मुख्य समाचारसमाचार

कोरियाली सीपले नेपालीको अनुहार चम्काउँदै राई दम्पत्ती

सविना कार्की/कार्तिक २३, काठमाडौं । नयाँबानेश्वरको पानी ट्याङ्कीबाट केही अगाडी बढेपछि नयाँ भवन देखिन्छ जसको टपमा लेखिएको छ ‘आइपेक्स हल।’ हल भर्खरै सञ्चालनमा आएकाले मानिसहरुले भीड उत्तिकै थियो ।

भवनको लिफ्ट चढ्दै जाँदा चौथो तलामा पुगिन्छ । दाँयातिर बोर्डमा ‘लि राइ कोरियन ब्युटी सलोन’ लेखिएको बोर्ड देखिन्छ । ब्युटी सलोनमा मानिसहरुको भीड थियो । कोही कपाल काट्दै थिए त कोही अनुहारमा मसाज गर्दै ।

यो ब्युटी सलोन भोजपुरका गोबिन्द राई हो । २ दशकसम्म कोरिया बसेका गोबिन्दले स्वदेश फर्किएर ब्युटी सलोन खोलेका छन् । कोरियन प्रविधिबाट नेपालीहरुको अनुहार चम्काइरहेका छन् भने ८ जनालाई रोजगारी समेत दिएका छन् ।

‘परदेशमा त सीप सिक्ने मात्र हो’ उनी भन्छन् ‘सीपको सदुपयोग स्वदेशमै गर्नुपर्छ।’ पछिल्ला समय परदेशप्रति नेपालीहरु निकै सकरात्मक हुने गरेको बताउँदै उनी आग्रह समेत गर्छन् ‘परदेश जानुस् तर सीप र लगानी लिएर स्वदेश फर्किनुस् स्वदेशमै केही गर्नुपर्छ।’

परदेश बसेका नेपालीहरुका लागि गोविन्द एक उदाहरणीय पात्र पनि हुन् । जसले कोरियन केटी नै विवाह गरे तर स्वदेश फर्किएर व्यवसाय शुरु गरे ।

मैले कोरियन केटीसँग विवाह गरेको थाहा पाएपछि धेरैले फोन गरेर बधाई दिए उनले त्यो क्षण स्मरण गर्दै भने ‘कोरियन भाउजु बिहे गरिछस् अब कोरियातिरै लाइफ सेटल गर भनेर धेरैले भने।’ उनलाई त्यो क्षण निकै असह्य भएको थियो ।

गोविन्दको स्थायी घर भोजपुर जिल्लाको दाँवामा छ । उनी वि.स. २०२६ सालमा दायाँमा जन्मिए । मध्यम वर्गीय परिवारमा जन्मिएका गोविन्द सानैदेखि समाजसेवी बन्ने सोच राख्दथे । समाजमा कसैले केही परिवर्तन गर्ने कुरा गर्दा उनी झस्कन्थे ‘मैले भोलि समाजसेवी बनेर केही परिवर्तन ल्याउनुपर्छ।’

तर त्यो सोच उनको बाल्यकालको थियो । ७ जनाको उनको परिवार जसमा ३ भाइ र १ बहिनी सहित गोविन्द माहिलो छोरा हुन् ।

पढाइका लागि भोजपुर बजारमा झरेका उनले एक सरकारी विद्यालयबाटै एसएलसी पास गरे । बाआमाले खेतवारीको काम गरेर जसोतसो पढाएकै थिए । उच्च शिक्षा पढ्दापढ्दै उनलाई परदेशतिर जाने इच्छा जाग्यो ।

पैसा कमाउने उनको इच्छालाई साकार पार्न उनी परदेशिए । परदेश जाने रहर बोकेर उनी वि.स. २०४७ सालतिर राजधानी काठमाडौं प्रवेश गरे । त्यो बेला उनका काकाका छोरा पनि कोरिया थिए । जसबाट उनी कोरिया जान प्रेरित बने ।

‘त्यति बेला ब्रिटिस आर्मीको तलव ७ हजार मात्रै हुन्थ्यो’ उनले ती दिनहरु सम्झँदै भने ‘त्यति तलव खाएर आर्मीमा जागिर खानुभन्दा विदेश जादा ठिक होला भन्ने सोच बनाएँ।’

उमेरले १८ टेकेका थिए उनी । ‘मैले घरमा कोरिया जाने कुरा सुनाएँ’ उनले भने ‘आमाले ५० हजार रुपैयाँ ऋण खोजिदिनुभयो।’

त्यो समय कोरिया जानका लागि सजिलो थियो । जसकारण उनी पर्यटन भिसामा ०४७ सालको अन्त्यतिरै कोरिया पुगे । शुरुका दिनहरु सम्झिदा उनलाई अहिले पनि दिक्क लाग्छ ।

‘नेपालीहरुले परदेश पुगेर शुरुमा गर्ने भनेकै लेबरको काम हो’ ती दिनहरु सम्झिदै गोबिन्दले भने ‘मैले पनि केही समय त्यही काम गरेँ।’

पर्यटन भिसामा कोरिया पुगेका गोबिन्दलाई सुरुवाती दिनमा निकै कठिन भयो । ‘अहिलेजस्तो भाषा सिक्ने चलन कहाँ थियो र’ कुराकानीका क्रममा उनले भने ‘७—८ महिना त इशाराले नै चले।’

‘धागो उत्पादन गर्ने कम्पनीमा मासिक २० हजार रुपैयाँमा काम शुरु गरेँ’ गोबिन्दले खबरहबसँगको कुराकानीमा भने ‘२० वर्ष एउटै कम्पनीमा काम गरेँ, म्यानेजर पदसम्म पुगे र ५ लाखसम्म तलब पुग्यो।’

कपाल काट्न जाँदा बसेको पिरती

कोरिया बसाइका क्रममा ई यङ्ग सुकसँग उनको माया बस्यो । कोरियाकी सुक पार्लरमा काम गर्थिन् । कपाल काट्न जाने क्रममा सामान्य कुराकानी हुँदै उनीहरुको माया निकै गाढा बन्न पुग्यो ।

आजभन्दा २५ वर्षअघि उनीहरु वैवाहिक सम्बन्धमा बाधिएँ । कोरिया बसाइकै क्रममा सुकसँग नयाँ सम्बन्ध कायम गरेका राईले स्वदेश फर्केर व्यवसाय गर्ने सोच बनाए ।

श्रीमती लिएर स्वदेश फर्किए राई

कुरा हो आजभन्दा १० वर्षअघिको । स्वदेशमा राईकी आमा पनि बिरामी थिइन् । आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनी श्रीमती र एक छोरीलाई लिएर स्वदेश फर्किए ।

२० वर्षअघि कोरिया बसेर स्वदेश फर्किएका राईले राजधानीमा केही व्यवसाय गर्ने सोच बनाए । तर उनीसँग त्यस्तो कुनै सीप भने थिएन । सुकले कोरियामा २० वर्ष पार्लरमा काम गरिसकेकी थिइन् । उनलाई पार्लर सम्बन्धि सबै ज्ञान भएकाले पार्लर खोल्ने कि भन्ने मनसाय बनाए दम्पत्तीले नै ।

सुक भन्छिन् : नेपालमा काम गर्न धेरै सजिलो

वि.स. २०६६ सालमा पहिलो पटक नेपाल आएकी सुकलाई शुरुका दिनमा नेपाल मन परेन । ‘नेपाली भाषा पनि बुझ्दिन थिएँ,’ सुकले खबरहबसँग कुरा गर्दै भनिन्, ‘उहाँले भाषा ट्रान्सलेशन गर्दिनुहुन्थ्यो अनि बुझ्थेँ।’

१० वर्षअघि १० लाख लागानीमा न्युरोड पिपुल्स प्लाजामा ब्युटी सलोन खोलेको बताउँदै उनी भन्छिन् ‘कोरियामा भन्दा यहाँ काम गर्न धेरै सजिलो लाग्यो।’

न्युरोडमा खोलेको पार्लरमा केही समयमै सेलिब्रेटीको समेत भीड हुन थालेको अनुभव उनले सुनाइन् । ‘खुसी लाग्थ्यो सेलिब्रेटीहरुलाई ब्युटी बनाउन पाउँदा’ उनले भनिन्, ‘राम्रो प्रतिक्रिया दिनुहुन्थ्यो।’

कोरियन प्रविधिबाटै ग्राहकलाई सेवा

ई राई ब्युटी सलोनमा पाइने हरेक सामानहरु कोरियन उत्पादन हुन् । दम्पत्ती मिलेर ब्युटी सलोन सञ्चालनमा ल्याएसँगै सुक पार्लरमा बस्छिन् भने राई सामान लिन कोरिया पुग्ने गर्छन् ।

‘विभिन्न कोरियन डिजाइनमा कपाल कटिङ गर्छु, इ राई ब्युटी सलोनमा काटिने डिजाइनहरु अन्य पार्लरमा पाइदैन’ पार्लरका बारेमा सुनाउँदै उनले भनिन्, ‘भोलम स्ट्रेट, डिजिटल पम्प छन् हामी कहाँ जुन प्रविधि अन्य ब्युटीपार्लरमा छैनन्।’

त्यति मात्र होइन राई इपीएस सम्बन्धि तालिम समेत दिने गर्दछन् । अहिलेसम्म ७० हजारभन्दा बढिलाई तालिम दिइसकेका राई भन्छन्, ‘कोरियाको सँस्कृति, अनुभव लगायत धेरै कुराहरु सिकाउँछु।’

३ महिनादेखि बानेश्वरमा तालिम सहितको पार्लर

न्युरोडमा खोलेको ब्युटी सलोनले राम्रो मार्केट लिएसँगै राइ दम्पत्तिले बानेश्वरस्थित आइपेक्स हल भएको भवनको चौथो तलामा पनि ब्युटी सलोन सञ्चालनमा ल्याएका छन् ।

कोरियन प्रविधिबाट सञ्चालनमा ल्याएको भएकाले हाम्रो ब्युटी सलोन निकै प्रसिद्ध भएको छ सबैले रुचादिनुभएको छ’ सुकले मुस्कुराउँदै भनिन्, ‘यस्तै सीप सिकेर अन्त पनि पार्लर खोलुन भन्ने सोचले अहिले तालिम पनि दिन थालेकी छु।’

के छ आखिर परदेशमा ?

उमेरले ५० वर्ष पुगिसकेकी सुकको सोच भने निकै ठूलो रहेको छ । नेपालमा पैसा कमाउने ठाउँ नभेटेर दैनिक हजारौं युवाहरु वैदेशिएको देख्दा दुःख लाग्छ उनलाई ।

कोरियामा के छ र उनी भन्छिन्, ‘भर्खरका बहिनीहरु कोरिया कोरिया भन्दै हिँड्छन् रमाउन सके स्वदेशमै यति प्रशस्त ठाउँ छ।’ आफ्नो जन्मभूमि कोरिया भएपनि नेपाल निकै प्यारो लाग्छ सुकलाई । नेपालमा रोजगारीका प्रशस्त क्षेत्र देख्छिन् उनी ।

‘देश विकासमा युवाहरुको भूमिका रहने हुँदा पनि युवापुस्तालाई परदेश नजान आग्रह गर्छिन् सुक’ भन्छिन्, ‘परदेश नजानुस् गइहालेपनि फर्केर स्वदेशमा केहि गर्नुस्।’ खबरहबबाट साभार

Related Articles

Close