समाचार

सुनभन्दा दोब्बर महँगो ‘ह्वाइट गोल्ड’ कसरी भयो आधा सस्तो ? पढ्नुहोस

कात्तिक २२, काठमाडौं । एकदशक अघिको कुरा हो, ‘ह्वाइट गोल्ड’ अर्थात् सेतो सुन भनेर चिनिने ‘प्लाटिनम’ निकै महँगो धातुमा पर्थ्यो। सुनभन्दा दोब्बर मूल्य पर्ने प्लाटिनम अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय थियो।

यो खबर रोशन सिग्देलले सेतोपाटीमा लेखेका छन् । सन् २००८ को फेब्रुअरी १८ को तथ्यांकले प्लाटिनमको मूल्य अन्तर्राष्ट्रिय बजारमा २१६७.८० अमेरिकी डलर प्रतिऔंस देखाउँछ। सोही दिन सुनको मूल्य त्यसको आधाभन्दा पनि कम थियो। अर्थात् प्रतिऔंस ९०८ अमेरिकी डलरमा कारोबार भएको थियो। सन् १९९९ मा प्लाटिनमको मूल्य कम प्रतिऔंस ३५० अमेरिकी डलर थियो। त्यसपछि यो निरन्तर बढेको हो।

त्यो बेला प्लाटिनमका गहना नेपालमा पनि धेरैका लागि रहर बन्न थालिसकेका थिए। हामीकहाँ प्लाटिनमलाई नै ह्वाइट गोल्ड भनिए पनि अन्तर्राष्ट्रिय बजारमा ह्वाइट गोल्डले विभिन्न धातु मिसाएर बनाएका गहना पनि बुझाउँछ। जस्तो अलिकति सुन, अलिकति चाँदी, अलिकति प्लाटिनम वा रोडियम जस्ता अरू धातुको मिसाएर बनाइएका टिलिक्क टल्किने गहना।

ह्वाइट गोल्ड र प्लाटिनम विशेषगरी हिरा राखेर बनाइने गहनामा प्रयोग गरिन्छ। प्लाटिनम सुनभन्दा धेरै बलियो हुन्छ। २४ क्यारेट सुन कमलो हुने भएकाले हिरा अड्याउन मुश्किल हुन्छ। त्यसैले हिरा प्लाटिनम वा मिश्रित धातुमा राखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा प्लाटिनमको माग र लोकप्रियता बढेसँगै नेपाली गहना बजारमा पनि यसले थोरै स्थान पाउन थालेको थियो। रत्न आभूषण संघका अध्यक्ष तथा आरबी डाइमन्डका सञ्चालक रमेश महर्जन त्यति बेला प्लाटिनम गहनाको माग ह्वात्तै बढेकाले मूल्य आकासिएको बताउँछन्।

‘त्यस बीचमा अमेरिका तथा युरोपमा विशेषगरी प्लाटिनमका गहना लगाउने चलन बढ्यो, माग र मूल्य पनि बढ्यो,’ महर्जनले भने। तर सुनभन्दा दोब्बर महँगो प्लाटिनमले आफ्नो विरासत कायम गर्न सकेन।

एक दशकअघिको तुलनामा यी धातुका मूल्य र बजार ठीक उल्टो भइसकेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १४८६ अमेरिकी डलर आसपास छ। त्यहीँ प्लाटिनमको ९३२ अमेरिकी डलरमा झरेको छ।

अहिलेसम्म सुनको सबभन्दा धेरै मूल्य २०११, अगस्ट २२ मा कायम भएको थियो। त्यति बेला सुन प्रतिऔंस १८८९.७० अमेरिकी डलरमा कारोबार भएको थियो। त्यही बेला प्लाटिनमको मूल्य पनि बढेर १८ सय अमेरिकी डलर थियो।

कुनै बेला गहना बजारमा वर्चस्व जमाएको प्लाटिनम कसरी एकाएक ओरालो लाग्यो त?

यसमा विश्वव्यापी आर्थिक मन्दीको ठूलो भूमिका छ। प्लाटिनमको मूल्य उच्च भएकै बेला विश्वभर आर्थिक मन्दी सुरू भयो। अमेरिकाबाट सुरू भएको मानिने त्यो मन्दीका कारण प्लाटिनमको मूल्य पनि घट्यो। संसारभर सुन सम्पत्तिका रूपमा प्रयोग भइरहँदा प्लाटिनम ‘फेसनएबल’ गहना मात्र मानियो। यसले सम्पत्तिको दर्जा पाएन। त्यसैले मान्छेले प्लाटिनममा लगानी नगरेको देखिन्छ।

यसपछि प्लाटिनमको मूल्यमा तीव्र उतार-चढाव आयो। सन् २००८ को अन्तसम्ममा यसको मूल्य आधाभन्दा धेरै घटेर ८४५ अमेरिकी डलरमा पुगेको तथ्यांकले देखाउँछ।

सन् २०१० को अन्तसम्म फेरि मूल्य बढेर १८ सय अमेरिकी डलर हाराहारी पुग्यो। निकै छिटो-छिटो बढ्ने घट्ने भइरहेको प्लाटिनम त्यसपछि भने त्यो उचाइमा पुग्न सकेको छैन। आजका दिनमा यो सुनभन्दा आधा कम भाउमा कारोबार भइरहेको छ।

नेपालमा पनि प्लाटिनमको माग छैन

सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मरत्न बज्राचार्यका अनुसार नेपालमा प्लाटिनमको कारोबार नगन्य छ। यसको औपचारिक खरिद-बिक्री पनि भएको छैन।

‘विशेषगरी हिराका गहनामा यसको प्रयोग गरिन्छ। कसैले माग गरे मात्रै विदेशबाट मगाइदिने हो। नभए सुनचाँदी जस्तो यसको कारोबार हुँदैन,’ बज्राचार्यले भने।

चाँदीजस्तै देखिने भएकाले पनि यसले नेपाली बजारमा राम्रो छाप छाड्न नसकेको उनी बताउँछन्। यतिसम्म कि, हेरेका भरमा चाँदी र प्लाटिनम छुट्याउन नसकिने पनि उनले दाबी गरे। प्रयोगशालामा परीक्षण गरेपछि भने सजिलै छुट्याउन सकिन्छ।

रत्न आभूषण संघका अध्यक्ष रमेश महर्जन प्लाटिनम गहना बनाउन पनि खर्चिलो हुने बताउँछन्। यसलाई पगाल्न सुनभन्दा धेरै तापक्रम चाहिने भएकाले हातैले यसका गहना बनाउन सकिँदैन।

‘प्लाटिनमका गहना बनाउन धेरै तातो चाहिन्छ। मेसिनबाट बनाउँदा मूल्य पनि बढी पर्ने हुनाले नेपालमा यसको कारोबार र प्रयोग कम छ,’ महर्जनले भने। चाहनेले विदेशबाट मगाउन सकिन्छ।

नेपाली समाजमा गहना रहर र फेसनका रूपमा मात्र नभई सम्पत्तिका रूपमा धेरै बिक्छ। तर प्लाटिनम गहनाले संसारभर नै फेसनको मात्र रूप पाएको छ। त्यसैले यसको माग र मूल्य घट्दै गएको महर्जन बताउँछन्।

Related Articles

Close