफैलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए ।
‘सबै नेपालीले सुःख र शान्तिका साथ बस्न पाउन, तिहारको अवसरमा मेरा यही शुभकामना छ,’पूर्वराजा शाहको भनाइ थियो ।
साे अघि पूर्व राजा ज्ञानेन्द्र शाहले टीका लगाए थिए। पूर्वराजा शाहले मंगलर १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन्।
उनले भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यस अघि नै टिका लगाएका थिए। पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए।

Related Articles

Close