रास्ट्रीय

आयात घट्दा राजस्वमा असर

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात घटेको छ। २०७६/७७ को पहिलो त्रैमासमा तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको वस्तु आयात भएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ३४ प्रतिशतले कम हो।

आयात घटेसँगै यसको असर राजस्व असुलीमा परेको छ। सरकारले पहिलो त्रैमासमा भन्सार महसुलबाट ५९ अर्ब ७६ करोड रुपैयाँको लक्ष्य रहेकोमा ३५ अर्ब ३ करोड रूपैयाँमात्र असुली भएको छ। भन्सार महसुल नै लक्ष्यभन्दा ४१.४० प्रतिशत कम संकलन भएको छ। भन्सार महसुलमात्र नभएर भन्सार बिन्दूमा संकलन हुने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क पनि घटेको छ। सरकारले चालु वर्षदेखि व्यापारघाटा न्यूनीकरण रणनीति कार्यान्वयनमा ल्याएको छ। विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न थालेपछि सरकारले विलासिताका वस्तुको आयातलाई निरुत्साहित गर्दै आएको छ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन खर्ब ३४ अर्ब रुपैयाँको आयात भएको छ भने २७ अर्ब १७ करोड रुपैयाँको निर्यात भएको छ। निर्यात १४.४१ प्रतिशतले बढेको हो। आयातमा कमी र निर्यात बढ्दा व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा १२.०२ प्रतिशतले घटेर तीन खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ छ। चालु आवको पहिलो त्रैमासमा एक रुपैयाँको निर्यात गर्दा १२.३ रुपैयाँको आयात भएको छ।

नेपालको कुल १२४ मुलुकसँग व्यापारिक सम्बन्ध रहेकोमा १०१ मुलुकसँग व्यापार घाटा छ। पहिलो त्रैमासमा नेपालबाट धेरै निकासी भएका मुलुकमा भारत, अमेरिका, जर्मनी, बेलायत र टर्की छन्। त्यस्तै, नेपालले आयात गरेका प्रमुख देशमा भारत, चीन, इन्डोनेसिया, अमेरिका र क्यानडा छन्।
नेपालको प्रमुख निर्यातमा पाम आयल छ। नेपालमा उत्पादन नभए पनि भारतसँगको भन्सार महसुलको फरकका कारण नेपाली व्यवसायीले इन्डोनेसिया, मलेसियालगायत देशबाट आयात गरेर भारतमा निर्यात गर्दै आएका छन्।

मुलुकमा उत्पादन नै नहुने पाम आयल ५ अर्ब ७५ करोड रुपैयाँको निर्यात भएको छ। पाम आयलको भन्सार महसुल नेपालमा १० प्रतिशत छ भने भारतमा ४० प्रतिशत छ। भारतीय व्यवसायीले इन्डोनेसिया र मलेसियाबाट आयात गर्दा धेरै भन्सार महसुल लाग्ने भएकाले नेपाल हुँदै पाम आयल भारत पुर्‍याइने गरेको छ। साबुनको कच्चा वस्तुको रूपमा पाम आयल प्रयोग हुँदै आएको छ।

नेपालले भारतीय बजारमा निकासीमा पाएको सौविध्यपूर्ण बजार पहुँचको उपयोग गर्दै पाम आयल निकासी भइरहेको छ। पाम आयलका अतिरिक्त कार्पेट, सोयाबिन तेल, यार्न तथा चियाकफी प्रमुख निकासी वस्तुका रूपमा छन्। त्यस्तै, आयाततर्फ भने इन्धन, सवारीसाधन, मेसिनरी, फलाम र स्टिल तथा दूरसञ्चार उपकरण प्रमुख आयातको रूपमा छ।

Close