मुख्य समाचार

कलंकी-चाबहिल चक्रपथ विस्तार : आकासे पुल, प्रहरी भवनसहित ४० घर भत्किने

काठमाडौं : कलंकी-चाबहिल चक्रपथ विस्तारमा नारायणगोपाल चोक आसपासका करिब ४० घर हटाउनुपर्ने देखिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणमा यस्तो देखिएको हो। चीनले विस्तार गर्ने भनिएको यस सडकमा ‘राइट अप वे’

क्लियर नभएसम्म चिनियाँ कम्पनीले डीपीआर तयार नगर्ने भएको छ।चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्तार हुने भएको हो। उक्त सडक (कलंकी – चाबहिल ) अहिले ३० मि.को चौडाइमा फैलिएको छ। तर, अब सडकको मध्यभागबाट दायाँ ३१ र बायाँतर्फ ३१ मिटर गरी जम्मा ६२ मिटरको चौडाइमा विस्तार हुनेछ। उक्त क्षेत्रमा भएका करिब ४० वटा घर सडक विभागले हटाउनेछ।अहिले राइट अप क्लियरका लागि सडक विभागमार्फत उपत्यका विकास प्राधिकरणले पहिलो चरणमा लगत संकलन गर्ने गरिरहेको छ। प्राधिकरणले संकलन गरेको प्रारम्भिक तथ्यांकमा निजी आवास, नेपाल पुलिसको भवनको केही भाग, नेपाल कुष्ठरोग निवारण संस्थाको भवन, पेट्रोल पम्प, गोंगबु नयाँ बसपार्कको आकासे पुललगायत संरचना हटाउनुपर्ने देखिएको छ। साथै, एघार किलोमिटर आसपासमा भएका बिजुलीका पोल पनि हटाइनेछ। बिजुलीका पोल हटाउनका लागि विद्युत् प्राधिकरणलाई पत्राचार गरिसकेको रिमालले जानकारी दिए। अहिले सडकको विस्तारका लागि अधिग्रहण गर्नुपर्ने भएका जमिन क्षतिपूर्ति दिएर गरिने आयोजना प्रमुख रिमाले बताए।

‘अहिले प्राधिकरणले लगत संकलन गरिरहेको छ,’ उनले भने, ‘यो काम सकिएपछि क्षतिपूर्तिबापतको रकम दिएर काम आगाडि बढाइनेछ।’प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार जमिन र घरको क्षतिपूर्तिबापत करिब एक अर्ब ६१ करोड रुपैयाँ दिनुपर्ने भएको प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले बताए। ‘अहिले धेरै ठाउँमा संरचना हटाउनुपर्ने समस्या छैन,’ उनले भने, ‘मुख्य नारायणगोपाल चोकमा धेरै घर भत्किने भएका छन्। प्रारम्भिक अध्ययनमा जमिन र घरसहित करिब एक अर्ब ६१ करोड क्षतिपूर्ति दिनुपर्ने देखिएको छ।’ क्षतिपूर्तिबापतको रकम दिँदा मूल्यांकन समितिले सिफारिस गरेबमोजिमको रकम दिइने उनको भनाइ छ। विस्तार क्रममा रहेको यो सडक पनि कोटेश्वर-कलंकीकै ढाँचामा आठ लेनमा बन्न लागेको हो। आठ लेनमा बन्ने सडकको मुख्य लेन चीन सरकारले बनाइदिनेछ। सर्भिस लेन भने नेपाल सरकार आफैँले बनाउनुपर्ने सहमति भएको आयोजना प्रमुख रिमालले बताए। ‘चीन सरकारले मुख्य लेन बनाउने हो,’ उनले भने, ‘सर्भिस लेन र अन्य आकाशे पुललगायत संरचना हामी आफैँ बनाउनेछौँ।’

चाबहिल-तिलगंगा खण्ड तत्काल नबन्ने
चाबहिल धोबीखोला पुलदेखि तिलगंगासम्मको सडक विस्तार नहुने भएको छ। यस क्षेत्रमा पुरानो बाक्लो बस्ती छ। त्यहाँ पशुपति क्षेत्रका मठमन्दिरका संरचना पनि धेरै छन्। यस क्षेत्रमा भएको सडकको चौडाइ करिब १६ मिटर मात्र छ। यो खण्ड विस्तार गर्दा बनेका संरचनामा धेरै क्षति हुने आयोजना प्रमुख रिमालले बताए। ‘यस क्षेत्रमा कायमा भएको सडकको चौडाइ एकदमै सानो छ,’ उनले भने, ‘घर पनि बाक्लो छ। पशुपति क्षेत्रका पनि धेरै सम्पदा छन्। यहाँको सडक विस्तार गर्दा धेरै क्षति हुने सम्भावना छ।’

धेरै घर र पशुपति क्षेत्रका संरचना भत्काउनुपर्ने हुँदा यो खण्ड तत्काल नबन्ने भएको उनले बताए। तर, तिलगंगादेखि कोटेश्वरखण्डका लागि भने अध्ययन उनले जानकारी दिए।। ‘तिलगंगा- कोटेश्वर सडकखण्ड विस्तारका लागि भने अहिले सडक विभागले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘अध्ययन प्रक्रिया पूरा भएपछि यताको पनि काम सुरु हुनेछ।

Related Articles

Close